समालोचना
मण्डनदेउपुर क्षेत्रमा प्रचलित लोककथाको अध्ययन
१. विषय प्रवेश
प्रस्तुत लेखमा मण्डनदेउपुर क्षेत्रमा प्रचलित लोककथाको अध्ययन
गरिएको छ । लोककथाको अध्ययन गरिनुभन्दा अगाडि यस सम्बन्धमा केही कुरा जान्नु सान्दर्भिक
रहेको छ । लोककथा भन्नाले लोकमा प्रचलनमा रहेका कथाहरूलाई बुझिन्छ । लोककथा लोकमा प्रचलित
भए तापनि लामो समयदेखि यसको परीक्षण हुँदै अगाडि बढेको हुन्छ । लोककथा अपठित व्यक्तिहरूद्वारा
मौखिक परम्परामा पुस्तान्तरण हुँदै अगाडि बढेका हुन्छन् । लोककथाको कुनै खास व्यक्ति
रचयिता हुँदैन । एक किसिमले भन्नुपर्दा बुढा मरे भाषा सरेको सिद्धान्त लोककथामा अपनाइएको
हुन्छ । कतिपय विषयहरू होजस्ता पत्यार लाग्ने पनि हुन्छन् भने कतिपय होइनजस्ता अपत्यारिला
र जादुमय कथाहरू पनि लोकमा व्याप्त रहेका हुन्छन् । पहिलापहिला अहिलेका जस्ता लेखपढका
लागि व्यवस्थित सामग्रीहरू नहुँदा लोकका सम्पत्तिहरूलाई, लोकका रीतिरिवाजहरूलाई, लोकका विभिन्न
कुराहरूलाई पछिसम्म राख्न अघिल्लो पुस्ताले दोस्रो पुस्तालाई भन्दै जाने चलन थियो र
यसरी नै लोकका कथाहरू पनि पुस्तान्तरण हुँदै आएका हुन् । धेरैजसो लोककथाहरूमा तिथिमिति
बेगरका उहिलेदेखिका कुरा हुन्छन् भने केही लोककथाहरूमा विभिन्न मितिहरू, घटनाहरू, पर्वहरूलाई
समेत जोडेर निरन्तरता दिने गरिएको हुन्छ । कतिपय लोककथाहरूको सान्दर्भिकता ऐतिहासिकता
र त्यसको तथ्यलाई परीक्षण गरेर इतिहास निर्माणको काममा समेत जोड्न सकिने अवस्था हुन्छ
। लोकले, लोकमा भएका सुख, दुःख, हषर्, पर्व, चाड, उत्सव, परम्परा, संस्कार आदिका
कुराहरूलाई मौखिक परम्परामा भन्दै आफ्नो पुर्खाको विरासतलाई सुरक्षित राख्ने काम पनि
कथाको माध्यमबाट गरिएको हुन्छ । लोककथाहरूको अध्ययनले आधुनिक कथा लेखनको क्षेत्रमा
धेरै महत्वपूर्ण सहयोग पु¥याउने गर्दछ । त्यसो भएको हुनाले संसारभर
अहिले लोककथाहरूको अध्ययन अध्यापन गराइने चलन विकसित भएको छ । लोककथाहरूको माध्यमबाट
तत्कालिक समयको समाजको प्रतिविम्ब झल्किने गर्दछ ।
लोककथाको विभिन्न विद्वानहरूले आआÏनै तरिकाले परिभाषासमेत गरेका छन् । केही परिभाषालाई हेराँै
।
नेपाली विद्वान वासुदेव त्रिपाठीका अनुसार “लोक कथा वास्तवमा
आदिम मान्छेको स्मारक निशानी हो र यसलाई हामी प्रेमसाथ पुस्ता प्रतिपुस्ता आफ्ना सम्झनामा
सुरक्षित गर्दै आइरहेका छौंँ । ...आज हाम्रो समाजमा प्रचलित लोककथाले प्राचीन मानवका
जीवन र मनस्थितिको प्रतिनिधित्व गर्दछन् ।”
– वासुदेव त्रिपाठी
विचरण ।
अर्का विद्वान अध्येता तुलसी दिवसका अनुसार “लोककथा मानव जीवनको
विस्मृति एवम् विविधतालाई काल र स्थानअनुरूप समाहित गरी विगतको अवशेष संरक्षित गर्ने
आफैमा सानो संग्रहालय भएकोले मानव सभ्यता तथा संस्कृतिका विभिन्न चरणको ऐतिहासिक विकासक्रम
या भौगोलिक विभेदको यात्राक्रमको अध्ययन तथा अन्वेषण गर्ने सर्वसुलभ सर्वग्राही मनोरम
साधन हो ।”
–तुलसी दिवश, नेपाली लोककथा
।
पाश्चात्य विद्वान
स्टिथ थम्प्सनका अनुसार “आदिम जनता र संसारका घटनाक्रमहरूले भरिएका विश्वव्यापी रूपमा
मूर्त आकृति लिएको मानवीय साहित्यिक अभिव्यक्ति लोककथा हो । जुनसुकै ठाउँमा बस्ने जुनसुकै
संस्कृति भएका मानिसले पनि लोककथा भन्दछन् । ती सबै लोककथामा सामान्य भिन्नता भए पनि
मूल विचार र तुलनात्मक अंश समान हुन्छ ।” – स्टिथ थम्प्सन, द फोकटेल्स
।
यसरी माथि केही पूर्वीय
