ढुंगाको भित्री तहमा लुकेर बसेको मूर्तिलाई बाहिर ल्याउनका लागि बारम्बार छिनोमा हथांैडाले नहाने कसरी त्यसमा रहेको अनावश्यक वस्तु हट्छ र ? अनावश्यक वस्तु नहटी कसरी निस्कन्छ र एउटा सपनाको आकृति । हो, त्यही आकृति निकाल्नका लागि गरिएको प्रयासपछि नै एउटा सुन्दर मूर्तिको रूप धारण गरेको हुन्छ । जुन योग्य हुन्छ मन हर्न र पुज्य बन्छ पुज्नका लागि ।
सिकारुको
कलाकारिता र पौढको छिनोको चोट यहाँ बराबर हुँदैन । नापेर हानेको छिनोले चाहेको भन्दा
बढी काट्न सक्दैन । तर, सिकारुको चोटले पूर्ण हुन लागेको मूर्ति एकै झड्कामा
टुक्रिन सक्छ । यहाँ मेहनत र आकृति दुवै एकै पटक सकिन्छ । यो कुरा निबन्ध लेखनमा सोच्नुपर्ने
विषय हो । यो उदाहरण होइन, बारम्बार गरिएको अभ्यासले सिकाएको पाठ हो ।
एकै
पटकमा चार कुना मिलेको डोको कसैले बनाउँदैन । बनाउँदै जाँदा चोयाको चाप र खिपाइको औषतबाट
उसले सिक्छ । अक्षरको खेलमा मसलाको गन्ध हुँदैन तर स्वादको हर्हरी वासना आइरहेको हुन्छ
। त्यो निकाल्ने कला भनेको अन्तर मनको संवाद हो । जुन अरुलाई ढाँटेजस्तो आफूलाई छल्न
सकिदैन । सत्यको नजिक यही पुगेपछि थाहा हुन्छ ।
सपनाले पनि संकेत गर्छ जीवनको घटनाक्रम । त्यो एउटा सतर्कता गराउने माध्यम पनि हो । आँखामा लागेको कचेराले चिसो कति थियो भन्ने कुराको संकेत गर्छ । यहाँ भन्न जरुरी हुँदैन रात कति चिसो थियो भन्ने कुरा । निबन्धले लुकेर चिहाएर हेर्छ र अनुसन्धान गर्छ । को दोषी छ, को निर्दोष भनेर । त्यसो हुनाले यो सिद्धान्तविहीन विधा होइन ।
नदीमा रहेका गोही र माछाहरूको पनि सन्तुलन हुन्छ । यहाँ विजातीय मात्र होइन, सजातीय माछामा पनि भेदभाव छ । आफ्नै सन्ततिलाई आहारा बनाउँछन् माछाहरू । हामीलाई हेर्दा अनौठो लागेको विषय आखिरमा सत्य हो । गहिराइमा रहनेहरू लामो आयुका र ठुला छन् । बाहिर तैरनेहरू साना आकारका । तर, जीवनको उत्पति र संघर्षको चक्र त सबैमा बराबर छ । ती ठुला भएकाहरू त्यसै गहिराइमा पुगेका पनि त होइनन् । गहिराइमा पुग्नका लागि सयौं असफलताहरूलाई काँधमा बोकेर नै ती त्यहाँसम्म पुगेका हुन् । यो पनि एउटा सत्य नै हो ।
हाँगा भएका वृक्षले फल बढ्दा नुहुनु स्वभाव हो । त्यो फलको तौलले भएको होइन । सानो लहरामा २० किलोको फर्सी सजिलोसँग झुण्डिएर अडिन्छ । तर, त्यही लहरामा २० किलोको तौल राख्ने हो भने चुडिएर झर्छ । यसले आफ्नो र अर्काको सिर्जना चिन्छ । मेवाले चारैतिर गाँड लगाएर फल फलाउँछ । बोटभित्र खोक्रो छ तर पनि सयौँ किलो मेवालाई आरामले थामिरहेको हुन्छ, विना निहुरिएर । यो घमण्डीपन हैन । उसको जातीय स्वभाव हो ।
