कविता
क्षितिजको यात्रा
राजेश ढुंगाना
मैले
पएट मारेर बतासमा
बतासकै काम्रो लगाएको खुट्टाले
क्षितिजको
यात्रा प्रारम्भ गरेको छु
भोलि
दुर्घटना हुने जान्दा–जान्दै
आकाशसँग
मायालु ओठहरूका चुम्बन
असफल
स्खलित हुने
जान्दा–जान्दै पनि
मेरो यात्रा रोकिंदैन
हो,
पएट मारेर बतासमा
बतासकै काम्रो लगाएको
खुट्टाले
मैले क्षितिजको
यात्रा प्रारम्भ गरेको छु
ठोक्किदै
चराहरूसँग
रोमाञ्चक कावा खेलेर
बादलसँग
कुनै पनि बेला
दुर्घटना हुन सक्ने
मेरोजस्तो साहसिक यात्रा
तिमी किञ्चित गर्न सक्तैनाै
मैले त
पएट लगाएर बतासमा
बतासकै काम्रो लगाएर
बताससँगै
क्षितिजको
नयाँ र नौलो
यात्रा प्रारम्भ गरेको छु !