१७ अक्टोबर २०२४ अर्थात् २०८१ कार्तिक २ गते बिहीबार
हामी न्युजर्सीबाट डेलावेयर, पेन्सिलभेनियाँ, बाल्टीमोर हुँदै भर्जिनियाँ पुग्नेगरी यात्रामा
निस्कियौँ । हाम्रो यात्रा लामै थियो । ज्वाइँले चलाउनुभएको गाडीमा हामी चारजना म, जीवनसाथी, छोरी बसेका थियौँ । यसो गाडीमा
हिँड्दा खान मन लागे खानेकुरा र आवश्यक पर्ने पानी हामीले गाडीमा राखेका थियौँ । अघिल्लो
दिनको न्युयोर्क घुमाइको चिसोले हामीलाई निकै नै तर्साएको पनि थियो । चिसो पनि कस्तो
भने हावाले मुटु नै छेड्लाजस्तो ! जति खाप लुगा लगाए पनि कामै नगर्ने ! घाम पनि लागिरहेकै
छ तापनि हात ठिहि¥याएर लुकाउनुपर्ने ! भरखर जाडो सुरु हुन लागेको
रे ! पछि जाडो छिप्पिँदा त के हालत हुने होला भन्ने अनुमान ग¥यौँ हामीले ।
हामी बिहान ८ बजे होटलबाट निस्कियौँ । फराकिला बाटा, भव्य संरचना, सफा एवम् चटक्क सहर हेर्दै हेर्दै हामी अगाडि बढ्यौँ । केही बेरको यात्रापछि नै हामीले डेलावेयर नदीको स्वागत पायौँ । यही नदीको नामबाट डेलावेयर राज्यको नामाकरण भएको रहेछ । सन् १७८७ मा फिलाडेल्फिया राज्यको पेन्सिलभेनियाँमा अमेरिकाको संविधान लेखिएको र जारी गरिएको रहेछ । यो संविधान जारी भएपछि अमेरिकालाई संयुक्त राज्य अमेरिका बनाउने प्रयोजनका लागि राज्यहरूलाई आह्वान गर्दा पहिलोपटक डेलावेयरले स्वीकृति प्रदान गरेको रहेछ । यो सुरक्षित इतिहास निर्माण गरेको यो राज्यका भौतिक संरचना, यहाँको विकास, पर्यावरणको संरक्षण सबै सबै अनुकरणीय छन् । अचम्म लाग्दो कुरा त के भने अमेरिकाका जुन राज्यको अवलोकन भ्रमण गर्दा पनि विकास निर्माणका संरचना उस्तै भव्य छन्, राम्रा छन्, वातावरणीय सचेतना जहाँको पनि अनुकरणीय छ । बाटाघाटामा कतै पनि बिग्रेभत्केको देखिँदैन !
हामी घुमन्तेलाई घुम्नु त छ नि ! मध्याह्नतिर हामी फिलाडेल्फिया राज्यको पेन्सिलभेनियाँ पुग्यौँ । यो चाहिँ पुरानो सहर रहेछ । हुन पनि अहिलेको संयुक्त राज्य अमेरिकाको इतिहास नै यहीँबाट लेखिएको रहेछ । पेन्सिलभेनियाँको मध्यसहरमा अहिले पनि सुरक्षित राखिएको तत्कालीन संसद् भवन मन्दिरजस्तो गजुरसहित निर्माण गरिएको छ र गजुरभन्दा केही तल ठुलो घण्टी राखिएको छ । त्यो घण्टीले अहिले पनि घण्टा घण्टामा समयको सूचना दिन ठुलो आवाजमा घण्टी बजाउँदो रहेछ । त्यही भवनमा सन् १७८७ मा संयुक्त राज्य अमेरिकाको परिकल्पना गरेर संविधान लेखिएको र कार्यान्वयनमा ल्याइएको रहेछ । पुराना भवनको संरक्षण गरिएको हुँदा संरचना ठुला र भव्य भने होइनन् तर प्राचीन गौरवपूर्ण इतिहासको जगेर्नामा राज्यको सचेतता अनुकरणीय लाग्छ ।
