यसपालिको भेटवार्ता –
बरिष्ठ साहित्यकार मित्रलाल पंज्ञानीको
जन्म पिता शिवलाल पंज्ञानी र माता खिनादेवी पंज्ञानीबाट वि. सं. २०१७ साल मङ्सिर २५
गते चापाकोट नगरपालिका–१०, स्याङजामा भएको हो । सानै उमेरदेखि साहित्य लेखनमा रुचि राख्नुहुने पंज्ञानीका
सामन्त परिचय (कवितासङ्ग्रह–२०३७), उम्रन्छन् आँसुका वृक्ष (कवितासङ्ग्रह–२०४६), सृष्टिकर्ता (कवितासङ्ग्रह–२०५४), पृथ्वी कसको ? (कवितासङ्ग्रह– २०६५),
गतिमान् गण्डकी (खण्डकाव्य–२०५०),
त्यो नायक (खण्डकाव्य– २०७०),
युगान्तर (महाकाव्य–२०७९),
बलेको आगो (निबन्धसङ्ग्रह–२०६६),
उद्बोधन (निबन्धसङ्ग्रह–२०७७),
टाकुरामा जाऔँ (बालकविता–२०६०), डाकिदेऊ न आमा (बालकविता–२०६५), आज मैले के के सिकेँ (बालकविता– २०६६), म बालक (बालकविता–२०६७),
ढाडे बिरालो (बालकविता–२०६८),
सपनामा उडेको (बालकाव्य–२०६१)
पिङ खेल्दा (बालकाव्य– २०६५), बाच्छी करायो (बालकाव्य–२०६७), नानी र चरी (बालकाव्य–२०७९), प्रशान्त (बालउपन्यास–२०७१) लगायतका थुप्रै कृतिहरू प्रकाशित भएका छन् । उहाँका
सिर्जनामा वर्तमान समाज र राजनीतिका विकृति, विसङ्गति, शोषण, दमन, विभेदलाई उजागर गर्दै
समतामूलक समाजको निर्माण हुनुपर्छ भन्ने विचारमा केन्द्रित रहेका पाइन्छन् । शास्त्रीय
छन्दलाई उत्तिकै कुशल र मर्मस्पर्शी ढङ्गले खेलाउन सक्ने साहित्यिक व्यक्तित्व मित्रलाल
पंज्ञानीसँग होमशंकर बास्तोलाले गर्नुभएको छोटो कुराकानी ।
यहाँले साहित्यक क्षेत्रमा लाग्ने
प्रेरणा कसरी प्राप्त गर्नुभयो ?
– ठ्याक्कै यसरी प्राप्त गरेँ भन्ने केही छैन । तत्कालको परिवेश सम्झेर
अनुमानसम्म गर्न सक्छु । मेरा पिताले सुललित लयमा रामायण र महाभारत पढ्ने गर्नुहुन्थ्यो
। मेरी आमाले वनपाखामा घाँसदाउरा गर्न तथा खेतबारीमा काम गर्न जाँदा गीत गाउने गर्नुहुन्थ्यो
। मेरो लयचेतनाको जागरण यसरी घरबाटै भएको होला भन्ने लाग्छ । खोई कुन प्रेरणाले हो
! मैले दश–एघार वर्षबाटै आफैंले गीति लयका पङ्क्ति रचना गर्न थालिसकेको थिएँ । गंगालाल
मावि चापाकोट स्याङ्जामा आठ कक्षामा भर्ना हुन गएपछि भने विद्यालयको वातावरण कवितामय
बन्यो । बेलाबेलामा कविता प्रतियोगिता हुन थाल्यो । त्यसमा भाग लिन थालेपछि प्रथम द्वितीय भएर पुरस्कार
तथा स्याबासी पाउन थालियो । कविताका पुस्तकहरू पनि अलिअलि पढ्न पाइयो ।
यहाँको हालसम्मको साहित्यिक यात्राका
बारेमा केही जानकारी पाउन सकिएला कि ?
