समीक्षा
राजेश खनालको घुरको धुवाँभित्र छिर्दा
राजेश खनालले मिति २०८० साल फाल्गुण महिनामा आफ्नो दोस्रो
कृति घुरको धुवा विमोचन गरे । उनले निमन्त्रणा गर्दै मलाई भनेका थिए “महेश दाइ आउनुपर्छ है पुस्तक विमोचनमा ।”
मैले ‘हुन्छ’ त भनेँ तर
स्वास्थ्य समस्याले मलाई सहभागी हुन दिएन ।
मैले त्यो अवसर गुमाउन पुग्दा पश्चताप
लाग्ने नै भयो, त्यसक्षण मेरो
मस्तिष्कमा राजेश खनाल यसरी घुम्न थाल्छन् ।
राजेश खनाल २०४५÷०४६ सालदेखिका मेरा परिचित मित्र । जब म राष्ट्रिय बाणिज्य बैङ्कको शाखा
कार्यालय मैतिदेवीबाट नौ महिना कार्यावधि नपुग्दै योजना अनुसन्धान तथा तथ्याङ्क
विभाग टेकुमा सरुवा भएँ राजेशजी लगायत अरु धेरै स्टाफहरूलाई मैले त्यहाँ चिन्न
पाएँ ।
राजेशजी जलेश्वरमा स्थायी बसोबास भएका
व्यक्ति, सरल र हँसमुख
स्वभावका, एक प्रकारले भन्दा
बिन्दासपन थियो उनको ।
हामी टेकुमा हुँदा
विशेष गरेर राजेशजी, सेचनजी, कविन्द्रजी, परशुराम भण्डारीजी (भण्डारी आज यस धरतीमा छैनन्) र म साथै
चिया पिउँथ्यौ, खाजा खान्थ्यौ, गफ मिसाउँथ्यौ । त्यसताका हामी सबै अविवाहित थियौं ।
प्रजातान्त्रिक
आन्दोलनमा हामी साथै हुन्थ्यांै । राजेश र सेचन कलाकारिता पनि गर्थे कहिलेकही ।
श्रीओम श्रेष्ठ रोदन र पूर्णका साथमा तिनीहरु नाटक मन्चन गर्ने गर्थे ।
म कर्मचारी
संगठनको जिम्मेवारीको कारण आन्तरिक लेखा परीक्षण विभाग टंगालमा सरुवा भएँ ।
त्यसपछि उल्लेखित साथीहरूको संगत पातलो हुनुपुग्यो ।
राजेश पनि
कहिलेकहीँ मात्र भेटिने साथीमा परे ।
आलेप विभागमा
सहमुख्य अधिकृतको पदमा गौरीशंकर उपाध्याय कार्यरत थिए । उनी राजेशका बुबा रहेछन् ।
सबैले उनलाई गौप्राणी गौरीशंकर भनेर मान्थे । मैले त मेरा मित्रका पिता बेग्लै
रुपमा सम्मान गर्ने नै भएँ ।
पछि राजेशजी पनि
आन्तरिक लेखा परीक्षण विभाग सिंहदरबारमा सरुवा भएर आए । हामी एकै ठाउँ भयौं । एउटा
घुम्तीमा पुगेपछि मैले ट्रेड युनियनको जिम्मेवारी छोडेँ र म बैङ्कको दैनिक कार्यमा फर्किएँ । त्यसक्षण बैङ्का
आन्तरिक लेखा परीक्षण कार्यमा कतिपय स्थानमा हामी साथ गएका छौ । मैले ‘बाग्लुङ म्याग्दीको यात्रा र बाङ्खुडे लौरो’ शीर्षकको नियात्रा समेत प्रकाशित गरेकोछु, त्यहाँ राजेश र मेरा केहीदिनका रमाइलापनहरू समावेश छन् ।
यस्ता मित्रको दोस्रो कृति विमोचन गर्दै गरेको अवस्थामा मेरो अनुपस्थिति निकै भारी
भएको थियो मलाई । हाम्रो गाउँले प्रचलनमा पैचो तिर्ने कुरै गर्ने हो भने पनि मेरा
कृतिहरू ‘मनको किरण’ कवितासङ्ग्रह र ‘यात्रा जिन्दगीको’ उपन्यास विमोचन
कार्यमा उनको उपस्थिति मूल्यवान थियो । उनले यी दुवै पुस्तकको यथोचित प्रचार प्रसारमा
सहयोग पु¥याएर गुण लगाएका
थिए, त्यो गुणको पैंचो तिर्न समेत नसकेकोमा
