समालोचना
१ “रगतको मूल्य” कथासङ्ग्रहको छोटो विवेचना
सदानन्द अभागी
१. परिचय
‘रगतको मूल्य’ कथासङ्ग्रहका कथाकार हुन् होमशंकर बास्तोला । चिसङ्खुगढी– ५, ओखलढुङ्गामा जन्मेका बास्तोलाका माताको नाम वेदमाया बास्तोला र पिताको नाम हो नारायणप्रसाद बास्तोला हो । दुवेकोल–७, खोटाङ स्थायी ठेगाना भई हाल उनको बसोबास बुढानीलकण्ठ नगरपालिका काठमाडौँमा रहेको छ ।
२. प्रकाशित कृतिहरू
हालसम्म होमशंकर बास्तोलाका प्रकाशित कृतिहरू यसप्रकार छन् –
– आँसुका झरनाहरू (कथासङ्ग्रह, २०५८)
– घाम हराएको दिन (गजलसङ्ग्रह, २०६१)
– बन्दुकको छाया (कथासङ्ग्रह, २०६७)
– हिमाल पहाडका कथा (सङ्कलित कथासङ्ग्रह, २०७१)
– भोका सपनाहरू (कवितासङ्ग्रह, २०७८)
– रगतको मूल्य (कथासङ्ग्रह, २०८२)
३. पुरस्कार एवम् सम्मान
जनआन्दोलन घाइते सम्मान (नेपाल सरकार, २०६३)
भानुभक्त काव्य पुरस्कार (२०७१)
यज्ञराज घले संस्था पुरस्कार (२०७४)
प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार (२०७६)
४. सम्पादन
– अन्तर्बाेध (साहित्यिक पत्रिका )
कृतिभित्र प्रवेश गर्दा – साझा प्रकाशनले प्रकाशित गरेको यस कथासङ्ग्रहमा उन्नाइसवटा कथाहरू समावेश गरिएका छन् । कथाकारले भनेका छन् कि–‘यी कथाहरू यस अवधिमा लेखिएका समकालीन घटनाहरूका दस्तावेज हुन् ।’ अध्यन गर्दा कथाकारको धारणालाई कथाहरूले पुष्टि गरेका छन् । कथाहरू विविधताले सजिएका छन् । ग्रामीण र सहरी परिवेशमा लेखिएका यी कथाहरू निकै रोचक, यथार्थ समाजिक घटना, सामाजका विकृति विसङ्गति, गरिबी, जातीय विभेद, पीडा, द्वन्द्व आदिमा कथाकारको मनन् चिन्तन् गहिरो देखिन्छ ।
म तिम्री आमा हुँ – पहिलो कथाले, आमाको महानता, विदेशिएका सन्तानको विदेशप्रति मोह, देश, आमाबाबुप्रतिको गर्नुपर्ने दायित्वमा ह्रास, घर चलाउन विदेश जानपर्ने बाध्यता, यौनभोक मेटाउन परपुरुषसँग सम्बन्ध, गर्भ धारण, बच्चालाई नदीकिनारमा छाड्न बाध्यता, कसैले लगेको देख्नु र पछि म तिम्री आमा हुँ भन्ने आवाज अनायास नै निस्कनुजस्ता मार्मिक घटनाहरू कथाले समेटेका छन् ।
जाहेरी – दोस्रो कथाले आजको जल्दोबल्दो चेलीेवेटी बेचबिखनको समस्यालाई उठाएको छ । गरिबीको कारणले अध्ययन गर्न चाहने युवतीलाई जागिर गरेर पढ्न सकिने बाहानामा बम्बैको वेश्यालयमा लगेर बेचिन्छ । एकजना मुस्लिम युवक ग्राहकको रूपमा गएर युवतीबाट प्रभावित भएर भगाएर विवाह गर्छ । ऊ पनि पानी जहाज डुब्दा डुबेर मर्छ । कस्तो दर्दनाक अवस्था, हिन्दु बुहारी र मुस्लिम सासूबिचको धार्मिक द्वन्द्व, असह्य अवस्था, नेपाल फर्केर आउनु । यहाँ पनि ग्राहकलाई सन्तुष्ट दिलाउने क्रममा सज्जन वकिलले चेलीबेटी बेचबिखनकर्तालाई कानुनी कार्वाहीको लागि जाहेरी लेखेको धारणा आएको छ कथामा । कथाले समसामयिकतालाई समाएको छ । गरिबीको कारण नारकीय जीवन भोगाइको पीडालाई दर्शाएको छ ।
फैसला – यस कथाले समाजका ती घटनालाई समाएको छ, जसमा विवाहपछि लोग्ने कार्यालयका काममा जाँदा बाहिर प्रेमीले विवाह गरेको हुँदैन र कसैको रूप र यौवनतालाई देखेर प्रेममा फसेर न्यायमुर्तिले अन्याय गर्छ र बद्नाम हुन्छ । त्यस्ता महिलाले धोका खान्छन् भन्ने सन्देश दिएको छ कथाले ।
नछुइने बैँस – यस कथामा जातीय विभेद, यसबाट माथिल्लो जात भन्नेहरूले तल्लो जातमाथि गरिने थिचोमिचो, तल्लो जातसँग यौन सम्पर्क, गर्भ
रहेपछि बच्चा जन्मनु, आमालाई मारेर बरको रुखमा झुण्डिएर मरेको बनाउनु, पुलिस ल्याएर प्रकृया मिलाएर सद्गत् गर्न लगाउनु, विरोधका आवाज निस्कनु तर शक्तिवालाको अघि बिरोध गर्नेवालाको केही नलाग्नु । पछि बच्चालाई झाडीमा फाल्न भन्नु, नफाले नाती हजुरबा दुवैलाई मारिदिने धम्की दिनु, हजुरबा नाती बोकेर गाउँ छाडेर हिँड्नु । कथाले दलका नेताहरूको अहंतालाई पनि समेटेको छ । समाजमा दलितको मलामी जान हुने र नहुने दुई मत देखिनु र एक दुई जना मलामी जानु । समाजमा दलितलाई माया गर्ने, न्याय दिलाउने मानिस पनि हुन्छन् भन्ने धारणा पनि कथाले समेटेको छ ।
रगतको मूल्य – यो कथा नछुइने बैँसकै निरन्तरता हो । मैले पात्रहरूको नाम उल्लेख नगरी कथासार लेखे पनि हजुरबा (बुधे दमै)लाई तेरी छोरी मैले मारेको हो हाकाहाकी छविलालले भनेपछि बुधे दमाई नाति र आपूm बाँच्न तराई झर्छ । दत्तुप्रसादकोमा पुग्छ । नातीलाई पढाउँछ । नातीले एसएलसीमा जिल्ला टप्छ र राजु (दत्तुको छोरा) ले टिउसन पढाएर पनि पढ्न सकिने मार्गदर्शन दिन्छ र काठमाडौँ लिएर जान्छ र कलेज टप गरेपछि छात्रवृत्तिको कोटामा वेलायत जान्छ र मुटुरोग विशेषज्ञ डाक्टर बनेर आउँछ । बुधेले आमालाई मार्ने र गाउँ छाड्न बाध्यपार्ने छविलाल र चक्रे हुन् र यिनलाई पश्चताप हुने गरी बदला लिनुपर्छ भन्ने कुरा नातीलाई भनिसकेको हुन्छ । डाक्टर (लोके) भएकै अस्पतालमा चक्रेको हृदयघातको अप्रेशन लोकेले नै गर्नुपर्ने हुन्छ । ओपोजेटिभ रगतको आवश्यकताको व्यवस्था पनि साथी उमेश विश्वकर्माबाट लिएर गर्छ । चक्रेको अपरेशन सफल भएपछि चक्रेले मलाई बचाउनु भयो धेरै धेरै धन्यवाद भन्दा लोकेले ‘‘दलितको पानी नचल्ने तर दमाई, कामीको सेवा बैँस र रगत चल्ने रहेछ हैन बुबा ?’’ भन्नु, रगतको मूल्य कति हुँदोरहेछ, आमा
मारिएको, हजुरबा गाउँबाट लखेटिएको, आपूm बुधेको नाति भएको जानकारी गराउँदा चक्रेले आपूm मार्नेमा सम्लग्न नरहेको यी काम बाबुले गरेको भन्दै पश्चतापको साथमा माफी मागेका धारणा कथामा आएको छ ।
राप – यस कथाले खास गरेर दुईओटा महत्वपूर्ण कुरा उठाएको छ । एउटा धनी केटी र गरिब केटाबिचको प्रेम विवाहको पारिवारिक असहजता र अर्को विदेशी रोजगारबाट सिर्जना हुने पारिवारिक विछोडको घटना । अजय पढाइमा अब्बल तर घरको गरिब छ । रजिना पढाइमा कमजोड तर पारिवारिक अवस्थामा सम्पन्न । दुवैमा प्रेम हुन्छ र रजिनाका परिवारले दुईको विवाह नस्वीकार्ने कुरा अजयले रजिनालाई भन्दा भागेर विवाह गर्ने प्रस्ताव रजिनाले राख्नु र भागेर विवाह गर्नु । अजय विदेश जाने सल्लाह बमोजिम विदेश जानु र पैसा घरमा पठाउनु रजिनाले जग्गा घरको व्यवस्थाको सट्टा एउटा ड्राइभरसँग अजयले कमाएको पैसासमेत लिएर भाग्नु । अजय फर्केर आउँदा, श्रीमती भागेको जानकारी पाउँदा अजयले पस्केका, ‘‘कतारको मरुभूमिमा तातो घामको राप काट्नुभन्दा यो जीवनको मरुभूमिमा पीडाको राप काट्न गाह्रो रहेछ ।’’
कोरोना – यस कथामा एउटा सम्पन्न परिवारका छोरो बुहारी अमेरिका जान ललायित हुन्छन् । बाबु सरकारी कार्यालयमा सुब्बा, छोरा सेक्सन अफिसर भावी सचिव बन्ने लायक, बुहारी कलेजमा पढाउने, नातिनी हजुर आमासँग रमाएकी यी सबै हुँदा हुँदै डिभी पर्छ । माइती÷ससुराली र घरबाट यहीं सम्पन्नता छ अमेरिका किन जान प¥यो भन्दा नमानेर अमेरिका उड्छन् । बाबु बिमारी भएर बोलाउँदा पनि छोरा आउँदैन । बाबु मरेको दसौं दिनमा आएर र काजक्रिया गर्नु र अमेरिका फर्कनु आमालाई समेत अमरिका जान भन्छन् । कोरोना महामारी विश्वव्यापी छायो तीनै जनालाई कोरोनाले समायो । बाबुछोरी दुवै जना मरेको जानकारी अन्तिमाले थाहा पाउँछिन् । त्यस समयमा देशको, आफन्त, सासू, ससुरा, आमाले विदेश नजाऊ भनेको याद आउँछ । उनले पनि श्रीमान् र छोरीको बाटो समाउँछिन् । स्थानीय टेलिभिजनबाट कोरोनाका कारण परिबारै खतम भएको समाचार प्रसारण हुन्छ । आज देशमा हरेक घर घरबाट चाहे सम्पन्न होस् या विपन्न होस् विदेश पलायन भएकै छन् र बृद्धबृद्धा मर्दा लास बोक्ने मानिसको अभाव खड्किदो छ ।
एक थुँगो पूmल – कालले बालक, युवा, बृद्ध केही भन्दैन । मिति पुगेपछि लान्छ । यहाँ बाबाआमा जीवित छँदै छोराको मृत्यु हुन्छ । बाबाआमा, श्रीमती सबै रोइरहेका हुन्छन् । एक अवोध बालिका सबैसँग रुनु, उसलाई सातो जाने डरले घरभित्र थुन्नु । उसले झ्यालबाट हेर्नु, बाबालाई बाँसमा बाँधेर घाटतिर लान लागेपछि निकै प्रयासले आग्लो खोलेर घाटतिर लाग्नु, चिता बनाएर आगो लगाउनु । अबोध बालिकाको उद्देश्य बाबालाई बचाउनको लागि जलाउने व्यक्तिलाई ढुङ्गा प्रहार गर्नु, बालिकालाई समातेर घरलिएर जानु । २० वर्षपछि हरिबोधनी एकादशीका दिन पूmल तार्न जाँदा सानो अवस्थामा बाबालाई जलाएको स्थानलाई हेर्नु र पूmल तारिसकेपछि आमालाई बाबालाई जलाएको ठाउँ लगेर आमा छोरी भएर एकथुँगो पूmल बाबालाई जलाएको चितामुनिको बालुवामा रोपेर घामतिर फर्केर जुम्लाहात गरेको धारणा आएको छ कथामा । कथा अति कारुणिक छ ।
अवसान – यस कथाले चार सन्देश बोकेको छ । एक कसैको भोको पेट भरिदिँदा त्यसको फल आखिरमा प्राप्त हुन्छ । दोस्रो उपकार गर्छुभन्दा पनि दण्डित भइने, तेस्रो टुहुराका दिन आउँछन् भन्ने उखान चरितार्थ भएको र चौथो बृद्ध गलित र काम गर्न नसके मन्दिरले पनि आश्रय दिंदैन भन्ने कुरा दर्शाएको छ ।एउटा इमानदार टुहुराले काम गरेर खानुपर्छ भने धारणा राखेर बस चढ्ने र ओर्लने ठाउँमा खाने कुराका सामान बेच्थ्यो तर यो काम सफल भएन र अर्कोकाम खोज्दा भोकबाट गलित भएको अवस्थामा एउटा झुप्रोमा एक महिलासँग पानी माग्छ । महिलाको छोरा विजुलीमा काम गर्दा करेन्ट लागेर मरेको जस्तो लागेर पानी, खाना खुवाउने र रात पर्न आँटेकोले बास बस्न दिनु र राती गाउँमा चोरी भएकोले भोलिपल्ट बाटोमा जाँदै गर्दा चोर भनेर पुलिसले समाउनु र महिलाले मेरो घरमा बसेको हो र चोर हैन भनेर पुलिसबाट छुटाइ दिनु ।
तिनै महिलाले बन्दुक पड्केको आवाज सुनेर हेर्दा कसैले मानिसलाई बन्दुक हानेर बन्दुक त्यही छाडेर हिँडेको देखेर घाइतेलाई उपचार गर्न बाटोमा निकाल्दा मृत्यु हुनु र ५ वर्ष जेलजानु । जेलबाट छुटेर घर आउँदा घरजग्गा साहुले हड्पनु । मन्दिरमा शरण लिएर बसी काम गर्न नसक्दा र बिरामी पर्दा महन्तले निकाली दिनु । एकछाक खाना पानी खुवाएको टुहुरो धनाढ्य भएकोले असाहायहरूलाई सहयोग गर्दै अउनु र ती बृद्धालाई देखेपछि ड्राइभरलाई उपचारको लागि हस्पिटल लान लगाउनु । भोलिपल्ट बिल देखेपछि बिल मिनाह गरेर भेट्न जाँदा उनलाई कुनै उपचार र सहयोग नचाहिने भैसकेको अवस्थामा पाउनु ।