अगाडिपट्टि ठुलो र फराकिलो ठाउँ, त्यसको पछाडि सुन्दर र आकर्षक बगैँचा, रुखबिरुवासहितको हरियाली मनमोहक देखिन्थ्यो । यो ऐतिहासिक ठाउँ भएकाले संसारभरबाट मानिसहरू यहाँ आउँदा रहेछन् । अलि परबाट फोटो खिच्न मिल्ने व्यवस्था कार्यान्वय गरिएको यहाँ हामी पुग्दा स्थानीयहरू नै पनि र अन्यत्रका अमेरिकीहरूका अलावा निकै ठुलो जापानी विद्यार्थीको टोली यस स्थानका बारेमा जानकारी लिइरहेको थियो, विद्यार्थीहरू हाँस्दै, रमाउँदै फोटो खिचिरहेका थिए, सायद उनीहरूको शिक्षक हुनुपर्छ बोलेर जानकारी गराइरहेका थिए । हामीले पनि फोटा खिच्यौँ । त्यो ऐतिहासिक स्थलको वरिपरि वृक्षरोपणका माध्यमबाट कायम राखिएको हरियाली अनि सुन्दर तथा मनोहारी पर्यावरणको अवलोकन गर्दै झन्डै पन्द्र मिनेट लगाएर हामीले पनि एक फन्को लगायौँ । नजिकै अत्याधुनिक तथा गगनचुम्बी भवनहरू पनि ठडिएका थिए । यो ठाउँको अवलोकनमा बाहिरका मात्र मानिसहरू होइनन् स्थानीय पनि निकै नै झुम्मिएका देख्यौँ हामीले ! त्यसपछि हामीले सहरको अवलोकनका लागि थप केही समय खर्चिएर एक फन्को लगायौँ । बिहान उज्यालो भएपछि साँझसम्म सडक, पार्क तथा सार्वजनिक स्थलको सरसफाइमा कोही देखिँदैनन् तर सबै सबै चिटिक्क छन् ! अचम्म ! यसरी सधैँ चिटिक्क पार्न त सरसफाइ आवश्यक पर्ला नि ! त्यो चैँ कतिखेर हुन्छ ? मनले प्रश्न गरिरह्यो, हामी घुमिरह्यौँ !
पेन्सिलभेनियाँको सुन्दरता नियालिसकेपछि हामी बाल्टीमोरतर्फ लाग्यौँ । यी स्थानहरू नजिक नजिक रहेछन् । करिब डेड घण्टामै हामी बाल्टीमोर पुग्यौँ । यो चैँ चारैतिर समुद्रले घेरिएको, यसो हेर्दा पनि अत्यन्त ऊर्वरजस्तो रमाइलो सहर रहेछ । आकारमा त्यति ठुलो छैन रे यो । यहाँ सत्ताइस तलाको वल्र्ड ट्रेड सेन्टर बाल्टीमोर रहेछ । यसको माथिबाट अवलोकन गर्दा रमाइलो देखिन्छ भन्ने कुरा भयो । माथि चढ्नका लागि टिकट काट्नुपर्ने रहेछ, काट्यौँ र त्यहाँ रहेका प्राविधिकको सहयोगमा लिफ्टको मद्दतले हामी टावरमाथि पुग्यौँ । चारैतिर समुद्र मात्रै देखिन्छ ! हरियो पानी, पानीमा तैरिरहेका पानीजहाजहरूको लाइन स्पष्टै देखिन्थ्यो । पानीजहाज पनि कति हो कति ! एकै ठाउँमा यतिका धेरै पानीजहाज हामीले पहिलोपटक यहीँ देख्यौँ । यो अमेरिकाको व्यापारिक सहर पनि रहेछ । यहाँबाट पानीजहाजले संसारभरि सामान पु¥याउने काम पनि गर्दा रहेछन् । पानीमाथि नै घर देखिन्छन् ! चारैतिर पानी नै पानीका बिचमा घरहरू भएको टापु पनि देखिन्छ ! कताबाट जान्छन् होला त्यस ठाउँमा मान्छेहरू ! जहिल्यै पानीजहाज नै चढ्नुपर्ने ! त्यतातिरका मान्छेका आफ्नै साना खालका जहाज हुन्छन् रे ! ‘जहाँको माछा त्यहीँको दुवाली’ भनेजस्तो ठाउँको परिवेशअनुसार जीवन त जिउँनै प¥यो । हामीले अघाउन्जेल त्यहाँबाट रमिता हेर्यौँ । टावरमाथिको मान्छेको भिड त ओहो ! खुट्टा टेक्ने ठाउँ नै पो छैन त ! हामीले फोटा खिच्यौँ, भिडियो बनायौँ । टावरको सबैभन्दा माथिको हामी पुगेको तलाको भित्तामा त्यस ठाउँबाट संसारका अन्य देश तथा ठाउँहरू कति टाढा भन्ने