मभित्र त्यसै ग्लानी भैरहेको थियो ।
अलिपछि पुतली
सडकको ग्रिनफिल रेस्टुराँमा हाम्रै बैङ्ककी निवृत कर्मचारी प्रिया पत्थरको ‘अग्नि उद्दीप्त’ मुक्तकसङ्ग्रह विमोचन कार्यक्रम थियो । राजेशजी, विनोदजी, सितारामजी, प्रा. जोशी र म लगायत बैङ्का पूर्वकर्मचारीहरू सहभागी थियौं
। बैङ्कमै काम गरेकी चिनजान राम्रै भएकी, साहित्य लेखनमा सिद्धहस्त दर्ज भएकी, विभिन्न विधाका करिव १८ वटा कृति प्रकाशन गरिसकेकी प्रिया
पत्थरलाई हौस्याउनु पनि थियो । नारी हस्ताक्षर निकै कम छ बैङ्कभित्र । दिदी हिरण्य कुमारी पाठकलगायत यस क्षेत्रका स्थापित नाम
हुन् ।
प्रिया पत्थरको उक्त कार्यक्रममा राजेशले कोटको भित्री
खल्तीबाट पुस्तक निकाल्दै भन्छन् “महेश दाइ अस्ति पुस्तक विमोचनमा तपाईं आउन सक्नुभएन । पुस्तक त दाइलाई दिनै पर्याे” भनेर हाँस्दै मलाई पुस्तक दिन्छन् । हेर्छु ‘घुरको धुवाँ’ नाम रहेको भरखर विमोचन भएको राजेशको कृति मेरा हातमा हुन्छ
।
म सम्झन्छु हामी
तराई, मधेशमा हुर्किएका मानिस । बस्तुभाउलाई
मच्छड, भुसुना लगायत यस्तै अन्य किराहरूको
टोकाइबाट बचाउन घुर बाल्ने गरिन्छ । त्यो घुरको धुवाँले ती किरा फट्याङ्ग्राहरू
भाग्ने गर्छन् । कतिपय तराई मधेश मूलका मानिसहरू र तरायनहरूसित घुलमिल भैसकेका
पहाडे मूलका मानिससमेतले जाडो महिनामा घुर बालेर जिउलाई न्यानो बनाउने प्रचलन छ ।
शरीरमा प्रयाप्त
न्याना वस्त्र नहुनु, बिस्तरा पनि जिउ
तात्ने प्रकारको नहुनु, यस्तो परिवेशमा
सीमान्तकृत मानव समूहको चिसोबाट बच्ने यो एक राम्रो उपाय मानिन्छ । धुस्नो पराल, घर छाउँदा छानोबाट निकालिएको पुरानो खर वा पराल (बदिँया) र
साना दाउरा वा गोबरका गुइठाको संयोजनमा घुर बालिने गर्छ । उसो त यी सीमान्तकृत
मानिसको यो पनलाई धनी सामन्तहरूले पनि पच्छ्याउन थालेका कतिपय अवस्था विद्यमान छन्
।
श्रेष्ठ प्रिया “पत्थर“को ’उद्दीप्त’ मुक्तकसङ्ग्रह
विमोचन कार्यक्रम सकेपछि म सरासर घर पुग्छु । राजेशको घुरको धुवाँ हेर्छु
अग्रपृष्ठमा घुरको धुवाँ पत्पताएर उडिरहेको, पराल वा यस्तै अन्य चिज भुइँमा बलिरहेको देखिन्छ । म स्पष्ट
हुनपुग्छु मैले माथि वर्णन गरेको ‘घुर’ र राजेशले लेखेको ‘घुर’ एकै रहेको कुरा
मिलान हुन्छ ।
राजेशले आफूले थाहा पाएदेखि उमेरको एउटा
गल्छेडो पार गरिन्जेलसम्मका विविध विषयका संस्मरणहरूलाई १८ शीर्षकमा प्रस्तुत
गरेका छन् । उनले त्यस कालखण्डमा कुन कुन स्थानमा समय बिताए, कस्ता कस्ता नौटङ्की हेरे, कस्ता कस्ता स्कुलमा पढे, कस्ता कस्ता साथी भाइका साथमा रहे, के के कुरा ढाँटे, के के कुरामा रमाए, के के कुरा देखे, के के कुरा भोगे लगायत उबेलाका कुरा आज आएर संस्मरणको रुपमा
