कविता
माटोको महिमा
१.
माटो जीवन हो
समस्त धरती अड्दैन माटोविना
थांग्रोमा लहरा बनेर हरियो चढ्दैन माटोविना
रोपी धान बढेँ म हल्हल
कठै भन्दैन माटोविना
यो पाखा पहरा र दिव्य छहरा बन्दैन माटोविना
२.
माटो सागरसम्म बोक्दछ बसी पग्ली कहाँ जान्छ र ?
बाटो खन्नु परे खनौँ हर पला भागेर के हुन्छ र ?
माटो घाम र जुनको हृदयले
चम्कन्छ यो हर्हर
आफ्नो काम गरेर बस्दछ कहाँ माटो ठुलो हुन्छ र ?
३.
माया सन्ततिमा
दिने हरपला आमा र माटो उही
बाँड्ने शीत्तलता अनन्त जगमा छाया र माटो उही
छर्ने दृष्टि हराभरा
जगतमा आँखा र माटो उही
भर्ने गुञ्जनले समुच्च धरती भाका र माटो उही
४.
यौटै राख्दछ रुपरंग
जगमा माटो जताको पनि
त्यस्तै ढंग उमंग राख्दछ बझे माटो यताको पनि
बच्ला इज्जत भेट पेटतिरको
रोजेर माटो पसे
टाढा चित्त परेन गर्नु सबले खोस्रेर माटो बसे
५.
माटोमै धन भेटिनेछ
बरु त्यो चाहिन्न ढिक्का सुन
माटोमै तन तेर्सिनेछ कसरी बस्ला र यो छुन्मुन
माटोमै मन सुम्पिने
सुजनको होला सधैँ उन्नति
माटोको महिमा अनन्त छ सखे मैले बताऊँ कति ?
– कपन, काठमाडौँ