जानकारी राखिएको थियो । जसअनुसार सबैभन्दा नजिक चाहिँ क्यानाडाको टोरन्टो ४३४ माइल लेखिएको थियो । अरू त धेरै टाढा टाढा नै पर्दा रहेछन् । धेरै बेर घुमिसकेपछि हामी तल ओल्र्याैँ । टावरको फेदैमा किनाराको डन्डीमा लठ्ठाले बाँधेर पानीमा अड्याइएको ठुलो पानीजहाजको फोटो आउनेगरी पुलबाट फोटो खिच्यौँ । वरिपरिका दृश्यहरूलाई पनि मोबाइलमा कैद ग¥यौँ । गाडीबाटै बाल्टीमोर सहरलाई एक फन्को लगायौँ, सहरको भव्यता नियाल्यौँ । अमेरिकाका सहरहरूमा गाडी पार्किङको चाहिँ सारै समस्या ! पार्किङस्थल पाउनै कठिन ! पैसा नतिरी कतै कहीँ पार्किङ गर्न पाइँदैन ! पैसा तिरेरै पनि पाउनै कठिन ! फेरि पार्किङशुल्क त्यस्तै महङ्गो ! बढी नै व्यापारिक (कमर्सियल) देश रहेछ अमेरिकाजस्तो पनि लाग्यो मलाई ।
अब आज हामीलाई भर्जिनियाँ पुग्नु थियो त्यसैले बाटो लाग्यौँ । भोलि शुक्रवार अमेरिकाको राजधानी वासिङ्टन डिसी घुम्ने सपना पनि हामीसँगै घुमिरहेको छ ! भर्जिनियाँ र वासिङ्टन डिसी चाहिँ सँगसँगै टाँसिएका रहेछन् । साँझ साँझ पर्न लागिहाल्यो तैपनि हामी दौडिइरहेका छौँ । गाडीमा भएको नक्सा हेर्दै कुद्दै गर्नुपर्ने ठाउँ ! नक्सा बताउने एउटी केटीले कराउँदै भनी, ‘भर्जिनियामा तपाईंलाई स्वागत छ ।’ ओहो ! लौ ! हामी भर्जिनियाँ आइपुग्यौँ त ? न्युयोर्कभन्दा भर्जिनियाँ नै अलि केही तातोजस्तो लाग्यो हामीलाई । दिउँसो भएकाले हो कि पेन्सिलभेनियाँ, बाल्टीमोर पनि न्युयोर्कभन्दा तातै लागेका थिए । कि तिनीहरूले न्यानो आतिथ्य प्रदान गरेका पो थिए कि ! हामीलाई मरुन्जेल जाडो भएको अनुभूति चाहिँ भएन ।
वास बस्नका लागि हामीले भर्जिनियाँको म्यारियट होटेल
बुक गरेका
थियौँ । यो कता पर्ला भनेर चिन्ता गरिरहनु त परेन, गाडीको नक्सा छँदै छ । यो नक्सा पनि गजबकै सुविधा रहेछ यहाँको ! कोही कसैलाई नसोधी आफ्नै खुसीले हिँड्न पाइँने ! सडकको नाम राखेर घर नम्बर व्यवस्थित गर्दा त यत्ति काम त ठुलो होइन रहेछ नि ! तर के गर्र्नु हामीकहाँ त कामभन्दा बढी गफै मात्र गर्छन् र पो ! जस्तो लागिरह्यो मनमा । फेरि आफ्नै मनले मलाई निर्देश ग¥यो, ‘तुलना गर्ने व्यर्थको झन्झट किन गर्छस् यार ! जे कुराको तुलना नै हुँदैन, त्यही किन गर्नुप¥यो !’ कुरा ठिकै हो तैपनि मन न हो, कहिलेकाहीँ बहकिन खोजिहाल्छ ! पुग्ने र हुने कुराको मात्र कहाँ कल्पना गर्छ र मनले !
अब हामीलाई भोक पनि लागेको थियो, थकाइ पनि असाध्यै लागेको थियो । कतै केही खान पाए होटलमा गएर आराम गर्नुहुन्थ्यो, सुत्नुहुन्थ्योजस्तो भइरहेको थियो । छोरीले ‘नक्सा हेरे नेपाली होटल कुनै पाइन्थ्यो कि’ भनेर ज्वाइँलाई सम्झाइन् । ज्वाइँले यसो नक्सा हेर्नुभयो । ‘रोयल नेपाली खानाघर’ नामको रेस्टुरेन्ट यतै नजिकै देखायो त’ भन्नुभयो । ‘त्यतै जाऊँ, फेरि पार्किङको समस्या होला कि !’