व्यक्त गरे । यो उनको एउटा उमेर खण्डको अत्यन्तै महत्व राख्ने विषय र सन्दर्भ हो भन्ने ठान्छु म । राजेशको यस कृतिभित्र
वर्णित हरेक विषय, पात्र, परिवेश र सन्दर्भ चोखो तराई मधेश जनकपुर अञ्चल आजको
सन्दर्भमा मधेश प्रदेशको चित्र झलझली याद आउँछ मलाई । त्यहाँ बोलिने कतिपय
भाषिकाहरू, त्यहाँका
प्रचलनहरू, त्यसताकाको
आवागमनको अवस्था, बत्तीको व्यवस्था, हातहतियार, किसान पेशाका परिघटना र व्यापार व्यवसायका सन्दर्भ, स्कुल र स्कुलका पढाइ, विद्यार्थी तथा शिक्षकहरूको, आफन्त, मान्यजन लगायत
साथीभाइ समेतको चित्रण हुबहु उतारिएको छ । यसर्थ यस पुस्तकले जुनजुन शीर्षकमा जे
जे बोलेको छ तत् समाजको बिम्ब उतारेको छ । आञ्चलिकताको पहिचान बोकेर आएको ‘घुरको धुवाँ’ एक पठनीय सामाग्री हो भन्ने लाग्छ मलाई । त्यसमध्ये केहीको अंश म उल्लेख
गर्दछु ।
डिबियाको उज्यालोमा पुस्तकः–
मानिसको रहनसहन
समाज विकाससितै हुर्किएको हुन्छ । समाज जुन स्तरमा हुन्छ त्यसका अरु पक्षहरू पनि
त्यसै अनुरुप प्रतिबिम्बित हुन्छन् । सहर बजारमा बिजुली बत्ती बलेको हुन्छ तर
गाउँघरमा टिनका डिबिया वा हाम्रोतिर पित्तलका (कुप्पी भनिन्थ्यो ) डिबिया हुने
गर्थे । त्यस्ता डिबियाहरू लोहारेकोमा बनाउन दिइन्थे र घरको अध्यारो छिचलिन्थ्यो ।
डिबियामा सलेदो (पाट वा थोत्रो कपडा) र मट्टितेलको संयोजनमा बल्दथ्यो । यही
उज्यालोमा पढेर आएका हामीले र तत् समयका सबै गाउँलेहरूले । कतिपय घरमा यसकै पनि
सामर्थे हुँदैन थियो र दियो बालिने गथ्र्याे । तोरी वा यस्तै अन्य कृषि उपजको
तेलमा बाती भिजाएर बालिन्थ्यो । त्यसकै उज्यालोमा मानव जीवनका अँध्यारा अवस्थाहरू
छिचोलिन्थे । यसर्थ राजेशले गुजारेको त्यो ‘डिबियाको उज्यालोमा पुस्तक’को परिवेश हामीले
पनि छिचोलेर आएको विषय हो र यो हाम्रो पनि हो । यसको प्रस्तुति यति जीवन्त छ कि
लेखक लेख्छन् “अचम्मको समय थियो
। यतिबेला सम्झिन्छु, बिना बिजुली कसरी
नानाभाँतीका उपन्यासहरूको पाना पल्टाइयो । सधैँ लालटिन पाइँदैन थियो । झोल औषधिको
सानो सिसीको बिर्काेमा प्वाल बनाएर कपडाको सलेदो हालेर डिबिया बनाइन्थ्यो । अनि
मट्टितेल हालेर घण्टौ बालेर ती उपन्यासलाई पार लगाइन्थ्यो । जबकि कोर्सको किताब
पढ्दा त्यही डिबियाको धुवाँले नाक र आँखा पोल्यो भनेर बाहाना बनाउँदै चाँडै
निदाइन्थ्यो ।” (पृष्ठ २४)
राजेशको यो कथनले
त्यसक्षण समयको अवस्था जाहेर गर्नुका साथै व्यक्तिको इच्छाको कुरा प्रस्टिएको बोध
हुन्छ ।
घुरको धुवाँ ः–
यस विषयमा मैले यस
पुस्तकको शीर्षकमै चर्चा गरेको छु । यहाँ राजेश त्यही कुराको सारसित सम्बन्धित
घुरको धुवाँका बारेमा लेख्छन् “अचानक घुरको धुवाँ
म बसेतिर मडारिएर आइपुग्छ । घुरको धुवाँको तिख्खर गन्ध । खर, पात, गोबरको गन्ध ।
सडकपारिको घर– गोठछेउमा बालिएको
