सम्पादकीय - ६७
कला, साहित्य, संस्कृतिको उत्थान गर्न राज्य एवम् नागरिकका क्षेत्रबाट
विभिन्न कार्यक्रमहरू भइरहेका छन् । २०८१ चैत्र १ गतेदेखि ३ गतेसम्म तीन दिन मदन भण्डारी
कला, साहित्य प्रतिष्ठान, नेपालले हिमवत्खण्ड कला–साहित्य–संस्कृतिसम्बन्धी वृहत
सम्मिलन सम्पन्न गरेको छ । हिमवत्खण्ड हिमालय, हिमवर्षा भएर अच्छादित
हुन पुग्ने स्थान हिमवत्खण्ड, अर्को रुपमा भन्नुपर्दा हिमालयको
वरिपरि फैलिएको वृहत क्षेत्र । पूर्वीय चिन्तन, दर्शन, पवित्रताको मौलिक थलोका रुपमा हेरिन्छ हिमवत्खण्ड । हिमवत्खण्ड प्राचीन ऋषिमुनिहरूको
पवित्र तपोभूमिसमेत हो जुन हिमालय पर्वतद्वारा समाविष्ट भूगोलको एउटा खण्ड हो । हिमवत्खण्ड
नेपालको देवभूमि र धार्मिक स्थलको धरोहर हो । हिमवत्खण्डमा महामाया र महादेवको उद्गम
स्थलका रुपमा पहिचान भई देवीदेवताको बासस्थानसँगै मानव सभ्यताको उद्गमस्थल रहेको छ
। हिन्दु र वौद्धको आधिकारिक स्थानका रुपमा हिमवत्खण्डको अत्यन्त ठुलो महत्व रहेको
देखिन्छ । पूर्वमा व्रह््रापुत्र, पश्चिममा हिन्दकुश, उत्तरमा कैलासमान सरोवर र गंगा सागरसम्मको भूभागलाई हिमवत्खण्डका रुपमा लिने गरिएको
छ । यस देवभूमिमा अवस्थित मानव सभ्यताको विकास एवम् यहाँको कला, साहित्य, संस्कृतिको माध्यमबाट त्यस क्षेत्रमा बसोवास गर्ने मानिसलाई
जोड्न हिमवत्खण्ड कला, साहित्य, संस्कृति सम्मिलन आयोजना गरेको हो । यस तीनदिने सम्मिलनमा नेपाल, भारत, भुटान, वर्मा, बंगलादेश, चीनको तिब्बत आदि देशमा बसोवास गर्ने वा कर्म गर्ने स्थानका
नेपाली भाषीहरूले त्यहाँको कला, साहित्य, संस्कृतिका विषयमा कार्यपत्र प्रस्तुतिमार्फत हिमवत्खण्ड कला, साहित्य र संस्कृतिको प्रस्तुति गरेका थिए । काठमाडौँको राष्ट्रिय सभागृह, नेपाल पर्यटन बोर्ड, होटल लेमन ट्रीमा भएको उत्सवमा
चित्रकला सिर्जना र प्रदर्शनी, नेपालमा लोक संस्कृति, हिमवत्खण्डमा नेपाली लोक संस्कृति, संस्कृति र समृद्धि परिसंवाद, संचार माध्यममा नेपाली भाषा, कविता उत्सव, सम्मान तथा सम्झना लगायतका भव्य कार्यक्रम गरी सम्पन्न भएको थियो । कार्यक्रममा
लोक संस्कृति एवम् लोक बाजागाजा, नाचगान सहित सम्पन्न भएको हिमवत्खण्ड
कला, साहित्य, संस्कृति सम्मिलन – २०८१ भाषा, साहित्य, कला, संस्कृतिको उन्नयनमा कोसेढुङ्गा सावित हुने विश्वास लिइएको छ । अतः यस्ता साहित्यक
महोत्सवहरू निजी संस्थाबाट मात्र नभई सरकारी स्तरबाट समेत हुनुपर्ने अपेक्षा राख्दै
नववर्ष २०८२ सालको सुखद् उपलक्ष्यमा समस्त लेखक, पाठक, विज्ञापनदाता एवम् सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा हार्दिक
मंगलमय शुभकामना व्यक्त गर्दछौं ।