भेटवार्ता - हरि मञ्जुश्री
बरिष्ठ साहित्यकार हरि
मञ्जुश्रीको जन्म वि. सं. २०१६ साल असोज ५ गते केउरेनीपानी गाविस –२, भोजपुर जिल्लामा भएको हो । पिता
दुर्गाप्रसाद अधिकारी र माता युगला अधिकारीका पुत्र हरि मञ्जुश्री नेपाली साहित्यमा
सुपरिचित नाम हो । भाषा, साहित्यमा सक्रिय व्यक्तित्व मञ्जुश्रीका फोरिएको पर्खाला (कथासङ्ग्रह,
२०४०), आजको नेपाल कता लागिरहेछ (राजनीतिक
टिप्पणी, २०४२), प्रयोगात्मक व्याकरण (व्याकरण, २०४३), चालिसौं शताब्दी (विज्ञानउपन्यास, २०५०), सरल नेपाली भाषातत्व (व्याकरण,
२०५४), विष्णुप्रसाद उपाध्याय : जीवनी र व्यक्तित्व (अनुसन्धान, २०५७), हरि मञ्जुश्रीका कथा (कथासङ्ग्रह,
२०५८), ऐतिहासिक नक्षत्र शङ्करबहादुर
केसी (अनुसन्धान, २०५९), अनाहक उद्गारहरू (मुक्तकखण्ड,
२०५९), मेरा अनुभूतिहरूमा चौबाटाको चारैतिर
(निबन्धसङ्ग्रह, २०६०), बद्रीविक्रम (अभिवन्दनकाव्य, २०६०), जवाहरको दर्शन (निबन्धसङ्ग्रह, २०६०), कृष्णबहादुर राजकर्णिकार (जीवनी,
२०६०), नानीबाबु (कथा, २०६१), धनेश्वर वन्दना (भजनसङ्ग्रह,
२०६१), अमत्र्य भोजपुरे : हिरण्य भोजपुरे (विचारप्रवाह, २०६२), अध्यात्म–चिन्तन (धर्मदर्शन,
२०६२) लगायत २७ ओटा कृतिहरू एवम् ७३ ओटा सम्पादित कृतिहरू
प्रकाशित छन् । भाषा, साहित्यको उन्नयनमा उल्लेख्य योगदान गरेवापत यहाँले भानु कविता–उत्सव पुरस्कार
(२०५३), भूपालमानसिंह कार्की युवा साहित्य पुरस्कार (२०५७), जवाहर ग्रन्थसम्पादन पुरस्कार
(२०५८), मुक्तिमार्ग दर्शन पुरस्कार (२०६०), ज्योति उत्कृष्ट स्रष्टा पुरस्कार (२०६६), सीता राणा प्रतिभा पुरस्कार
(२०७१) लगायत पुरस्कार एवम् सृजना सम्मान (२०६१), साधना–सम्मान (२०६२), साझामञ्च सम्मान (२०६३), रोसी राष्ट्रिय सम्मान (२०६४),
राष्ट्रिय व्यक्तित्व
सम्मान (२०६६), ॐकार सम्मान (२०६७) लगायत दजैनौं पुरस्कार एवम् सम्मान प्राप्त गरिसक्नुभएका अक्षरधाम,
साहित्यिक पत्रिकाका
प्रधान सम्पादक, शब्दयात्रा प्रकाशन, काभ्रेका संस्थापक अध्यक्ष एवम् सामाजिक अभियन्ता हरि मञ्जुश्रीसँग होमशंकर बास्तोलाले
गर्नुभएको छोटो कुराकानी ।
यहाँले साहित्यिक क्षेत्रमा लाग्ने प्रेरणा कसरी प्राप्त गर्नुभयो ?