मुगलान – यस कथामा गरिबीले पिल्सिएका मानिसहरूलाई न कसैले पैसा सापटी दिन्छ न ऋण नै । उपचारको लागि पैसा नभएर अकालमा मर्नुपर्छ भन्ने संदेश बोकेको यस कथामा अस्पतालको कर्मचारी कार्यालयमा जाँदै गर्दा बाटोमा उसलाई डाक्टर सम्झेर रिठ्ठेले आफ्नी पत्नी बाटुलीलाई उपचार गर्न भनी घरलिएर जान्छ । अस्पतालको कर्मचारीले आपूm डाक्टर नभएको अस्पताल लिएर आएमा उसले सक्दो सहयोग गर्ने भनेर ठेगाना लेखेर छाड्छ । रिठेले पैसा खोज्दा पाउँदैन श्रीमती मर्छे र ऊ पैसा कमाउन भनेर मुगलान पस्छ ।
राहत – यस कथाले एउटी बृद्धा महिला भूकम्पले घर भत्किएको र श्रीमान् भत्किएको घरले किचिएर मरेको, सरकारले राहत वितरण गरेको, त्यसमा राहतमा मेरो नाम नपरेको भन्दै राहतको आसमा गाविसको सिफारिस सहित सरकारी कार्यालयको ढोका ढक्ढक्याउँदै हिँड्दा हिँड्दै बाटोमा ढलेर मरिन् । भूकम्प पुनर्निर्माणको घर बनाउने राहत पाउनका लागि घरका कुनै सदस्यको नाममा जग्गा हुनपर्ने र कसैको जग्गामा घर बनाएर बसेकाले राहत नपाउने प्रावधान रहेको, सबैलाई राहतले समेट्न नसकेको । बृद्धाको जग्गा बन्दगीमा बेचेर फिर्ता गर्न नसकी साहुले लिए तापनि उनको घर त्यही जग्गामा रहेको । कहाली लाग्दो माओवादी युद्धलाई कथाले समेटेको छ । बृद्धाको छोरालाई पढ्दा पढ्दै माओवादीले अपहरण गरेर लगेको । मरे बाँचेको थाहा नभएको । गरिबीको नमुना नागरिकको साथमा नागरिकताका प्रमाणपत्र बाहेक केही नभएको कुरा कथाले समेटेको छ । कथा अति मार्मिक छ ।
भोक – यस कथामा मानिसलाई जसरी खानाको लागि भोक लाग्छ त्यसरी नै यौन भोक पनि लाग्छ । यस्तो भोक श्रीमान् विदेश भएकालाई बढी लाग्ने देखिएको छ । यहाँ एकजना महिला (सारु) ले गोविन्दसँँग एक रात भोक मेटाउन चाहन्छे तर गोविन्दले श्रीमान् अमेरिका छ, पैसाको कमी छैन । किन यस्तो काम गर्ने ? भन्दा सारुले भन्छे–‘ ‘गोविन्द ! पैसाले मलाई लागेको भोक कहिल्यै मेटिएन । तसर्थ पनि आजको एक रात मलाई देऊ ।’’ हुन पनि यौनतृष्णा यति बलियो हुन्छ कि ठुला ठुला ऋषिमुनिहरूको सिद्ध हुन लागेको तपस्या पनि परीहरू आएर भङ्ग गरिदिएका हुन्छन् । घनघोर वर्षामा प्रहरी बिटबाट सारु र गोविन्दबिचको बहस र तानातानको आवाज सुनेर कुनै मानवीय घटना हुनसक्ने आङ्कलन गरेर सिपाही त्यहाँ पुग्नु, सिपाही देखेर गोविन्द, सारुबाट हात छुटाएर भाग्नु सिपाहीले सारुलाई घरजाने आग्रह गर्नु तर सारुले सिपाहीलाई आकर्षित पार्दै प्रहरीबिटमा आएर आफ्नो भोक मेटाउँछे । भोक मेटाउँदाको नतिजा तीनदिनपछि अदालतमा बयान लेख्दै गर्दा गोविन्दले भोक मेटियो होला, लोग्नेको सम्पति र घर पनि सिध्यायौं भन्दै प्रश्न गर्नु । हिजोमात्र तिम्रो श्रीमान् आएर छोडपत्रको फिराद दर्ता गरेको कुरा जानकारी दिनु । युवती सलवारले मुख छोपेर उभिनु र सिपाही पनि मुन्टो निहुराएर चुपचाप उभिइरहनुजस्ता धारणा आएका छन् कथामा ।
हिउँको ओछ्यान – यस कथामा हिउँ पर्ने ठाउँमा यात्रा गर्दा भोग्न परेको कष्टदायी अवस्थाको वर्णन गरिएको छ । यात्रा धुन्चेबाट सुरु हुन्छ । स्याप्रुबेंसीबाट घोडातबेलामा बास बस्नु र बिहान लाङटाङ पुग्नु र लाङटाङबाट केन्जिनतिर अघि बढ्दा ६.७ रेक्टरको भूकम्पले हल्लाउनु । लिरुङ हिमाल र लाङटाङबाट हिउँका लप्काहरू झर्नु, निकै आत्तिनु, चिप्लेटी ढुङ्गाको तल ४÷५ जना अट्ने ओडार भेट्नु त्यही बस्नु, ढुङ्गालाई हिउँले ढाक्नु बाँच्ने आशा मर्नु, लौरोले हिउँलाई छेडेर बाहिर निस्कनु र हतार हतार केन्जिङ पुग्नु । त्यहाँका घर भत्किएका, मानिसहरू कोही मरेका, कोही रोइरहेका, कसैले सहयोग मागेका यस्तो अवस्था देखेर लाङटाङलाई सुरक्षित ठानेर फर्कने निधो गरेर बल्लबल्ल लाङटाङ नजिकको स्वास्थ चौकीको ग्रउण्डमा पुग्नु । धेरै मानिस मरेको पाउनु, स्वास्थ चौकीको गाह्रोमा टाँसिएर रात काट्नु । भोलिपल्ट उद्धारको लागि हेलिकप्टर आउनु र घाइतेहरूलाई हेलिकप्टरमा चढाउन, सहयोग गर्नु र पर्सिपल्ट हेलिकप्टर चढेर धुन्चे पुग्नु । यहाँ ९० सालको भूइँचालोको धनजनलाई पनि स्मरण गरिए छ ।
जिलो – यस कथामा एउटा टुहुरो पानी बेच्ने केटाको पीडादायी घटनालाई समेटेको छ । समाजमा थरीथरीका मानिस हुन्छन् र तिनले जीवन धान्नको लागि केही न केही गर्नुपर्छ । तब पनि बाल हृदय बाबुआमाको माया खोज्छ । बाबु एक्सिडेन्टमा मर्छ र आमाले अर्को श्रीमान् खोजेर हिँड्छे । रोगी हजुरआमाले केही गर्न नसक्ने अवस्थामा हुन्छिन् । गाउँमा गोठालो बस्छ । पेटभरि खान पाउँदैन र भागेर काठमाडाँै पुग्छ र गाडीमा पानी बेच्न थाल्छ । हजुरआमा नाति हराएको पिरमा बौलाएर माग्दै हिँड्दै गर्दा सहरमा पुग्नु र चीरनिद्रामा निदाउनु । नाति पानी बेच्दै मानिसको भिड भएको ठाउँमा पुग्दा आफ्नै हजुरआमा भेट्नु, रुँदै बेहोस हुनु, बिउँझदा अस्पतालको बेडमा पाउनु । कथा निकै कारुणिक छ ।
नागिना – यस कथाले भारतबाट आउनेले नेपालमा जे काम गरे पनि पैसा कमाउन सकिने धारणा । भारतको विहारमा नागिना पात्रको बाबुलाई डाकाले मारिदिनु । चन्दर भन्ने तरकारी व्यपारीको साथ लागेर काठमाडौँ आएको र नागिनाले गाउँ गाउँबाट कवाडीका सामान उठाउने काम गथ्र्यो । दीक्षा सानी बालिकालाई आमाले चकचक गरे कवाडलाई दिने र उसले लगेर पकाएर खान्छ भनेर डराउन
दिनु । दीक्षा निकै डराउनु । दीक्षाका बाबुले यस डरबाट मुक्त गराउन खोज्नु । आफ्ना पढेका अखबार नागिनालाई बिक्री गंर्दा ऊ घरभित्रै जानु र छोरीलाई चकलेट ल्याइदिने बाचा गर्नु । चकलेट ल्याइदिने गर्दा आमाले फ्याकी दिनु । उसले आफ्नी छोरीजस्तै लागेर माया गरेको धारणा राख्नु । यस कथाले दाइजो प्रथालाई पनि समेटेको छ । नागिनाको साथीे जोगिन्द्र मार्फत दाइजो नदिएको भनेर पति र सासूले तातो पानी खनाएर उसकी छोरीलाई मारेको जानकारी हुन्छ । राजनीति संरक्षणप्राप्त अपराधीलाई सजाय खोई भन्ने प्रश्न उठाइएको छ । यस कथाले मायाको कुनै सीमा नहुने धारणा यसरी राखेको छ– ‘‘माया भन्ने कुरा गरिब होस् वा धनी, माग्ने होस् या दिने सबैको एउटै हुँदो रहेछ ।’’
चरित्र – यस कथाले बस यात्रामा बसमा मानिस खचाखच हुनु, यात्रीलाई हतार हुनु, ड्राइभरले अर्को गाडी नआउन्जेल कुरेर बस्नु, बाटोमा बच्चा छाड्नु, एउटी महिला र ड्राइभरबिच कुरा हुनु । ड्राइभरकी श्रीमती बच्चा छाडेर गएको कुरा चल्दा ड्राइभरकी श्रीमती सज्जन जस्तो लागेको । कहीँ ड्राइभर अन्तै केटीसँग लागेर हो कि महिलाले भनी प्रश्न गर्नु, ड्राइभरले प्रष्ट पार्नु आदि । भाग्यका कुरा, मानिस सबै एकैनासका नहुने कुरा आदि कुरा हुँदा हुँदै गाडी चल्छ । ड्राइभरसँग कुरा गर्ने महिला (सविना) भोलिपल्ट तरकारी लिन चोकमा निस्कनु र पत्रिका किनेर पढ्न थाल्दा पत्रिकामा ‘पाँच महिला र पुरुष होटेलबाट अर्धनग्न पक्राउ ।’ भनी लेखिएको पढ्दा सविनाको मुखबाट ‘थुक्क ! बजियाबजिनीहरू । चरित्रहीन पात्रहरू’ आदि धारणा कथाले समेटेको छ ।
अठोट – कथाले र्बौद्ध संस्कारलाई समेटेको छ । एउटी महिला मानेको अगाडि हात जोडेर ध्यानमग्न देखिन्छिन् । जसको लोग्नेलाई बदुकधारीले मारेका हुन्छन् । कारण उनी स्वतन्त्रताको लागि मानिसहरूलाई सङ्गठित गर्न राती राती हिँड्दथे । सरकारको बिरोध गरेको आरोपमा मारिए । देशमा स्वतन्त्रता चाहने धेरै मानिसहरूलाई तानाशाहहरूले मारेको घटनालाई कथाले समेटेको छ । गरिबीले सताएको परिवार जसले गिठा, भ्याकुर तथा कन्दमुल खोजेर खाएर । गिटी कुटेर जीवन निर्वाह गर्नेलाई पनि स्वतन्त्रता प्यारो हुन्छ र सहिद बन्न तयार हुन्छन् । परिवार सरणार्थी बन्न पुग्दछन् । यस्ता असाहाय महिलाले पनि जिउने अठोट गर्दछन् भन्दै मार्मिक वेदनालाई कथाले समेटको छ ।
सिउँदो – यस कथाले युवा युवतीबिचको पवित्र प्रेम, प्रेम भए पनि विवाह बन्धनमा बाँँधिन समय लाग्नु, प्रेमी काठमाडौँमा पुलिसमा जागिर खानु । प्रेमिका माओवादीमा लडाकु बन्नु । प्रेमी सरुवा भएर सल्लेरी पुग्नु र ड्युटीमा खटिएको बेला राती नौ बजे फाप्लुबाट राँके जुलुस निक्लनु । तामाखानीतिर पेट्रोम्याक्स बलेको उज्यालोमा बन्दुक पड्केको आवाज आउनु । गाउँमा हल्लाको आवाज आउनु, ‘कथित संसदीय सरकार मुर्दावाद । महान् जनयुद्ध जारी छ ।’ जस्ता नारा लाग्नु, खानेपानी कार्यालयको आँगनमा बम पडकनु । जिल्ला प्रहरी कार्यालयमा बन्दुक पड्केका आवाजहरू आउन थाल्नु । बम हानिनु, सरकारी पक्षकालाई आत्म समर्पण गर भन्ने आवाज आउनु, प्रेमी (नवीन) नजिकैको प्रहरी गोली लागेर ढल्नु, गोली ताकेको लडाकुलाई रोक्नोस् रोक्नोस् आकाश भनेर प्रेमीका (कविता) ले रोक्नु र प्रेमीलाई हात उठाउन भन्नु र आकाशलाई नवीनलाई सकुसल लिएर हिँड्नु होस् र भोलि उहाँलाई मसँग भेटाउनु भन्नु । रातभरि हिँडाएर पञ्चमुनिको जङ्गलमा पु¥याउनु । नवीन बाँच्न पाउनुको कारण आस्था कमरेड (कविता) भएको जानकारी नवीनले पाउनु । आस्था (कविता) ले बोलाउनु र खाना खाएर त्यहाँबाट आजै खोलुखोलाको दोभानको फड्के हुँदै दुधकोसीको पुल तारेर आउनु भनी छापामारलाई आदेश दिनु । नवीन काठमाडाँै सरुवा हुनु, कविता पनि उसको कमाण्डरले कुनै दिन घटना घटाउने जानकारी प्राप्त भएपछि भोलिपल्ट त्यहाँबाट भाग्नु र दिक्तेल प्रहरी कार्यालयमा आत्मा समर्पण गर्नु । पुनः नवीनसँग काठमाडाँैमा भेट भएर आफ्ना वेदना खोल्दै नवीनले देब्रेहातको नाडीमा चक्कुले अलिकति खोपेर बुढीऔंला रगतमा चोपेर कविताको सिउँदोमा दलिदिएर विवाह बन्धनमा बाँधिनु । कथाले सरकारी सेवामा कार्यरत प्रहरीका
परिवारलाई छोरालाई जागिरबाट निकाल नत्र मार्दिने धम्की, सरकार पक्ष र माओवादी पक्षमा ठुलो जनधनको क्षति भएको र मानिसहरू त्रसित रहेका घटनाहरू कथाले समेटेको छ ।
आतङ्ककारी – यस कथामा आफ्नो स्वार्थपूर्ति गर्नको लागि दलित, सोझा, गरिब जनताको लागि आतङ्ककारीको बिल्ला भिराएर मारिदो रहेछ र थुनाउने काम हुँदो रहेछ । पानी नचले पनि यौनतृप्ति गर्न प्रायास गरिदो रहेछ भने त्यस्ता व्यक्तिहरूले उच्च अनुसन्धानको आधारमा निर्दोश छुट्ने र दोषीले सजाए पाउने धारणालाई कथाले सामेटेको छ । कथासारमा धनसिङ उदार दिलको मानिस प्रधानपञ्च, पछि बहुदल आाएपछि अध्यक्ष भएर काम गरेको, घरमा जितेको बाबुदेखि उसले हलो जोत्ने र श्रीमतीले भाडा माझ्ने, घाँस दाउरा आदि काम गर्नेलाई धनसिङले छोरा जबरेलाई हाँडीखोलाको दुई हल पाखोबारी जितेलाई पास गरिदिनु भनेर उसको देहान्त हुन्छ । जबरेले जितेकी श्रीमतीप्रति आँखा लगाउँछ र जितेलाई माओवादी आतङ्ककारी भनेर मार्न लगाउँछ । चमेलीमाथि यौनतृप्ति गर्न खोज्छ । चमेलीले आपूm ढुङ्गा प्रहार गरेर भाग्छे । गाउँमा गुहार माग्छे तर गुहार पाउँदिन र तेस्रो दिन पुलिस आएर