र पाश्चात्य विद्वानहरूका लोककथासम्बन्धी परिभाषाहरू प्रस्तुत गरिए । ती परिभाषाहरूले
सबैतिरका लोककथाका मूलभूत आशयको प्रतिनिधित्व गरे पनि क्षेत्र अनुसार लोककथाले दिने
सन्देशहरूमा धेरै पृथकता पाउन सकिन्छ । मानिसका मानवीय गुण एउटै भए पनि ठाउँ, परिवेश, सन्दर्भअनुसार
लोककथाले दिने सन्देशहरू फरकफरक हुन्छन् । लोककथालाई आफ्नै लोकले आफ्नै सन्दर्भमा जीवन्त
राख्ने हुनाले यस अध्ययनमा मण्डनदेउपुर क्षेत्रमा लोकले मौखिक परम्परामा जीवन्त राखेका
केही लोककथाको सङ््कलन गरी कथातत्वका आधारमा अध्ययन गरिएको छ ।
२. मण्डनदेउपुर
क्षेत्रबाट संकलित केही लोककथाहरू
२.१ डोटेल
बस्तीको कथा
नेपालको सुदूरपश्चिमको हालको डोटी जिल्ला कै हाराहरीमा प्राचीन
समयमा डोटी नामक शक्तिशाली राज्य थियो । तत्कालीन समयमा डोटीजस्तै अन्य धेरै राज्यहरू
अस्तित्वमा रहेका थिए । तिनीहरू विभिन्न बहानामा आपसमा लडाई गरिरहन्थे । लडाई हुँदा
कहिले एक पक्षले जित्ने कहिले अर्को पक्षले जित्ने हुन्थ्यो । लडाईमा धनजनको क्षति
धेरै हुने गर्दथ्यो । जित्ने पक्षले हार्ने पक्षमा नरसंहारसमेत मच्चाउँने गर्दथ्यो
। तत्कालीन समयमा राज्यहरूभित्रका आन्तरिक संघर्ष र बाह्य सङ्घर्षका कारण जोसुकैको
जुनसुकै बेला ज्यान जान सक्थ्यो । ज्यान जोगाउनकै लागि मानिसहरू सुरक्षित स्थानतर्फ
रहरले र बाध्यताले बसाई सर्ने गर्थे । उक्त समयमा डोटी राज्य र वरपरका राज्यहरूमा आर्य
समुदायका मानिसहरूको वर्चस्व रहेको थियो । क्षेत्रीहरू राजा हुने चलन थियो भने ब्राह्मणहरूलाई
पूजापाठ गर्ने र दरबारमा सल्लाह दिने काममा नियुक्त गरिन्थ्यो । डोटी राज्यभित्र विभिन्न
जातजातिहरू बसोबास गर्ने गर्दथे र तीमध्ये खतिवडा थरका ब्र्राह्मण मानिसहरूको बसोबास
पनि त्यहाँ रहेको थियो । कुनै समयमा राज्य–राज्यबिचको युद्धको कारणबाट र आन्तरिक प्रशासनको
कारणबाट खतिवडा थरका मानिसहरूलाई डोटी राज्यमा बस्न गाह्रो भएछ । अब डोटीमा बसेर भएन
। हाम्रो वंश मासिन्छ र हाम्रो इतिहास पनि
सकिन्छ । हामी यहाँ बस्नुहुँदैन । ज्यान रहे संसार देखिन्छ भन्ने मान्यतालाई पछ्याउँदै
केही भाइ खतिवडाहरू डोटीबाट भाग्दैभाग्दै पोखरा आसपासमा आइपुगेछन् । यसरी केही भाइ
खतिवडाहरू ज्यान जोगाउनका लागि हिँड्दैहिँड्दै आउँदा पोखरा छेउछाउमा त आइपुगे तर उनीहरूले
खतिवडा भनेर अरु मानिसहरूलाई आफ्नो परिचय दिएमा त्यहाँसम्म आएर शत्रुहरूले मार्ने आशंका
गरेछन् । त्यसपश्चात् त्यहाँ पोखरा आइपुगेका सबै खतिवडाहरूले एकमुष्ट सल्लाह गरेछन्
। यदि हामीले खतिवडा थर राख्यौं भने मानिसहरूले हामीलाई कुनै पनि बेला चिन्न सक्नेछन्
र हाम्रो ज्यान खतरामा पर्नेछ । हामी सबैले हाम्रो थर डोटेल राखौं भनी सल्लाह गरेछन्
। उक्त सल्लाह बमोजिम त्यहाँ आइपुगेका सबै खतिवडाहरू डोटेलकै नामबाट परिचित हुन थालेछन्
।
माथि भनिए बमोजिम यसरी डोटीका खतिवडाहरू पोखरा आएर डोटेल भए
। तत्कालीन समयमा पोखरा आसपासको क्षेत्रमा मानिसको जनजीवन कृषिमा निर्भर रहेको थियो
। पहिलेका खतिवडा अहिलेका डोटेल परिवारहरू भने डोटीमा रहँदा पूजापाठ र दरबारमा सल्लाह
दिने काममा सरिक भएका थिए ।
अरे, उनीहरूलाई खेतीपातीको काम गर्न असहज भएको
महसुस भयो अरे । त्यसपछि उनीहरू आफूलाई सुहाउँदो कामको खोजीमा विभिन्न ठाउँमा फिजारिँदै
गए । यसै क्रममा देवहरि डोटेल नामका व्यक्ति पोखरा आसपासबाट काठमाडौँ उपत्यकामा आइपुगे
र दरबारमा सेवक भई काम गर्न थाले । तत्कालीन समयमा शाहवंशीय राजतन्त्रात्मक व्यवस्था