– ईश्वरको अनुग्रह र मेरो प्रारब्धले गर्दा म शिक्षित
परिवारमा जन्मेँ । बुबाकाकाहरू क्रान्ति र परिवर्तनका पक्षधर हुनुभएकाले ममा त्यसको
प्रभाव पर्नु स्वाभाविकै हो । तर आफ्नो स्वभाव अन्तर्मुखी भएकाले आफूभित्रका उकुसमुकुसहरू
अभिव्यक्त गर्न बाध्यतावश मैले कापी–कलमको सहारा लिनुप¥यो । त्यसैलाई प्रेरणा भन्नुपर्ने होला ।
यहाँको हालसम्मको साहित्यिक यात्राका बारेमा केही जानकारी पाउन सकिएला कि ?
– ईश्वरले मलाई जति सामथ्र्य दिएको थियो, त्यति नै लेखेँ र त्यसरी नै सम्पादन
गरेँ । मैले मेरो नाउँ अरूबाट पाएको हुँ, कापी–कलम र विषयवस्तु अरूबाट लिएको हुँ, भाषा–व्याकरण र लेखनशिल्प अरूबाटै
लिएको हुँ, मस्तिष्क र चिन्तन पनि
अरूबाटै लिएको हुँ । कलम समाएर कापीमा लेख्ने हात पनि मेरो इच्छाले मैले पाएको होइन
। मेरो नाउँबाट छापिएका पुस्तकसँग सम्बन्धित सबै कुरा अरूबाट मलाई प्राप्त भएका हुन्
। मलाई ईश्वरले लेख्ने सामथ्र्य नदिएको भए पनि म लेख्ने थिइनँ । मलाई लेखक र सम्पादक
बनाउन यति धेरै कुरा दिने ईश्वरप्रति म अनुगृहीत छु । त्यसैले उसले चाहना गरेसम्म मेरो
साहित्यिक यात्रा जारी रहन्छ । उसैको चाहना अनुसार मेरो नाउँ लेखक र सम्पादकका रूपमा
छापिएका न्युनतम १६ पृष्ठदेखि अधिकतम ९ सय ६० पृष्ठसम्मका पुस्तक १ सय ३८ वटा छन् ।
यहाँका कथा, कविता, निबन्ध लगायत दर्जनौं कृति प्रकाशित भएका छन् । साहित्यको कुन विधाले पाठकको मन
बढी पगाल्न सक्छ भन्ने लाग्दछ यहाँलाई ?
– यस प्रश्नको सही उत्तर दिन म सक्तिनँ । किनभने यसको
उदाहरण आफैँ छु । म पहिले उपन्यास पढ्थेँ, पछि कविता र कथा पढ्न थालेँ । त्यसपछि निबन्धले मलाई तान्यो
। अचेल म दर्शनतिर तानिएको छु । उमेर, अध्ययन र परिवेशले रुचिलाई परिवर्तन गराइदिँदो रहेछ । पाठकको
मन साहित्यको विधाले होइन, उसको उमेर, अध्ययन र परिवेशले पगाल्दो रहेछ । त्यसैले पाठकको मन पगाल्नुभन्दा पनि पाठकलाई
जीवनको सही दिशा दिनुचाहिँ साहित्यको लक्ष्य हुनुपर्ने होजस्तो लाग्छ ।
यहाँका धार्मिक एवम् दर्शनसँग सम्बन्धित कृति पनि प्रकाशित भएको पाइन्छ । यस क्षेत्रको
लेखनमा पाठकको अभिरुचि कस्तो पाउनुभएको छ ?