आतङ्ककारी भनेर पकडेर लान्छ । मरणासन्न अवस्थामा पुग्ने गरी कुटाइ खान्छे । वयानमा सबै घटना प्रस्तुत गर्छे । यसपछि सिडियोले अन्याएमा परेर महिला मारिदै छ भनी जानकारी पाएपछि सिडियोले उसको सबै घटना सुन्छ । उसले डिएसपीलाई गाउँमा बुझ्दा त यिनी निर्दोस लाग्छिन्, डिएस्पीले पनि त्यस्तै लाग्छ भन्नु, सिडियो र चमेलीबिच परिचय हुनु । सबै कुरा सिडियोलाई भनेपछि सिडियोले जवरेलाई जवजस्ती करणी र ज्यानमारा केसमा कारवाही चलाउने र उनलाई छाडी दिने आदेश हुनु आदि घटनालाई समेटेको छ कथाले ।
पात्रहरूको चयन – सबै कथामा आवश्यकता अनुसार पात्रहरूको चयन भएको छ । सबै पात्रहरू सकृय छन् ।
परिवेश – अधिकांस कथाहरू ग्रामीण परिवेशमा लेखिए पनि सहरी परिवेशलाई पनि समेटिएको छ । आर्थिक परिवेशलाई हेर्दा गरिब पात्रहरूको बाहुल्यता देखिन्छ । सामाजिक परिवेशलाई हेर्दा समाज विविधताले भरिएको छ । कथाले समाजका विविध पक्षलाई समाउने प्रयास गरेको पाइन्छ । राजनीतिक परिवेशमा हेर्दा बहुदलीय व्यवस्थामा देखिने प्रतिशोधको साथै माओवादी जनयुद्धसमेतलाई समेटेको
छ । समसामयिक परिवेशमा कथाहरू लेखिएका छन् ।
प्रस्तुत शैली – यस कथाको सुन्दर पक्ष भनेको प्रस्तुत शैली हो । कथाकारले कथालाई सरल, रोचक, मिठासपूर्ण रूपमा प्रस्तुत गरेका छन् । कथामा प्राकृतिक सौन्दर्यतालाई समावेश गरिएको छ । ठाउँ ठाउँमा सुहाउँदा उखान टुक्काले जोडिएको छ ।
रस – साहित्य लेखनमा रसको महत्वपूर्ण स्थान हुन्छ । संस्कृतमा भनिएको छ “रसात्मकम् वाक्यम् काव्यम् अर्थात् रसयुक्त वाक्य नै काव्य हो । रस मुख्यतः ९ छन् जस्तै शृंगार, हास्य, करुण, रौद्र, वीर, भयानक, वीभत्स, अद्भूत र शान्त । यस कथासङ्ग्रहमा विविध रसहरू प्रयोगमा आएका छन् । यी १९ कथा अध्ययन गर्दा यी सबै रसबाट आनन्द लिन सकिन्छजस्तो लाग्छ मलाई ।
शीर्षकीकरण – यस कथासङ्ग्रहमा शीर्षक योग्य कथाहरू अरु भए पनि कथाकारले ‘रगतको मूल्य’ कथालाई शीर्षकको रूपमा छनौट गरेका छन् । आमा मारिएकी, बालक अवस्थामा आपूm र हजुरबाउ मार्ने धम्की पाएर गाउँ नै छाडेर हिँड्न परेका यी नाति हजुरबाले छविलाल र चक्रेलाई ठुलो सजाए दिन सक्थे । तर त्यसो नगरेर चक्रेलाई मुटुको अपरेसन गर्न विश्वकर्माको ओ पोजेटिभ रगत खोजेर सफल अपरेसन गरे । छविलालको छोरा चक्रे हुनुहुन्छ भन्दै जानकारी गराउँदै – ‘‘बाहुनको मुटुमा दलितको रगत’’ भन्दै पुनः – ‘‘दलितको पानी नचल्ने तर दमै, कामीको सेवा, बैँस र रगत चल्ने रहेछ हैन बुबा’’ भन्नु । चक्रेले ‘यो रगतको मूल्य म कसरी तिर्न सक्छु ?’ विगतलाई भुलेर माफी माग्छ र डा. ले ‘रगतको मूल्य कति हुने रहेछ बुझ्नुभो नि ? भन्दछ । म बुधेको नाति भन्दै बाबु छोराको परिचय हुन्छ । कथा मार्मिक छ । समसामयिक समाजिक परिवेशलाई समाएकाले शीर्षक ठिक छ भन्न सकिन्छ ।
निष्कर्ष – विविधताले सजिएका यी कथामा के छ भन्नुभन्दा के छैन भन्न सकिन्छ । कथाले गरिबीलाई समेटेको छ । चेलीवेटी बेचखिन, वेश्यालयमा भएकालाई पनि सती सावित्री सम्झेर उद्धार गरेर विवाह गर्नु, प्रेममा धोका, दलितको पानी छुइने तर बैँस भने नछुइने, रगत नछुइने, हत्या हिंसा, जातीय विभेद, प्रेमले उच नीच, धनी गरिब, नछुट्याउने तर परिवारले यस्तो प्रेमलाई नस्वीकार्ने, विदेशी रोजगारले निम्त्याएको परिवारिक विखण्डन, सम्पन्नतामा पनि अमेरिका जाने र उतै बस्ने रहर, कोरोना महामारीले निम्त्याएको विश्वव्यापी त्रास, पितृ उद्धारको लागि तोरन तारिने, भोकलाई खाना, उपकार गर्दा पनि परिबन्धमा पर्नु, धनीबाट गरिबमाथि शोषण, गरिबले धनको आभावमा उपचार गर्न नसकेर गर्नुपर्ने मृत्युवरण, सरकारले जग्गाविहीन भूकम्प पीडितलाई राहतमा समेट्न नसक्नु, बालबालिकालाई त्रास देखाएर डराउन दिन नहुने, दाइजो प्रथाले निम्त्याएको मृत्युवरण, मायामा कुनै सीमा नहुने, यौन भोक मेटाउनको लागि जस्तोसुकै कर्म गर्र्नेे, त्यसको लागि बच्चा छाडेर पनि हिँड्ने, वेश्यावृत्ति, बौद्ध संस्कार, स्वतन्त्रताको लागि सहिद बन्न तयार, माओवादी द्वन्द्वभित्र पनि विकृति र आफ्नो स्वार्थपूर्ति गर्न नपाएकोमा गरिब असहायको लागि माओवादीको विल्ला भिराएर यातना दिनेजस्ता विविध घटनालाई कथाले समेटेको छ । कथाहरू अति मार्मिक छन् । कथाकारको कथा लेखनशैली अनुकरणीय छ । सबै कथा समसामयिक र पठनीय छन् । यस्ता गहन कथा लेखकको भावी जीवन उज्ज्वलताको कामना सहित बिदा चाहान्छु ।
अन्तर्बोध (साहित्यिक त्रैमासिक पत्रिका), कार्तिक–पौष, २०८२, अङ्क ७०
एवम् समकालीन साहित्यिक अनलाइन
२. रगतको मूल्यको सौन्दर्य
बोधराज पौडेल
अहिले हरेक छोराछोरी देश छोड्न हतारो गर्छन् । देश छोडेपछि पुनः देश फर्किन चाहदैनन् । उनीहरू परदेशमा यति व्यस्त हुन्छन् कि आफ्ना बाबुआमासँग कुरा गर्ने समयसमेत हुँदैन । र देश प्रतिको माया हराउँदै गएको बताउँछन् । यसले बाबुआमालाई आधात पार्छ । र बाबुआमा भन्छन् कति चाडै भुल्न सकेको आफ्नो देश, माटो, खोलानाला, समाज र घरपरिवार ।
अर्कोतर्फ बालसखा रविसँगको प्रेम । लोग्ने तातो घाम तापेर पैसा कमाउँछ यता स्वास्नीले बैंशको बाँध फुटाएर मोज गर्छे । यहाँ मैले तिमीलाई सधैँका लागि हो र ? मात्र दुई वर्ष । परिणम ऊ गर्भवती हुन्छे । डम्बरसिंहले छोडिएको बच्चा फेला पार्छन् । यहाँ सन्तमायाको मनोदशा र सन्तानप्रतिको माया अगाध छ ।
कथाहरू ग्रामिण परिवेशमा लेखिएका छन् । सबै कथामा त्रिकोणात्मक प्रेम देखाइएको छ । पात्रहरूले कुनै न कुनै अनैतिक काम गरेका कारण ती पाप पखाल्न हो वा जीवनको अन्तिम सत्य मृत्युमा नदी आवश्यक हुन्छ भनेर हो नदी आवश्यक ठानिएको छ ।
पात्रले संवाद गर्दा म के हुँ भन्ने विषयलाई भुल्न खोज्छ । तर कथानकले त्यसलाई यसरी निर्देश गर्छ ऊ आफ्नो बुनोटमा फर्किएर फेरि अन्तर घुलित बन्छ । यो कथाकारको शक्ति हो ।
घटनाको उजागर दिनमा नै भएका छन् । यसको अर्थ के हो भने ती पात्रहरू स्वच्छ छन् भन्ने हो । तर परिवन्धले कुनै न कुनै प्रलोभनमा फसेका छन् । ती कतै यौनिक रूपमा छन् भने कतै आर्थिक रूपमा । तर भोक कथामा मध्यरातको प्रसङ्ग उल्लेख छ ।
परम्परागत रूपमा समाज धनी र गरिबका बिचमा बिभेद गर्छ । यो दलित र गैर दलित बिचमा पनि हुन्छ । यहाँ मृत्युपश्चात पनि दलितले भोग्नु परेको कारुणिक कथाले मन अमिलो पार्छ ।
धेरै कथाले मन भक्कानो पार्छन् र गह भर्छन् । कथा पढ्दा यी घटना हाम्रो गाउँमा पनि भएको थियो भन्ने ग्रामिण जीवन विताएका धेरैले महसुस गर्छन् । अझ घर बेँसी गरेका धेरैले त यी कथालाई आफ्नो कथा हो भनेर गर्व गर्न सक्छन् ।
कथामा पहिले नै घटनाको संकेत गरिएको छ । यसले के देखाउँछ भने त्यो घटना कसरी भयो भनेर जान्ने उत्सुकता बढाउँछ । लेखकले एउटा पाठकलाई आफ्नो सिर्जनामा अडिग राख्ने यो एउटा शक्ति पनि हो ।
बर, पीपल, चौतारीको वयान गरिएको छ । यी हाम्रा सम्पदामात्र होइनन्, आस्थाका प्रतीक पनि हुन । यिनको प्रयोग एकदम होसियारीका साथ गरिएको छ । बाँबियोको प्रयोग पनि उचित तरिकाले गरिएको छ । एउटा बरको रुखमा लगाइएको पासोमा दलितले गरेको आत्महत्यालाई धार्मिक आस्था र विश्वाससँग जोडिएको छ । बरको रुखमा पासो लगाउँदा त्यो रुख जुठो हुँदैन तर उसको मलामी गए समाजले काढ्छ भन्ने तर्क राखिएको छ । यही बाबियोको प्रयोग पत्रिव कुशसँग गरेर उसको जीवनको मुक्तिको कामना गरिएको जस्तो देखिन्छ ।
हाम्रो न्यायलय र प्रहरी प्रशासन कस्तो छ ? नागरिकसँग सिधै जोडिएका यी क्षेत्र नागरिकका लागि होइनन् भने यिनको औचित्य के छ ? भनेर घुमाउरो तरिकाले यी नागरिकको न्याय र समानताका लागि हुनुपर्ने सन्देश प्रवाह गरिएको छ ।
कथाको बुनोट सिरुको बोट जस्तै छ, आफैँ झाँगिदै जाने । यसका मुल कथामा सहायक कथा जोडिन्छन् तर पाठकले मुल कथा जस्तै आनन्द लिन्छ । यसले कथा लेखनमा अभ्यस्त भएको प्रमाणित गर्छ ।
विषयका हिसाबले साझा कथा छन् । जुन विषय हामीले देखेका, सुनेका र भोगेका छन् । तर प्रस्तुतीका हिसाबले नवीन छन् । यसमा एउटा रोचक तथ्य के छ भने यी कतै न कतैबाट प्रेमसँग गाँसिएका छन् । यहाँ पवित्रताभन्दा बढी वासना नै छ । यसले हाम्रो समाज शैक्षिक उन्नयमा अघि देखिए पनि हाम्रो सोचमा भने परिवर्तको कमी भएको संकेत गर्छन् । पात्रहरूको मनोदशा हेर्दा धेरैले सुझवुझका साथ आफ्नो भूमिका निर्वाह गरेका छन् जसको परिणाम सुखद् छ । कुनै पात्रले आवेगमा गलत गरेका छन् जसको परिणाम फलदायी नहुने सन्देश छ । यो समाज रूपान्तरका लागि महत्वपूर्ण सन्देश हो ।
दृष्टिविन्दुमा कथाको वहावमा बग्दै जाँदा प्रथम दृष्टिविन्दुमा तृतीय र तृतीयमा प्रथम भएको छ । यो जानेर गरिएको होइन । कथाले आफ्नो फैलावट खोजेर बग्दै जाँदा भएको भुल हो । यहाँ लेखकीय भुलका कारण पाठकलाई मैले अन्जानमा दुई पाता पल्टाए कि भनेर सशंकित पार्छ ।
कथाको अन्त्य प्रायः सुखान्त नै छन् । तर त्यहाँ कथा सकिनुपूर्व छोड्नु पर्ने सन्देश केही कथामा लुप्त राखिएको छ । यसले पाठकले अर्को अंश बाँकी रहेको सन्देश पाउँछ तर कथा पाउँदैन । यसले गर्भमा गर्भको बोध राखेपनि पाठकले निराशा नै पाउँछ । तसर्थ यो विषयलाई अनुशरण गर्नु लेखकीय बुद्धिमानी हुन्छ ।
अन्तयमा, आतंककारी शीर्षकको कथा राखेर गलत नियतले गरेको कार्यको परिणाम गलत नै हुन्छ भन्ने सन्देश प्रवाह गरेर कथा सङ्ग्रह पाठकको जिम्मा लगाउनुले मेरो दोषको भागीदार म छु भन्ने संकेत मिल्छ । यो कथा सङ्ग्रहका लागि होमशङ्कर बातस्तोलालाई मुरिमुरि बधाइ छ । यो कृतिको पूर्ण सफलताको कामना गर्छु । धन्यवाद ।
प्रकाशित: मधुपर्क, पूर्णाङ्क ६८०, २०८३ जेठ
३ समीक्षा
रगतको मूल्यमा होमशङ्कर बास्तोलाको कथाकारिता
प्रदीप सापकोटा
