समीक्षा -
- मनुहाङ किराँती
माधवआनी र हरि कट्टेलको सम्बन्ध
लाखौं मानिस जन्मन्छन,
युगमा युगले गरी
एकाध व्यक्ति
जन्मन्छन्, युग जन्माउने गरी
डा. रामप्रसाद ज्ञवाली
आदरणीय गुरु हरि
कट्टेलको विषयमा के लेखुँ, के
भनुँ र खै ? जब
हरि कट्टेलका कविता पढन थाल्छु शरीरमा एक भिन्नै खालको तरङ्ग पैदा हुन्छ । त्यही
तरङ्गसँगै मभित्र आनन्द र खुशीले सीमा नाघ्दछ । उहाँ वि. सं. २०४५ सालदेखि कविता
कृतिका माध्यमले नेपाली साहित्याकाशमा उदाउनुभएको देखिन्छ । उहाँले सुरुवाती
रचनामै नेपाली शास्त्रीय छन्दलाई अगालेर काव्य सिर्जना गर्नुभयो र समग्र सोलुको
साहित्य इतिहासमा नै प्रथम पुस्ताको अग्रणी कविका रुपमा आफूलाई दर्ज गर्दै पूर्व हुँदै राष्ट्रिय रुपमा
परिचित हुनुभएको पाउँछु म ।
डा. देवी नेपालका
अनुसार नेपालमा हालसम्म ३०० वटा शास्त्रीय छन्दहरू प्रयोगमा आएका छन् तापनि
नेपाली साहित्यको काव्य क्षेत्रमा धेरै
प्रयोगमा आएको छन्दहरूमा शार्दूलविक्रीडित, मन्दाक्रान्ता, शिखरिणी, भुजङ्गप्रयात, इन्द्रवज्रा, उपेन्द्रवज्रा तथा उपजाति छन्द आदि बढी
प्रयोग गरिएको भेटिन्छ भनेर आफ्नो कृति “छन्द पराग“ छन्द
शास्त्रमा भन्नुभएको छ ।
त्यसमा आदरणीय गुरु
कट्टेलज्यूले पनि कवितामा बढी जसो ती प्रचलित छन्दहरूमध्ये शार्दूलविक्रीडित,
मन्दाक्रान्ता, भुजङ्गप्रयात, इन्द्रवज्रा, शिखरिणी, मन्दाक्रान्ता, स्रग्विणी, तोटक आदिको प्रयोग गर्नुभएको देखिन्छ
भने यस माधवआनी खण्डकाव्यमा पनि यिनै शार्दूलविक्रीडित, भुजङ्गप्रयात, इन्द्रवज्रा, शिखरिणीजस्ता छन्दहरूको प्रयोग छ ।
छन्दमा काव्य÷कविता
सिर्जना गर्नु चानचुने कुरा भने पटक्कै होइन । छन्द भनेको गणितका लागि सूत्रझैँ हो
। यसमा रचना गर्दा सीमित वर्ण, अक्षर,
पदावली र निश्चित फ्रेमभित्र रहेर रचना
गर्नुपर्छ । त्यही पदावली, वर्ण,
अक्षर र फ्रेमभित्र रहेर रचना गर्दा
कतिपय सिर्जनामा खलल आउन सक्छ । कुनैमा भाव, रस, लय, गति, यति, बिम्ब, प्रतीक र मिथकमा समेत बाधा आउन सक्छ ।
तर कवि हरि कट्टेलज्यूले त्यसलाई पनि ख्यालमा राखी शुद्ध नेपाली वर्ण र
वर्णविन्यासमा, पद
पदावली व्याकरण
अनुकूल हुने गरी नै सरल, मिठास
भाव, यति, गति, लय, प्रतीक र बिम्ब मिथकलाई समेत ध्यानमा
राखी यो काव्य सिर्जना गर्नुभएको छ । कतिपयले छन्द निर्माणमा संस्कृतका शब्द,
वर्णलाई राखेको हुन्छ भने हरि
कट्टेलज्यूको लेखनमा त्यो छैन । यसर्थ नेपाली वर्णमै सरल मिठासपूर्ण काव्य सिर्जना
भएको छ ।
म साहित्यलाई रुचाउने
मान्छे हुँ तर समालोचक नै चाहिँ होइन । तर पनि मेरो दृष्टिमा साहित्यमा उपन्यास,
कथा, गजल, हाइकु, सायरी, छोटो–लामो काव्य र छोटो–मोटो उपन्यास, जीवनी, नियात्रा–संस्मरणजस्ता विधाहरूमध्ये उपन्यास र
काव्य विधामा गजल जस्ता रचनाहरू पाठकहरूको आँखामा बढी पर्न सक्ने सिर्जना हुन् तर
बिडम्बना के छ भने मैले यहाँ तीर्थ श्रेष्ठज्यूको शब्दलाई सापटी लिएर बोल्नुपर्दा “आम मान्छेहरू नुनतेल चामल खोज्न (अझ
भनौं दुव्र्यसन, भ्रष्टाचार,
यौन विकृतिका कुरामा) सारा समय खर्चेर
मान्छेहरूकै हुलभित्रको बजारमा जान्छन् तर कविता पुस्तक, साहित्यक ज्ञान किन्न कतै पनि जान अल्छी
मान्छन् ।“ त्यसकारण कतिपय
हाम्रो सिर्जनाहरू विलय हुँदै जान्छन् ।
कवि हरि कट्टेल वि.
