कति मान्छेहरूले चित्तलाई आकाशसँग दाजे र यो फराकिलो हुन्छ भने । कतिले पित्तसँग दाजे र यो सानो अति सानो हुन्छ भने । कतिपयले आगोसँग दाँजे र यो भर्भर बलेको अनुमान गरे अनि कतिपयले धागोसँग दाँजे र आफन्तसँग जोडिने चुँड्ने हुन सक्ने हुन्छ भने । वास्तवमा हो के यो म सधैँ जिल्ल छु । रनभुल्ल नै छु । खासमा त कहाँनेर हुन्छ चित्त आजसम्म देख्न पाएको छैन । हिजो सापटी लगेको रकम फिर्ता गर्न साथीलाई तेस्रो पटक सम्झाउन गएको थिएँ । मसँग पैसा छैन कसरी दिनु भएको बेलामा म आफैँ फिर्ता गरी हाल्थेँ नि कति किचकिच गरेको कस्तो सानो चित्त गर्नु परेको भनेछ, ‘ठुलो चित्त गरी आफैँले बोलेको समयमा नदिनेले भनेको यो कुरा अर्को ठुलो चित्त हुनेले सुनाइहाल्यो ।
मेरो चित्त सानो नै रहेछ कि क्या हो भनी त्यो भित्री अङ्गको एक्सरे गर्न भनी अस्पतालसम्म पनि पुगेँ । उसले चित्तको फोटो खिचेर दिनै सकेन । मेरो पैसामात्र बेकार गयो । अनावश्यक काममा लगानी गरियो । दिएको सापटी पनि उठेन भनी मन खेलिरह्यो । पछि यसो विचार गरेको त त्यत्तिकै खर्च भयो पैसा हजम भयो भनी मेरो चित्त पो दुःखेको रहछ । चित्तको व्यथा अब कता पो जँचाउने होला भनी मन चित्त खेलाउँदै थिएँ एउटा फोटो खिचेर दिन नसक्ने अस्पतालमा किन जाने र बरु धामी झाँक्रीकोमा जानु भनी मनको अनुमति पाएँ । धामी दाजुले यसो धूप सल्काएर चामलका दाना गन्दै दुःखेको चित्त बिसेक गर्न केही त गर्नैपर्छ भने । निको हुन्छ नै भने के को आइतबार भनिदिएँ । एउटा कुखरा र दुई माना चामलको शिकार गरायो । तैपनि निर्मूल भएन त्यो भित्रको घाउ । फेरि वैद्य बाकोमा गएको पाँच सय डाक्टर फि र ६ सयको धुलो औषधी दिएर पठाए । दुई हप्ता सेवन गर्दा पनि चित्त दुःखी रह्यो ।
हैन के हो यो चित्तको घाउ । कसरी सफाचट गर्ने
भनी एका बिहानै पण्डित बाजेकोमा गएको यो केही होइन एक दिन यसो मिलाएर शान्तिस्वस्ती
पूजा लगाउनु भन्नुभयो । कालो बादलको भित्र पनि चाँदीको घेरा हुन्छ । आशा त सबैतिर गर्नुपर्र्छ
भनी त्यो पनि गरियो तर त्यसले पनि भएन । खै के कसो भएर होला चित्त आकाश त के नाङ्लो
जत्रो पनि भएन । अनि खल्तीको पैसा पनि रहेन । चित्त दुखेको दुख्यै । मन कुँडिएको कुँडियै ।