काठमाडौँ उपत्यकामा कायम भएको भएपनि भित्रभित्रै राजपरिवारका सदस्यहरूमा ठुलो कलह र
षड्यन्त्र हरेक दिनजसो भइरहन्थ्यो अरे । तत्कालीन समयमा दरबारमा देवहरि डोटेल मध्यम
स्तरका सेवककारूपमा काम गरिरहेका थिए अरे । मध्यम स्तरका सेवक भएपनि उनको फरासिलो बानी
व्यहोराको कारणले राजादेखि सबै भारदारहरूमा उनको राम्रो सम्बन्ध स्थापित भएको थियो
अरे । दरबारभित्र घट्न सक्ने षड्यन्त्रहरू उनका पुर्खाहरूले डोटीमै थाहा पाइसकेको हुनाले
त्यसबारेको केही छनक उनले आफ्नै परिवारबाट सुनिसकेका थिए र दरबारमा यहाँ पनि त्यस्ता
घटना हुन सक्छन् भन्नेमा उनी चनाखो रहन्थे अरे । देवहरि डोटेल, व्यक्ति र
पद हेरेर सबैलाई चाकडी बजाउन सक्ने क्षमताका व्यक्ति रहेछन् । विभिन्न अवस्थाको सामना
गरिसकेका देवहरिको क्षमता विशिष्ट प्रकारको हुने नै भयो ।
देवहरि डोटेल दरबारमा काम गर्ने समयमा जङ्गबहादुर राणाको उदय
भएछ । जङ्गबहादुरले कोत हत्याकाण्डमा चपाचप मान्छे काट्दा ती डोटेल थरका देवहरिले भुइँकटर
काटेर पित्तलको थालीमा राखेर जङ्गबहादुरलाई
दिँदा जङ्गबहादुरले “बाँचिस बाहुन चरी तँ, के माग्दछस् माग््
। कहाँ गएर बस्दछस् भन्” भनेपछि ती डोटेल बाजेले देउपुरमा गएर बस्छु भनेछन् । देवहरि
बाजेलाई जङ्गबहादुरको सबैभन्दा प्रिय फलफूलमा भुइँकटर हो भन्ने थाहा रहेछ र त्यहाँ
नजिकै उनले त्यो भुइँकटर देखेपछि त्यसलाई काटेर जङ्गबहादुरलाई ठिक्क पारेर दिएका रहेछन्
। देवहरि डोटेलले जङ्गबहादुरसँग देउपुरमा गएर बस्छु भन्ने कुरा जनाएपछि जङ्गबहादुरले
स्वीकृति दिएछन् र देवहरि बाजे देउपुरको फटकसिला भन्ने ठाउँमा आएर बसेछन् । फटकसिला
आइसकेपछि देवहरि बाजेले पशुपतिको गुठी खान्न भनेछन् । त्यसपछि जङ्गबहादुरले दिनभरि
घोडा लिएर हिँडेको जमिन तेरो हुन्छ भनी फटकसिलामा डोटेललाई बिर्ता दिएछन् । त्यसपछि
डोटेलहरू फटकशिलामा गुठी बनाई, गोठचौरमा गोठ राखी यहाँ बसोबास गर्न थालेछन्
। सोही समयमा देवहरिले जङ्गबहादुरसँग अर्को बिन्ती बिसाएछन्, यहाँ पशुपतिनाथको
पनि स्थापना गरिपाउँ । तत्पश्चात जङ्गबहादुरको स्वीकृति लिएर त्यस क्षेत्रमा बलभद्रेश्वर
महादेवको मन्दिर स्थापित गरिएछ । तत्कालीन समयमा देवहरि बाजेले धेरैजना मानिसहरूको
तारिख समेत बोक्दा रहेछन् । डोटेल बाजेको सुरुमा छोरा नहुँदा दोलखामा गएर भीमसेन मन्दिरमा
जोरबोका भाकलमा चढाएछन् । त्यसपछि जुम्ल्याह सन्तान पाएछन् । त्यसपछि आजसम्म पनि देउपुरका
डोटेलहरूले पुर्खाले चलाएको रीति अनुसार मात्र दोलखा भीमसेनस्थानको दर्शनर्छन् । अरु सामान्य मानिस जसरी डोटेलहरू भीमसेन स्थानमा
गएर पूजा गर्दैनन् ।
यसैगरी डोटेल बाजे एक
दिन काठमाडौँमा चल्ने मुद्दाको तारिखबाट फर्कदै गर्दा साँखुको बाटो आएका रहेछन् । यसरी
साँखुको बाटो भएर घर आउँदा बाटोमा बाख्रेगँौँडाको उकालोमा राक्षसका आमाछोरी डोको बोकेर
उभो लाग्दै गरेका बेला डोटेल बाजेले सोधेछन्
”ओहो ! आमा कहाँ हिँड्नुभएको ?” त्यसबेला त्यो
राक्षसनी आमाले देवहरिलाई हंश दिइछ र ”देउपुरमा ती देवहरिका खलक धेरै फैलाइरहेका छन्
अरे म त्यहाँ हिँडेकी” भनी छ । त्यसपछि डोटेल बाजेले फटक्क घोडा फड्काएर फटकसिलामा
आई चौरासी व्यञ्जन जोडेछन् । अनि आफूलाई पुगिसरी आएपछि सल्लेबासको देउरालीमा खसी, राँगो, हाँस लगायतका
पशुपंछी काटी सब भाग लगाएर राखेपछि ती भाग खाँदै त्यो राक्षसनीले “देवहरि तँ साह्ै
