सम्पादकीय - ७०
२०८२ साल भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण अधिकांश सरकारी कार्यालय, प्रहरी कार्यालयहरू, स्थानीय निकायका कार्यालयहरू, सिंहदरवार, संसद् भवन आदि तोडफोड
र आगजनी भए । केही नेताका घर, गाडी, सम्पत्ति तोडफोड र लुटपाट भए । यस आन्दोलनको म्यान्डेट
अनुसार प्रतिनिधि सभा विघटन भई २०८२ साल फाल्गुण २१ गते प्रतिनिधि सभाको निर्वाचन घोषणा
गरिएको छ । उक्त निर्वाचनको घोषणा वमोजिम निर्वाचनको वातावरण बनेसँगै प्रतिनिधि सभाको
११० जना समानुपातिक संसद्हरूको बन्दसूचि नयाँ र पुराना पार्टीहरूले निर्वाचन आयोगमा
बुझाइ सकेको अवस्था छ । जनताहरूले पुराना दलप्रतिको वितृष्णा र नयाँ पार्टीहरूप्रतिको
आशाका कारण २०८२ साल फाल्गुण २१ गते हुने प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको निर्वाचन
रोचक र घोचक हुने देखिन्छ । आगामी हुने निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउने
अवस्था पक्कै देखिदैन । यसैगरी आगामी चुनावपछि दुईभन्दा बढी दलहरू मिलाएर सरकार बने
पनि झन् राजनैतिक अस्थिरता नहोला भन्न सकिदैन । संसद्मा स्पष्ट बहुमत नभएको अवस्थामा
राम्रो काम गर्दा गर्दै पनि अर्को पार्टीको स्वार्थपूर्ति गर्न नसक्दा सरकार अस्थिर
रहन्छ । जनताले रोजे र सोचेजस्तो काम हुन कठिन हुन्छ । फेरि जनताका भवाना र चहाना असंख्य
छन् । जनमानसमा नयाँ दलप्रति केही न केही आशा
र विश्वास पनि देखिन्छ । केही गरौं भनी भर्खरउदयमान भएका दलप्रति जनताको सहानुभूति
भए तापनि पुराना दलप्रति विश्वास छैन । तर बहुदलीय व्यवस्थाका लागि दलीय व्यवस्था अपरिहार्य
नै रहन्छ । स्वतन्त्रता र प्रजातन्त्रका लागि दलहरूले अपसी समझदारी गरी जनताका नवीन
आशालाई पूरा गर्न जनचाहना अनुरुप अघि बढ्नुपर्दछ । नेपाल खानी, पर्यटन, वनजंगल, प्राकृतिक विविधताले
भरिएको मुलुक हो र यहाँ प्रसस्त सम्भावनाहरू रहेका छन् । यसलाई राजनैतिक इच्छाशक्ति
देखाएर स्वार्थभन्दा माथि उठ्दै राष्ट्र र जनताको हितमा लाग्ने हो भने देशको मुहार
फेर्न कुनै समय लाग्ने देखिदैन । अतः राजनैतिक पार्टी, नागरिक समाज सबै मिलेर
निर्वाचन सम्पन्न गरी देश निर्माणमा लाग्नुपर्ने आजको आवश्यकता हो ।