– २०३७ सालमा मेरो पहिलो कवितासङ्ग्रह प्रकाशित भयो । त्यसपछि पनि केही
वर्षको अन्तरातलमा फाट्टफुट्ट पुस्तकहरू निस्किरहेकै छन् । हालसम्म मेरा कवितातर्फ
चारवटा कवितासङ्ग्रह (सामन्त परिचय, उम्रन्छन् आँसुका वृक्ष, सृष्टिकर्ता र पृथ्वी कसको ?), दुईवटा खण्डकाव्य (गतिमान् गण्डकी र त्यो
नायक) र एउटा महाकाव्य (युगान्तर,) प्रकाशित छन् । बलेको आगो र उद्बोधन नामका
दुइटा निबन्ध सङ्ग्रह तथा बालसाहित्यका केही कृतिहरू प्रकाशित छन् । मैले करिब एक दशक
साहित्य सन्ध्याको नेतृत्व गर्ने अवसर प्राप्त गरेँ । केही वर्ष प्रतिभा प्रवाहको पनि
नेतृत्वदायी भूमिकामा रहेँ । प्रलेस महासचिवका रूपमा एक कार्यकाल व्यतीत गरेँ । कलम,
लहर, साहित्य सन्ध्या, प्रतिभा प्रवाह, साहित्य सदन, इच्छुक नामका साहित्यिक पत्रिकाको सम्पादन पनि गरेँ
।
यहाँ विशेष कविका रुपमा परिचित
हुनुहुन्छ । कविताले समाज रुपान्तरणमा कस्तो प्रभाव पार्ला ?
– शक्तिशाली कविताले समाज रूपान्तरणमा ऊर्जा प्रदान गर्दछ । गोपालप्रसाद
रिमालको ‘आमाको सपना’ कविताले वौद्धिक जगत्मा जागरण ल्याएर सात सालको परिवर्तनमा ठुलो
भूमिका खेलेको थियो । एक जुगमा एक दिन बोलको कविता सात सालमा मात्रै होइन, छत्तिस साल, छयालिस साल र त्रिसठ्ठी सालको
आन्दोलनमा पनि सडक सडकका विशाल जुलुसहरूमा समवेत स्वरमा गाइएका थिए । जब जब दक्षिणतिरबाट
यो देशमा अपमान र अवरोध थोपर्ने काम हुन्छ, तब तब ‘धम्की नदे भारत’ भन्ने कविता गाइन्छ । कवि मेदिनीनाथ
सुवेदीले लेख्नुभएको यो कविता भारतले नाकावन्दी लगाएको बेला २०२७ देखि गाइन थालेको
हो । भीमदत्त पन्तको नेतृत्वमा २००९ सालमा भएको सशस्त्र किसान विद्रोहमा ‘कि त जोत
हलो कि त छाड थलो, यदि हैन भने अब छैन भलो, भन्ने कविताले किसानहरूको परिवर्तनप्रतिको सङ्कल्प र आत्मविश्वासलाई चुल्याएको
थियो । जनयुद्ध कालमा कवि कृष्णसेन इच्छुकका कविताले धेरै योद्धाहरूमा आँट र युक्ति
उत्पन्न गराएको थियो । यस्ता अनेकन उदाहरणहरू छन् ।
यहाँ बालसाहित्यसम्बन्धी लेखन
एवम् उन्नयनमा लागिरहनुभएको छ । आजको डिजिटलको जमानामा बालसाहित्यका पाठक पाउन कठिन
छैन ?
– प्रकाशकहरूले खुसीपूर्वक प्रकाशन गरिरहेका छन् । पाठक पाएरै त होला ।
युगीन प्रविधिसित परिचित हुनु र त्यसलाई उचित मात्रामा उपयोग गर्नु आवश्यक छ । अन्यथा
पछि परिन्छ । तर पुस्तक नै विस्थापन हुने सम्भावना छैन । अध्ययनका निमित्त यसका आफ्नै
वैशिष्ठ्य छन्, जुन डिजिटल सामग्रीसित छैन ।
तपाईं बालसाहित्य र प्रौढ साहित्यमा
कलम चलाइरहनुभएको छ । बालसाहित्य र प्रौढ साहित्यलेखनमा के कस्तो फरक देख्नुभएको छ
?