घुरको धुवाँ मलाई झस्काउनै नगोलसम्म आइपुगेको
रहेछ ।” (पृष्ठ ५५)
लेखकले घुर बाल्ने
कारण अवस्था र घुरको धुवाको गन्धसमेतको चर्चा गरेर तत्कालीन गाउँले परिवेशको जीवन्त
चित्र उतारेका छन् ।
भलुवादेखि भलुवाहीसम्मः–
मानिसको मन एकै
ठाउँ अड्न सक्दैन र त मानिस एकठाउँबाट अर्काे ठाउँ हुँदै स्थानान्तरण भैरहेको
हुन्छ । मानिसको उत्पति अफ्रिकामा भएको मानिन्छ । आज संसारभर छरिन पुग्नु त्यही
मानिसभित्रको गतिशीलताको कारण हो ।
मान्छे आफ्नै स्तर
अनुसार एक ठाउँबाट अर्काे ठाउँ जाने गर्छ । यहाँ राजेश खानाल आफू बसेको घरगाउँ टोल
जलेश्वरबाट मामली गाउँ भलुवाई जाने रहरले बाल मनोविज्ञानलाई कसरी समाएको हुन्छ ।
बच्चाबच्चीहरूका लागि मामली कतिको महत्वको हुन्छ । अझ मइन्टोलको प्रकाशमा हेरिने
नौटङ्कीको स्वादै गजब ।
राजेश लेख्छन् “मामाघरको रमाइलो वातावरणमा म यति अभिप्रेरित थिएँ कि मलाई
मेरो घर जलेश्वरको सम्झना नै आउँदैन ।”
कहिले पढ्नका लागि
मेरो गन्तव्य हुन्थ्यो भने कहिले नाचगानमा रमाउनैका लागि म भलुवाही पुग्थेँ । २०३१÷३२ सालतिर दसैँको समयमा हुने नौटङ्की र साँस्कृतिक
कार्यक्रमले मलाई मोहित बनाएको थियो । लाग्थ्यो दसैँ भलुवाहीमा मात्रै रमाइलो
हुन्छ । (पृष्ठ ७३)
तिर्न नसकेको त्यो
पाँच रुपयाँः–
पैसा आजको
दुनियाँमा विनिमयको साधन । वस्तु विनिमय प्रणालीबाट उँभो लागेपछि पैसाको महत्व
यसरी बढ्यो कि यसको तुलनामा अरुकुरा फिक्का भए । बोक्न, राख्न, स्थान्तरण गर्न
सजिलो, त्यति मात्र होइन पैसाले संसारमा आमा
बाहेक सबथोक किन्ने सामर्थे राख्छ भन्छन् । यसैकारण पैसाको महत्व यति बिघ्न बनेको
हो ।
पैसा सबै उमेर समूहका
मानिसलाई आ–आफ्नै स्तर अनुसार
आवश्यक हुन्छ । यहाँ लेखक
जलेश्वरदेखि भलुवाईसम्मको यात्रा गर्ने सन्दर्भमा बाटामा रिक्सा वा टाँगालाई तिर्न
पर्ने पैसा प्राप्त गर्न जनकपुर (१२) बाह्र बिगाहासम्म दिउँसोको तातो घाममा पसिना
काड्छन् । यो बाल मनोविज्ञान पनि कस्तो कस्तो हुने, आफूलाई चाहिएको पैसा माग्न मथिङ्गललाई निकै सास्ति
दिनुपर्ने । सम्भावित प्रश्नको उत्तर दिँदा किन ? भन्ने पुनः प्रश्न आउने । किनको जवाफ दिन नसकिने । तैपनि
आफ्नो उद्देश्य त पूरा गर्नु नै छ । त्यो उद्देश्य पूरा गर्न पैसाको खोजमा
उद्वेलित एउटा सानो विद्यार्थी केटोले जति अभिनय ‘तिर्न नसकेको त्यो पाँच रुपयाँ’ शीर्षक संस्मरणमा प्रतिबिम्बित भएको छ । मलाई लाग्छ यस्तो हविगत प्रायः सबैले नाघेर आएको हुनाले यो आफ्नै जस्तो
लाग्छ । उनी लेख्छन् “सायद अरु विषयमा
मेरो गिदी चलिरहेको थिएन । तत्काल मेरो आवश्यकता तीन रुपयाँको मात्र थियो, बाँकी केही थिएन । यद्यपि तीन रुपयाँको लागि तीस प्रश्न पनि
ओइरिन सक्थ्यो ।” (पृष्ठ १०७)