साहित्यका विभिन्न विधाहरुमध्ये आख्यान लोकप्रिय विधा मानिन्छ । कथामा मानव जीवन र त्यस सम्बन्धित घट्नाहरुको चित्रण गरिएको हुँदा रोचक हुन्छ । कथाले मानव जीवनको वास्तविकतासँग निकट सम्बन्ध राख्दछ । कथाको प्रारम्भ सृष्टिको प्रारम्भदेखि हुँदै आएको देखिन्छ । नेपाली कथाको इतिहास खोतल्दा आधुनिक कथा लेखनीको प्रारम्भविन्दु वि.सं.१९९१ मा गुरुप्रसाद मैनालीको नासो ,बीपी कोइरालाको चन्द्रवदन शारदा पत्रिकामा छापिएपछिलाई मान्ने हो त्यसयता नेपाली साहित्यमा धेरै कथाहरु लेखिएका छन् ।
होमशंकर शशरीर चिनेको धेरै भएको छैन् । तर साहित्यमा केही गरौं भन्ने हुटहुटी सधैं बोकेर हिड्ने आधा दर्जन कृतिहरु प्रकाशित गरिसकेका साहित्यिक व्यक्तित्वलाई मैले उनका कृतिहरुमा चिनेको हुँ पहिले । बास्तोला अन्तर्बोध साहित्यिक पत्रिकाको सम्पादक पनि हो ।उनका आँसुका झरनाहरु कथासङ्ग्रह,घाम हराएको दिन गजलसङ्ग्रह,बन्दुकको छाया कथासङ्ग्रह,हिमाल पहाडका कथा कथासं्रह र भोका सपनाहरु कवितासङ्ग्रह प्रकाशित भैसकेका छन् ।
चौथो कथासङ्ग्रह ‘रगतको मूल्य’ लिएर कथासंसारमा झुल्किएका छन् बास्तोला । यस कथासंग्रहभित्र १९ थान विभिन्न शिर्षकृत कथाहरु रहेका छन् । सामाजिक यथार्थवादी, मनोवैज्ञानिक लाग्छन् कथाहरु । यथार्थभाव जनित लाग्छन् । युगले भोगेको,हाम्रो जीवनका महत्वपूर्ण अंश कथाले लिएका जस्ता लाग्छन्। जीवनको सत्यवाट विमुख छैनन कथाहरु । यसमा समावेश अधिकाश आख्यानको कथ्य विशेषतःनेपाली समाज रहेको छ । मानव सम्बन्धका जटिलतम पक्षहरु कथाहरुले उजागर गरेका छन् । मान्छेको मनमष्तिस्कमा पार्न सक्ने गहिरो छाप र यथार्थ जनित कथानक बुनिएका कथाहरुले भरिएको छ कृति । देशको समग्र अबस्था,चालचलनमा आएको ह्रास आदि समयका बिम्बहरु कथाहरुमा उतारिएका छन ।
बास्तोलाका कथाहरुले समाजको वर्तमान परिवेश र परिस्थितिलाई अभिव्यक्त गरेका छन् । समाजमा विद्यमान रहेका विभिन्न समस्या,परम्परागत मूल्य र मान्यता तथा संस्कृतिहरुको कलात्मक प्रस्तुति पनि छ कथामा । नारी र पुरुषका बीच जन्मसिद्ध हुने सामाजिक विद्रोह,पुरुषको दम्भ,अभिमान र घमण्डी मनोग्रन्थी,यौन वासना,प्रेम,पारिवारिक र सामाजिक परिवेश,पारिवारिक समस्यामा परेका पात्रहरु प्रायः दुर्भाग्य र दुर्घटनाले पिडित देखाइएका कथा छन् । कथाहरुले महिलाका मनोदशा उतारेको छ । नारीपात्रको प्रवलता पनि कथामा छ । सामाजिक पीडा र मनोवैज्ञानिक समस्याहरु कथाहरुले उतारेका छन् ।
पहिलो कथा छ ‘म तिम्री आमा हुँ’ सन्तमायाको कथा हो । उनका जीवनका लाउखाउ वयका भोगाइहरुको स्मृति छ यस कथामा । रेष्टुरेन्ट र बारहरुमा काम गर्ने सबै युवती एकै हुन्नन। वाध्यता र विवशताले पनि त्यस्तोमा काम गर्न वाध्य हुनेपनि हुन्छन । असल चरित्रका पनि हुन्छन । निर्वोध महिलाहरु फसाइएर गलत ठाउँमा बेचिन पनि सक्छन् भन्ने सन्देशमूलक कथा हो –‘जाहेरी’ । ‘फैसला’ कथामा एउटी महिलाले कसरी न्यायमूर्तिलाई सहजै आफ्नो वसमा पारेर फैसला आफ्नो पक्षमा पार्नसक्छे भन्ने कुरा देखाइएको छ ।
‘नछुइने बैँस’ हिजोको समाजमा हामीले सुनेका कथा हो । नजिकबाट तपाई हामी सबैले नियालेको विषयको कथा हो । उपल्ला जात भनाउँदाहरुको दमन,शोषणको सत्यकथा हो । उपल्ला जात भनाउँदाहरुले कथित दलितका छोरीहरुमाथि गरेका यौन शोषणका ज्वलन्त उदाहरणीय कथा हो यो । शिर्षक कथा ’रगतको मूल्य’ ले जातीय खाडलको विषयवस्तु बोकेको छ । उपल्ला मानिएका जातका दमन,शोषण र विभेदको कथा । मान्छेको जात मान्छे बाहेक अरु केही छैन भन्ने सन्देश दिएको छ ।
‘राप’ युवायुवतीको असफल प्रेम कथा । कतारमा भेडा चराएर कमाएको पैसामा यता बसेकी श्रीमतीले मस्ती गरेको वर्तमान समाजको यथार्थ लाई यहाँ उजागर गरिएको छ । ‘कोरोना’ अमेरिकी नेपाली जीवनको यथार्थचित्र हो । जहाँ मानवीय मूल्य र मान्यतामा आएको क्षयिकरण देखाइएको छ ।
‘मुगलान’ आप्रवासीहरुको पीडा हो । बेकारीको कारण मुगलान भासिन बाध्य भएकाहरुको कथा व्यथा हो । ‘राहत’ कथा आम नेपाली भुइँमान्छेको नियति । जहाँ नेपालको प्रशासनिक ढिलासुस्ती र सर्वसाधारणको पहुँच बाहिरको प्रशासनको चित्र प्रस्तुत गरिएको छ । यो पनि वर्तमान समयको देशको यथार्थजनित कुरा हो ।
‘भोक’ विदेशिएको पुरुषकी श्रीमतीको कामन्धताको कथा लाग्छ । यसमा विखण्डित जीवनको व्यथा अभिव्यक्त भएको छ । नारीको एक्लोपनाभित्रको नैराश्यता पनि कथाले बोकेको छ । ‘हिउँको ओछ्यान‘ कथा नियात्रा जस्तो लाग्छ ।
शसस्त्र द्धन्दकालीन झल्को दिन्छन् ‘अठोट’,‘सिंउँदो’ र ‘आतंककारी’ कथाहरुले । राज्यपक्षको दमन,त्यसको प्रतिरोध र उतिबेला आम मान्छेले भोगेका आतंकित दैनिकीहरुको फेहरिस्त लाग्छन यी कथाहरु । सत्यको सन्निकट उतिक्कै देखिन्छन ।
आयामका हिसावले लघु र मध्यम आयामका कथाले तान्छन् पाठकलाई । कथानक बुन्ने शैली राम्रा लाग्छन्। समाजका छिद्रहरुभित्र छिरेर कथावस्तु टिप्न सिपालु देखिएका छन कथाकार बास्तोला । नेपाली समाजको प्रत्यक्ष भोगाई र नेपथ्यमा गुम्सिएका विभिन्न पीडाहरुको मार्मिक दृष्यहरु नै कथाका विषय बनेका छन्। कथाकार आफ्नो अनुभूति र समसमायिक विषयहरुलाई आख्यानीकरण गर्न सफल देखिएका छन् ।
सीमित पात्र,छरितो कथ्य,भाषा र सम्बादको परम्परागत शैली अंगालेका कथाहरुको प्रधानता छ । पात्रहरु यान्त्रिक र शास्त्रीय आदर्शको भारीले थिचिएका छैनन् । यसैले कुनै पात्र सकारात्मक र कतै पात्र नकारात्मक रुपमा आएका छन्। कथामा कथानक,उदेश्य र दृष्टिविन्दुलाई उचित समायोजन गरिएको पाइन्छ ।
आख्यानक्षेत्रःअधिकाँश कथाको वुनोट यहि समाज हो । समाजका वेथिति,असमानता, कुण्ठा,वेरोजगारी र गरिवीले समस्या उत्पन्न गरेका विषयहरुलाई कथाहरुको मूलतत्व बनाइएको छ । कथाहरुको भूमी नेपालको गाउँ,शहर र प्रवास हो ।
चरित्रनिर्माण ः सामाजिक परिवेशबाट निर्मित चरित्रहरु प्रस्तुत गर्ने बास्तोलाका कथाहरुमा प्रतिनिधिमुलक चरित्र रहेका छन् । प्रथमदृष्टिविन्दु,तृतिय पुरुष दृष्टिविन्दुमा विभिन्न पात्रहरु रहेका छन् । विपरित धूर्वी चरित्र निर्माणमा कथाकार केन्द्रीत देखिन्छन् । त्यसैले सकारात्मक र नकारात्मक भाव र प्रवृत्तिका पात्रहरु पाइन्छन् । कथाका पात्रहरु हाम्रै वरिपरिका,हाम्रै नाता सम्बन्धका जस्ता लाग्छन् । पात्रहरुलाई जीवन्त वनाउन स्थानीय परिवेश,लवजलाई ध्यान दिइएको पाइन्छ । प्रायः पात्रका चरित्रहरु सहज र स्वभाविक लाग्छन् ।
परिवेश निर्माण ः आर्थिक अभाव, अशिक्षा, गरिवी ,कुसंस्कार,राजनीतिक शोषण जस्ता परिवेशहरु कथाहरुमा पाइन्छन् । व्यक्तिका मनोदशाहरु पनि परिवेश निर्माणमा सहयोगी देखिएका छन् ।
भाषाशैली ः स्थानीयले वोल्ने भाषा टपक्कै टिप्ने प्रयास छ । बिम्ब र प्रतिकहरु पनि यथोचित रुपमा प्रयोग भएका छन्।
सामाजिक जीवनको विविधतालाई सफलतापूर्वक चित्रण गरिएको छ । नेपाली समाजमा नैतिक मूल्य र मान्यताको ह्रासलाई कथाहरुले औल्याएका छन् । यथार्थवादी सरल कथाहरु समाजमुखी र समय सापेक्ष छन् । पात्रहरुको परिस्थितिगत लाचारी,दयनियता,आर्थिक अभाव आदिको चित्रण गरेको छ ।
अन्त्यमा, यस्तै कथाका विषयवस्तु,थिम र पात्रहरुमा अरुले पनि कथा लेखेका छन् । यहाँ विषयवस्तु नविन लाग्दैन,तर पाठकलाई कथाले पढ्दै जाँदा तान्दै लाने खुवी राख्छन । कथाकार होम शंकर वास्तोलालाई नयाँ कथासङ्ग्रहको लागि हार्दिक बधाई ।
प्रकाशित: नागरिक दैनिक, २०८२ जेठ ९
४. रगतको मूल्य कथासङ्ग्रह शोषण विरुद्धको सशक्त आवाज
बद्रीप्रसाद ढकाल
चिसङ्खुगढी –५ ओखलढुङ्गामा जन्मिएका कथाकार होमशंकर बास्तोला समसामयिक धाराका कथाकार हुन । उनी साहित्यिक पत्रकार पनि हुन । उनले विगत २२ वर्षदेखि अन्तर्बोध साहित्यिक पत्रिकाको निरन्तर सम्पादनसमेत गरिरहेका छन् । उनका आँसुका झरनाहरु (कथासङ्ग्रह, २०५८), घाम हराएको दिन (गजलसङ्ग्रह, २०६१) बन्दुकको छाया (कथासङ्ग्रह, (२०६७) हिमाल पहाडका कथा (सङ्कलित कथासङ्ग्रह, २०७१), भोका सपनाहरु (कवितासङ्ग्रह, २०७८) र रगतको मूल्य (कथासङ्ग्रह, २०८२) प्रकाशित कृतिहरू हुन ।
होमशंकर बास्तोला नेपाली साहित्यका सक्रिय कथाकारका रूपमा चिनिन्छन् । उनी विशेषतः सामाजिक यथार्थ, मानवीय संवेदना र ग्रामीण जीवनका सूक्ष्म पक्षहरूलाई कथामार्फत प्रस्तुत गर्न सिपालु छन् । उनका कथाहरूमा समाजका विविध वर्ग, सङ्घर्ष, असमानता र मानवीय सम्बन्धका जटिलताहरू प्रभावकारी रूपमा चित्रित भएका पाइन्छन् ।
उनको रगतको मूल्य कथासङ्ग्रहका कथाहरू पनि सामाजिक यथार्थवादी घटनामा आधारित रहेका छन् । यस सङ्ग्रहका कथाहरूमा म तिम्री आमा हुँ, जाहेरी, फैसला, नछुइने बैंस, रगतको मूल्य, राप, कोरोना, एक थुँगो फूल, अवसान, मुगलान, राहत, भोक, हिउँको ओछ्यान, जिलो, नागिना, चरित्र, अठोट, सिउँदो र आतङ्ककारी रहेका छन् । नेपाली कथ ासाहित्यमा होमशंकर बास्तोला एक सशक्त सामाजिक यथार्थवादी कथाकारका रूपमा परिचित छन् । उनको “रगतको मूल्य” कथा श्रमिक वर्गको पीडा, शोषण र वर्गीय असमानताको जीवन्त चित्रण गर्ने महत्वपूर्ण कृति हो । कथाकार होमशंकर बास्तोलाका कथाहरू प्रायः सामाजिक यथार्थ र मानवीय संवेदनामा आधारित हुन्छन् । उनका कथाहरूलाई हेर्दा उनका कथात्मक प्रवृत्ति समसामयिक सामाजिक यथार्थवाद नजिक रहेका छन् । विशेष गरी गरिबीको पीडालाई विषय बनाइएका उनका कथामा आर्थिक अभावले मानिसको जीवनमा पार्ने गहिरो असरलाई यसरी चित्रण गरिएको छ ः
खोलाको बगरमा ठुला ढुङ्गा थिए । ती ढुङ्गाको आडमा सुकेका काँसका डाँठहरू जम्मा गरेर उनले
राखिन् । वरिपरि ढुङ्गाको गारो लगाएर सानी ओडारजस्तो बनाइन् । अनि मजेत्रोमाथि बच्चा सुताएर उठेकी मात्र के थिइन् फेरि बच्चा टिपेर छातीमा टाँसिन् र स्वॉक्वाँ रुन थालिन् । उनका आँखाबाट फरेका आँसुले बच्चाको अनुहार अलेली भिजेको थियो । उनले बच्चालाई छातीमा टाँसेर अघाउन्जेल दुध खुवाइन् र त्यहीँ सुताइन् । बच्चालाई ढुङ्गाले नकिचिने गरी छोपेपछि उनी दृढ भएर उभिइन् । त्यसपछि उनी खोलामाथिको टारी खेतको डिलमा पुगेर छाती पिटीपिटी दुवै हातले आँसु पुछेर रोइरहेकी थिइन् । एकाएक रोई मूर्छा परेर बिउँतिदा एउटा अधबैंसे मानिसले बच्चा बोकेको देखिन् ( पृ.५)
