कवि एवम् कथाकार रामविक्रम थापाको जन्म वि. सं. २०२६ साल पौष
२५ गते खोटाङ जिल्लाको बाम्राङ – ८ (हालः दिक्तेल रुपाकोट
मझुवागढी न. पा. ३) मा पिता सैनध्वज थापा र माता तुलामाया थापाको कोखबाट भएको हो ।
नेपाली साहित्यमा परिचित बरिष्ठ साहित्यकार थापाका पात्रहरू (लघुकथासङ्ग्रह–२०५५), छरिएका कविता (कवितासङ्ग्रह–२०५६), बालपोष (बालकवितासङ्ग्रह–२०६४), राम्रो बानी (बालकवितासङ्ग्रह–२०७३), सुनापातालको सुनाझाँक्री
(बालचित्रकथा–२०७३), ट्याम्केको घुमघाम
(बालचित्रकथा–२०७३), आकाशको बन्चरो (बालकथासङ्ग्रह–२०७४), गाउँभरि भूतको हल्ला
(बालकथासङ्ग्रह–२०७४), जे माग्यो त्यही दिने
पोखरी (बालचित्रकथा–२०७५) लगायतका कृति
प्रकाशित भइसकेका छन् भने विभिन्न पत्रपत्रिकाहरूमा सयांै सिर्जनाहरू प्रकाशित भएका
छन् । साहित्यकार रामविक्रम थापाले भाषा साहित्यको क्षेत्रमा पुर्याउनुभएको योगदानको
उच्च कदर गर्दै धनहाङ्मा भैरव राई राष्ट्रिय कविता पुरस्कार (२०५७), उत्कृष्ट कला पुरस्कार
(२०५९), मोहन रेग्मी वाणी सम्मान (२०६४), प्रहरी उत्कृष्ठ लेखक
पुरस्कार (२०६६), रावासावा प्रतिभा पुरस्कार (२०७१), शिक्षक मासिक,
उत्कृष्ट समीक्षक पुरस्कार (२०७२), उत्कृष्ट शिक्षक पुरस्कार
(२०७९), प्रादेशिक प्रतिभा
पुरस्कार (२०८०) जस्ता दर्जनौं पुरस्कार एवम् सम्मानबाट सम्मानित भइसक्नुभएको छ । मोफसलमा
रहेर भाषा, साहित्यको क्षेत्रमा अनवरत रुपमा लागिरहनुभएका साहित्यिक व्यक्तित्व
रामविक्रम थापासँग होमशंकर बास्तोलाले गर्नुभएको छोटो कुराकानी ।
यहाँले साहित्यक क्षेत्रमा लाग्ने प्रेरणा कसरी प्राप्त गर्नुभयो
?
आफ्नो बालवयको ३–४ कक्षामा पढ्दा तत्कालीन ‘महेन्द्रमाला’ (हालको नेपाली) पाठ्यपुस्तकका कविता र कथाको अध्ययन, विद्यालयका साप्ताहिक कार्यक्रमका साहित्यिक प्रतियोगिताहरूको सफलताले साहित्यिक क्षेत्रमा सत्प्रेरणा प्राप्त भयो र बालकविता लेख्न शुभारम्भ भयो । सामाजिक विकृति, विसङ्गति, शोषण, दमनले पनि मलाई लेख्न घच्घच्याए । अलिकपछि साहित्यिक सम्पादकहरूको रचना स्वीकृति र प्राप्त केही पुरस्कारहरूले मलजल गर्दै सिर्जनामा मलाई थप ऊर्जा प्रदान गरे । यतिबेला म अग्रज साहित्यकारहरू सुप्रशिद्ध आख्यानकार स्व. परशु प्रधान, बालसाहित्यकार गुरूआमा कल्पना प्रधान र खोटाङे कवि जसराज किरातीको माया र प्रेरणालाई पनि मनभरि सम्झिरहेको छु ।
यहाँको साहित्यिक यात्रा बारेमा केही जानकारी पाउन सकिएला कि
?