– यसमा दुइटा कुरा छन् । पहिलो कुरो– झण्डै ३ करोड जनसङ्ख्या
भएको मुलुकका हामी लेखक भनिएकाहरू आफ्नो पुस्तक ३ हजारप्रतिसम्म पनि छपाउन सक्तैनौँ
। दोस्रो कुरो– कुनै पनि संस्थाले पाठकको अभिरुचि बुझ्न सर्वेक्षण गरेकै छैनन् । यस्तो
अवस्थामा पाठकको अभिरुचिको कुरा गर्नु नै बेकार छ । पाठकको अभिरुचि बुझेर लेख्ने लेखकहरू
एकदमै थोरै छन् । अधिकांश लेखकहरू त आफूलाई रुचि लागेका विषयमा लेखेर पाठकमा जबर्जस्ती
थोपर्छन्, आफ्नो रुचि अनुकूलको
नपाएर पाठकहरू त्यस्ता पुस्तक पढिदिँदैनन्, अनि आफ्नो पुस्तक पाठकले नपढेको बुझेपछि पुस्तक सित्तैँ
बाँड्नुपर्ने भयो भन्ने गुनासो गर्छन् । पाठकको अभिरुचि कस्तो छ भन्ने सर्वेक्षण गरेर
उनीहरूले चाहे अनुसारको पुस्तक दिने हो भने ५ सयप्रति छापिएकोमा पनि लेखकले गौरव मान्नुपर्ने
हुँदैनथ्यो ।
यहाँको सम्पादनमा थुप्रै स्मृतिग्रन्थ र अभिनन्दनग्रन्थहरू प्रकाशित भएका छन् ।
यस्तो कार्य गर्न कठिन छैन ?
– म आफ्नो रुचि अनुसारको काम गरिरहेको छु । आफ्नो रुचि
अनुसारको काम गर्दा कठिनाइको अनुभव हुँदो रहेनछ । मैले बाध्यतावश स्मृतिग्रन्थ र अभिनन्दनग्रन्थहरूको
सम्पादन गर्नुपरेको भए कठिन हुन्थ्यो होला ।
यहाँले शब्दयात्रा प्रकाशनमार्फत साहित्यिक पुस्तक प्रकाशन र साहित्यिक कार्य गरिरहनुभएको
छ । यसका बारेमा केही जान्न सकिएला कि ?
– शब्दयात्रा प्रकाशन २०६८ सालको भदौमा दर्ता गराइएको
हो । स्थापनाकालदेखि अहिलेसम्म म नै अध्यक्ष छु । तर यसको अर्थ मैले नै शब्दयात्रा
प्रकाशनको काम गरेको भन्ने होइन । हामी ५० जना सदस्य छौँ । हामीले यो १४ वर्षभित्र
शब्दयात्रा प्रकाशनको नाउँमा बनेपामा ८ आना जग्गा जोड्यौँ । नीलकण्ठेश्वर धाम संरक्षण
समितिको करिब ४ रोपनी जग्गा र घर भोग गर्न पायौँ । ८ जनाको सालिक राख्यौँ । २ सय ६०
वटा पुस्तक छाप्यौँ । हरेक वर्ष २४ जनालाई सम्मान र १८ जनालाई पुरस्कृत गरिँदैछ,
२० जनालाई छात्रवृत्ति,
४ जनालाई विद्वतवृत्ति र ३ जना
पत्रकारलाई कदरपत्र समर्पण गरिँदैछ । ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ र ‘अक्षरधाम’
साहित्यिक मासिक पत्रिका प्रकाशन गर्यौँ । ‘कर्मयोद्धासँग
शब्दसंवाद’ नामक साप्ताहिक प्रवचन कार्यक्रम र ‘शब्दसञ्चार’ नामक साप्ताहिक रेडियो
कार्यक्रम सञ्चालन गर्यौँ । अक्षरसेवी सहयोग
कोष सञ्चालन गरेर विपत्तिपीडित लेखक–पत्रकारहरूलाई हालसम्म ६० हजार रुपियाँभन्दा बढी
सहयोग गर्यौँ । २ दर्जनजति आध्यात्मिक
र राष्ट्रभक्ति गान तयार गर्यौँ । वृत्तचित्र निर्माण
