संस्कृति
शशिधर र जोसमनी
पौडी गडवालका महन्त धर्मानन्दमुनिका अनुसार वि. सं. १७९० तिर विष्णुस्वामी सम्प्रदायमा केही आपसी खलवल मच्चिएको थियो । विष्णुस्वामी सम्प्रदायमा खलबल मच्चिदा शशिधर सिकारु अवस्थामा त्यही थिए । विक्रमको १८ औं शताब्दीमा पौडी गढवाल आइपुग्दा शशिधर तिस वर्षका युवा थिए । खण्डहरमा परिणत हुन लागेको पौडी क्योंकालेश्वर मन्दिरको जीर्णोद्वार गरेपछि शशिधर मुनिदासले आफ्ना गुरु ज्योतिमुनिदासको नाम शब्दलाई आफूमा सीमित राखेर मुनि सम्प्रदायको स्थापना गरेका थिए । विष्णुस्वामी परम्परामा ज्योतिमुनिदासको नामबाट शशिधर–मुनिदासले मुनि सम्प्रदाय स्थापना गरे । त्यतिखेरसम्म शशिधरमुनि नाम राख्न शशिधरदास सफल भइसकेका थिए । महन्त धर्मानन्दमुनिको भनाइअनुसार शशिधरमुनि वि.सं. १८१० सम्म मात्रै पौडी गढवालमा बसे । त्यसपछि आफ्नै जन्मभूमिमा फर्कदा शशिधर झरझराउँदा सिद्ध र विद्वान, योगी, प्रतापी, शाहसी साथै प्रताप शाह र नरेन्द्र शाहजस्ता राजा–महाराजाहरूका गुरु भइसकेका थिए । मार्गनिर्देशक बनिसकेका थिए तर चालिस वर्षका बैँसले घोर्लिएका भए पनि अध्यात्म क्षेत्रका शिखरमा पुगेका योगी, सिद्धि प्राप्त गरिसकेका महापुरुष थिए । उनले अर्घा बामरूकमा आएपछि विवाह गरे । अर्को कुरा वि.सं. १८१० मा पौडी छाडेपछि शशिधर फेरि फर्केर गएनन् । आफ्नै जन्मभूमि अर्घा बामरूकमा पनि बसोबास गरेनन् । डेरा जमाएको खनगुफामा नै जन्मेको छोराको नाम लक्ष्मीनारायण राखियो ।
आमा–छोरालाई खनगुफामा छाडेर रेसुङ्गामा बस्न थालेका शशिधरको सामु आएर बोलिहाल्ने कसैको सामथ्र्य थिएन— वास्तवमा यो पाठकलाई झस्काउने कुरा हो । शशिधरको मधुर तथा गम्भीर वाणीको प्रभाव मानिसमा तत्कालै पर्ने गथ्र्यो । त्यसमा पनि यदि राजा–महाराजाहरू छन् भने पूर्ण प्रभाव पर्ने नै भयो । त्यसबाहेक शशिधर विद्वानहरूलाई अनेक वेद, शास्त्र, पुराण आदिको प्रमाण र योगतन्त्र सिद्धिबाट प्रभावित पारेका हुन्थे । विष्णुस्वामी परम्पराले गर्दा गुरु भुरेबाबा (शिवस्वामी–ज्योतिमुनि) नैष्ठिक ब्रह्मचारी थिए । त्यसैले पौडीमा बसन्जेल शशिधरमुनि पनि नैष्ठिक ब्रह्मचारी नै थिए । पौडी मठमा सेतो धोती वा लुङ्गी, सेतै कुर्ता अनि ज्यादै जाडो हुनाले चौबिसै घण्टा कोट, गलबन्दी, एक खालको टोपी आदि लगाउने गर्छन् । पौडीबाट नेपाल पसेपछि गृहस्थका कारणले हो अथवा अरू नै कारणले, शशिधर फेरि एकफेर शशिधर मरासिनी हुन पुगे । पारि अर्घा बामरूकबाट बारी खनगुफामा सरेर बसे । खनगुफामा गुठी राखे । रेसुङ्गा मठमा छोरा लक्ष्मीनारायणलाई पनि बुबा