वि. सं. २०३४–०३५ सालदेखि कविता विधाबाट सुरू भएको मेरो साहित्यिक यात्रा : झ्याउरे कविता, गद्य कविता, छन्दोवद्ध कविता, लघुकथा, लोककथा, समीक्षादि हुँदै विविध विधामा विस्तारित हुँदै गयो । हुलाक रजिष्ट्री मार्फत खोटाङका विकट यायावरी गाउँहरूबाट प्रेषित् मेरा लेख– रचनालाई राजधानीका साहित्यिक सम्पादकहरूले यथोचित स्थान दिएर मलाई न्याय गरेकै हुन् । आजजस्तो सजिलो कहाँ थियो र त्यो बेला ! २०४० सालदेखि निरन्तर प्रेषित् मेरा कवितालाई मधुपर्क र गरिमाले भने क्रमश : २०४४ र २०४६ सालमा मात्रै पहिलो रचनाका रूपमा स्वीकृत गरेका थिए । रेडियो नेपालको बालकार्यक्रम, गोरखापत्र, मधुपर्क, कविता, मिर्मिरेजस्ता अनेकांै साहित्यिक पत्रिकाका सम्पादकहरू मेरा उत्प्रेरक हुन् । २०५५ सालमा प्रथम कृतिका रूपमा “पात्रहरू” लघुकथासङ्ग्रह, २०५६ मा कवितासङ्ग्रह तथा कविता र कथा विधामा सात बालकृति गरी नौं कृति प्रकाशित गरी २०७५ यता म विश्राममा छु । कृति प्रकाशनको संख्यात्मक लक्ष्य दर्जन हो । भावी समय र काल (मृत्यु) ले के भन्ला ?
यहाँ छन्दोवद्ध कविता लेखनमा समेत सक्रिय रहुनुभएको छ । छन्दमा
लेख्न गाह्रो छैन ? छन्दोबद्ध कविता पाठकले कत्तिको मन पराएको पाउनुभएको छ ।
गोरखापत्र, मधुपर्क, कविता, मिर्मिरेजस्ता राष्ट्रियस्तरका साहित्यिक पत्रपत्रिकामा मलाई प्रवेशको ढोका खुल्ला गरिदिने नै मेरा छन्दोवद्ध कविता हुन् । मेरो पुस्तक “छरिएका कविता” (२०५६) मा पनि आधाजति कविता छन्दोवद्ध नै छन् । बिनासाधना र धैर्यता छन्दमा कविता लेख्न गाह्रो नै हुन्छ । निरन्तरको साधना/अभ्यासले नदीको प्रवाहझैँ छन्दमा सललल बग्न पनि नसकिने होइन । बाहिरी लय, सुसंरचना, सुललित मिठास र प्रत्याकर्षणका दृष्टिले छन्दोवद्ध कविता पाठकले अधिक मन पराएको मैले पाएको छु । बिम्ब, प्रतीक, अलंकार र मिथकले त अझ सुनमा सुगन्ध नै थप्छन् । केही गद्य कविहरू भने यदाकदा एकलकाटे भएर छन्दोवद्ध कविताप्रति वितृष्णाको विष वमन गर्ने गर्छन् ।
तापाईं मोफसलमा रहेर भाषा, साहित्यको क्षेत्रमा
क्रियाशील रहेर पनि राष्ट्रियस्तरमा परिचय बनाउनुभएको छ । मोफसलमा भाषा, साहित्यको कार्य गर्न
कठिनाइ छैन ?