छोरीले सुझाइन् । ‘पहिले एकपटक राहदानीको काम परेर आउँदा पनि यो होटलमा आएको र खाना खाएकोजस्तो लाग्यो, यही हो भने त पार्किङ पनि छ’ भन्नुभयो ज्वाइँले । ‘त्यसो भए त्यहीँ जाऊँ’ भन्ने कुरा भयो र हामी त्यतैतिर मोडियौँ । नक्सावालीले यता जा, यो सडक घुम्, दायाँ मोडिई भन्दा भन्दा हामी केही समयपछि त्यही नेपाली खानाघरमा पुग्यौँ । नभन्दै पार्किङ पनि रहेछ । गाडी राख्यौँ र होटलमा छि¥यौँ । छिर्नासाथ प्रेमराजा महतको ... पानको पात ... बोलको गीतको सुमधुर धुन बजिरहेको सुनेपछि मलाई त आफ्नै घरमा आएजस्तो पो लाग्यो ! परदेशमा, त्यो पनि यो सात समुद्रपारिको देशमा आफ्नै देशको चर्चित लोकगीतको धुन बजेको सुनिएला भन्ने कल्पना नै मैले कहाँ गरेको थिएँ र !
भित्र पस्नेबित्तिकै नेपाली मुलका एकजनाले स्वागत गरे । मन झनै प्रफुल्ल भयो । मैले त नेपालीमै सोधिहालेँ, ‘तपाईंको नाम ?’ उनले ‘शम्भु तामाङ’ बताए । मैले फेरि ‘नेपालको घर कता नि’ भनेर सोध्दा उनले ‘नुवाकोट हो, तर यहाँ आएको नै बाइस वर्ष भयो’ भनेर बताए । बिहान होटल छाडेर हिँड्ने वेलामा नास्ता गर्दा एउटा स्याउ दिएको थियो तर काट्ने कुरा केही थिएन । त्यो स्याउ हातैमा बोकेर दिनभरि घुमियो, काट्ने कुरा कहाँ पाउनु र ? यहाँको होटलवाला भाइ नेपाली देखेपछि मैले त ‘लु लु भाइ ! यो स्याउ काटेर ल्याइदिनु’ भनिहालेँ । तर यहाँ होटल रेस्टुराँमा बाहिरबाट ल्याएको खानेकुरा खान पाइँदैन रे ! छोरीले मलाई सम्झाइन् तर नेपाली देखेर मनले जितिहाल्यो । ती भाइले पनि मेरो कुरा काट्न नसकेर नै होला स्याउ काटेर एउटा प्लेटमा हालेर ल्याइदिए । हामीले एक एक टुक्रा खायौँ । होटलवाला भाइले ‘के खाऊँ ?’ भनेर सोधे । हामीले ‘खाना खाने हो’ भन्ने जवाफ दियौँ । छोरी र ज्वाइँले खानेकुराको अर्डर गरुन्जेल ती भाइले ‘खाँदै गरौँ’ भनेर चारओटा नेपाली सेलरोटी पो ल्याइदिए ! मलाई त साँच्चिकै आफ्नै घरको सम्झना पो भयो ! सेलरोटी देख्नेबित्तिकै मैले र श्रीमतीजीले दुईदुई ओटा खायौँ, छोरी र ज्वाइँले खानुभएन । हामीले मजाले खाना खायौँ, पैसा तिर्यौँ र ‘हार्दिक धन्यवाद है भाइ’ भन्दै बिदा भयौँ र होटलतिर लाग्यौँ । हामी ग्राहक नेपाली हौँ भन्ने लागेपछि सेलरोटीले आतिथ्य प्रदान गर्ने यी होटलवाला तामाङ भाइको शैली पनि मलाई निकै मन पर्यो । हामी नेपालीको संस्कृतिलाई पराइभूमिमा पनि सुरक्षित राखेकामा, संरक्षित गरेकामा हृदयतः धन्यवाद भन्न मन लाग्यो ।
त्यहाँबाट होटल पुग्न फेरि पनि पन्द्र मिनेट लाग्यो
। नक्साले जता जता भन्छ त्यतै जानै पर्ने, नत्र पुगिन्न । बेलुकाको सवाआठ
मात्र बजेको छ तर भर्जिनियाँ त सुनसान पो छ त ! मैले जिज्ञासा व्यक्त गरेँ, ‘क्या हो ! अमेरिका यति चाँडो सुत्छ होला त !’