मुख्य पात्र दैनिक जीविकाका लागि सङ्घर्ष गर्छ र गरिबीका कारण उसले भोग्नुपरेका अपमान, पीडा र असहाय अवस्थालाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ । मानवीय सम्बन्धलाई परिवार र समाजभित्रको सम्बन्धहरू कति जटिल र संवेदनशील हुन्छन् भन्ने कुरा उनका कथाहरूमा चित्रित गरिएको पाइन्छ । सानोसानो कुराले पनि सम्बन्ध बिग्रन सक्छ भन्ने सन्देश दिँदै उनका कथाले अन्ततः सहानुभूति र समझदारीको महत्वलाई उजागर गर्छ भन्ने विषयलाई कथामा प्रस्तुत गरिएको पाइन्छ ः
त्यतिखेरै अर्डर टिप्ने युवतीले वियरको बोतल र गिलास ल्याइदिई । सावित्रीले बियरको बिर्को खोलेर बियर गिलासमा हाली र एक सुर्को तानी । घुटुक्क निलेर यस्तो मुख बिगारी कि जबरजस्ती खुवाइएको होस् । गिलास टेबुलमा राखेर लामो सास फेरेर बोली– “सर त अचम्मको मान्छे हुनुहुँदो रहेछ । यस रेस्टुरेन्टमा अहिलेसम्म रक्सी नपिउने मान्छे औंसी, पूर्णिमामा मात्र आउने हुन् । मैले पनि इच्छाले कहाँ पिएकी हुँ र सर ! बाध्यता न हो । नखाऊँ व्यापार हुँदैन, व्यापार नभए तलब आउँदैन । तलब नआए मुखमा माड लाग्दैन । छोरीका लागि पनि त अलिकति भोजन, बास र स्कुलको फिसको जोहो गरिदिनै प¥यो । मर्न सकिंदैन । मरौं भने छोरीले दुःख पाउली भन्ने झझल्को आउँछ । दुनियाको हात शरीरभरि फैल्याउनुभन्दा त घाटको धुवाँमा उड्नु बेस हो तर सोचेजस्तो कहाँ हुन्छ र ?“(पृ.९)
गाउँको यथार्थको चित्रण गर्दै लेखिएका बास्तोला ग्रामीण जीवनका समस्या—अशिक्षा, गरिबी, परम्परागत सोचलाई यथार्थपरक रूपमा चित्रण गरिएको छ । गाउँका पात्रहरू मार्फत लेखकले विकास र चेतनाको आवश्यकता औंल्याएका पाइन्छन् । उनका कथामा ग्रामीण परिवेशमा घटेका घटनालाई यसरी प्रस्तुत गरेका छन् ः
त्यतिखेर वरिपरि डाँडाहरूबाट बस्तीहरूमा धुलैधूलोको कुहिरीमण्डल देखिएको हो । उनले आफ्नो छाप्रोतिर हेरिन्, त्यहाँ उनै बिहानीपख त्रिशूली नदीकिनारबाट आकाशतिर उडिरहेको कुहिरोकैं धूलोको लप्का उडिरहेको थियो । उनी आत्तिइन् । नरबहादुरलाई केही भयो भने मेरो जिन्दगी पीडादायी हुन्छ’ भन्ने सोच्दै गाई, बाखा नदीकिनारमै छोडेर घर दौडिइन् । उनले परैबाट घर भत्केको देखिन् । उनका खुट्टा थरर कामे । ‘नरबहादुरलाई के भयो, उनको अवस्था कस्तो छ, उनी जीवित त छन् ?’ भन्ने सोच्दै थिइन् । त्यतिखेर उनको अनुहार पानी पर्ने लागेको बादलकै कालो भएको थियो । उनको भत्केको झुपडीअगाडि गाउँका केही मानिसहरू उभिएका थिए । त्यही माझमा नरबहादुर लमतन्न सुतेको देखिन् । शरीरभरि धूलैधूलो लागेको थियो (पृ.७७)।
प्रायः सङ्घर्ष र आशा जगाउने सकारात्मक सोचका कथाहरूमा मुख्य पात्र जीवनका विभिन्न कठिनाइहरू पार गर्दै अगाडि बढ्ने प्रयास गर्दछन् । कथाकार बास्तोलाका कथामा अन्याय र शोषणको विरुद्ध एक पात्रको सङ्घर्षको चित्रण गरिएको पाइन्छ । कथामार्फत उनी सामाजिक अन्यायको विरुद्ध आवाज उठाउनु आवश्यक छ भन्ने सन्देश दिन चाहन्छन ।
“मिलेछ भने हेरौला । नभए चाँडै फर्किएर तिम्रो हात बाबासँग मागौला हुँदैन ? मैले त्यसो भन्दा ऊ यति खुसी भई कि सायद मैले यति धेरै खुसी भएको देखेको थिइनँ । र उसले हाँसेर मेरो हात अँठ्याई । मैले पनि उसका हात समाएर छातीमा राखें । त्यतिखेरै खोला गड्तीरमा गाई चराउने गोठालाले सुसेलेको आवाज सुनेर झस्किएपछि ऊसँग बिदा मास्दै भनें– “बाई...बाई...कविता ।” यति भनेर म हिँडें । उसले पनि हात हल्लाएर बिदाइ गरी । म मिलको कुलो नउक्लिउन्जेल मलाई हेरेर हात हल्लाइरहेकी थिई ।( पृ.१२२)
पुस्तकको मूल कथाको शीर्षक रगतको मूल्य अत्यन्त अर्थपूर्ण र प्रतीकात्मक छ । “रगत” ले यहाँ श्रम, पसिना र जीवनशक्तिको संकेत गर्छ भने “मूल्य” ले त्यसको उचित कदर नहुनु वा अवमूल्यन हुनु जनाउँछ । यसरी शीर्षकले नै कथाको मूल भावलाई प्रष्ट पार्छ ।
दूधकोसी किनारैकिनार सिलौरीसम्म दर्बे र उसको छोरा खोजिरहेका थिए रे । दिउँसभरि खोज्दा कतै हाम्रो लास र सास नभेटेपछि जल्किनीको चौतारोमा बसेर दर्बे भन्दै थियो रे “मेरो दाजुलाई छबे र चक्रेले मारेर कहाँ फालेफाले । ती बजियाहरुलाई कहिल्यै शान्ति नहोस् । हामीले सजाय दिन नसके पनि एक दिन भगवान्ले सजाय देलान् ।“
“बुधे दमै फाल हान्यो वा मारेर फालियो भन्ने के प्रमाण छ दर्बे ? तराईतिर पनि भासिएको हुन सक्छ नि ? त्यो छवे र चक्रेलाई केही गर्न सकेनौ ? म्याउँचीको हत्यारा त उही रहेछ त ।” चौतारोमा बस्दै फयल माइलाले भनेका थिए रे उसलाई ।
उसले रुन्चे स्वरमा भनेको थियो रे “माइला विस्ट हाम्रो पक्षमा कसले बोलिदिन्छ ? म्याउँची मा¥यो । दाजु मा¥यो त्यस पातकीले । तपाईं मसँग यति बोल्नुभो तर बोल्ने ठाउँमा के बोल्न सक्नुहुन्छ ?” त्यसपछि केही बोलेनन् रे फयल माइला । त्यसैले भन्छु तैले तेरो र आमाको न्यायका लागि ठुलै मान्छे बन्नुपर्छ ।“( पृ.३५)
कथामा श्रमिक वर्गको कठोर जीवन यथार्थपरक ढङ्गले प्रस्तुत गरिएको छ । मजदुरले दिनभर गरेको श्रमको उचित मूल्य पाउन सक्दैन र मालिक वर्गबाट शोषित हुन्छ । यसले समाजमा विद्यमान वर्गीय विभाजन र आर्थिक असमानतालाई उजागर गर्छ । कथामा श्रमिक र मालिकबिचको द्वन्द्व स्पष्ट रूपमा देखिन्छ, जसले सामाजिक संरचनाको असमानतालाई सङ्केत गर्छ । पात्र निर्माणका दृष्टिले मुख्य पात्र श्रमिक वर्गको प्रतिनिधि हो । उसको पीडा, सङ्घर्ष र निराशा अत्यन्त मार्मिक रूपमा चित्रित गरिएको छ ।
कथाकार बास्तोलाका भाषा र शैली सरल, सहज र भावनात्मक छन् । लेखकले सहज शब्दावली प्रयोग गरी गहिरो भाव अभिव्यक्त गरेका छन्, जसले कथालाई सबै पाठकका लागि सुलभ र सुबोध्य बनाएको छ । तर कतिपय ठाउँमा अत्यधिक भावुकता देखिनु चाहीँ यसको सानो कमजोरी मान्न सकिन्छ । बास्तोलाका कथाका मुख्य सन्देश श्रमको सम्मान र मानवीय मूल्यको संरक्षण हो । कथाले देखाउँछ कि मानिसको जीवन र श्रमको मूल्य पैसाभन्दा ठुलो हुन्छ । यसले पाठकलाई सामाजिक अन्यायप्रति सचेत बनाउँदै सोच्न बाध्य पार्दछन् ।
समग्रमा “रगतको मूल्य” कथासङ्ग्रहका कथा सामाजिक यथार्थवादमा आधारित सशक्त र विचारोत्तेजक कथा कृति हो । केही संरचनात्मक सीमितता हुँदाहुँदै पनि यसले श्रमिक वर्गको पीडा र शोषणलाई प्रभावकारी रूपमा उजागर गर्न सफल भएको छ भन्न सकिन्छ । साझा प्रकाशनद्वारा प्रकाशित १३६ पृष्ठमा संरचित यस सङ्ग्रहका कथाहरू पठनीय र कृति सङ्ग्रहनीय रहेको छ ।
प्रकाशित: अन्नपूर्ण पोष्ट, २०८३ जेठ १६ गते
५. भुइँमान्छेको कथा ‘रगतको मूल्य’
छविरमण सिलवाल
‘अन्तर्बोध’ त्रैमासिक पत्रिकामार्फत साहित्यिक पत्रकारितालाई निरन्तरता दिइरहेका कथाकार होमशङ्कर बास्तोला साहित्यिक पत्रकारिताका दह्रिलो खम्बा हुन् । उनी आफ्नो लेखनीसँगै अन्य सर्जकलाई पनि माध्यम उपलब्ध गराउँदै सँगसँगै हिँडिरहेका छन्, ‘अन्तर्बोध’मार्फत ।
कथाकार बास्तोलाका कथाकृतिहरू ‘आँसुका झरनाहरू’ (२०५८), ‘बन्दुकको छाया’ (२०६७), ‘हिमाल पहाडका कथा’ (२०७१) र ‘भोका सपनाहरू’ (२०७८) प्रकाशित छन् । साहित्य साधनामा निरन्तर रमाएका बास्तोलाको नवीन कथाकृति हो, ‘रगतको मूल्य’ ।
यस कथाकृतिभित्र विभिन्न शीर्षकका १९ कथा समावेश छन् । व्यवस्था बदलिए पनि जनताको अवस्था ज्युँका त्युँ रहेको वर्तमान परिवेशका बेथिति कथा बनेर आएका छन् । प्रकृतिप्रेम, राष्ट्र र राष्ट्रियताप्रतिको स्नेह, पर्यावरणीय चेतना, सामाजिक असहजताका सामूहिक आवाज उनका कथाका विषयवस्तु हुन् ।
जसरी एउटै बगैँचामा विविध फूल आ–आफ्नै सुगन्ध बोकेर फक्रिरहेका हुन्छन्, होमशङ्करका कथामा पनि यस्तै विविधता झल्किएका छन् । उनकोे कथाको मूल उद्देश्य भनेकै मानवीय संवेदनासँग जोडिनु हो । तिनको दुःखसुखमा सामेल हुनु हो । यसरी हेर्दा लाग्छ, कथाकारमा समाजको गुणदोष केलाउन सक्ने क्षमता प्रगाढ देखिन्छ ।
मानवीय मूल्यमान्यतासँगै उनका कथामा जीवनदर्शनका प्रतिछाया प्रशस्त भेटिन्छन् । हाम्रै समाजमा भएका यथार्थ चित्रण कथामार्फत शालीन रूपमा उजागर भएका छन् । कथामार्फत प्रस्तुत भएका सरल, बोधगम्य शैलीले कथा पठनीय बनेका छन् ।
‘रगतको मूल्य’मार्फत कथाकार बास्तोलाले केही यथार्थ र केही काल्पनिक घोल मिसाएर कथा पठनीय बनाएका छन् । कथाकारको जन्म तथा बाल्यकाल नेपालको पूर्वी भेगमा भएका कारणले पनि कथामा स्थान, भाषा र प्रस्तुतिमा पूर्वेली भाकाको बाहुल्यता देखिन्छ ।
कथामार्फत प्रगतिशीलता, राष्ट्रवादी चिन्तन तथा जनपक्षीय समाज निमार्णमा जोड दिएका छन् । यसकारण पनि यी कथा राष्ट्र, राष्ट्रियता र समाजप्रति उत्तरदायी देखिन्छन् ।
कृतिमा समेटिएका आफ्ना कथामार्फत बास्तोलाले समाजका बेमेल परिवेशलाई प्रस्तुत गरेका छन् । महिलाका विषयमा उनीहरूका पीडा र समाजले महिलामाथि गरेका थिचोमिचो तथा पुरुषबाहुल्य समाजको चित्रलाई प्रस्ट देखाएका छन् ।
कथा पढिरहँदा हामीले समाजमा देखेका, भोगेका घटना ताजा बनेर आउँछन् । नेपाली कथासाहित्य तथा साहित्य पत्रकारितामा भोगेको लामो अनुभव, घटना–परिघटना बास्तोलाका कथाको विषय बनेका छन् ।
थोरै समयमा हामीले देखेका राजनीतिक परिवर्तन र त्यसले समाज परिवर्तनभन्दा पनि नेता र आसेपासेहरू परिवर्तन भएको हामीले देखेका छौँ । कथाकारले यी प्रसंगलाई पनि कथामा स्थान दिएका छन् ।
यस संग्रहका कथाले धेरै विषयको प्रतिनिधित्व गरेका छन् । एउटा बालकको मनोविज्ञानलाई ठूलो भएपछि कसरी प्रस्तुत भएका विचारलाई कथामा समेटिएको छ ।
सनातन हाम्रो समाज, रीतिरिवाज र संस्कृतिबारे कथामार्फत प्रस्तुत भएका छन् । यसबाट के स्पष्ट हुन्छ भने, कथाकार लेखनमा सचेत छन् । बास्तोलाको लेखन नदीजस्तै शान्त र सुन्दर लाग्छ ।
संग्रहमा ‘कोरोना’ शीर्षकको कथा छ, जसको प्रभाव त्यो कथामा प्रतिबिम्बित भएको छ । त्यस अवधिमा मर्नेहरू त मरिगए । तर, बाँच्नेहरू आफन्तको अन्तिम संस्कारमा सहभागी हुन नसकेको पीडा लिएर बाँचिरहेका छन् ।
यसै कथामार्फत विदेशी भूमिलाई कर्मस्थल बनाएर रहेका आफ्ना सन्तानहरूका पीडा र विदेशको मोहले ल्याएको समस्यालाई उजागर गरका छन्, कथाकारले ।
‘रगतको मूल्य’ कृतिका कथामार्फत हाम्रो समाजमा रहेका उपल्ला जातका मान्छेको ज्यादतीलाई पर्दाफास गरिएको छ । यस्ता पात्रको जगजगी धेरै थियो । र, अहिले पनि छ ।
