बोलीमा महको मिठास छ,
जहिल्यै सहयोगी भाव छ
देखिन्न कुनै छल, देखिन्न कुनै कपट
भ्रम हो कि यो दृष्टिभ्रम हो ?
कसरी चिन्नु मुहार हो कि मुखौटा हो ?
कसरी जान्नु सत्य के हो ? झुट के हो ?
सत्यलाई साथ दिन्छु भन्छ
सङ्घर्ष र परिवर्तनको कुरा गर्छ
नैतिकता र इमान्दारिताको भारी भने जत्ति बोक्छु
भन्छ
हजारौं पाइलासँगै हिँडे पनि
ऊ को हो भनेर मेरो मनले सोधिरहन्छ
नखोजे खोज्छ, खोजे ऊ टाढा जान्छ
छक्क पर्छु म, विचित्रको छ उसको चरित्र
ठेस लाउनमा त ऊ माहिर नै छ
अरुलाई अप्ठ्यारोमा पारेर ऊ मौन बस्छ
कालो मुहारमा सधैं सच्चरित्रको सेतो पाउडर घस्छ
खै, कसरी यो भ्रमलाई मैले काखी च्यापिरहेँ
?
अँगालोको शत्रुलाई आत्मीय मित्र ठानिरहेँ ?
भेडा हैन ब्वाँसा हो भनेर चिनिसकेपछि पनि
किन गर्न सकिन मैले अलग बाटो
धोकाको अविरल वर्षातपछि पनि किन च्यात्न सकिन
उसको मुहारमाथिको नक्कली मुखौटा ?
– तरहरा, सुनसरी
हालः बुढानिलकण्ठ
न. पा., काठमाडौँ