बाठो रहेछस्” भन्दै तल खानी गाउँ लागिछ । त्यसपछि तलको गाउँमा हैजा लागेर सबै मान्छे
मरेछन् । त्यस गाउँका मान्छेलाई केले खायो केले खायो भनेछन् । धेरै समयपछि त्यस गाउँको
नाम समेत खानी गाउँ रहन पुग्यो अरे ।
यसरी देउपुरको यस क्षेत्रमा डोटेल बस्तीको विस्तार भएको रहेछ
। डोटेलको मुख्य थर खतिवडा रहेको देखिन्छ । ऊबेला ज्यान जोगाउन खतिवडा डोटेल बनेर विस्तार
भए तर यहाँ केही खतिवडा बाहेकका डोटेल पनि पाइन्छन् । यहाँका डोटेलको गोत्र फरक फरक
रहेको छ । डोटेलहरूकै बिचमा बिहेबारीसमेत हुने गरेको पाइन्छ । डोटीबाट आएका खतिवडा
डोटेलहरू नै यहाँका मुख्य डोटेल मानिन्छन् । ती डोटेलको गोत्र भने अत्रि गोत्र रहेको
छ । ( श्रोत ः मण्डन देउपुर नगरपालिका वार्ड नं ५ स्थित ध्रुव डोटेलको घरमा ध्रुव डोटेल
र बच्चु सुवेदीले यो कथा भन्नुभएको हो ।
२.२ फुपू अलप
भएको कथा
फुपू हराएको कथा घिसिङ समुदायमा प्रचलित र अन्य समुदायले समेत
आत्मसाथ गरेको इतिहास र संंस्कारसँग सम्बन्धित लोककथा हो । विक्रम सम्वत ८०० को सुरुतिर
तिब्बतबाट घिसिङ राजा नाल्दुम भन्ने स्थानमा आई बसोबास गरी यस क्षेत्रमा शासन गरेको
लोकमा विश्वास पाइन्छ । नाल्दुम शब्द तामाङ भाषाको हो र यही नाल्दुम अपभ्रंश भई हालका
दिनमा नगरकोट शब्द बनेको हो ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दै जाँदा नाल्दुममा घिसिङ
राजासँग ठुलो युद्ध गरेछन् र युद्धमा पराजय भई घिसिङ राजा त्यहाँबाट परास्त भएछन् र
उक्त क्षेत्र नेपाल राज्यमा गाभिएको रहेछ ।
फुपूलाई तामाङ भाषामा आङ्गी भनिन्छ । पृथ्वीनारायण शाहले नाल्दुमलाई
आक्रमण गर्ने क्रममा सबैलाई तहसनहस गरेको तर घिसिङ राजाकी फुपूलाई आक्रमणकारी सेनाले
मार्न नसकेको, पक्रेर कब्जा पनि गर्न नसकेको र उनी कहाँ गइन् भने
कसैले पत्ता लगाउन नसकेको हुनाले उनी जीवितै छन् भन्ने विश्वास गरिन्छ । उनी जीवितै
भएको मानिएकोले घिसिङ समुदायमा आजका दिनसम्म पनि कुनै चाडबाड, उत्सव, विवाह, पर्व आदिकार्य
गर्दा फुपूहरूलाई जति टाढा भएपनि बोलाएर साइत गराई कार्य सम्पन्न गरिन्छ । फुपू अलग
भएको लोककथाको सम्बन्ध इतिहास र संस्कारसँग जोडिएको छ । आजको नगरकोट र मण्डनदेउपुर
क्षेत्रमा बसोबास गर्ने समग्र लोकमा यसको प्रभाव परेको छ । घिसिङ समुदायमा भने फुपूसँग
जोडिएको चलन एवम् संस्कारले मान्यता पाएको छ । (श्रोत ः यो कथा मण्डनदेउपुर नगरपालिकाका
वडा नम्बर ५ का वडाध्यक्ष हर्क घिसिङले बताउनुभएको हो ।)
२.३ ब्रह्मायणी
मन्दिरको उत्पत्तिको कथा
यस क्षेत्रमा ढकाल तथा दुलालहरूको बसोबास पहिलेदेखि नै धेरै
मात्रामा रहेको थियो अरे । ढकाल र दुलालमा बिहेबारी समेत ऊबेलैदेखि चल्दै आएको मानिन्छ
। एक ढकाल परिवारकी छोरीलाई दुलालको घरमा बुहारी बनाइ पठाएछन् । समय पुगेपछि ती ढकालकी
छोरी, दुलालकी बुहारीले सुत्केरी भई सन्तान जन्माइछन्
। गाउँको ठाउँ सुत्केरी महिलालाई न्यानो घाम आउने पट्टि बस्नेसुत्ने व्यवस्था गरेछन्
। यसरी ती सुत्केरी महिला सुतेको गुन्द्रीमुनिबाट केही चिजले उचाले जस्तो भएछ । बारम्बार
त्यो घटना घटेपछि त्यस घरका परिवार तथा समाजका अन्य मानिसहरू जम्मा भई त्यस ठाउँमा
कोदालोले खनेर हेर्ने भएछन्् । यसरी सारा गाउँलेहरू त्यहाँ जम्मा भई त्यस ठाउँमा कोदालोले
सबैतिरबाट खन्न थालेछन् । खन्दाखन्दै कोदालीको धारले केही चिजमा लागेछ । त्यसपछि त्यहाँ
खुन भल्भल्ती बगेर खुनैखुन भएछ । यसरी राम्रोसँग खनेर हेर्दाखेरि त्यहाँ त देवी रहिछन्