शशिधरले आफूसँगै राखी संस्कृत पढाएर योग्य विद्वान र साधनासम्पन्न साधक बनाए । लक्ष्मीनारायण योग्य पिताका योग्य पुत्र भए । परन्तु शशिधरमुनि आफूले स्थापना गरेको प्रथम स्थान पौडीमा फर्केर गएनन् । किनभने नैष्ठिक ब्रह्मचर्य छोडेर उनी गृहस्थ भइसकेकाथिए । शशिधरले पौडीमा मुनि सम्प्रदायको जरा गाडे भने नेपालमा आएर जोसमनी सम्प्रदाय स्थापना गरे । शशिधरमुनि लरतरो व्यक्ति थिएनन्, सिद्ध सन्त, साधक तथा विद्वान थिए । त्यसैले विष्णुस्वामी मुनि सम्प्रदाय नैष्ठिक ब्रह्मचारी भएर स्थापना गरे भने गृहस्थ भएर जोसमनी सम्प्रदाय स्थापना गर्न समर्थ भए । शशिधरसँग सम्पर्क भएपछि राष्ट्रनिर्माता पृथ्वीनारायण शाह पनि प्रभावित भएका थिए । राजा प्रभावित हुँदा भारदार प्रभावित हुनु स्वाभाविकै थियो । राष्ट्रनिर्माता पृथ्वीनारायण शाह दुरदर्शी, योद्धा, वीर, नीतिज्ञ र शास्त्रमर्यादा मानेर व्यवहार गर्ने राजा थिए । राजा प्रभावित भएकै हुनाले काठमाडौंदेखि पूर्व जोसमनी सम्प्रदायको विजारोपण भयो, हुर्कियो, फुल्यो र फल्यो पनि । शशिधर पौडी गढवालमा आइपुनुभन्दा पहिले नै गढवालको राजधानी श्रीनगरबाट टेहरी गढवालमा सरिसकेको थियो । तथापि तात्कालिक टेहरीका महाराज प्रताप शाह र उनका छोरा नरेन्द्र शाहमा शशिधरको ठुलो प्रभाव थियो । शशिधर पौडी गढवालमा बस्दा समग्र गढवाल र कुमाऊँ आदिमा उनको सिद्धि र विद्वताको ख्याति अत्यधिक थियो भन्ने कुरा टेहरी राजदरबारका पुराना कागजपत्रहरूले बुझाउँछन् । रेसुङ्गामा आएपछि भने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहजस्ता प्रभावशाली व्यक्तित्वलाई पनि प्रभाव पारेरै छाडे शशिधरले ।
स्वयम् राष्ट्रनिर्माता पृथ्वीनारायण शाह जोसमनी सम्प्रदायमा दीक्षित भए कि भएनन् यसको स्पष्टीकरण अथवा सुदृढ प्रमाणहरू प्राप्त भएका छैनन् तथापि शशिधरबाट अवश्य प्रभावित भने थिए । चाबहिल मित्रपार्क स्थित सत्यधर्म कुटीमा शशिधरको चमत्कारपूर्ण सिद्धियुक्त तपस्याबाट प्रभावित भएका राजा रणबहादुर शाह स्वामी निर्वाणानन्द हुन पुगे । शशिधरको स्वरमा पूर्ण रूपले माधुर्य भरिएको हुन्थ्यो । शशिधर आफ्ना समयका सूर्यजस्तो टड्कारो चम्किने व्यक्तित्व थिए भन्नमा सन्देह छैन । उनी साधक मात्रै होइन, सिद्ध पनि थिए । शशिधरले योग, तन्त्र, दर्शन, कर्मकाण्ड, धर्मशास्त्र आदि शास्त्रहरूको पनि मननपूर्वक राम्ररी अध्ययन गरेको बुझिन्छ ।