– बालक र प्रौढमा रुचि, आवश्यकता र चेतनास्तर फरक हुने हुनाले स्वभावतः साहित्य पनि
फरक हुन्छ नै । बाललेखनको भाषा सरल हुन्छ । विचारमा गहन दार्शनिकता हुँदैन । दार्शनिकता
नै नहुने होइन, कुनै जार्गनको प्रयोग नगरीकन जीवन व्यवहारको सामान्य क्रियाकलापबाटै बोध हुनेगरी
सहजाभिव्यक्ति रहने भएका कारणले त्यसको बोझ बालकलाई महसुस हुनै पाउँदैन । खेलै खेलमा
र गायनै गायनमा रमाउँदा रमाउँदै पत्तै नपाउने गरी ज्ञान प्रवाह भइसकेको हुन्छ । किशोर
वय निकटका बालबालिकालाई लक्षित गरी तयार पारिएका सामग्री अघिल्ला उमेर समूहका बालबालिकाको
भन्दा अलि गहन र अलि जटिल हुन्छ नै । बालसाहित्य सरलताबाट जटिलतातिरको सिद्धान्तमा
विरचित हुन्छ । प्रौढ साहित्यमा त जीवन र जगत्का कुनै पनि पात्र, प्रवृत्ति र परिघटना कलारूपमा
प्रतिबिम्बित भएर आउन सक्छन् ।
तपाईंका सिर्जनाहरू प्रगतिवादतर्फ
उन्मुख रहेको पाइन्छ । यस बारेमा तपाईंको के भनाइ छ ?
- प्रगतिवाद साहित्यको सर्वोत्तम
विधि र सिद्धान्त हो । समग्र मानवताका दृष्टिकोणबाट हेर्दा यसको उद्देश्य विराट् र
प्रयोजन व्यावहारिक देखिन्छ । यसले वर्तमान संसारमा विद्यमान मानवनिर्मित विभेदकारी
रीतलाई मानवीय बलले बदलेर सुन्दर समाजको निर्माण गर्ने उद्देश्य राख्दछ र परिवर्तनका
निमित्त आफ्नो तर्फबाट सक्दो बल पु¥याउँछ । प्रगतिवादले जीवन र जगत्लाई वैज्ञानिक विश्वदृष्टिकोणबाट हेर्दछ । भाग्यवाद,
ईश्वरवाद र जातिवादजस्ता अन्धविश्वासमा
आधारित सामन्ती मूल्यमान्यतालाई अस्वीकार गर्दछ । प्रगतिवाद भनेको समाजवादी यथार्थवाद
हो । प्रकृति र जीवनको यथारूप र यथासार प्रतिबिम्बन नै यथार्थवाद हो । यथार्थवाद सामाजिक
सत्यलाई उद्वघाटन गर्ने कलात्ममक युक्ति हो । जीवन र जगत्मा हामीले बाहिर जे देख्छौं
ती परिणाम मात्र हुन् । त्यसको कारण खोज्न भित्र पस्नुपर्छ । यसरी कारण र कार्यको सम्बन्ध
पहिचान गर्नु र रागात्मकतामा घोलेर सुरूचिप्रद पारी कलाकृतिको सिर्जना गर्नु यथार्थवादी
कलाकारको धर्म हो । यो अस्तव्यस्त र अन्यायग्रस्त संसारको यथार्थचित्रण गर्दा यो जस्तो
छ त्यस्तै देखिन्छ । यथार्थचित्रणको यो सीमालाई आलोचनात्मक यथार्थवाद भन्ने गरिन्छ
। कमसेकम पनि यसले अप्रमाणित पारलौकिक उडानमा नभौतारिइकन धरातलीय यथार्थमा उभिएर कुशासनको
आलोचना गर्छ । यसरी यथार्थको चित्रण गर्ने
सर्जक प्रगतिशील हो । ईश्वरीय नियमानुसार कली युग लागेकाले यो भद्रगोल भएको हो भन्ने
मान्यता राखेर हिँड्ने साहित्यकार कदाचित पनि प्रगतिशील भनिन सक्तैन ।
यो गतिशील र गतिकै कारणले परिवर्तनशील संसारमा परिवर्तन त हुन्छ हुन्छ
। त्यो कुन दिशातिर कसरी हुन्छ भन्ने कुरा समाजमा द्वन्द्वरत कुन शक्ति प्रभावशाली