केही मान्छेहरू भारी बोकेर रुदैँरुदैँ गाउँ छोडेका हामीले पनि देखेका थियौँ । हाम्रो गाउँमा पनि यस्ता पात्र थिए । पछि बुझ्दा दलित केटीसँग छोरा लागेको भनेर तिनका परिवारलाई गाउँनिकाला गरिएको रहेछ ।
अहिले पनि यो प्रथा कम भएको छैन । हामीले देखिरहेका छौँ, पढिरहेका छौँ । यस्ता घटनासँगै कथामा त्यही दलितको छोराको रगतले उसको ज्यान बच्न सफल हुन्छ । यो समयको कुरा हो, समयको बात कसैले बुझ्न सक्दैन । तर, ती उपल्लो जात भनाउनेको सेखी तोड्न यी कथाले महत्त्वपूर्ण भूमिका खेलेका छन् ।
व्यवस्था बदलिए पनि अवस्था बदल्न नसकेको हाम्रो समाजको प्रतिनिधि आवाजको पुञ्ज हो, ‘रगतको मूल्य’ । यहाँ बिरामीको उपचार गर्न नसकेर मान्छे मरिरहेका छन्, रोजगारी नपाएर खाडीका रापमा आङ पोलिरहेका व्यथा पनि छन् । मान्छे भएर पनि जातका कारण मान्छे हुन नसकेका मान्छेका कथा यसभित्र छन् ।
अर्थात्, मानवीय संवेदना पोखिएका भुइँमान्छेका कथा ‘रगतको मूल्य’मा पढ्न पाइन्छ । साझा प्रकाशनमार्फत प्रकाशित यो कथाकृति पठनीय पुस्तक हो भन्न सकिन्छ ।
प्रकाशित: बाह्रखरी अनलाइन, शनिबार, वैशाख ५, २०८३
६. ‘रगतको मूल्य’ कथासङ्ग्रहमा युगबोध
बाबुराम लम्साल
समाज रूपान्तरण र चेतनाको संवाहक साहित्यलाई मान्न सकिन्छ । समाजका प्रायः लुप्त, गुप्त र अँध्यारा पक्षलाई कोट्याउने, नियाल्ने र पर्गेल्ने काम पात्रका माध्यमबाट साहित्यकारले साहित्यका माध्यमबाट गर्दछ । सिर्जनका यिनै आयामहरू कथासाहित्यमा प्रविष्टी पाएका हुन्छन् । समय र पारिस्थितिक प्रणालीका आधारमा साहित्यको कथानक, विषयवस्तु, चरित्र र परिवेशले फरकपन ल्याए तापनि साहित्यको मूल उद्देश्य भनेकै मनोरञ्जनका साथै अन्तत्वगत्वा शिक्षा नै दिनु हो । प्रस्तुत कथासङ्ग्रहभित्रका कथालाई सूक्ष्म तरिकाले केलाउँदा समाजको कारुणिकता ऐनामा झै प्रस्ट देख्न र पात्रसँगसँगै हिँड्न सकिन्छ । कथामा प्रयोग गरिएका भाषिक अभिव्यक्तिले मानव मस्तिष्कलाई आक्रोस, घृणा, क्षोभ, विद्रोहपन ओकल्नुका साथसाथै कथावस्तुले आल्हादितसमेत तुल्याएको छ । समसामयिकतालाई केन्द्रमा राखेर युग चेतनाको स्तर नियाल्ने काम पनि तत्क्षणको परिवेशलाई आँकलन गरी समय सापेक्ष भएर साहित्यलाई बुझ्नु र बुझाउनु पर्ने देखिन्छ । समाजका कुरुपता, विद्रुपता, स्तरहीनताभित्र घृणा मिश्रित कार्यले विद्रोहको आगो ओकल्ने प्रयास गरिएको छ । सबल, दुर्बल पक्षलाई युगीनताभित्र घोटेर सान्दर्भिकतालाई केलाउने प्रयास गरिएको छ । होमशङ्कर बास्तोला सामाजिक यर्थाथवादी कथाकारका रुपमा रगतको मूल्य कथा सङ्ग्रहले प्रमाणित गरेको कुरा नकार्न सकिन्न ।
होमशङ्कर बास्तोला पूर्वी नेपालको ओखलढुङ्गामा जन्मेका हुन् । पेसाले सरकारी जागिरे भए पनि साहित्यको खेतीमा पनि उत्तिकै गर्ने जुझारु स्रष्टाको परिचय बनाएसकेका व्यक्ति हुन् । उनका आधादर्जनको सङ्ख्यामा कृतिहरु प्रकाशित भइसकेका छन् । रगतको मूल्य उनको साझा प्रकाशनबाट प्रकाशित कथासङ्ग्रह हो; जसमा उन्नाइसओटा कथाहरु सङ्गृहित छन् ।
सिप, कर्म र वर्गीयतालाई समाज व्यवस्थाले निरन्तरता दिइरहेको परिप्रेक्ष्यमा सामाजिक मूल्य स्थापित गर्न विभेदको विजारोपण गरिएको लामो इतिहास पश्चात् पनि अझै सामाजिक मूल्यको नाममा विभेदकारी नीति विद्यमान देखिएको देखिन्छ । संवैधानिक हिसाबले जातविहीन चर्को नारा स्थापित गरिए तापनि मानवीय संवेदनालाई घातमा पुरयाउँदा आएका जटिलता हुन् । ग्रामीण परिवेश र सांस्कृतिक रीतिस्थितिका कारण पनि विभेदले जरो गाडेर बसेको छ । नेपाल सघीय गणतान्त्रिक मुलुक भए तापनि सहरको जस्तो अपनत्व गाउँले जीवनमा पर्न सकेको छैन । कानुन पनि हुनेखानेका लागि मात्रै छ तर हुँदा खानेका लागि आकाशको फल स्थापित भएको छ । कानुनी राजले स्थान पाउन सकेको छैन ।
पश्चिमा संस्कृति नेपाली माटोमा फैलिन थालेको छ । छाडातन्त्र आजको नीति बनेको छ । परम्परित मूल्यमान्यतामा क्रमशः ह्रास हुँदै गएका छन् । उपेक्षित, उत्पीडित तथा सीमान्तकृत वर्गप्रति राज्यले समेत गरेको अन्यायपूर्ण व्यवहारबाट महिला हिंसा दिनानुदिन बढ्दो व्रmममा छ । गरिब, दलित तथा सामन्तवर्ग थिचोमिचोबाट आहात भएका छन् । व्यवस्था फेरिए पनि नागरिकका अवस्था पूर्वत्भन्दा गए गुज्रेको छ । सरकारी पक्षबाट तिरस्कृत भएका आमनागरिकले समुचित न्याय प्राप्त गर्न सकिरहेका छैनन् । उत्तरआधुनिक युगमा समेत थिचिएका, दबाइएका तथा किनारा लगाइएका वर्गले टाउको उठाउन नसक्नु राज्यको अकर्मण्यताकै उपज हो
कर्म, श्रम, यौवन र रगत चल्ने तर उनीहरुको पानी नचल्ने प्रवृत्तिले अमानवीयता प्रस्ट देख्न सकिन्छ । जीवनदान दिन तयार दलित समुदायको आत्मीय भावनालाई उच्च सम्मान गर्नु सक्नुपर्छ । काटे सबैको उस्तै रङको रगत आउँछ । रक्तदान जीवनदान भनेझैँ त्यसैको सहाराले विलासी जीवन व्यतीत गरिरहेका मानव जीवनको भिख माग्ने व्रmममा रगत चढाइएका हुन्छन् । ‘रगतको मूल्य कति हुने रहेछ बुभ्mनुभो नि । आज रगत नपाउनुभएको भए खरानी भइसक्नुहुन्थ्यो । दलितले छोएको पानी नचल्ने तर बाँच्न रगत चल्ने’ (पृ. ३८) । मिठो खान, राम्रो लगाउन र शिक्षास्वास्थ्यजस्ता आधारभूत कुराहरुबाट पनि बन्चित गराउने वर्गले पाशविक वृत्तिलाई आत्मसात गरेको देख्दा दावानल बनेर भस्म पार्न चेतनाको उद्घोष गर्न सक्नुपर्छ । समयको गतिशीलतासँगै कतिपय दलित समुदायका व्यक्तिहरु पनि प्राविधिक शिक्षा आर्जन गरी उदाहरणीय व्यक्ति बनेको दृष्टान्त पस्कन सकिन्छ भने कतिपय कथित दलित समुदायका मानिसहरु दैला ठेलाबाट भित्र जान नपाउने अवस्था अझै जीवित छ । ‘म बाहिरै बस्छु बिस्टसाप ।’ यस कुराले प्रस्ट के हुन्छ भने सामाजिक मनोविज्ञानले समेत सीमान्तकृत समुदाय दबिएका र दमित भएका छन् ।
समाज व्यवस्था पनि विचित्रको छ । सियो चल्छ । धागो चल्छ । हँसिया हतौडा चल्छ । श्रम चल्छ । घरेलु सामानहरु चल्छन् । चल्छ बँैस पनि । अचम्मको कुरा के छ भने साराका सारा चिजबिज चल्छ तर पानी नचल्ने कस्तो अनौठो सामाजिक संरचना र नियम पनि । जुन कानुनभन्दा माथि देखिन्छ । आज पनि मानिसहरुका आवाजहरु दबिएका छन् । पीडा व्यक्त गर्न नसक्ने अवस्था जीवितै छ । केही सहरिया सभ्यतामा हुर्केबढेका व्यक्तिलाई हेरेर सिङ्गो विपन्न वर्गलाई एउटै तराजुमा जोख्नुहुँदैन । जातले कथित माथिल्लो वर्गको भए पनि आर्थिक र सामाजिक प्रतिष्ठाका हैसियत निमुखो नै देखिन्छ । ती वर्गलाई पनि राज्यले विशेष सुविधा उपलब्ध गराई जीवनमार्गलाई सहज बनाउने दिशातर्फ लाग्नुपर्छ ।
नेपालका कतिपय यस्ता ठाउँहरु छन् जहाँ आज पनि मुखियाको इसाराले समाज चलिरहेको छ । कानुनलाई पाखा लगाएर आफै कानुनको हवाला दिने चरित्र सामाज व्यवस्था रहेको देखिन्छ । आर्थिक हिसाबले कमजोर, सामाजिक अवस्थाले निम्छरो र जातीय हिसाबले हेपिएको वर्गलाई केही मुठठीभरका व्यक्तिले थिचोमिचो गर्न पुगेका हुन्छन् । अल्पसख्यकले बहुसख्यकलाई पीडित बनाइरहेका हुन्छन् । स्वतन्त्रताका नाममा हिप्पीजमले जरो गाडेको छ । समाजका विकृति विसङ्गतिले जरो गाडेको छ । हुने खाने वर्गले गरी खाने वर्गलाई दमन गरिरहेका हुन्छ । ती वर्गले जघन्य अपराध गरे तापनि विविध कारण दर्साएर उन्मुक्ति दिने गरेको देखिन्छ । पुस्तौपुस्तासम्म ऋण बोकाएर दास बनाउने मनोदशा समाज संरचना देखा पर्दछ । ‘... तेरा बाबुले समेत मेरा लुगा सिएका थिए । ... कामी वा दमाई ...वर्षौवर्षसम्म... अर्झाप्ने र सिउने गरिरहेकै हुन्छन्’ (पृ.२६) । मानापाथी दिएर बालीघरेका नाममा वर्षौवर्षदेखि काममा जोताउने कार्य मानवीय र विचारात्मक हिसाबले निन्दनीय देखिन्छ ।
वर्तमान अवस्थामा पनि ठालुका आँखाले डामिएका युवतीहरुले डर, धम्की र त्रासका कारण अकालमा मृत्युवरण गर्नुपरेका कुरा सुन्दा जिउ सिरिङ्ग भएर आउँछ । एउटै टोलछिमेकका मानिसहरुले अनैतिक कार्य गरेर अरूलाई डाम्न खोज्दा आत्महत्या गर्न बाध्य पार्ने कचहरी समाज छ । समाजबाट लखेटिनुपर्ने बाध्यात्मक परिस्थिति निम्त्याउन ठालुहरुले कतिखेर कहाँ सिध्याउने हुन् पत्तै हुँदैन । ‘तेरी छोरीको बैँस देखेर यसले गर्न नहुने काम गर्यो । ... तेरी छोरी मैले नै मार्न लगाएको हुँ । ... एक महिनाभित्र बच्चालाई यो गाउँमा देखेँ भने न बच्चा रहन्छ, न तँ ... यी उच्च जातका भनाउँदासँग दलितको पानी नचल्ने तर बैँसले उन्मत्त भएकी छोरीको यौवन चल्ने ... (पृ.२८) । दबाइएका र दबिएका आवाजलाई बुलन्द पार्न सक्ने क्षमता नभएका निम्न आयआर्जन भएका मुक वर्गको उत्थानको लागि चेतना र शिक्षाको आवश्यकता देखा पर्दछ । यसरी दुरुत्साहन गर्ने व्यक्तिहरुलाई कानुनी कठघरामा उभ्याएर हदैसम्मको दण्डसजाय दिई पीडित पक्षलाई राहत भर्न सक्नु कानुन र राज्य पक्षको दायित्व पनि हो ।
‘रगतको मूल्य’ कथासङ्ग्रहका अधिकांश कथाहरु सवाल्टर्न साहित्यसँग सम्बन्धित छन् । आज ब्रह्माण्ड एउटा ग्याजेटमा सीमित हुन पुगेको छ । ज्ञान विज्ञानको चामत्कारिक कार्यले समाज धेरै विकसित भइसक्दा पनि कथाका पात्र चेतना स्तर कमजोर र अविवेकीपनले गाँजेको देखिन्छ । पुरानै शैली र ढर्रामा कथाहरु कोरिएका छन् । गाउँले परिवेशले जीवन पाएको छ । कथाको विषयवस्तुले पाठकलाई कोठाचोटा वनजङ्गल, उकाली ओराली, देउराली भन्ज्याङ चौतारीमा सँगसँगै हिँडाएको छ । सायद कतिपय कथा निकै समय अगाडि लेखिएकाले पनि बदलिँदो समयलाई समेट्न नसकेको हो कि भन्ने प्रतीत हुन्छ । यस किसिमका कथाहरु लेखिनु परम्परालाई पछ्याइरहेको आभास मिल्छ । हुन त कथाकारले समेत तीस वर्ष अगाडिदेखि लेखिएका र प्रकाशन गर्न ढिलो भएको स्पष्टीकरण दिएका नै छन् । कतिपय ठाउँमा अशिक्षित र अपठित वर्गले बोल्ने शैलीलाई प्रयोग नगरिनुले कथा बढी बनावटी भएको हो कि जस्तो भान पर्दछ । अतः नेपाली कथा साहित्यले रगतको मूल्य कथासङ्ग्रह पाएको छ । यो नै ठुलो उपलब्धी र प्राप्ती पनि हो । समग्रमा गरिबी, अभाव, अशिक्षा, पीडा, अज्ञानता, अन्धविश्वास, थिचोमिचो आदि कुरा उपयुक्त पात्र चयन गरी विचार सम्प्रेषण गर्न सक्नु कथाकारको सबल पक्ष हो । अन्तमा पात्रको उपस्थितिका आधारमा उचित भाषिका र भाषिक शब्दावली चयन गर्न सकेको भए कथा अझ उच्च कोटी र पुष्ट बन्न सक्ने कुरामा निस्सन्देह हुने थियो ।