। त्यो कोदालोको धारले ती देवीको टाउकोमा लागेर टाउकोबाट खुन आएको रहेछ । त्यसपश्चात
सारा गाउँलेहरू आश्चर्य मान्दै अब के गर्ने कसो गर्ने भन्दै विचार गर्न लागे ।
सारा गाउँलेहरूको एक मत भएछ कि हामीले अनजानमा देवीको टाउकोमा
कोदालोले हान्यौं । हामीलाई पाप नलागोस् । देवी यही ठाउँमा पुरिएर बसेकी हुनाले यही
ठाउँमै देवीको स्थापना गरी पूजापाठ गर्न मन्दिरको स्थापना गरौं भन्ने गाउँलेहरूमा सल्लाह
भएछ । त्यसपछि गाउँलेहरूको व्यापक सल्लाह पछि सोही ठाउँमा देवीथान खडा गरी प्रार्थना
गर्ने क्रम प्रारम्भ भएछ र हरेक दिन जसो त्यहाँ गाउँलेहरू आएर पूजापाठ गर्दा गर्दै
धेरै टाढा टाढासम्म पनि ती देवीकोबारेमा चर्चा हुन थालेछ । धेरै टाढाटाढासम्म देवीथानकोबारेमा
चर्चा हुँदै गएपछि टाढाका मानिसहरूले देवीथानमा पनि कुन देवीथान हो, मन्दिरको नाम
के हो भनेर जिज्ञासा राख्न थालेछन् । गाउँलेहरूले सल्लाह गरी देवीथानको नामाकरण गर्ने
क्रममा ब्राह्मणको घरमा दुलालको कुलमा ढकालको भान्जी जन्मिएको हुनाले यसलाई ब्रह्मायणी
देवी मन्दिर नामाकरण गरौं भनेर सल्लाह गरेछन् र उक्त मन्दिरको नाम ब्रह्मायणी मन्दिर
रहन गएछ । यो ब्रह्मायणी मन्दिर उत्पत्ति भएको र यसको बारेको खबर एक कान दुई कान मैदान
हुँदै सारा लोकमा प्रचार हुन पुगेछ ।
यसरी मन्दिर पुरिएर रहेको ठाउँलाई मानिसहरूले देवीपुर भनेर चिन्न
थाले । बिस्तारै
देवीपुरको नाम देउपुर रहन गयो र कालान्तरमा देवपुरकै नामबाट
यस क्षेत्रले ख्याती कमाउन सक्यो । यस मन्दिर क्षेत्रमा फागु पूर्णिमा र बडादशैँमा
विशाल जात्रा समेत लाग्दछ । हालका दिनमा यही देउपुर भन्ने स्थान नै मण्डनदेउपुर नगरपालिकाको
मुख्य ठाउँ बन्न पुगेको छ । अहिले ब्राह्मायणी मन्दिरको नामसँग अन्य संघसंस्थाहरूको
नाम जोडिँदै स्थापना हुने क्रम पनि बढेको छ । देवीको नामकै आधारमा विद्यालय र अन्य
संघसंस्थाहरू पनि खुलेका छन् । यो लोककथा यस क्षेत्रमा विक्रम सम्वत १६०० को समयतिरबाट
भनिँदै र सुनिँदै आएको कथा मानिन्छ र यस क्षेत्रका मानिसहरूले यो लोककथामा विश्वाससमेत
गरेको पाइन्छ । (श्रोत ः यो लोककथा स्थानीय व्यक्तिहरूले नै भनी मैले सङ््कलन गरेको
हो । कथा भन्नेहरूमा चेतनाथ ढकाल, खड्गप्रसाद दुलाल, बलराम दुलाल, यदुनाथ लम्साल, रामप्रसाद
न्यौपानेलगायतका स्थानीयहरू हुनुहुन्छ ।)
२.४ कश्यपेश्वर
महादेवको कथा
मल्लकालीन समयमा हालको
महादेवस्थान क्षेत्रमा धेरै राम्रोसँग खेतीपातीको काम हुने गर्दथ्यो । खेतीको काम हुने
भएकोले खेती किसानी गाउँलेहरूको बसोबास वरिपरि धेरै मात्रामा थियो । माथि डाँडोतिर
घर तलतिर खेतीका जग्गाहरू हुने गदर्थे र किसानहरू उक्त समयमा गोरुलाई नारेर काठको हलोको
सहायतामा खेत जोतेर खेतीपाती लाउने गर्दथे । एकदिन एउटा किसान बिहानै जोत्न भनेर आफ्नो
खेतमा गएछ र हलोको माध्यमबाट खेत गोरु घुमाइघुमाइ जोतिरहँदा एक ठाउँमा पुगिसकेपछि हलो
हल्लिँदो रहेछ । फेरि गोरु घुमाएर ल्याउँछ, त्यही ठाउँमा हलो
हल्लिँदो रहेछ । फेरि गोरु घुमाएर ल्याउँदो रहेछ, त्यही ठाउँमा हलो
हल्लिदो रहेछ । अन्यत्र हलो नहल्लिने त्यही ठाउँमै मात्रै हलो हल्लिदा उसलाई अचम्म
लागेछ र गोरु जोत्न छोडी त्यो जोतेको ठाउँमा हेर्दा त्यहाँबाट तरल पदार्थ ह्वाल्ल निक्लिरहेको
देखेछ र झन् आश्चर्यमा परेछ । । सोही समयमा जोत्ने हली र गोरु समाप्त भएछन । यो खबर