शशिधरका ‘सच्चिदानन्द लहरी’, ‘तत्वगीता’ आदि संस्कृत भाषाका साना ठुला थुप्रै ग्रन्थहरू छन् । प्रचलित धार्मिक विश्वासहरूमा जब रूढी र अनैतिक विश्वासहरूले प्रवेश पाउँछन् तब ती प्राचीन धार्मिक विश्वासहरू जनताको जीवनमा उपयोगी हुन छाड्छन् । धर्म भनेको समाज सञ्चालन गर्ने एक व्यावहारिक पद्धति हो । कुनै पनि धार्मिक मत प्रवर्तनको उद्देश्य यही हो । कालान्तरमा धर्मको व्यावहारिक रूप वा पक्ष लुप्त हुँदै जान्छ । अन्धविश्वासहरू पैदा हुन जान्छ । अन्धविश्वासहरू न ऐहिक न त पारलौकिक साध्यको निमित्त सहायता गर्दछन् ।
समाजमा भएका कुरीतिहरू र सङ्गठनको अभावमा समाजमा हुन आएका कमजोरीहरूलाई सन्तहरूले केलाएर हेर्दछन् । केवल आफ्नो आत्मशुद्धिको निमित्त अथवा पारलौकिक साध्यका लागि कन्दरामा तपस्या गर्ने सन्तहरू र मत–प्रवर्तन गर्ने सन्तहरूमा ठुलो अन्तर छ । जनजीवनसित प्रयोजन नराखी आफ्नै साध्यका लागि जपतप गर्ने सन्त वा सिद्धको अस्तितव छैन । सन्त र भक्त बिचको सम्बन्धको लागि समाजमा मान्य केही प्रचलित नियम पनि हुन्छन् । हरेक मतले जीवनलाई संयममा राख्ने उपदेश दिन्छ तर आचार गर्नेहरू त्यसलाई पालन गर्न सक्तैनन् । फलतः त्यस्ता मतका मूल अभिप्राय त्यहीँ हराउँछन् र अवान्तर पक्षमा रङ्गमगिन थाल्छ र विस्तार विस्तार जनतालाई जीवन दिने खालको ओज त्यसमा रहँदैन । समाज अरू दुष्प्रभावित हुन्छ र त्यस्तो स्थितिमा नयाँ मत लिएर पुनः सन्तहरूको प्रादुर्भाव हुन्छ । यसरी देखा परेका सन्त शशिधरले चलाएको सम्प्रदाय जोसमनि हो । नयाँ मतका निम्ति ज्ञान, बुद्धि र आँटको पनि ठुलो आवश्यकता पर्दछ । यस्ता परिवर्तनका लागि एउटा दर्शन बोकेर आन्दोलनको रूपमा नयाँ मार्ग निर्माण गर्न सक्ने अगुवाको खाँचो हुने गर्दछ । समाजमा प्रचलित परम्परागत हिन्दु धर्ममा समयानुकूल परिमार्जन र परिवर्तनको रथ हाँक्न सक्ने एक धार्मिक योद्धाको उदय आवश्यक भइरहेको अवस्थामा पश्चिम नेपाल लुम्विनी अञ्चलको अर्घाखाँची जिल्लामा जन्मनुभएका शशिधर स्वामीले यो कदम उठाउनुभयो । उहाँले प्रतिष्ठाको स्वाद मनपराउनुभयो र सहजरूपमा प्राप्त हुने स्वादले मानिसमा पापकर्म बढाउँछ त्यो बाटो हिँडुनु भएन । शशिधरले यो नयाँ धार्मिक मार्गको नाम ‘जोसमनी सम्प्रदाय’प्रचलनमा ल्याउनुभयो । अनेक रुढिवादी परम्पराले ग्रस्त धार्मिक प्रचलनमा नयाँ सुधारका प्रयत्नले समाजमा अनेक स्थानहरू र नेपालभर नै जोसमनी (‘जोसमुनी’ बाट अपभ्रंश भएको) सम्प्रदायको प्रभाव बढ्यो । ज्ञानगुन, दर्शन र आचरणका आधारमा कुनै पनि जात जातिका व्यक्ति, गुरु वा चेला हुन सक्ने प्रावधानले यो जोसमनी धर्म लोकप्रिय हुन पुग्यो । ज्ञानगुन, दर्शन र आचरणको आधारमा नयाँ धर्म चलाउनु, जुन धर्मले समाजको