उही नापमा काटिएको काठ ताछतुछ पारेपछि पहिलाको तुलनामा लामो हुन्छ । यहाँ काठ तन्किने हैन । आकारले नापमा पारेको असर हो । यो कसरी भयो भन्ने कुराले हामीलाई एकक्षण सोच्न बाध्न बनाउँछ । यो बनाउने चिज भनेको दर्शन हो । यहाँ नयाँ कुरा के भयो भनेर खोज गरिएको हुन्छ । यो गर्ने क्षमता दर्शनलेभन्दा अरु कुराले गर्न सक्दैन । हो, यही कुरा हामीलाई निबन्धले दिएको हुन्छ ।
आँखामा कसिङ्गर परेपछि आँसु आउँछ । आँखा दुख्नु स्वभाविक हो । तर, घाँटीमा किन तितोपनसँगै आउँछ ? यो सोचनीय विषय हो । फेरि सिंगान बग्छ । यहाँ नाकमा दुखेको त हुँदैन नि । फेरि कसिङ्गर झिकेपछि लामो समयसम्म घाँटीको तितोपन हटेको हुँदैन । यो किन हुन्छ । कसिङ्र झिकेपछि त सन्च हुनुपर्ने हो नि हैन र ? यी सबै कुराको गहिराइ मापन गरिने हुनाले यो सतहमात्र हो भन्न कसरी सकिन्छ । त्यसै भनेको होइन यहाँ डुबुल्की मार्नुपर्छ, पौडनुपर्छ र उत्रिनुपर्छ भनेर ।
सिद्धान्तविहीन
विधाका रूपमा हेरिएको निबन्ध लेखन अहिले पातलो हुँदै गएको छ । धेरैले यो विधालाई सजिलो
विधाको रूपमा लिने गरेका छन् । सजिलो मानिएको विधा नै लेखनका दृष्टिले किनकम लेखियो
त भन्ने प्रश्न उठ्नु स्वभाविक पनि हो । वास्तवमा निबन्धको गहिराइ र मर्म नबुझ्नेहरूले
गरेको व्याख्या हो यो । जसले निबन्धको गहिराइ बुझेको छ, उसलाई थाहा छ, कुन छालमा कसरी पौडिनुपर्छ ।
उसैले नै जानेको छ कहाँ पुगेर डुब्नुपर्छ र कहाँ उत्रनुपर्छ भन्ने पनि ।
बहावमा बग्दै जाँदा नयाँ अनुभूति गरेजस्तै खुराकको सिर्जना गर्नु सजिलो छैन । बहकिदै गएको समय टक्क रोकियो भने बत्ती गएको केवलकार कसरी चल्ला ? त्यो पहिला नै सोच्नुपर्छ । यसलाई हामी निबन्धको भाषामा दर्शन भन्छौ । यहाँ कथामा जस्तो पात्र बदलेर पहिलाको कुरालाई स्वाट्ट छोडेर भाग्न पाइदैन । कथामा जस्तै परिवेश बदलेर फड्के तर्ने छुट पनि यहाँ हुँदैन । पहिला नै तय गर्नुपर्छ यात्रामा भारीको तौल । बोकेको भारी कहाँ बिसाउने र कहाँ अडेसा लाग्ने त्यो पहिला नै सोच्नुपर्छ । उकालो बाटोमा पानीको जोहो र ओरालो बाटोमा गेगरनको भारवहन क्षमता पहिला नै थाहा पाउनुपर्छ । सुस्ताउने चौतारी र भात पकाउने चम्का कहाँ छ, त्यसको हेक्का राख्नुपर्छ । अनिमात्र लेख्न सकिन्छ एउटा निबन्धको खाका । सिद्धान्तविहीन लेखेका सबै कुरा निबन्ध हुन सक्दैनन् । हामी टिपोटलाई निबन्ध भन्न सक्दैनौँ पनि ।
बाँसमा नै चोया हुन्छ । कतै कप्टेरा र कतै सिन्का पनि । यो सबै छान्न जान्नुपर्छ । चोया पार्नका लागि बुढो बाँसले काम गर्दैन, सिन्काका लागि कलिलोले । कप्टेरा दुवैको बनाउन सकिन्छ । यो कुन समयमा के गर्ने भन्ने कुरा छानेजस्तै हो । यहाँ ज्ञानमात्र भएर पुग्दैन । सही आकारका लागि उपयुक्त समय र सिप पनि चाहिन्छ । निबन्धमा यो सिल्प हुनु जरुरी छ ।