छोरीले भनिन्, ‘बिदाको अघिल्लो दिन होइन, भोलि आआफ्ना कामका दौडमा हिँड्नुपर्नेहरू आजको काम सकिएपछि आआफ्ना वासमा पुगे होलान् नि ।’ होला पनि । यहाँका मान्छेलाई सधैँ घुमेको ठाउँ घुमिरहने कुरा भएन । केही बेरमै हामी वास बस्ने होटलमा पुग्यौँ । ज्वाइँले कोठा बुक गराएको जानकारी गराउनुभयो, त्यहाँ रहेकी कर्मचारीले मागेका केके विवरण दिनुभयो र केही बेरमै उनले ढोकाका साँचा (यसो ढोकामा देखाएर खोल्ने कार्ड) दिइन् अनि हामी लिफ्टको सहायताले माथिल्लो तलामा चढ्यौँ । ढोका खोल्यौँ । उता गाडी पार्किङ गर्ने ठाउँमा पनि ढोका खोल्न कार्ड माग्दोरहेछ भनेर ज्वाइँले छोरीलाई फोन गर्नुभयो र छोरी त्यता गइन् । गाडी पार्क गरेर दुवै जना आइसकेपछि हामीले आआफ्ना कोठामा पसेर सामान थन्क्यायौँ, हातमुख धोयौँ ।
दिनभरि फोटो खिच्दा, भिडियो खिच्दा मोबाइलको ब्याट्री सकिइसकेको थियो । हामीले हतार हतार सबैभन्दा पहिले मोबाइल चार्जमा हाल्यौँ । ‘कसैलाई केको धन्दा, घरज्वाइँलाई खानकै धन्दा’ भनेझैँ हामीलाई भने भोलि फेरि फोटो तथा भिडियो खिच्ने मोबाइल चार्ज गर्ने काम नै प्राथमिकतामा पर्यो ! मैले अमेरिका आउनासाथ ‘काठमाडौँबाट बोकेर ल्याएका ल्यापटप चार्जर र मोबाइल चार्जर गोलो पिन भएका हुँदा काम गरेनन् यहाँ ज्वाइँले अर्काे वैकल्पिक व्यवस्था गरिदिनुभयो’ भनेर ती चार्जरहरूको फोटो खिचेर फेसबुकमा हालेको थिएँ । त्यो देखेर धेरै साथीहरूले अचम्म मान्नुभएको पनि थियो, कसै कसैले त ‘सबै ठाउँमा एकै खालका के हुन्थे, विचार गरेर लानुपथ्र्याे’ भनेर पनि लेख्नुभयो तर उता काठमाडौँमा एउटा पावरसकेटमा एउटा मात्र डिभाइस प्रयोग गर्नसकिन्छ तर यहाँ चाहिँ एउटै पावरसकेटमा दुइटा डिभाइस प्रयोग गर्नसकिने हुँदो रहेछ ! यही पनि मलाई त नौलो नै लागिरहेको थियो । सामानको प्रयोजन पनि ठाउँअनुसार फरक फरक हुँदो रहेछ !
ठाउँअनुसारको चलन हो हुन त । यहाँ अमेरिकामा हातले कोही कसैले लुगा नधुने, अधिकांशले भाँडा माझ्ने मेसिन (डिसवास) को प्रयोग गर्ने रहेछन् त्यसैले यहाँ बाथरुममा पर्याप्त पानी हुँदैन । ट्वाइलेटमा धारा नहुने र नुहाउने ठाउँँ (गहिरो पानी डुब्नमिल्ने) बाहेक उता हामीले गरेजस्तो वाथरुममा खुट्टा पसारेर मिची मिची लुगा धुन्छु भन्न पाइँदैन ! यहाँका व्यस्त मानिसहरू लुगा मेसिनमा हालिदिने अनि त्यसैले धुने, सुकाउने गरिदिन्छ, एकैपटक अनुकूल भएको समयमा झिकेर थन्क्याउने गर्छन् । हुन त यहाँ प्रायःजसोको मेसिनसँग पहुँच भएका कारणले पनि होला हाम्रोजस्तो रगडघस जिन्दगीले हातमुख जोड्नै कठिन हुने परिस्थितिमा त मेसिनको नाकमुख कसरी पो देख्नु र !
यहाँको भौतिक सम्पन्नता र सुविधालाई यसैगरी नियाल्दै, भोग्दै हामीले आजको यात्रालाई पनि बिसायौँ, भोलि फेरि घुम्नु त छँदैछ ।