गाउँभरि फैलिएछ । गाउँभरि खबर पुगेसँगै गाउँलेहरू जम्मा भई अब यहाँ के छ त, दैवी शक्ति
छ कि के छ भनेर खोज्न र जान्न मन गरेछन् । सारा गाउँलेहरू भेला भएर त्यहाँ एकदमै गहिराईसम्म
खनेर हेर्दा त्यहाँ त विशाल ज्योतिर्मय शिवलिङ्ग रहेछ । त्यसपछि उक्त स्थानमा शिवको
स्वरूपलाई व्यवस्थित रूपमा स्थापना गरी शिवलिङ्ग राखेर महादेवस्थान बनाइएछ । महादेवस्थानका
आसपासमा गौरीकुण्ड र सरस्वती कुण्ड पनि बनाइएछ । एक दिन महादेवस्थानमा एउटा नपुंशक
आएछ र गौरीकुण्ड र सरस्वती कुण्डमा स्नान गरी नौ दिनसम्म पूजा गरी बसेछ । नौ दिनका
दिन पूजा समाप्त हुँदा ऊ नपुङ्सकबाट पुङसकमा परिवर्तन भएछ । यही स्थानमा पछि कश्यप
ऋषि आएर लामो समयसम्म तपस्या गरेर बसेका रहेछन् । कश्यप ऋषिले तपस्या गरेको हुनाले
यस ठाउँलाई कश्यपेश्वर महादेवसमेत भन्न थालिएछ । यस मन्दिरको पुजारी सन्यासी (गिरी,पुरी, भारती ) बाट
रहने सुरुदेखिकै चलन चलेछ । एकचोटि पुजारीको अभाव हुँदा एकजना बाहुनलाई ल्याएर पूजापाठ
गर्न लगाएछन् । ती बाहुन पुजारी पूजा सिद्धिने बित्तिकै ठहरै परेर मरेछन् । यसरी यहाँ
बाहुनले पूजा गर्न छिर्न हुँदैन भन्ने हल्ला फिजिएछ र बाहुनले पूजा गर्ने हिम्मत पनि
गर्दा रहेनछन् । यहाँको पुजारी खान्की सन्यासी बाहेक अरुले खान पनि नमिल्ने जनविश्वास
रहेको छ । यस महादेव स्थानमा आएर भगवान् शिवको पूजापाठ दर्शन गर्नेहरूका सबैका मनका
इच्छाहरू पूरा हुने बताइन्छ । यहाँको महादेवस्थान मन्दिरमा पूजा गर्न आउने भक्तहरूलाई
पार्वती माताले अदृश्य रूपमा कुनै देवीको स्वरूपमा आई अग्लो ठाउँमा बसेर आशीर्वादसमेत
दिन्थिन् अरे । पछिपछि मानिसहरूले महादेव स्थानको माथितिर मनको इच्छा पूरा गर्ने देवी
मनमती देवी पनि छन् भन्ने विश्वास गर्न थालेछन् । बिस्तारै सोही क्षेत्रमा महादेवस्थानको
केही माथि मनमती देवीको मन्दिरसमेत स्थापना भई पूजापाठ गर्न थालेछन् । विश्वासकै आधारमा
यही महादेवस्थान मन्दिरभन्दा केही माथि नगरपालिकाको विशाल भवनसमेत बनेको छ र सोही भवन
अगाडि मनमती देवीको मन्दिर अहिले स्थापित छ । उक्त विश्वास आजका दिनसम्म पनि यस क्षेत्रमा
कायमै रहेको देखिन्छ ।
-श्रोत M यो लोककथा मण्डनदेउपुर नगरपालिका ७ निवासी सिताराम
भारतीले बताउनुभएको हो ।)
३. मण्डनदेउपुर क्षेत्रमा प्रचलित लोककथाहरूको कथातत्वको आधारमा विश्लेषण
यहाँ मण्डनदेउपुर
क्षेत्रमा प्रचलित लोककथाहरूमा कथा तत्वको आधारमा विश्लेषण गर्दा डोटेल बस्तीको कथा, फुपू अलप भएको
कथा, ब्रह्मायणी मन्दिर उत्पत्तिको कथा र कश्यपेस्वर
महादेवको कथा यी चार कथाहरूलाई मुख्य सामग्रीको रूपमा लिइएको छ । कथाका तत्वहरूमा कथानक, पात्र, परिवेश, भाषाशैली र
उद्देश्य रहेका हुन्छन् । कथातत्वको आधारमा आधुनिक कथाहरूको विश्लेषण धेरै गरिए तापनि
लोककथाको अध्ययन विश्लेषण गर्न यी तत्वहरूलाई विश्लेषण आधारका रूपमा लिन सकिन्छ र यहाँ
सोही आधारमा विश्लेषण गरिएको छ ।
कथानकको आधारमा हेर्दा
डोटेल बस्तीको कथामा अलि लामो कथानक आएको छ । फपू अलप भएको कथामा कथानक एकदमै छोटो
छ । ब्राह्मणी मन्दिर उत्पत्तिको कथामा केही धार्मिक प्रसङ्ग समेत जोडिएको कथानक देखिन्छ
। कश्यपेश्वर महादेवको कथा शीर्षकको कथाको कथानकले गौरीकुण्ड, पार्वती कुण्ड, नपुंशक, महादेव आदिका
प्रसङ्गहरूलाई जोडेर खेती किसानी गर्ने मान्छेहरूलाई पनि कथानकमा उतारेको छ र धार्मिक
कुरामा तत्कालीन समयमा आस्था थियो भन्ने बताएको छ । डोटेल बस्तीको कथाको कथानकले धेरै