फेरि भाटाका लागि कलिलो बाँस काम आउँदैन । यहाँ कलिलोलाई प्रयोग गरियो भने डुँड बन्छ । चाहेको आकारमा त्यसलाई राख्न सकिदैन । निबन्धमा शब्दको जोड घटाउ मिल्नुपर्छ । यहाँ शब्दलाई भाग गरेका टुक्रा बनाउन सकिन्छ तर गुणान गरेर दुई गुना पार्न सकिदैन । निबन्धले वर्णनको भारभन्दा अन्तस्करणको चेतको गहिराइ छाम्छ । घोत्ल्याउँछ र पहिला हिँड्दै गर्दा देखेको कुरालाई स्मरण गराउँछ । यो शक्ति अरु रचनामा पाइदैन । मिठासका हिसाबले टर्रो लागेको यो विषय लेख्न एउटा ढुंगोमा आकृतिका लागि बारम्बार छिनो हान्नुपर्छ ।
आधार
शिविर त जहाँ पनि हुन्छ । एकै दिनको यात्रामा के नै सिकिन्छ र ? सिकाइ र भोगाइको सन्तुलन कायम गर्नका लागि चाहिने
हो आधार शिविर । कल्पनाको उडानले बाटोको दुरी पूरा गर्नका लागि पर्खनुपर्छ । सहारा
खोज्नुपर्छ । मौसमको अनुकूलनता हेर्र्नुपर्छ । आफ्नै खुट्टाको उचाइ नाप्नुपर्छ । शरीरमा
भएको बलको मापन गर्नुपर्छ । अहो ! कति धेरै सोचेको हो एउटा निबन्धमा । पूरा ब्रम्हाण्ड
नै जान्ने भएर ।
देवकोटाले बनाएको ग्राभेललाई शंकर लामिछानेले चौडा गरेर पिच बनाए । ह्ृदयचन्द्रसिंह प्रधान, कृष्णचन्द्रसिंह प्रधानहरूले त्यहाँ यात्रामात्र गरे र त्यसको सौन्दर्य हेरे । नयाँ बाटो र त्यसका शाखा उपशाखा खोल्न आवश्यक ठानेनन् । प्रमोद प्रधान, श्रीओम श्रेष्ठ रोदन, युवराज नयाँघरेले वैचारिकतासँगै यात्राको नयाँ रस भर्ने कोसिस गरे । सौन्दर्यका दृष्टिले यो राम्रो पनि भयो । तर यतिको मलिलो माटोमा जसरी फैलिएर फल दिनुपर्ने हो, त्यो हुन सकेको छैन । अझैं यो ख्याउटे नै देखिन्छ । भरुभूमिमा फलेको गोडुम्बा झैं । सिजन सकिएपछि अस्तित्व सकिएझैं विलुप्त बन्दै छ ।
जे भए पनि मेरा लागि निबन्ध सजिलो कुरा हैन । उमेरले कपाल पाकेर पनि निबन्धकार युवराज नयाँघरे निबन्ध खोज्न हिमालका कुनाकन्दरा पुगेका छन् । कोठामा सजिलै पाउने भए किन बुढेसकालको छालालाई हिउँमा डडाउथे । कोठामा नपाएर नै हो त्यहाँसम्म खोज्न गएका । जीवनको रंगमा भोगाइको मदानीले सर्का हानेपछि घिऊ निस्किएजस्तै दिमाखलाई घर्षण नगराएसम्म कहाँ निस्कन्छ र महत्वपूर्ण निष्कर्ष । त्यही भएर त कन्दारमा पुग्नु परेको हो । दुःख झेल्नु परेको हो । हिउँसँग पौठेजोरी खेल्नु परेको हो । हिँड्दा हिँड्दै चिप्लिएर टाउको ठोकाएको हो ।
एउटा
छालाले मोरेको रुखबाट सुन्दर फर्निचर बन्ने कला सिकर्मीलाई मात्र थाहा छ । हामी त रुखलाई
धोद्रो, बाङ्गो, कलिलो मात्र देख्छौँ नि हैन र
!