हित गर्छ गर्वको कुरो बन्दछ । अर्थात् यो नयाँ धर्मले उच्च जात भनिएका ब्राह्मणदेखि पानी नचल्ने भनिएका कामी, दमाई समेतले यो धर्ममा प्रवेश पाउने र समान स्थान लिन सक्ने भयो । आस्था, आचरण र क्षमताको आधारमा यो नयाँ धर्ममा सबै जातजातिका (उमेर, वर्ग र लिङ्ग) व्यक्तिहरू गुरु, पुरोहित पनि हुन सक्ने अवस्था आयो । यो एउटा धार्मिक सुधारमात्र नभएर सामाजिक सुधारको एउटा आन्दोलन हो भनेर बुझ्न सकिन्छ । भद्र मानिस कुनै पनि कुरो जाँची हेरी अपनाउन चाहन्छन् । यसकारण नयाँ कुरो जहिले पनि समाजमा खास स्थान नदिइएको समुदायले प्रथमतः स्वीकार गर्ने गरेको पाइएको छ । नेपाली माटोमा उम्रेर नेपाली समाजका सबै जातजातिमा फैलिएर रहेको जोसमनी धार्मिक सम्प्रदायको अध्ययन गर्नु आजको आवश्यकता हो ।
उत्तर वैदिककाल र ब्राह्मणकालमा
यज्ञ–यज्ञादिको प्रचार अधिक
थियो । यज्ञ–यज्ञादिले जन्माएका उग्र हिंसावादको बिरोधमा जैन–धर्मको प्रादुर्भाव
भएको थियो । जैन–धर्म हिंसाको त्यति नै उग्र विरोधी र अति कठोर आचारयुक्त भएकोले ब्राह्मणवादको
उग्रतालाई समाधान गर्न सकेन ।
सोही समयमा बौद्धधर्मको प्रादुर्भाव भयो । उग्र हिंसावाद र अति कठोर आचारको बिचको मार्ग अपनाएकोले बौद्ध धर्मलाई मध्यम मार्ग भनिन्छ । ब्राह्मणवादबाट सताइएकालाई त्राण दिन प्रवर्तन गरिएको जैन धर्मका आचारमा पवित्रता भएरमात्र यसको महत्ता हुँदैन । वासना के हो ? यसले के गर्छ ? यसप्रति खुलेर छलफल गरेर चिन्न सकेको राम्रो मानिन्छ । धर्म समाज सुधारको निमित्त हो भने धर्मले देश, काल र परिस्थितिलाई बुझेर तदनुरूप आफूलाई बनाउनुपर्दछ । बौद्ध धर्मसित पनि कालान्तरमा देखिएका अनेक सम्प्रदाय र दर्शनले प्रवत्र्तनको मूल आशय समाप्त पार्ने व्यभिचार भयो । मूर्ति पूजाका विरोधी अथवा शब्दान्तरमा निर्गुणोपासक बौद्धधर्मका सम्प्रदायहरू स्वयम् बुद्धलाई देवताको रूपमा पूजा गर्न थाले । धर्ममा च्युत भएका पापीप्रति हुने सहानुभूतिले हामीमा पापसँग लड्ने आत्मबल प्राप्त हुन्छ । बुद्धलाई देवताको रूपमा पूजा गर्नुको कारण पनि ब्राह्मणवाद नै थियो । भक्ति, स्तुति, देव–देवी र पूजा आदि सगुण उपासनामा रमाउने जनसाधारण ब्राह्मणवादतिर एकोहोरिएको देखेर बौद्धमार्गीहरूले पनि सगुणउपासनाको एक अलग पन्थ महायान नै खडा गरिदिए ।