कुराहरूलाई जोडेको छ । डोटीमा खतिवडाको बस्ती भएको कुरा बताएको छ र ती खतिवडाहरू पोखरामा
आएर डोटेल भएका र काठमाडौँमा आएर राजपरिवारसँग नजिक रही जागिर खाएका र अन्तिममा ज्यान
बचाउन देउपुरमा आइपुगेको कथा छ । कथानकको माध्यमबाट मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा
प्राचीन समयमा पनि बसाईं सर्थे भन्ने देखाइएको छ । बसाइँ सर्ने कारण कि ज्यान जोगाउन
कि जात बचाउनका लागि हुन्थ्यो । यस्तै यस्तै कुराको छनक यो कथाले प्रस्तुत गरेको छ
। ज्यान बचाउने सिलसिलामा नै डोटेलहरू यहाँ आइपुगेका देखिन्छन् । यसैगरी फुपू अलप भएको
कथामा कथानक कथ्य रूपमै आएको छ । तिब्बतबाट राजा नाल्दुम भन्ने ठाउँमा आइपुग्नु, यहाँ राजाको
अस्तित्व रहनु, राजाकी फुपूचाहिँ पृथ्वीनारायण शाहको लडाइँमा अलप
हुनुजस्ता कुरा कथानकमा आएका छन् । यसरी घिसिङ जातिको अस्तित्वसँग जोडिएको कथानक यहाँ
प्रस्तुत भएको देखिन्छ । ब्राह्मायणी मन्दिर उत्पत्तिको कथामा देवपुर क्षेत्रमा ढकाल, दुलाल लगायतका
जातिको बाक्लो बस्ती थियो भन्ने कुरा प्रस्तुत गरेको छ । दुलाल र ढकालमा बिहेबारी हुने
कुरा प्रस्तुत गरेको छ । दैवी शक्तिमा विश्वास
राख्ने मानिसहरू भएको कारणले सुत्केरी महिलालाई सुतेको ठाउँमा तलबाट केही चिजले उचालेपछि
त्यस ठाउँमा उत्खनन गरी हेर्दा देवी उत्पत्ति भएको र तिनै देवीलाई ब्राह्मायणी देवी
भनी स्थापना गरेको कथानक छ । त्यही देवीपुरिएको ठाउँलाई देवीपुर हुँदै देउपुर भन्ने
ठाउँको नामाकरण हुन गएको प्र्रसङ्ग यस कथामा आएको छ । यसैगरी कश्यपेश्वर महादेवको कथामा
महादेव उत्पत्ति भएको कुरा वर्णित छ । गौरी पार्वती कुण्ड त्यहाँ थियो भन्ने कुरा बताएको
छ र त्यहाँ नपुंशक आएर पूजा प्रार्थना गरिसकेपछि नौं दिनमा पुंशक भएको बताइएको छ । यस महादेव स्थान मन्दिरसँग मनमती देवीको सम्बन्धलाई
पनि जोडिएको छ ।
यी सबै कथाहरूमा पात्रहरूलाई
वर्णित पात्रको रूपमा प्रस्तुत गरिएको छ । डोटेल बस्तीको कथा र फुपू अलग भएको कथामा
जातीय पात्रहरूलाई प्रस्तुत गरिएको छ भने ब्राह्मायणी मन्दिर उत्पत्तिको कथा र कश्यपेश्वेर
महादेवको कथामा जातीय पात्र प्रस्तुत गरिएको छैन तर कश्यपेश्वर महादेवको कथामा सन्यासी
चाहिँ पुजारीको रूपमा जातिगत पात्र बनेर आएका छन् । यी चारै लोककथामा मानव र देवता
दुवैथरीका पात्रहरूलाई संयोजन गरी प्रस्तुत गरिएको छ । डोटेल बस्तीको कथाको मुख्य पात्र
नै डोटेल हुन् । फुपू अलप भएको कथाको मुख्य पात्र आङ्गी अर्थात् फुपू नै हुन् । ब्रह्मायणी
मन्दिर उत्पत्तिको कथाको मुख्य पात्र भन्नु नै ढकालकी छोरी दुलालकी बुहारीले जन्माएकी
छोरी जो पछि ब्रह्मायणी भइन् तिनै हुन् । उनी वर्णित पात्रको रूपमा मात्रै छिन् र अन्य
पात्रहरूलाई सहायक पात्रको रूपमा प्रस्तुत गरिएको छ । कश्यपेश्वर महादेवको कथाको मुख्य
पात्रका रूपमा हिन्दुहरूका
आराध्यदेव महादेव नै हुन् र अन्य कथामा आएका पात्रहरूलाई सहायक
पात्रको रुपमा प्रस्तुत गरिएको छ । कश्यप ऋषि, हलो जोत्ने किसान, मनमती माता
लगायतका पात्र सहायक पात्रका रूपमा रहेका छन् ।
यी चारैवटा कथाहरूमा
डोटीदेखिको तिब्बतसम्मका अनि काठमाडौँ, पोखरा र देउपुर क्षेत्रका
स्थानहरू नै परिवेशको रूपमा आएका छन् । तत्कालीन समयमा खेती किसानी गर्ने परिपाटी भएको
सबै कथाका परिवेशले झल्काएको छन् । शासन व्यवस्थामा भने जताततै षड्यन्त्र, झैझगडा, कलह, मारकाट हुँदै
