समीक्षा
गाेविन्द कोइराला
शीर्षकमा लेखिएको जस्तो ‘मैले खोजेको देश’ एक गद्य कवितामा रचनाकार राजेश ढुंगानाले आफ्नो दोस्रो कृतिका रुपमा २०८१ साल बैशाख ६ गते प्रकाशित पुस्तक हो ।
पाठकका हैसियतले उक्त काव्यलाई
एकपटक सरसर्ती पढेँ । त्यस काव्यमा विभिन्न शीर्षकमा व्यक्त गरिएका ६७ वटा कविताले
परिवेश, समान, घटनाक्रम,
राजनीति, प्रेम, प्रकृति आदिका बारेमा चर्चा गरेका छन् । कवि स्वयम् दीर्घ रचनाकार भएकोमा मेरो छोटो टिप्पणीले मात्र प्रमाणित गर्दैन । मुलुकका मुर्धन्य लेखक, समालोचक, विश्लेषकले सिर्जनाका बारेमा भावयुक्त र भन्न खोजेका इतिश्री आफ्ना भनाइ र विश्लेषणहरूमा कोरल्नु भएको छ । मेरो अल्पज्ञानले त्यति गहिराइ पाउन कठिन छ हरेक कविता शीर्षक अनुसार सुहाउँदा व्यङ्ग्यात्मक भनाइ समाज, राष्ट्र र जिम्मेवारी वहनकर्तालाई मार्गदर्शनका रुपमा प्रक्षेपण गरिएका हुन्जस्तो मलाई लाग्दछ । कुनैकुनै कविता अत्यन्त छोटा, तर भावार्थ भएका छन् भने केही १–२ पेज ढाकिएका पनि छन् ।
कवि राजेश ढुंगाना एक सिद्धहस्त कवित्व प्राप्त रचनाकार हुन् । पारिवारिक परिवेश र सुशिक्षित परिवारको सदस्यले चेतनाको लहर बढाउन घरपरिवारको व्यवहार र सभ्यताका अनुकरणले जागृति गराउन मद्दत गरेको ठान्दछु । सानै उमेरदेखि भद्रपुरको राजनीति, पत्रकारिता एवम् साहित्यिक माहोलमा रहर बढाउँदै गर्दा तथा सोही प्रकारका साथ र संगतले नपत्याउँदो तरिकाले कवि राजेश ढुंगाना आजभन्दा करिब ४५ वर्ष अगाडिदेखि नै चिनारी पाउन थालेका स्रष्टा हुन् । शलभ, भरत भुर्तेल, जीवन आचार्य, दुर्गा दाहाल, प्रकाश बुढाथोकी सँगसँगै उदाएका कवि हुन्, राजेश । राष्ट्रियस्तरका गरिमा, मधुपर्क, मिर्मिरे, गोरखापत्र लगायत दर्जनौं पत्रपत्रिकाहरूमा पनि समयसापेक्ष भावार्थ जाग्ने कविता पढ्न पाइन्थ्यो । कविताका अलावा समकालीन राजनीतिको सुक्ष्म विश्लेषण र व्यङ्ग्यवाणयुक्त रचना हेर्न पाइन्थ्यो । त्यसो त राजेश विद्यार्थी अवस्थादेखि नै प्रजातान्त्रिक आन्दोलनको राजनीतिमा पनि संलग्न छन् ।
समयले राजेशलाई निखार्दै सिर्जनाका चाङ्ग थपिँदै जाँदा एक प्रष्ट दिशावोध दिन सक्ने स्रष्टाका रुपमा चिनिँदै गए । झण्डै १० वर्षमा हाम्रो हातमा अहिले २ वटा कृति ‘सुकिला मान्छेको सामूहिक मृत्यु’ र ‘मैले खोजेको देश’ भन्ने कवितासङ्ग्रहले समग्र मुलुकको राजनीतिक अस्तव्यस्तता, राज्य सञ्चालकको व्याभिचारी शासन÷प्रशासन तथा घटनाक्रमलाई सरल, स्पष्ट ढंगले व्यङ्ग्यात्मक शैलीमा परिष्कृत गरिएको पाइन्छ ।
हाल मुलुकमा एउटा सक्षम लेखकका
हैसियतले समाजमा उभिँदा राजेश ढुंगानालाई हद सानो भए पनि व्यक्तित्व उच्च भएको मैले
ठानेको छु । सिर्जनाको लहर मौलाउने फस्टाउने भनेको पाठक वर्गको टिप्पणीका अतिरिक्त
गाउँ, टोल, सभासम्मेलन एवम् कचहरीमा विषयसापेक्ष रचनाबारे कुरा
गर्नु, सामाजिक सञ्जालमा टिप्पणी आउनु
तथा पाठकको माग बढ््नु भनेको सिर्जना अब्बल हुनु हो भन्ने मेरो ठहर छ ।
कवि राजेशलाई म वैयक्तिक रुपमा चिन्दछु, तर उहाँका रचनाले मलाई उहाँको सिर्जनशील प्रतिभाबारेसमेत चिन्न दिएको छ । केही दशक यता उहाँका यस्तै सारगर्भित, वजनदार तथा पठनीय रचनाका कारणले नेपाली साहित्यमा अभिरुचि राख्ने मुलुक तथा मुलुक बाहिरसमेतका पाठकले चिनेका छन् भन्ने मेरो ठम्याइ छ । सायद ‘मैले खोजेको देश’ कविता कृति पढ्ने सबै पाठकले पनि मेरो टिप्पणीमा विमति राख्नुहुन्न होला ।