सं. २०४५ निरन्तर सोलुको साहित्याकाशमा गगनका नौलाख तारामध्ये एक तारा बनी
चम्किरहनुभएको छ । साहित्य सिर्जना भनेको बोल्न नसक्नेहरूको आवाज पनि हो । अझ भनौं
साहित्य सिर्जना भन्नु नै भाषाको सुन्दर रुप पनि हो । हो तिनै बोल्न नसक्नेहरूका
आवाज र त्यही
नेपाली भाषामा गुञ्जिन सक्ने संगीतका मधुर स्वर पनि हुन् हरि । आजभोलि मलाई लाग्छ
विद्यालयको पाठ्यपुस्तक घोकाएर मात्र विद्यार्थीको मस्तिष्कलाई फराकिलो बनाउन
सकिन्न । अर्थात् भनांै विद्यार्थीलाई ज्ञान दिन सकिन्न । विद्यार्थीमा कुशल
मानवीय चित्र बनाउन आजको समयमा विद्यालयका पाठ्यक्रमका साथ अतिरिक्त भाषा, साहित्य सिर्जनाको रस रसास्वादन गराउन
आवश्यक छ । यसो भनिरहदा कवि यदुनाथज्यूको भनाइ पनि याद आयो । उहाँ भन्नुहुन्छ ‘साहित्य नपढ्ने मानिसले जतिसुकै अरु
कुरा पढे पनि एक किसिमले अपुरो, अधुरो
नै हुन्छ÷रहन्छ ।’
त्यसकारण साहित्यको
रस लिनु हामीलाई अति आवश्यक रहेको म देख्दछु । हरि कट्टेलज्यूको माधवआनी
काव्यभित्र मिठासपूर्ण संवाद, ललितप्रेम,
त्याग, तपस्या, राग अनि अनुरागपूर्ण बोली रहेका छन् ।
सुन्दर संरचनाले सिर्जित काव्यले ब्राह्मण, शेर्पा, किराँत धर्मसँगै भाषा, संस्कृति, परम्परा, आनीबानी, प्रकृति आदिको चित्रण गरिरहेको छ । जसमा
मानवको खोक्रो आडम्बर छ, किन
एक दिन मरेर जानु नै छ, बाँचुञ्जेल
लोभ, लालस किन गर्नु ?
मानव भएर बाँचौं भन्ने सन्देश पनि छ ।
यो कुरा कसरी माधवको
मुखबाट मुखारित हुन्छ, हेरौँ
ः
मान्छे छैन अजम्मरी र
धरती छोड्ने छ यो आखिर व्यर्र्थै खोज्दछ सान, मान, सुविधा भन्सारको जागिर ।
अचेल कति मान्छेहरू
महलभित्र बसेर अरुको दुःखमा ताली पिट्दै बाँच्दछन्, हाँस्दछन् । अचेल मान्छे मान्छे नभएर
अरु नै बनेको देखेर खिन्न हुँदै माधव भन्छन ः
कोही छन् दरवारमा
सडकमा गर्छन् गुजारा हुनै
थुप्रै छैन कतै,
कतै महलले आँटे नि तारा छुनै ।
त्यस्तै धनी हुनाले
मानवता नहुनाले मानव मनमा कहिल्यै चैन नहुने कुरा माधवको आमाको माध्यमबाट यसरी
आउँछ ः
बाचुञ्चेल हुँदैन
शान्ति जगमा, मान्छे
कसैमा पनि
बस्ला को भवमा सदैव
मनले आनन्द पाएँ भनी ।
माधव काव्यमा लोभ,
पाप र हिंसा त्याग्नुपर्छ, बाँच्दा सास उस्त हुन्छ भनी भन्दछन् ः
जस्तो धर्म गरेर
बस्त्र पनि पो जस्तो धरोस जे भनोस्
प्राणी निम्ति भलाई
गर्न जहिल्यै मान्छे तयारी परोस्
आजको युग जाली,
लोभी र पापीको संसारमा मानवको भलाई
नभएको प्रति आनीको वचन प्रतीकमा काव्य भन्दछ ः
संसार हाम्रो सव
जालमा छ
हेरौं त मान्छे कुन
हालमा छ ?