प्रकाशित: नवप्रज्ञापन, अङ्क ११२, बैशाख–आषाढ २०८३
७. कृति समीक्षा
बास्तोलाको रगतको मूल्य
–
अरुणबहादुर खत्री ‘नदी’
कवि होमशंकर बास्तोलाको रगतको मूल्य नामक कथासङ््ग्रह छैठौ कृतिको रुपमा २०८२ सालमा प्रकाशित भएकोे छ । नेपाली साहित्यको साधना र सिर्जनाको क्षेत्रमा आफ्नो जीवनका साढे तिन दशक बिताइसकेका बास्तोलाको यस कथा सङ्ग्रहभित्र म तिम्री आमा हुँ, जाहेरी, फैसला, नछुइने बैस लगायत विभिन्न शीर्षकका १९ वटा कथाहरु राखिएका छन् । यस कृतिभित्रको म तिम्री आमा हुँ ! शीर्षकको पहिलो कथाभित्र रविले अलिकति मुस्कुराएर भनेको थियो जमाना पनि खै कस्ता आए ? लोग्ने वा स्वास्नी परिवारका लागि विदेशमा कमाउन जान्छन् । त्यहाँ उनीहरु ताता घाममा डढेर कमाएको पैसा घर पठाउँछन् कथाकारले भनेका छन् ।
यस सङ्ग्रहका कथाहरु समसामयिक विषयवस्तुमा आधारित छन् । समाजमा भएका विकृति विसङ्गतिलाई सूक्ष्म विश्लेषण गरी सुधारतर्फ लैजान सन्देश प्रदान गरिएका छन् । यस सङ्ग्रहभित्रका कथाहरु पढ्दा मनलाई झकझक्याइरहन्छन् । मस्तिष्कलाई सचेत गराइरहन्छन् । सरल भाषा, मिठो शैली र सललल बग्ने प्रस्तुतिले बास्तोलाका कथाहरुलाई आजको कथा बन्न बल पु¥याएको छ । कथा लेखनको विषयमा कथाकारलाई जुन घटनाले छुन्छ उनले त्यसलाई टिप्छन् र आफ्नै शैलीमा ढाल्छन् । कथालाई आकर्षक पार्न केही थपघट भने अवश्य गर्नुपर्छ । सम्भवतः त्यसैले पनि आदर्शवादी कथाहरु नै जन्मन पुग्छन् । कथावस्तु र पात्रहरुको प्रस्तुतीको पृष्ठभूमि यथार्थवादी हुन नसकेर आदर्शवादी नै रहेका छन् ।
जाहेरी शीर्षकको कथाभित्र तिमी पनि रक्सी पिउछ्यौ ? छयाछयाछया अचेलका युवती के गरी बिग्रिएछन् भनिएको छ । रगतको मूल्य भित्र सङ्ग्रहित कथाहरु सबैजसो पारिवारिक सेरोफेरोभित्र उनिएका छन् । नारी–पुरुषका जैविक आवश्यकताको विषयमा अतृप्ति, असन्तुष्टि र स्वेच्छा वा बाध्यताले यो पेशा अपनाउनु पर्ने परिस्थितिका बारेमा कथा बनाइएका छन् । नछुइने वैँस शीर्षकको कथामा दुई जना सहयोगी र तीन जना पुलिससहित छविलाल बरडाँडा आइपुगे । लास रुखबाट भुइँमा नझर्दै मान्छेको ओइरो लागिसकेको थियो । छविलाल चौतारोमा के उक्लेका थिएँ ए पातकी छोरालाई भुँडी बोकाउन लगाइस् र मारिस् यो दमिनीलाई कम्युनिस्टको कार्यकर्ता हुँ भन्ने एउटा मरिन्च्यासे कुर्लियो ।
कथाकार बास्तोलाका कथाहरु सरल छन् । सामाजिक विषयवस्तुहरुमा केन्द्रित छन् । कथाकार बास्तोलाका यी कथाहरुमा कोमलता र सौन्दर्य साह्रै यथार्थ र जिउँदो प्रस्तुती तथा कारुणिक कोमलताको अनुभूति भएको छ । निश्चय नै उनका कथालाई बढी भन्दा बढी पाठकले मन पराउने छन् । उनले लेखेका कथाहरुले मानिस र समाजका विविध पक्षलाई उजागर गरेको छ । यो कथा पढेपछि कथाका पात्रहरु आँखा अगाडि हुंदै मनभित्र बस्छन् । यस सङ्ग्रहभित्रका प्रत्येक कथाको विषयवस्तु हाम्रो समाजमा प्रचलनमा आएका विभिन्न सन्देशमूलक कहावत वा कथनी आएका छन् जसको सम्बन्ध प्रत्यक्ष रुपमा हाम्रो समाजसँग सम्बन्ध राख्दछ ।
यसका मूल कथामा सहायक कथा जोडिन्छन् तर पाठकले मूल कथा जस्तै मानेर पढ्न सक्ने छ । यसले बास्तोला कथा लेखनमा अभ्यस्त भएको प्रमाणित गर्छ । विषयका हिसाबले सङ्ग्रहका कथा हामीले देखेका, सुनेका र भोगेका विषयकै छन् तर प्रस्तुतिका हिसाबले नवीन छन् । कथामा रोचक तथ्य के छ भने यी कतै न कतैबाट प्रेमसँग गाँसिएका छन् । यहाँ पवित्रताभन्दा बढी वासना नै छ । यसले हाम्रो समाज शैक्षिक उन्नयनमा अगाडि देखिए पनि हाम्रो सोचमा भने परिवर्तन आउन नसकेको सङ्केत गर्छन् ।
भोक शीर्षकको कथाभित्र रातको करिब साढे नौ बजेको हुनुपर्छ, पानी झमझम परिरहेको थियो । सगरबाट पिच सडकमा परेका पानीका थोपाहरु छिर्काछिर्का भएर भलमा परिणत भएका थिए भनेर कथाकारले लेखेका छन् । राहत शीर्षकको कथामा हाकिमले गाविसको वडा नं. एकको राहत सूचीमा नाम हेरे तर उनको नाम थिएन भनिएको छ ।
रगतको मूल्य शीर्षकको कथाभित्र उज्यालो हुनहुन खोजेको हुनुपर्छ अम्बोटे गाउँबाट भाले बासेको आवाज सुनियो । ऊ सुतेको त हो तर कहाँ निदाउँन सक्थ्यो र ? भाले बासेको आवाज सुन्नेबित्तिकै एउटा ठाउँठाउँमा खिटेको थोत्रोथोत्रो झोलामा खै केके सामान हाल्यो । झोला हातमा झुण्ड्याएर पटुकाले बालकलाई छातीमा बाँधेको छ । यस कथासङ्ग्रहभित्रका कथाहरु समाजमा सकारात्मक सन्देश दिने खालका छन् । उनले लेखेका कथाहरु आकर्षक र पठनीय छन् । भाषा सरल र सम्प्रेषणीय छ ।
कथाकार बास्तोलामा घटना टिपेर अनुकूल परिवेशले सिगार्ने खुबी छ । यिनको कलम तिखो छ र समाजका विकृति विसङ्गति प्रति प्रहार गर्न सक्षम पनि छ । उनका अधिकांश कथाहरुमा चरित्र चित्रणलाई विशेष जोड दिइएको छ । उनको कथा लेख्ने शैली सरल र बोधगम्य छ । मझौला आकारका कथा एकै बसाइमा पढेर सकिने छन् । पट्यार लाग्ने अवस्था कुनै कथाले ल्याउँदैन । समग्रमा यस सङ्ग्रहका कथा पठनीय र सन्देशवाहक छन् ।
यस कथासङ्ग्रहभित्रको आतङ्ककारी शीर्षकको अन्तिम कथामा आज मेरो मन किन हो किन अति तरङ्गित छ । धनसिङ दानी थिएँ । दयालु, धार्मिक सबै थिएँ । उसकै आश्रयका कारण मेरा ससुराबाले उनकोमा गोठालो बस्ने सौभाग्य पाएका रहेछन् भनिएको छ । समग्रमा भन्दा यस कथासङ्ग्रहभित्र खोट लगाउने ठाउँ देखिन्न । कथाकारका रुपमा बास्तोला खरो उत्रिएका छन् । लघुकथाले बजार पिटेको वर्तमान अवस्थामा कथाका सङ्ग्रह बजारमा आउनुु साहित्यप्रेमीहरुका लागि सुखद पक्ष हो ।
विधाः कथासङ्ग्रह
लेखकः होमशंकर बास्तोला
प्रकाशकः साझा प्रकाशन
संस्करणः पहिलो २०८२
मूल्यः रु.३००।–
पृष्ठः १३६
प्रकाशित: गोरखा एक्सप्रेस साप्तिाहिक, २०८३ अषाढ ९
८. कृति समीक्षा
रगतको मूल्य पढ्दैजाँदा
–
विकल त्यागी
‘अन्तर्बोध’ साहित्यिक त्रैमासिक पत्रिकाका सम्पादक होमशंकर बास्तोला साहित्यिक पत्रकारितामा जति उम्दा छन् त्यति नै मात्रामा साहित्य लेखनमा पनि सद्धिहस्त छन् । उनी विशेषतः कथा र कविता विधामा कलम चलाइरहेका छन् । यस अघि उनका आँसुका झरनाहरू (कथासङ्ग्रह–२०५८), घाम हराएको दिन (गजलसङ्ग्रह–२०६१), बन्दुकको छाया (कथासङ्ग्रह–२०६७), हिमाल पहाडका कथा (संकलित कथासङ्ग्रह–२०७१) र भोका सपनाहरू (कवितासङ्ग्रह–२०७८) प्रकाशित छन् । निरन्तर साहित्यिक लेखनको सिलसिलामा पछिल्लो पटक ‘रगतको मूल्य’ (कथासङ्ग्रह–२०८२) लिएर पाठक समक्ष उभिएका छन् ।
रगतको मूल्य (कथासङ्ग्रह) २०८२ सालमा प्रकाशित भएको कृति हो । साझा प्रकाशनबाट प्रकाशित यस सङ्ग्रहमा १९ वटा लघु तथा मध्यम आयामका कथा समेटिएका छन ्। जम्मा १४४ पृष्ठमा संरचित यस कृतिले नेपाली समाजका विविध पक्ष, मानवीय संवेदना, सामाजिक विसङ्गति, अभाव, पीडा र परिवर्तनको चाहनालाई कथात्मक रूपमा प्रस्तुत गरेको देखिन्छ । प्रत्येक कथाले शीर्षक अनुरुप कथाबस्तु, परिवेश र सामाजिक जीवनका आयामहरूलाई प्रस्तुत गरेका छन् ।
हाम्रो नेपाली समाजमा आर्थिक विपन्नताको भुङ्ग्रोमा पिल्सिएका लाखौँलाख सावित्रीहरूबाट नाजायज फाइदा उठाएर सहरी रमझममा रमाइरहेका कुख्यात दमयन्तीहरूकति छन् कति । पहिला पञ्चायतकालमा प्रधानपञ्चका रुपमा र यसपछि अध्यक्षका रुपमा छविलालहरूले राज्यकानुनको लगौंटी उल्ट्याउँदै आफ्नो बैंसले उन्मत्त भई छाडा छाडिएका कुपुत्रहरूलाई निर्दोश, निमुखा चेलीहरूमाथि यौनमा पाशविक रजाइँ गर्न छुट दिइरहेकै छन् । हजारौं हजार म्याउची दमिनी जस्ता पात्रहरू अपमानको पीडाले अनाहकमा आत्माहत्या गर्न विवश छन् । सत्ता र शक्तिको आडमा घर बाहिर अँधेरीमा बैंस चलाएमान गराए पनि घरभित्र पीडित र शोषित हुनुपर्ने तितो यथार्थ छँदैछ । यो विषय उजागर गरेको छ रगतको मूल्य कथाले ।
बाबा उदय र आमा निलिमाको सम्झाइ बुझाइलाई नजर अन्दाज गर्दै भौतिक सुखसयल र भोगविलासको मोहप्रति मात लागेर सात समुन्द्र पारि भासिएको पीडा हो कोरोना । छोरा मानस बाबाको अन्तिम विदाइमा नेपाल आउन मानिरहेका अवस्था छैन । त्यसो त मानसलाई आफ्नैे बाबुआमा भन्दा पैसा ठुलो भइरहेको छ । त्यसैले ऊ बाबुको अन्तिम भौतिक देह हेर्न नआउने तर पैसा पठाइदिन्छु भनिरहेको छ । यो आजको नेपाली समाजले भोगिरहेको कटु यथार्थ हो । कोरोनाकालीन महामारीमा आफनो मातृभूमिलाई लात हानेर बिदेशिने अन्तिमा अन्तिममा चुकचुकाउँदै संसार त्याग्नुपर्ने अवस्थामा पुगेको पीडा कथाले व्यक्त गरेको देखिन्छ ।
विचरी बाटुलीले अति सामान्य रोगको उपचार सहीसमयमा पाउन नसकेर अनाहकमा कालको मुखभित्र परेपछि विचरा रिठ्ठेहरू मुगलान भासिएकै छन् । यो हाम्रो देशको आदिम दुःखद क्रम उपक्रमलाई आजसम्म कुनै व्यवस्थाले निमिट्यान्न पार्न सकेको छैन । गाउँघरका टाठाबाठा भन्ने प्रतिनिधिहरूले पूलमती राई जस्ती निर्धो, निमुखा जनतालाई राहतको नाममा आहत दिलाई रहेकै छन् ।
कतै बैँसालु छालप्रछालले भरिएका यौन मनोविष्लेणात्मक कथाहरूले विश्वेश्वरप्रसाद कोइरालाका कथाहरूको झझल्को दिन्छन् । कतै दुर्गम ग्रामीण जनजीवनका घामछायाहरूलाई सर्लक्कै उतार्दै गुरुप्रसाद मैनालीको कथाहरूको बान्की जस्तै दिएको पाइन्छ । कतै सिमान्तकृत अल्पस्रख्यक समुदायको जीवन भोगाइका पीडादायी व्याथाहरू उनिएको पाइन्छ । कतै कर्मचारी हुँदा कार्यसम्पादनको क्रममा विभिन्न भूगोलमा रहँदा आफूले देखेका र भोगेका जनजीवनलाई नजिकबाट नियालेका कारण त्यहाँको यथार्थ चरित्र चित्रण कथाहरूमा गरेको पाइन्छ । शोषण, उत्पीडनको जाँतोमा पिल्सिएका बहुसंख्यक जनताको स्वर मुखरित गरेका कथाहरूले नेपालको शाश्वत तस्बिर उतारेका छन् । होमशंकर बास्तोलाको ‘रगतको मूल्य’ कथासङ्ग्रह पूर्वेली शैलीको लवजमा कथिएका सामाजिक यथार्थपरक कथाहरूले कथा अनुरागी पठकहरूको मन जित्ने कुरामा विश्वस्त रहन सकिन्छ ।
कृति ः रगतको मूल्य (कथासङ्ग्रह)
कथाकारः होमशंकर बास्तोला
प्रकाशकः साझा प्रकाशन, पुल्चोक, ललितपुर
संस्करणः पहिलो २०८२
मूल्यः रु.३००।–
पृष्ठः १३६+८
प्रकाशित: हिमालय टाइम्स दैनिक, २०८३, भाद्र १४ गते
१०. रगतको
मूल्य ः मानवीय चेतनाको ऐना
बाबुराम
लम्साल
१.