गर्यौँ । करिब १५ हजार पुस्तक रहेको
पुस्तकालय बनायौँ । महिलाहरूका विषयमा अनुसन्धान गर्ने अनुसन्धान केन्द्र स्थापना गर्यौँ । लेखकहरूका लागि अतिथिगृह सञ्चालन गरिरहेका छौँ
। ‘शब्दसंवाद’ नामक श्रव्यदृश्य कार्यक्रम पाक्षिक रूपमा सञ्चालन भइरहेकै छ । सरस्वती,
राधाकृष्ण, लक्ष्मीनारायण र बुद्धको मन्दिर
निर्माण गर्यौँ । शब्दयात्रा स्तम्भ राख्यौँ
। आफ्नै वेबसाइट चलाएर विद्युतीय माध्यमबाट नेपाली लेखकहरूलाई अन्तर्राष्ट्रियकरण गरिरहेका
छौँ । आफ्नै भवन र सभाकक्ष निर्माण गर्यौँ । तीनवटा प्रवेशद्वार निर्माण गर्यौँ । नीलकण्ठेश्वर धाम संरक्षण समितिसँगको सहकार्यमा १०८ शिवलिङ्गको स्थापना गर्यौँ । सङ्ग्रहालय बनाउँदैछौँ । यी सबै काम सरकारका कुनै
पनि निकायबाट आर्थिक सहयोग नलिई जनस्तरकै सहयोगबाट सम्पन्न गरेका हौँ । हामीले धेरै
व्यक्तिहरूबाट सहयोग पाएका छौँ । हामीले आग्रह गर्दै नगरी हामीले चिनेका र नचिनेका
सयौँ व्यक्तिहरू यस संस्थासँग जोडिनुभएको छ । धेरैजनाको बौद्धिक, आर्थिक र भौतिक सहयोगबाट यो संस्था
गतिमान् बनिरहेको छ । साहित्यिक संस्थालाई साहित्यकारका बिचमा मात्रै सीमित नराख्ने
हो भने जनताबाट साहित्यिक संस्थाले धेरै सहयोग पाउँदो रहेछ ।
शब्दयात्रा प्रकाशनमार्फत साहित्यिक उन्नयनका लागि दत्तचित्त भएर लाग्नुभएको छ
। साहित्यिक व्यक्तिहरूका सालिक निर्माण गर्नुभएको छ । यस्तो जोश–जाँगर कसरी प्राप्त
भइरहेको छ ?
– शब्दयात्रा प्रकाशनका लागि म मात्रै दत्तचित्त भएको
होइन, कृष्णमणि कुइकेल,
सकुल थापा, सावित्री थापा, हरिगोपाल प्रधान आदि पनि उत्तिकै
दत्तचित्त हुनुहुन्छ । जसले हामीलाई यस्तो काम गर्न प्रेरित ग¥यो, उसैले हामीलाई जोश–जाँगर दिएको छ । साथीहरू,
दाताहरू, सहयोगीहरू जुटाइदिएको छ । हामीमाथि
यस्तो अनुग्रह गर्ने ईश्वरप्रति हाम्रो भक्तिभाव छ ।
वर्तमान नेपाली साहित्य कस्तो छ भन्ने लाग्दछ यहाँलाई ?
– म त पहिलेको भन्दा उन्नत अवस्थाको देख्छु । युगलाई समातेर
लेखिएको छ । समयको पदचाप बुझेको देखिन्छ । कस्ता पाठकलाई कस्तो साहित्य दिने भन्ने
कुरामा चाहिँ कमजोरी भएको छजस्तो लाग्छ । उदाहरणका लागि जुन वर्गको उत्थानका लागि भनेर
साहित्य सिर्जना गरिन्छ, त्यस वर्गसम्म साहित्यिक कृति नपुग्ने र पुगे पनि त्यस वर्गले नबुझ्ने भाषाशैली
र विम्ब–प्रतीक प्रयोग गरिएका हुनाले उनीहरूले नबुझ्ने समस्या छ । पाठकको स्तरको साहित्य
साहित्यकारले नलेख्ने र साहित्यकारको स्तरको साहित्य पाठकले नबुझ्ने समस्या पनि छ ।
भविष्यमा के–कस्तो लक्ष राख्नुभएको छ ?