जति चिच्याएर गाए पनि खोलाको गीत पहाडले सुन्दैन भनेजस्तै हो मोफसल र राजधानीको सम्बन्ध पनि । एक्लै राजधानीले सिंगै देश बोक्न खोज्थ्यो र अझै पनि खोज्छ । त्यहाँ धेरै अवसर र मौकाहरू छन् । चाकडी, गुलामी र सलामी गर्ने मान्छेहरूको कमी छैन हाम्रो नेपालमा । आफू त ४–५ वर्षमा एकपटक राजधानी पुग्दा पनि पारिश्रमिक शाखामा पत्रम् पुष्पम् बुझी सम्पादकलाई नभेटी लुसुक्क फर्कने मान्छे । पेशा र साहित्यको क्षेत्रमा स्वस्वाभिमान गिराएर मलीबाँस भएको छुइनँ म । बेलैमा राजधानी छिर्ने समकालीन साहित्यिक मित्रहरू अहिले निकै अगाडि पुगेको देख्छु । पूर्वको कालीकोट भनेर चिनिने खोटाङका अति विकट कृष्णगर्ते गाउँहरूबाट हानेका हुलाके झटाराहरूले यत्तिको (सानोतिनो) साहित्यिक पहिचान बन्नुलाई पनि साधना र संघर्षको राम्रै प्रतिफल हो जस्तो लाग्छ मलाई । तपार्इंले भनेजस्तो राष्ट्रिय परिचय त के भन्नु र ! ?
यहाँप्रौढ साहित्यमात्र नभएर बालसाहित्य पनि लेखिरहनुभएको छ
। पौढसाहित्य र बालसाहित्यमध्ये कसले पाठकको मन पगाल्न सक्ला ?
पछिल्लो समय म अलिक बढी बालसाहित्यमा केन्द्रित भएर ७ कृति प्रकाशित भए । प्रभाव क्षेत्र र पाठक अलगअलग हुन्छन् प्रौढसाहित्य र बालसाहित्यका । मेरा केही बालकविता र बालकथा बोर्डिङ र सरकारी नेपाली पाठ्यपुस्तकमा रहेका भए पनि ७ बालकृतिको तुलनामा २ प्रौढ कृतिकै प्रभाव बढी अनुभूत गरेको छु । बालसाहित्यका किताबले सजिलै प्रकाशक पाउँथे पहिले । अहिले त त्यो पनि गाह्रो भएछ । बालसाहित्यको प्रचार प्रसार र पाठक नै कम हुने क्या !
तपाईं कुनै समय निजामतीमा कार्यरत हुनुहुन्थ्यो । हाल शिक्षण
पेशमा संलग्न हुनुहुन्छ । निजामती एवम् शिक्षण पेशाबिच कुन पेशामा रहँदा लेखन कार्य
सहज हुँदो रहेछ ?
हो, बास्तोलाजी ! म १४ वर्ष ८ महिना निजामती सेवामा रहेर काम गरेँ । चाकडी, चाप्लुसी, गुलामी, सलामीको सशक्त विरोधी, स्वतन्त्र र स्वाभिमानी स्वभावले त्यसलाई त्यागेर २०६० सालदेखि गणित/विज्ञानको माध्यमिक शिक्षण पेशामा म आएँ । स्वतन्त्र र तनावहीन शिक्षण पेशामै लेखनकार्य सहज हुनुपर्नेजस्तो लागे पनि मैले अलिक बढी सिर्जना निजामती सेवामा रहँदै गर्न सफल भएँ । तत्कालीन गाविस सचिवको मेरो निजामती पेशा कहिल्यै १०–५ को बन्धनमा बाँधिएन । नेताहरूले मिलाइदिन्छु भन्दा पनि १०–५ को हाकिम सम्मुखको कमाउने कार्यालयमा म कहिल्यै गइनँ । २०४८ को कर्मचारी आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै जागिर नै हिँडाइयो । पछि २०५१ मा अदालतले जागिर फर्काइदियो ।
वर्तमान नेपाली साहित्य कस्तो छ भन्ने लाग्छ यहाँलाई ?
वर्तमान नेपाली साहित्यको सम्यक अध्ययन मैले गरेको छुइनँ । अध्ययनशील गम्भीर पाठकको खडेरी छ जस्तो लाग्छ मलाई । लेखनले पनि नवीन मोड र प्रवृत्ति ल्याउन सकेजस्तो लाग्दैन । यो प्रश्नको उत्तर पारखी समालोचकसित खोज्नु उचित होला कि !