त्यस सन्दर्भमा
लेखकलाई चाहिएको तीन रुपयाँ, तर पाइयो पाँच
रुपयाँ त्यो पनि बिना प्रश्न । त्यो बेला लेखकको मन उडेर माथि आकाश पुग्छ । तथापि
विस्मरण बनेको त्यो नतिरिएको पाँच रुपयाँ स्मरण बनेर संस्मरण लेखिनु पनि अर्काे रमाइलो पाटो छँदैछ ।
तर एउटा प्रश्न कोसित मागिएको थियो त्यो रुपयाँ ? जवाफ भेटिँदैन ।
कुर्ती दालको बासना र साइला मामा ः–
सामान्य परिवारमा
खाना भनेको भात, दाल र सब्जी कहिले
कहीँ अचार । हुनसके दही, मोही, दुध कहिलेकहीँ घिउ यस्तै उस्तै हुने गर्छ भान्सामा । आठ
पाँच, चडबाडमा मासु पनि हुने गर्छ ।
त्यो पनि गाउँ र
बजारमा भिन्न परिकार पाइन्छ । बजारमा फड्किएको दाल, पोलिस गरेको चामल, गाउँबाट ल्याइएका बासी तरकारीको संयोजनमा चल्छ बजारको चुलो
।
गाउँमा नफड्किएको
दाल, बोक्रा मात्र उक्काएको चामल, आलो तरकारी, दही, मोही आदि लगायतको
परिकार हुनेगर्छ खेतीमा । विभिन्न दालका परिकारमध्ये गहत अर्थात् कुर्ती दालको
चर्चा छ यस लेखमा । कुर्ती दालसित प्यारा साइँला मामा जोडिएका छन् । बजारको भान्जो
गाउँको खान्गीमा अभ्यस्त छ कि छैन भनेर मामाले सोधेको स्मरण गर्दै लेखक आज आफ्ना
घरमा कुनै छाक गहतको दाल पाकेको दिन त्यसको बासनाको साहाराले साइँला मामालाई स्मरण
गर्न पुग्छन् । सबैकुरा विस्मरण हुँदै जान्छन् जीवनका भोगाइहरू । तर खास विषय र
सन्दर्भ स्मरणमा कहिलेकहीँ आइदिन्छन् । यसरी नै गहत हिजो गाउँमा अलि हेपिएको दाल
आज बुझ्दा निकै उच्चस्तरको खाना रहेछ भन्ने बोध हुन्छ लेखकलाई । हो पनि अकारण
हेयका दृष्टिले हेरिएका कतिपय विषय आज परीक्षण हुँदा उच्च सावित भएका छन् । यहाँ लेखक ‘कुर्ती दाल र साइँला मामा’ शीर्षकमा आफ्नो
त्यो कालखण्डका यावत कृयाकलाप र समयको स्मरण गर्न पुग्छन् । एउटा प्रसंगमा उनी लेख्छन् “म्याडमको भान्सामा कुर्ती दालको बास्ना चल्यो कि मेरो
स्मृतिमा साइँला मामा रगमगिनु हुन्छ हरररर । उहाँको अति स्नेहपूर्ण बोली वचनले आज
पनि मलाई अँगालो मारिरहेको हुन्छ ।” (पृष्ठ १३५)
राजेश खनालको यो
कृति पढ्दा मलाई पनि केही समय तराई मधेशका झापा मोरङका गाउँमा पु¥याउँछ । जातजाति, भाषाभाषी रहन सहनमा फरक परे पनि तराई मधेशका ग्रामिण जीवन
भोगाइ एकै लाग्छन् मलाई । राजेशले यहाँ सिलाधान खोजेको कुरा उठाएका छन् (लोड्हा
लोढ्छ) त्यो धान बेचेर जिलेवी मुमफली
झिल्ली, मुरही कचरी खाएको सम्झना गरेका छन् ।
हामीले पनि सिलाधान खोजेर बेच्थ्यांै । त्यस्तै परिकार साँटेर खान्थ्यौं । जो जहाँ
जसले जे जसरी समय बिताए पनि पढ्दा थाहा हुन्छ, गाउँले परिवेशलाई चिनाउन यो पुस्तक मेरो विचारमा सफल छ ।
आगे राजेशजी
साहित्य र संचारमा स्थापित नाम हो, अझै विकास हुँदै जाउन शुभकामना भन्छु म ।
अस्तु....