तीन मुक्तक
गजल
ज्ञानुवाकर पौडेल
एक
मारेर ताल्चा बलियो ढोकामा घर सुरक्षित राख्नैपर्ने,
स्वस्थ जीवन बाँच्न यहाँ सधैंँ देवी–देउता भाक्नैपर्ने;
कस्तो रहेछ त हाम्रो यो देशको शान्ति सुरक्षा देखियो –
ठुला अपराधी जोगाउन निर्दोषलाई जेल जाक्नैपर्ने ?
दुई
ठट्टा हैन स्वाभिमान आफ्नो बचाउन हिम्मत चाहिन्छ,
पिएर आँसु आफ्नो अपमान पचाउन हिम्मत चाहिन्छ;
सुनेको त होला नि तिम्ले पनि सुकरातको बिषपान –
हो, त्यस्तै महान् कहलाउन चर्चा होइन हिम्मत चाहिन्छ !
तीन
नेताहरू यदि साँच्चै नै यहाँ असल हुँदो हो त,
ग्राहक कहिल्यै नठग्ने यहाँ पसल हुँदो हो त;
स्वर्गभन्दा के कम हुन्थ्यो होला र यो देश पनि
हरेक साल हाम्रो यहाँ राम्रो फसल हुँदो हो त !!
हाल: सिडनी,
अष्ट्रेलिया