हाल साहित्यसम्बन्धी के गरिरहनुभएको छ । भविष्यमा के कस्तो लक्ष्य राख्नुभएको छ ?
करिब आधा दर्जनजति शारीरिक बिराम र परिवेशजन्य मानसिक आघातहरूले सिकिस्त म अहिले सिर्जनामा निकै सुस्ताएको छु । साहित्यिक लेखनका लागि यथेष्ठ अध्ययन, मनन, चिन्तन र मन्थनको आवश्यकता पर्दछ । कुनै सन्दर्भले चिमोट्दा यसो कविता कोरेर माग गर्ने सम्पादकलाई यदाकदा प्रेषण गर्ने गर्छु । केही लघुकथा र छन्दोवद्ध कविता निखारतापूर्वक लेख्ने रहर छ । २०५५/०५६ यताका विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित फुटकर कविता र लघुकथालाई सङ्गृहीत गर्नुका अतिरिक्त एउटा बालकविताको किताब निकाल्ने रहर र लक्ष्य छ । प्रकाशक र पाठक दुवैको खडेरी परेको यो याम सर्जकहरूका लागि निकै कष्टकर लाग्छ ।
जीवनमा साहित्य क्षेत्रमा लागेर के चाहिँ प्राप्त गरेजस्तो लाग्छ
?
अनुहार अदृश्य भएर पनि नामको पहिचान भएकोमा गौरव लाग्ने गर्छ । साथीभाइहरूले सम्झन्छन् र लेखकको रूपमा ग्रहण गर्छन् । पार्टी, गुट, सरकार, व्यक्तिपूजा, सम्पर्क, चम्चागिरी …आदिबाट टाढा रहेर विरोधको शंखघोष गर्दै सदा प्रतिपक्ष कित्तामा उभिरहने मजस्तो अनौठो मान्छेलाई पनि केही संघ/संस्था र सरकारी पक्षबाटसमेत सम्झेर पुरस्कृत गर्दा साहित्यिक क्षेत्रमा मैले पनि केही गरेको रहेछुजस्तो अनुभूति हुने गर्छ । अतः सिर्जना, प्रकाशन र पुरस्कारपछिको आत्मसन्तुष्टि र सामान्य स्वपहिचानलाई नै मैले साहित्यिक क्षेत्रको सम्प्राप्ति मानेको छु । तपाईं यसरी मसम्म आइपुग्ने यो अन्तर्वार्ताको कडी पनि साहित्य नै हैन र ?
नामले पनि साहित्यमा काम गरिरहेको हुन्छ भनिन्छ । के सिर्जनाभन्दा
नाम शक्तिशाली
हुन्छ ?
नामवादी चिन्तन पहिले धेरै थियो र अहिले पनि केही मात्रामा छ । रचनाको पारख नै नगरी नाम हेरेर पत्रिकामा छाप्ने सम्पादकहरू पनि छन् । एउटा विधामा स्थापित सर्जकको अर्को विधाको विशेषाङ्कमा सजिलै नाम चढ्नु पनि नामवादी प्रभाव नै हो । बालसाहित्यमा कहिल्यै कलम नचलाएका प्रौढ साहित्यकार पनि विशेषाङ्कमा रातारात भुइँफुट्टा भएर बालसाहित्यकार बनेका पनि देखिएकै छ । लेखकका सबै रचना सधैँ स्तरीय हुन्छन् भन्ने सोच नै गलत हो । के महाकवि देवकोटाका सबै कविता उही स्तरका छन् त ? लेखिसकेर आफैँलाई चित्त नबुझेर कवि भूपिले कति कविता च्यातेका घटना पनि सुनिएकै हुन् । अतः नामवादको हावी हुनु एउटा घातक रोगतुल्य लाग्छ मलाई ।
यहाँको साहित्य सिर्जनाको उद्देश्य के हुने गर्छ ?