बनेर निस्कन्छ भन्ने कुरामा भर पर्दछ । समाज कहिलेकाहीँ पश्चगति र अधोगतितिर पनि जानसक्छ
। तर प्रकृतिको मूल चरित्र अग्रगामितातिर नै हो । मान्छेले मान्छे हुने सामथ्र्य प्रकृतिबाटै
पाएको हो । मान्छेले आफूमा अन्तरनिहित त्यही सामथ्र्यलाई निरन्तर जगाएरै जङ्गली जीवनबाट
यहाँसम्म आएको हो । आलोचनात्मक यथार्थवादले समकालीन यथार्थलाई कारण र कार्यको यो अविच्छिन्न
ऐतिहासिक श्रृङ्खलाको प्रतिफलका रूपमा बुझ्न र यसै श्रृङ्खलाबाट उत्पन्न हुन सम्भव
भावी समाजको स्वरूपको छनक प्राप्त गर्न सक्तैन । यो आलोचनात्मक यथार्थवादको सीमा हो
। समाजवादी यथार्थवादले भने समकालीन यथार्थलाई ऐतिहासिक पृष्ठभूमिमा राखेर हेर्दछ ।
गहन तथा व्यापक दृष्टिकोणसहित यथार्थपरक नजरले यथार्थमै अन्तरनिहित सुन्दरतातिरको सम्भावना
ठम्याउँदछ । यसले समाजभित्रको असुन्दर पक्षको यथार्थचित्रण त गर्छ नै, त्यसभित्रको सुन्दर सम्भावनालाई
पनि ठम्याउँछ । अस्तव्यस्तताभित्र अस्तव्यस्तता मात्रै हुँदैन । सुसङ्गतिका बीजहरू
पनि रहेका हुन्छन् । मानवताको इतिहासले बोल्दछ मानवजाति विलोपकारी खतर्नाक सङ्कटहरूबाट
मुक्त भएर अस्तित्व रक्षा गर्दै अगाडि बढेको हो । प्रकृति र जीवनमा सुसङ्गत युक्तिका
बीजहरू हुँदैनथे भने मानवजाति सदाको लागि त्यहीँ समाप्त हुनेथियो । सङ्कटमा सङ्कटमात्र
हुँदैन, सङ्कटमोचनको सूत्र पनि
त्यसैभित्र अन्तरनिहित हुन्छ । जति नै ठुलो अन्धकारभित्र पनि अग्निबीज बाँचिरहेकै हुन्छ
। त्यो कहाँ छ भनेर देख्नेबुझ्ने संज्ञान र त्यसलाई जगाउने कलात्मक युक्तिचातुर्य नै
समाजवादी यथार्थवादी रचनाको प्राण हो । प्रगतिवादको सैद्धान्तिक आधार माक्र्सवाद हो
।
वर्तमान नेपाली कविताको आयाम
कस्तो छ भन्ने लाग्छ यहाँलाई ?
– वर्तमान नेपाली कविताको आयाम फराकिलो छ । यो राजनीतिक, सामाजिक र सांस्कृतिक सबै क्षेत्रका
विविध विषयमा विस्तारित छ । कुनै समकालमा विद्यमान विद्रुपताका विरुद्धमा मुखरित छन्
। कुनै पहिचानको खोजीमा इतिहासदेखिका नालीबाली खोज्न र वर्तमानको सांस्कृतिक ठेगाना
बोल्न उद्यत छन् । कोही पर्यावरण सन्तुलनको अभिप्रायमा अभिव्यक्त छन् । कोही सामाजिक
विभेदका जडहरू खोतल्ने र त्यसबाट मुक्तिका निमित्त चेत–प्रकाश बनेर बल्ने उपक्रममा
तल्लीन छन् । यी सबै प्रवृत्तिका आ–आफ्ना ठाउँमा आ–आफ्ना महत्व छन् । तर जीवन र जगत्लाई
समष्टिमा हेर्न, बुझ्न र बदल्न प्रयत्नरत पछिल्लो प्रवृत्ति नै बाँकी सबैभन्दा प्रगतिशील पक्ष हो
। यसले विद्पताका विरुद्धमा पनि बोल्दछ, तर त्यत्तिमा अडिँदैन, समृद्ध संज्ञानचेतले सुन्दर सम्भावनाको रेखाचित्र पनि