धर्मले सबैको इच्छा र
आकांक्षालाई पूरा गर्दछ र सबैको धर्मको एउटै सार हुन्छ भन्ने भावमा काव्य नायक
माधवले भनेका छन् ः
ती बौद्ध लामा र
किराँत हिन्दु
सारा सबैको स्थल
केन्द्रविन्दु
प्रकृतिको सौन्दर्यले
मन्त्रमुग्ध पार्ने नेपाली प्रकृति अनि विदेशी मोहकलाई काव्यमा यसरी देखाएइको छ ः
फलेको सुगन्ध बुकी
फूलभित्र
शिलामा कुदेँको सयांै
मन्त्र चित्र
ध्वजा फर्फराइरहेको छ
माने
विदेशी हजारौं थिए
घुम्न जाने
त्यस्तै नेपालीलाई चिनाउने सगरमाथाको
प्रवेशद्वार नाम्चे, दिउजे,
धार्मिक स्थल हलेसी, गुम्बा आदिको प्रतीकतामा धार्मिक
संयोजनसमेत गरी यस माधवआनी काव्यभित्र अन्योन्याश्रित वर्णन भेटिन्छ । माभवआनी
काव्य पढ्दै जाँदा यसले साहित्यका पाठकलाई कतै राष्ट्र कविको सम्झना दिलाउँछ भने
कतै महाकविको, कतै
युगकविको त कतै शिरोमणिको याद दिलाउँछ । त्यसो त सोलुखुम्बुले जन्माएको हरि कट्टेल
अग्रणी कविहरू भन्दा कम छैनन् । सोलुखुम्वुको स्रष्टाको यो स्तरीय प्रतिभालाई पहिचान गरेर नै त
प्राध्यापक समाचोचक कृष्ण वस्तीले उनको बारेमा लेख्दै माधव घिमिरेको शब्द सापटी
लिएर हरि कट्टेलको अनावृत आकृतिको भूमिकामा भनेका छन् “ढुंगाका काप फोरेर पनि उम्रिन्छ पिपल”
हो उहाँ दुर्गम सोलुमा उम्रिएको पिपल
हुनुहुन्छ र सोलुको अग्रणी कवि हुनुहुन्छ ।
कवि हरि लेखन
प्रवृत्तिका आधारमा मानवतावादी, चिन्तनवादी,
समाज सुधारवादी, धार्मिक सहिष्णुतावादी, प्रकृतिवादी, देशभक्त, शृङगारिक, रसवादी देखिनुहुन्छ भने धारागत
प्रवृत्तिका हिसावले पनि प्रगतिवादी देखिनुहुन्छ । यसका साथै उहाँमा प्रयोगवादी,
समाज सुधारक, नारीवादी, आदर्शवादी ...आदि प्रवृत्तिगत
विशेषताहरू पनि देखिन्छन् । उहाँले वि. सं. २०४५ देखि लेखन यात्रा सुरु गर्नुभएको
र २०६० सालसम्म आइपुग्दा गजल विधामा र २०६५–६९ मा मुक्तक विधामा समेत कलम चलाइ
सक्नुभएको छ । उहाँ कुशल समालोचकका रुपमा पनि नाम कमाउँदै हुनुहुन्छ । यसरी हेर्दा
उहाँलाई सोलुले जन्माएको एक अथक साहित्य साधकका रुपमा पनि देख्न सकिन्छ । उहाँको
प्रतिभाको उच्च मूल्याङ्कन गर्दै कवि कृष्णभूषण बलले सोलुले जन्माएको यो
प्रतिभालाई कुनै आँधी बेहरीले ढाल्न सक्दैन भनेर भनेको कुरा समालोचक हरि वरालले
पनि लेखेका छन् ।
नेपाली साहित्य
जगत्मा कलम चलाए बापत उहाँ विभिन्न सम्मान पुरस्कारले पुरस्कृतसमेत भइसक्नुभएको छ
भने विविध साहित्य संघ संस्थामा आवद्ध भई विविध जिम्मेवारीसमेत सम्हालिरहनुभएको छ
।
मैले यस लेखको
प्रारम्भमै डा. रामप्रसाद ज्ञवालीको कविता मार्फत भनिसकेको छु । उहाँ (हरि कट्टेल)
युगले जन्माएको एक सशक्त कवि पनि हुन्ुहुन्छ । यसर्थमा उहाँको माधवआनी काव्यभित्र
मानव जीवनको अंश प्रष्टरुपमा भेट्न सकिन्छ । यसमा धार्मिक र सांस्कतिक समन्वय र
सहिष्णुता अनि जातीय सद्भावको सन्देश छ । काव्यका हरेक श्लोकहरू जिम्मेवारीपूर्ण र
भावको प्रचुरता भएका र उस्तै सुन्दर भेटिन्छन् । जसका कारण काव्य पढौँ पढौँ लाग्दा
लाग्दै सकिन्छ । यस काव्यभित्र उपस्थित गरिएका पात्र, बिम्ब, संवाद, प्रतीक आदिका कारण झन् मिठासपूर्ण र
अर्थपूर्ण रहेको छ ।