आफूलाई आत्मसन्तुष्टि, पाठकलाई मानसिक खुराक अनि समाज र समयको सजीव चित्रण नै साहित्य सिर्जनाका मेरा उद्देश्य हुन् । टाउको हलुका हुन्छ नि, कागजमा केही लेखिसकेपछि, शिशु जन्माइसकेकी सुत्केरी आमाझैँ !
लेखक र पाठकप्रति यहाँको कुनै सुझाव एवम् प्रतिक्रिया छ ?
सच्चा लेखक जहिल्यै सत्ता र शक्तिको प्रतिपक्ष कित्तामा रहन सक्नुपर्छ । एकेडेमीको प्राज्ञ खान र सरकारी पुरस्कार हत्याउन आफ्नो पार्टी र सिद्वान्त परित्याग गर्ने लोभीपापी सर्जकहरू पनि नभएका होइनन् । पार्टीको झोला र झण्डा बोकेर अनेक गुलामी र चम्चागिरी गर्दै पद र पुरस्कार हत्याउन नलागुन् लेखकहरू ! निष्ठा र इमानदारीपूर्वक आफ्नो सिर्जनामा लागिरहनु लेखकको धर्म र कर्म हो । पाठकको त मृत्यु नै भैसक्यो नि ! फेसबुक छाडेर को साहित्यिक बुक पढ्छ ? स्वयम् लेखक पनि आफ्नोबाहेक अरूको नपढ्ने रूखो समय आइसकेजस्तो मलाई लाग्ने गर्छ ।
नेपालका साहित्यिक पुरस्कारको अवस्था बारेमा यहाँको धारणा के
छ ?
प्रोत्साहनको द्यौतक पुरस्कारले लेखकलाई अझ जिम्मेवार र कर्मयोगी बनाउँदै थप ऊर्जा प्रदान गर्दछ । तर यहाँ अधिकांश पुरस्कार धाउनेहरूले पाउँछन्, सस्तो विज्ञापन र चम्चागिरी गर्नेहरूले पाउँछन् । सरकारी पुरस्कार सत्ता पक्षका लेखकहरूलाई दिइन्छ र अरू योग्यलाई सशक्त निषेध गरिन्छ । निजीस्तरका पुरस्कार पनि धेरैजसो आदानप्रदान, ऐचोपैचोकै भुमरीबाट बाहिर निस्कन सकेका छैनन् । नातिले पाइसकेको पुरस्कार पनि कोही हजुरबा निर्लज्ज हात थाप्छन् । लाख थापिसक्नेहरू हजारमा र्याल चुहाउँछन् । स्वयम् दाताकै तेजोवध हुनेगरी पनि पुरस्कारहरू निर्णय भएका छन् । अतः सत्पात्रको भागमा नपर्दा कतिपय पुरस्कार कुइगन्धे र कलंकित पनि हुन पुगेको दुरावस्था छ । १५–१६ वर्ष पूर्व नै यस बारेमा मेरो एउटा निबन्ध समष्टिमा आएको थियो, ‘पुरस्कार : एक दुखान्त शब्दचित्र !’
अन्त्यमा अन्तर्बोधमार्फत केही भन्नु छ कि ?
रचना, अभिव्यक्ति, जनमत, अन्तर्बोध …जस्ता निजीस्तरका साहित्यिक पत्रिकाहरू आर्थिक रूपमा कसरी चलिरहेका होलान् भनेर म छक्क पर्ने गर्छु । सम्पर्कहीन, विकटको मजस्तो बबुरो सामान्य कलमजीवीलाई आफ्ना मनका केही कुरा राख्ने यो अवसर यसरी प्रदान गर्नुभएकोमा तपाईं सम्पादक होमशंकर बास्तोला र अन्तर्बोध साहित्यिक पत्रिकालाई आभारपूर्वक धन्यवाद !