कोर्दछ । यसले पहिचानको पक्षमा पनि बोल्दछ, तर यत्तिमा अडिँदैन, पहिचानको मुद्दालाई मुक्तिअभियानको समग्रतासित जोड्दछ
। यसले पर्यावरण सन्तुलनको पक्षमा पनि बोल्दछ, तर निजी नाफा र धनसञ्चयका निमित्त जुनसुकै प्रकृति,
सभ्यता र व्यक्तिमाथि बज्रपात
बनेर विध्वंस मच्चाउने साम्राज्यवादलाई यथावत् राखेर पर्यावरण सन्तुलन हुने कुरालाई
हास्यस्पद ठान्दछ । धर्तीमा कति मान्छे छन् र तिनको अत्यावश्यकता कति हो ? समग्र हिसाबसहित आवश्यक उत्पादन
र न्यायिक वितरणमा आधारित प्रकृतिप्रेमी र सच्चा मानवतावादी वैश्विक प्रणालीले मात्रै
पर्यावरण सन्तुलन कायम गर्न सक्छ भन्ने विश्वास गर्दछ । (यसको तात्पर्य यो प्रणाली
आएपछि मात्रै पर्यावरणमा ध्यान दिने भनेको होइन, यथाशक्य काम अहिले पनि गरिराख्नुपर्दछ ।) यो प्रणाली
भनेको वैज्ञानिक समाजवाद हो । सहअस्तित्वबोध र सहकार्यात्मक पद्धतिका कारणले अति नाफाको
असंयत मोह र युद्धको अन्त्य हुनेछ । सत्य, शिव र सुन्दर नै प्रगतिशील कविहरूको सांस्कृतिक अभीष्ट हो । त्यसो त नेपाली साहित्यमा रूढिवादी र छाडावादी प्रवृत्तिहरू पनि नभएका होइनन्
। तर ती चर्चायोग्य होइनन् ।
हाल यहाँ के गरिरहनुभएको छ ।
भाविष्यमा साहित्यसम्बन्धी के कस्तो कार्य गर्ने लक्ष्य राख्नुभएको छ ?
– पढिरहेको छु । लेखिरहेको छु । पढिरहने र लेखिरहने लक्ष्य छ, त्यस्ता सामग्री जसले मुक्तिको
बाटो फेला पार्ने युक्ति प्रदान गरून् ।
जीवनमा साहित्यिक क्षेत्रमा लागेर
के प्राप्त गरेजस्तो लाग्छ ?
– साहित्यमा लागेर साहित्य पढ्ने र लेख्ने अवसर र युक्ति प्राप्त गरेँ
। लेख्न बसेपछि लेख्न लागिएको विषयले पुष्टि माग्छ । त्यसका निम्ति वस्तुगत र रागात्मक
तर्कहरू आवश्यक पर्छन् । अनि वस्तुजगत् र आत्मजगत्मा विरचण गर्नुको विकल्प रहँदैन ।
वस्तुजगत्बाट प्राप्त तथ्यलाई कलासाधनामा बसी आत्मजगत्को तथ्यसित अन्तरघुलन गरी अभेद्य
एकत्वबाट निर्मित कलारूपलाई जब भुक्तभोगी भावकहरूले मन पराएर कण्ठ पारी हिँड्छन् अनि
के चाहियो ! प्रिय पाठकहरूको प्रेम नै सबैभन्दा ठुलो प्राप्ति हो ।
यहाँको साहित्य सिर्जनाको उद्देश्य
के होला ?
– जीवन बुझौं, जगत् बुझौं र बुझेका कुरालाई रागात्मकतामा घोलेर काव्यरूप दिन सकौं । जनमनलाई देख्न
सकौं, जनमर्म लेख्न सकौं,
जनमनमा पस्न सकौं र जनप्रिय बनेर
बस्न सकौं । विषयहरू जनजीवनबाटै लिऊँ र परिपाक पश्चात् उनैलाई फिर्ता दिऊँ । चेतना
जगाउन सकौं, परिवर्तनमुखी सिर्जनामा
लगाउन सकौं । यिनै हुन् साहित्य सिर्जनाका मेरा मूल उद्देश्य ।
अन्त्यमा, ‘अन्तर्बोध’ मार्फत केही भन्नु
छ कि ?
– अन्तर्बोधले आफूलाई अझै जीवन्त र व्यापक बनाएर जान सकोस् । शुभकामना
छ ।