ईसाको सातौं शताब्दी पुग्दा नपुग्दै महायान पनि मनुष्यलाई दुरूह मार्ग भयो, आचार र नियमका सारा बाँध तोडेर सहजयानको आर्को भेल चल्यो । सहजयानमा पाइला बढाएकालाई महायानी गुरुहरूको गुलियो शब्दजालमा अल्झिएर नबस्ने । मुक्तिका निमित्त कुनै कठोर आचार गर्नु पर्दैन, मानवको उपभोगको निमित्त बनेको सम्पूर्ण वस्तुहरूको उपभोग बाधा बन्धनहीन भएर गर्नाले मुक्ति पाइन्छ भन्ने मत भएको सम्प्रदायलाई सहजयानको उचित संज्ञा दिइयो । जातपातको भेदहीनता त बौद्ध–धर्मको मूल आचार नै हो । त्यसकारण निम्न कुल र उच्च कुलको आकर्षणमा पापको रस पर्न थाल्यो र आकर्षण उत्कट र अनिवार्य बन्दै गयो । झुठ र चोरीको सहारामा कुनै पनि धर्म अडिएको हुँदैन । जातपातको भेदहीनता त बौद्ध–धर्मको मूल आचार हो । त्यसकारण निम्नकुल र उच्च कुल भन्ने प्रश्न सहजयानीहरूको सामुन्ने नरहनुपर्ने हो । तर साथ–साथै जाति र कुल भेद बताउने ब्राह्मणवाद पनि जीवित अवस्थामै थियो । केही कसैको सम्मुखमा विश्वासपूर्वक यो यथार्थ राखिदिएको भए त निश्चय नै यो मार्गले व्यापकता पाउने थिएन । तर यस्तो भएन । गम्यागम्य र भक्षाभक्षको भेद नमान्ने सहजयानीहरूले निम्नकुलकी स्त्रीलाई मुक्तिको सबभन्दा ठुली साध्या बनाइदिए । यसै क्रममा जति अगम्य निन्द्य भई त्यही नै सबभन्दा ठुली साध्या उनीहरूकी मानिई । मदिरापान गर्ने र स्त्रीलाई महामुद्रा बनाएर साधना गर्ने मुक्तिद्वार खोल्ने सम्प्रदाय नै खडा भयो र यो सम्प्रदाय ईसाको सातौं शताब्दीदेखि लिएर तेह्रौं चौधौं शताब्दीसम्म फैलिई रह्यो, शेष प्रभाव त अझै पनि छँदैछ । मानौं पापको जरा गहिरो हुन्छ र निमिट्यान्न पार्न सजिलो हुँदैन । यसकारण नजानिदो रूपमा विस्तारै टाउँको उठाउने गर्दछ । सहजयानका चौरासी सिद्धमध्ये केही सिद्ध त नेपालकै पनि छन् । यी चौरासी सिद्धमध्येका गोरखनाथ नेपालमा आज पनि इष्ट देवताझैं पुजिन्छन् । यी केवल सहजयानी थिएनन् । संभवत गोरखनाथका साधना, सिद्धिले वासनालाई योगक्रियाको माध्यमले जितेको हुँदा महान् योगी कहलाए । गोरखनाथ त बज्रयान, मन्त्रयान र सहजयानबाट प्रभावित शैव मार्गी सन्त थिए । नेपालको आफ्नो कुरा जोसमनी सन्त परम्परा हो । जोसमनी मत नेपालकै माटोमा उब्जेर विकसित भएको हो ।
मेरो मनमा अलिकति पनि
शंका छैन— सहजरूपले मानव जीवन निमित्त जोसमनी मत प्रचलनमा आएको हो भन्ने
कुरामा । नेपालमा प्रचलित अनेक धार्मिक सम्प्रदायहरू दिनदिनै क्षीण हुँदै छन्, तर जोसमनी सम्प्रदाय उत्तरोत्तर वृद्धिमा छ । यसबाट यस मतमा
भएको उपयोगिता र जीवनशीलता सिद्ध हुन्छ । अरू सम्प्रदाय प्रायः बाहिरी प्रभावबाट यहाँ
विकसित भएका थिए ।