– मेरो लक्ष्य नै ईश्वरको अनुग्रह पाइरहनु हो । मैले जेजति
गरेँ, ईश्वरको अनुग्रह पाएर
गरेँ । मेरो नाउँमा जति पुस्तक–पत्रिका छापिएका छन्, मैले गरेको भनेर जेजति काम देखिएका छन्, ती सबैका लागि ईश्वरको अनुग्रह
प्राप्त छ । ईश्वरको अनुग्रह नपाउने हो भने मैले लक्ष्य राखेर मात्रै के गर्नु ! त्यसैले
मेरो लक्ष्य नै मेरो रुचि अनुकूलका कामहरू गरिरहन ईश्वरको अनुग्रह पाइरहनु नै हो ।
जीवनमा साहित्यिक क्षेत्रमा लागेर के प्राप्त गरेजस्तो लाग्छ ?
– मैले धेरै पाएको छु, कल्पनै नगरेको उपलब्धि पाएको छु । एक दर्जनजति पुरस्कार
पाएँ । ६० वर्षको हुँदा मोती महोत्सव मनाइदिएर साथीहरूले मेरा बारेमा अभिनन्दनग्रन्थ
छपाइदिनुभयो । ७ दर्जनजति संस्थाबाट सम्मानित भएँ । ‘शब्दसारथि’ र ‘शब्दकलाका नायक’
उपाधि पाएँ । मेरा विषयमा १ दर्जन शोधपत्र लेखिए । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति
सहित अन्य लेखकहरूले मेरा विषयमा ७–८ वटा पुस्तक लेख्नुभयो । काठमाडौँ विश्वविद्यालयले
३ दिनसम्म मेरो एकल पुस्तक र सम्मानपत्र प्रदर्शनी गराइदियो । यी सबै प्राप्ति साहित्यिक
क्षत्रेकै कारण भएका हुन् ।
यहाँको साहित्य सिर्जनाको उद्देश्य के हुने गर्दछ ?
– मेरो सिर्जनाबाट पाठकले मानवीय कर्तव्यको बोध गर्न पाऊन्,
मानव–मानवबिच जाति, वर्ण, लिङ्ग, क्षेत्रजस्ता कुनै पनि प्रकारको भेद गर्न हुँदैन भन्ने शिक्षा
पाऊन्, सबै जीवलाई आफ्नै परिवार
मान्न सिकाऊन्, अरूको भलोका लागि प्राणको आहुति दिनसमेत पछि नपर्ने बनाऊन्, म आफ्नो साहित्यिक सिर्जनाको
उद्देश्य यस्तै होस् भन्न खोज्छु । त्यस्तो सिर्जना गर्न सकेँ कि सकिनँ, त्योचाहिँ म भन्न सक्तिनँ ।
यहाँको साहित्यिक नाम ‘मञ्जुश्री’ रहनुको रहस्य जान्न सकिएला ?
– मेरो नागरिकतामा हरिकुमार अधिकारी लेखिएको छ । भोजपुरबाट
काठमाडौँ आएर पढ्न थालेपछि राष्ट्रिय जीवनमा ख्याति आर्जन गरेका अग्रज व्यक्तिहरूसँग
सङ्गत भयो । उहाँहरूले तिमीले छुट्टै किसिमको मौलिक व्यक्तित्वका रूपमा चिनिनुपर्छ
भनेर ‘मञ्जुश्री’ भन्ने उपनाम थपिदिनुभयो । यसरी २०४१ सालदेखि मैले ‘हरि मञ्जुश्री’
लेख्न थालेको हुँ ।
अन्त्यमा, ‘अन्तर्बोध’ मार्फत केही भन्न बाँकी छ कि ?
– मलाई आफ्नो पत्रिकामा स्थान दिनुभएकोमा हार्दिक आभार
व्यक्त गर्दछु ।