आएको छ जसको कारण मानिसको भागाभाग भएको देखिएको छ । भौगोलिक परिवेशमा पहाडी क्षेत्रको
परिवेश आएको छ । यी सबै क्षेत्रमा आएका परिवेशमा पहाडी भूभाग नै देखिन्छ ।
लोककथाको विशेषता
मौखिक परम्परामा पुस्तान्तरण हुँदै जाने हो । यी सबै लोककथाहरूका भाषा सरल छन् । नयाँ
पुस्ताले ती कथाहरू सुनेर स्मरणमा राखी पछिल्लो पुस्तालाई सुनाउन सक्ने ढङ्गका देखिन्छन्
। यी लोककथामा भाषिक जटिलता हैन श्रवणप्रियता देखिन्छ । अब के होला ? भन्ने जिज्ञासा
श्रोतामा उत्पन्न गराउँदछ ।
यी माथि उल्लेख गरिएका
लोककथाहरू सफल भएका देखिन्छन् । उद्देश्यगत हिसाबमा हेर्दा डोटेल बस्तीको कथाले डोटेल
जातिको परिचय गराउन र डोटेल जातिको अस्तित्व कायम गराउन सफल भएको देखिन्छ । फुपू अलग
भएको कथाले घिसिङ समुदायभित्र फुपूलाई सम्मान गर्ने परिपाटी विकास गर्न सफल भएको देखिन्छ
र घिसिङको इतिहास जोगाउन मद्दत पु¥याएको देखिन्छ । ब्रह्मायणी
मन्दिर उत्पत्तिको कथाले मानवीय शक्तिभन्दा दैवी शक्ति ठुलो हुन्छ र हामी आस्थावान्
बन्नुपर्छ भन्ने कुरा समाजमा विकास गर्न सफल भएको देखिन्छ । कश्यपेश्वर महादेवको कथाले
भगवान्प्रतिको आस्था विशेषगरी महादेवप्रतिको आस्थालाई अझ प्रगाढ बनाउन सफल भएको छ ।
यसरी कथानक, पात्र, परिवेश, भाषाशैली र
उद्देश्यका आधारबाट हेर्दा माथि प्रस्तुत गरिएका मण्डनदेउपुर क्षेत्रमा प्रचलित लोककथाहरू
समय सान्दर्भिक, लोकले बुझ्ने र आफ्ना संस्कार, संस्कृति परम्परालाई
पुस्तान्तरण गर्न सफल देखिन्छन् । निचोडमा भन्दा कथातत्वका हिसाबले मण्डनदेउपुर क्षेत्रमा
प्रचलित लोककथाहरू सफल देखिन्छन् ।
४. निष्कर्ष
यस अध्ययनमा मण्डनदेउपुर
क्षेत्रमा प्रचलित लोककथाहरूको अध्ययन विश्लषण गरिएको छ । अध्ययन गर्नलाई केही लोककथासम्बन्धी
सैद्धान्तिक विमर्शहरू प्रस्तुत भएको छ र विश्लेषणका लागि यस क्षेत्रमा प्रचलित चारवटा
कथाहरूलाई मुख्य सामग्रीको रुपमा प्रस्तुत गरिएको छ । विश्लेषण गरिएका कथाहरूमा डोटेल
बस्तीको कथा, फुपू अलप भएको कथा, ब्रह्मायणी
मन्दिर उत्पत्तिको कथा र कश्यपेश्वर महादेवको कथा छन् । यी कथाहरूलाई कथातत्वको आधारमा
विश्लेषण गरी निष्कर्ष प्रस्तुत गरिएको छ ।
यसरी हेर्दा मण्डनदेउपुर
क्षेत्रमा प्रचलित लोककथाले समाजका धर्म, संस्कृति, परम्परा इतिहासलाई
बचाउन सफल भएका र यसका साथसाथै लोकमा मनोरञ्जन
प्रदान गर्न पनि यी सफल भएका देखिन्छन् । यी र यस्तै लोक कथाहरूलाई अन्य अन्य सैद्धान्तिक
कोणबाट पनि अध्ययन विश्लेषण गर्न सकिन्छ । आगामी दिनमा मण्डनदेउपुर क्षेत्रमा प्रचलित
लोककथाहरूभित्र सांस्कृतिक चेत, मण्डनदेउपुर क्षेत्रमा प्रचलित लोककथाहरूमा
मिथक आदि शीर्षकहरूमा पनि अध्ययन विश्लेषण गर्न सकिन्छ ।
सन्दर्भसामग्री सूची
–
त्रिपाठी, वासुदेव, २०२८, विचरण, काठमाडौँ
ः भानु प्रकाशन ।
–
दिवश, तुलसी, २०३२ नेपाली
लोककथा, काठमाडौँ ः नेपाल राजकीय
प्र्रज्ञा प्रतिष्ठान ।
–
पराजुली, मोतीलाल, २०७१, नेपाली लोककथाः
सिद्धान्त र विश्लेषण, काठमाडौँ
ः विवेक सिर्जनशील प्रकाशन ।
–
घिसिङ, हर्कसँग गरिएको
कुराकानी (२०८१ माघ ५ गते) ।
–
डोटेल, धु्रव र सुवेदी, बच्चुसँग गरिएको
कुराकानी (२०८१ माघ ५ गते) ।
–
ढकाल, चेतनाथसमेतसँग
गरिएको कुराकानी (२०८१ माघ ५ गते) ।
–
भारती, सितारामसँग
गरिएको कुराकानी (२०८१ पौष २८ गते) ।
-
Thompson, Stith, 1946 Folktale, New York : Dryden Press .
000