त्यसकारण अडिन सकेनन् । जोसमनी मत केवल ‘मत’ मात्र नभएर यस मतको साहित्य पनि प्रयाप्त छ । नेपाली भाषाको साहित्यको दृष्टिले पनि जोसमनी सन्तसाहित्य नेपाली साहित्यको ठुलो अङ्गको रूपमा उपस्थित हुन्छ । आजकल ‘जोसमनी’ धर्म सम्प्रदायका व्यक्तिहरूले आफूलाई ‘जस्मानी’ भनेर चिनाउने गरेका छन् । धार्मिक मतमा प्रायसः यस्तो हुने गर्दछ । शशिधर स्वामीजीका अनेक नामहरूमध्ये ‘यशोमणि’ पनि एक नाम रहेकोले उनका अनुयायीहरूले आफ्ना गुरुको नाममा यो सम्प्रदायको नाम नै ‘जोसमुनी’ र ‘जसमनी’ चलाएको देखिन्छ । अर्थात् स्वामी शशिधरकै नामबाट जोसमनी धर्म सम्प्रदाय सुरु भएको हो भन्ने बुझिन्छ । डा. प्रपन्नाचार्यज्यूले ‘सद्योगसार’ को भूमिकामा यसो भन्नुभएको छ ः
“जोसमनी शब्द विश्लेषण गर्नुभन्दा पूर्व ‘जोसमणि’ शब्दको मूल के हो ? भन्ने प्रश्न स्वतः आउँछ । किनभने यो शब्द शुद्ध संस्कृत भाषाको होइन । शब्द वन्दा तत्समबाट तद्भव भई अपभ्रंस भएको हुन्छ । यस ‘जोसमणि’ शब्दको मूलरूप ‘यशोमणि’, ‘सच्चिदानन्दलहरी’ भन्ने ग्रन्थमा लेखेको पाइन्छ । यो ग्रन्थ गढवालको महाराजा कीर्तिशाहको पुरानो राजधानी टेहरीको ‘पुरानो लाइव्रेरी’मा रहेको छ । यो ग्रन्थ संस्कृत भाषामा लेखिएको छ । त्यस ग्रन्थको पुष्पिकामा ‘ज्योतिमुनिशिष्ययशोमणि कृत सच्चिदानन्दलहरीईति सम्पूर्ण’ भनेर लेखेको छ । यस पुष्पिकाले के बुझाउँछ भने शशिधरको आध्यात्मिक गुरु महासिद्ध ज्योतिमुनि भुरेबाबाले ‘योगपट’ अर्थात् योगनाम ‘यशोमणि’ राखेका रहेछन् । तर कालान्तरमा त्यो नाम कारणवश र उच्चारणवश यस्तो हुन गयो होला । ‘सद्योगसार’ ग्रन्थमा भने चतुर्थप्रकरणको प्रारम्भमा शिष्य मोक्षमण्डलको प्रश्नको उत्तर दिँदा ‘जोस्मणिवाच’ भन्दै लेखेको पाइन्छ । यहाँ प्रष्ट र छोटकरीमा भन्नुपर्दा ‘सद्योगसार’ ग्रन्थको द्वितीय र तृतीय प्रकरणहरूमा ‘शशिधर र हरिसाम्ब’ नाम लेखेका छन् । ‘सद्योगसार’को पुष्पिकामा सर्वत्र ‘जोस्मणिसद्योगसार’ लेखेको पाइन्छ । ‘गुरुपञ्जा’मा पनि ‘भेष नाम जोस्मणि’ भनेर प्रष्ट लेखेको पाइन्छ । अत एवम् शशिधर र हरिसाम्ब अर्थात् हरिहर घरका नाम थिए भन्ने बुझिन्छ । अर्घाखाची अर्घावामरूकमा बस्दा शशिधर र हरिहर नामले पुकारिन्थे । यसको प्रमाण जोस्मणिले आफ्नै रचना ‘सद्योगसार’ को छैठौं प्रकरणको पुष्पिकामा प्रष्ट पारेका छन् । जोस्मणि भन्नुहुन्छ—
लालमणिसुपुत्रस्य दिशेशर्मादिजोत्तम
।
तस्य पुत्रो महायोगी
वर्तमाने कलौ युगे ।।६७।।
शशिधरो जन्मनामाहं
हरिसाम्बो द्वितीयकम् ।
तृतीय जोस्मणिनाम चतुः
व्रह्मपदं स्वयम् ।।६८।।
भेष धारण गरेपछि जोस्मणिले प्रारम्भिक ग्रन्थ ‘सच्चिदानन्दलहरी’ लेखेका रहेछन् भन्ने बुझिन्छ । परन्तु ‘योगात्मवोध’ भन्ने ग्रन्थमा भने जोस्मणिको ‘ज’ मा ‘य’ नै लेखिएको छ ।”