साहित्य ः समाजको ऐना मात्र होइन, चेतनाको उज्यालो पनि
साहित्यलाई समाजको रूपान्तरण र चेतनाको
संवाहक मानिन्छ। समाजका आँखाले देखेर पनि नदेखेजस्ता बनाइएका पीडा, दबाइएका
आवाज, उपेक्षित
जीवन र अँध्यारो कुनामा थन्किएका यथार्थलाई साहित्यले आफ्नै उज्यालोमा ल्याउँछ।
त्यसैले साहित्य केवल मनोरञ्जनको साधन होइन; यो मानिसको मनभित्र प्रश्न
जगाउने शक्ति हो। यसले कहिले आँसुको अर्थ बुझाउँछ, कहिले विद्रोहको आगो
सल्काउँछ र कहिले मानिसलाई मानिसकै सामु उभ्याएर सोध्छ—“हामी साँच्चै कति मानवीय
छौँ?”
साहित्यका विविध आयाममध्ये कथा साहित्य
जीवनसँग सबैभन्दा नजिक उभिएको विधा हो। समय, परिस्थिति र समाजअनुसार
कथानक, पात्र
र परिवेश फेरिन सक्छन्, तर
साहित्यको मूल उद्देश्य भने मानिसलाई केवल रमाउनु मात्र होइन, अन्तर्मनदेखि
जगाउनु पनि हो। प्रस्तुत ‘रगतको मूल्य’ कथासङ्ग्रहभित्रका कथाहरूलाई सूक्ष्म रूपमा
नियाल्दा समाजका अनेकौँ कुरूप अनुहार ऐनामा झैँ स्पष्ट देखिन्छन्। कतै पाठक
पात्रसँगै हिँड्छ, कतै
उसको पीडासँगै रुन्छ र कतै समाजको अन्याय देखेर मनभित्रै विद्रोहको ज्वाला महसुस
गर्छ ।
यस सङ्ग्रहका कथामा प्रयोग भएको भाषिक
अभिव्यक्तिले मानिसको मनमा आक्रोश, घृणा, क्षोभ
र विद्रोहका तरङ्गहरू जगाउनुका साथै कथावस्तुले संवेदनाको गहिराइमा पु¥याउने
क्षमता राखेको छ। समसामयिक यथार्थलाई केन्द्रमा राखेर युगचेतनाको स्तर नियाल्ने
प्रयत्न यस सङ्ग्रहको महत्त्वपूर्ण पक्ष हो। समाजका कुरूपता, विसङ्गति
र विभेदलाई केवल देखाएर छोडिएको छैन; तिनका विरुद्ध चेतनाको ढोका
खोल्ने प्रयास पनि गरिएको छ। यही कारण होमशङ्कर बाँस्तोलालाई सामाजिक यथार्थवादी
कथाकारका रूपमा स्थापित गर्न ‘रगतको मूल्य’ कथासङ्ग्रहले महत्त्वपूर्ण भूमिका
खेलेको देखिन्छ ।
२.
सिर्जनाकर्मीको परिचय र कथासङ्ग्रहको संसार
पूर्वी नेपालको ओखलढुङ्गामा जन्मिएका
होमशङ्कर बाँस्तोला पेसाले सरकारी जागिरे भए पनि साहित्यको खेतमा निरन्तर पसिना
बगाउने जुझारु स्रष्टा हुन् । प्रशासनिक जिम्मेवारी र साहित्यिक साधनालाई सँगसँगै
अघि बढाउँदै उनले नेपाली साहित्यमा आफ्नो छुट्टै परिचय निर्माण गरेका छन्। उनका
आधा दर्जनभन्दा बढी कृतिहरू प्रकाशित भइसकेका छन् ।
‘रगतको मूल्य’ साझा
प्रकाशनबाट प्रकाशित कथासङ्ग्रह हो, जसमा उन्नाइसवटा कथाहरू
सङ्गृहीत छन्। यी कथाहरू कुनै काल्पनिक स्वर्गका रङ्गीन फूल होइनन्; यिनमा
गाउँघरका धुलाम्मे बाटा छन्, अभावका चिरा छन्, पीडाका
आँसु छन् र विभेदले घाइते बनेका जीवनका धड्कनहरू छन्। कथाकारले समाजका तिनै
वास्तविक पात्रलाई आफ्नो कथाको केन्द्रमा ल्याएका छन्, जो
प्रायः इतिहासका पानामा नाम नपाए पनि जीवनको वास्तविक इतिहास बाँचिरहेका हुन्छन् ।
३.
विभेदको पुरानो घाउ
सीप, कर्म र वर्गीय संरचनालाई समाज
व्यवस्थाले निरन्तरता दिँदै आएको लामो इतिहास छ । कानुनी रूपमा जातीय विभेद अन्त्य
भएको घोषणा गरिए पनि समाजको मनबाट विभेदको विष पूर्ण रूपमा मेटिएको छैन। संविधानले
समानताको आवाज उठाउँछ, तर
व्यवहारमा मानिस अझै मानिसको जात सोधेर उसको सम्मान नाप्छ। यही विडम्बना हाम्रो
सामाजिक यथार्थको सबैभन्दा पीडादायी पक्ष हो ।
गाउँघरको परिवेश, पुराना
सांस्कृतिक मान्यता र जरा गाडेर बसेका अन्धविश्वासका कारण विभेदले अझै पनि आफ्नो
अस्तित्व जोगाइरहेको छ। नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र बनेको धेरै समय
बितिसक्दा पनि समानताको अनुभूति समाजका सबै तहसम्म समान रूपमा पुग्न सकेको छैन।
कानुन हुनेखानेका लागि हतियारजस्तो र हुँदा खानेका लागि आकाशको फलजस्तो बन्नु
न्यायप्रतिको गम्भीर व्यङ्ग्य हो ।
कानुनका किताबमा समानता लेखिनु र जीवनमा
समानता बाँच्न पाउनु एउटै कुरा होइन। यही फरकले आज पनि हजारौँ मानिसको जीवनलाई
पीडाको अँध्यारोमा धकेलिरहेको छ।
४.
परिवर्तनको नाममा पुरानै पीडा
पश्चिमी संस्कृतिको प्रभाव नेपाली समाजमा
विस्तार हुँदै गएको छ। परिवर्तन समयको स्वाभाविक नियम हो, तर
परिवर्तनका नाममा मानवीय मूल्य र संवेदनाको ह्रास हुनु दुःखद पक्ष हो । परम्परागत
मूल्य–मान्यताहरू क्रमशः कमजोर हुँदै जाँदा समाजमा उपेक्षा, उत्पीडन
र असमानताका नयाँ–पुराना रूपहरू देखिन थालेका छन्।
महिला हिंसा दिनप्रतिदिन बढ्दो चिन्ताको
विषय बनेको छ। गरिब, दलित
र सीमान्तकृत समुदाय अनेकौँ प्रकारका शोषण र उपेक्षाबाट आहत छन्। व्यवस्था फेरिएको
छ, शासक
फेरिएका छन्, नाराहरू
फेरिएका छन्; तर
धेरै नागरिकको जीवनको वास्तविकता भने उस्तै छ। सरकारी निकायबाट समेत उपेक्षित
मानिसले उचित न्यायको खोजीमा भौँतारिनु परेको अवस्था अझै समाप्त भएको छैन ।
उत्तरआधुनिकताको युगमा पनि थिचिएका, दबाइएका
र किनारामा पु¥याइएका
मानिसले आफ्नो टाउको उठाएर स्वतन्त्र रूपमा बाँच्न नसक्न’ हाम्रो सभ्यतामाथिकै
प्रश्न हो। मानिसको शरीरमा कर्म, श्रम, यौवन
र रगत चल्छ, तर
उसको छुवाइलाई अशुद्ध ठान्ने प्रवृत्ति जीवित रहनु कति ठूलो अमानवीयता हो !
५.
रगतको रङ एउटै हुन्छ
‘रगतको मूल्य’ कथासङ्ग्रहको
सबैभन्दा मार्मिक चेतना यहीँ प्रकट हुन्छ—मानिसको रगतको कुनै जात हुँदैन। कसैको
शरीरबाट बगेको रगत ब्राह्मणको भनेर सेतो हुँदैन, दलितको भनेर कालो हुँदैन।
पीडामा सबैको आँखा रसाउँछन्, मृत्युको भय सबैलाई हुन्छ र
जीवनको मूल्य सबैका लागि समान हुन्छ ।
कथामा दलित समुदायको मानवीय संवेदनालाई
मार्मिक रूपमा प्रस्तुत गरिएको छ । पानी छोएको नचल्ने मानिसको रगत भने जीवन बचाउन
आवश्यक पर्दा निसंकोच चल्छ । यही विडम्बनामाथि कथाले चोटिलो प्रश्न उठाएको छ ।
मानिसको छुवाइलाई घृणा गर्ने समाजले जीवन बचाउने उसको रगतलाई भने सहजै स्वीकार
गर्छ । आखिर पानीभन्दा रगत पवित्र हुने र मानिसभन्दा जात ठुलो हुने यो कस्तो समाज
हो ?
कथामा व्यक्त भावले पाठकको मनमा गहिरो चोट
पु¥याउँछ—आज
रगत नपाएको भए जीवन नै समाप्त हुने थियो भन्ने यथार्थले विभेदको सम्पूर्ण संरचनामाथि
प्रश्नचिह्न खडा गर्छ। दलितले छोएको पानी नचल्ने, तर त्यही दलितको रगत
शरीरभित्र बग्दा जीवन बच्ने—यो विरोधाभास केवल कथाको विषय होइन; हाम्रो
सामाजिक चेतनामाथि परेको कालो दाग हो ।
‘६.
म बाहिरै बस्छु’ ः एउटा वाक्यभित्रको संसार
“म बाहिरै बस्छु...” जस्तो
सामान्य देखिने वाक्यभित्र पनि शताब्दीयौँको पीडा लुकेको हुन्छ। कसैलाई घरभित्र
पस्न नदिइनु केवल एउटा ढोका बन्द हुनु होइन; त्यो मानिसको
आत्मसम्मानमाथि लगाइएको ताला हो। समाजले सीमान्तकृत समुदायलाई भौतिक रूपमा मात्र
होइन, मानसिक
र सामाजिक रूपमा पनि किनारामा धकेलेको
छ
। आज केही दलित समुदायका व्यक्तिहरू शिक्षा, प्रविधि र सीपको माध्यमबाट
उल्लेखनीय सफलता हासिल गर्दै उदाहरणीय बनेका छन्। तर अर्कोतर्फ कतिपय ठाउँमा
विभेदको पुरानो जरा अझै जीवित छ। कोही मानिस आफ्नो प्रतिभा र परिश्रमले आकाश छुन
खोजिरहेको छ, तर
समाजले उसको नामभन्दा पहिले जात खोजिरहेको छ । यही विरोधाभासले परिवर्तनको
यात्रालाई अधुरो बनाइरहेको छ ।
७.
श्रम चल्ने, मानिस
नचल्ने विडम्बना
हाम्रो समाजको अर्को विचित्र यथार्थ
छ—सियो चल्छ, धागो
चल्छ, हँसिया
र हथौडा चल्छ, श्रम
चल्छ, मानिसले
बनाएका घरका सामान चल्छन्;
तर
त्यही सामान बनाउने मानिसको छुवाइ चाहिँ चल्दैन! संसारका सबै वस्तु स्वीकार्य छन्, तर
एउटा मानिसको मानवता अस्वीकार्य बन्नुजस्तो विडम्बना अरू के हुन सक्छ ?
जातको आधारमा मानिसलाई माथि र तल छुट्याउने
प्रवृत्तिले समाजलाई कहिल्यै सभ्य बनाउन सक्दैन। आर्थिक रूपमा कमजोर, सामाजिक
रूपमा पछाडि परेका र जातीय रूपमा हेपिएका मानिसलाई थप पीडा दिनु शक्ति होइन; त्यो
हाम्रो चेतनाको कमजोरी हो । त्यसैले राज्यले पनि समाजका सबै वर्गलाई समान अवसर र
आवश्यक सहयोग उपलब्ध गराउँदै जीवनयात्रालाई सहज बनाउनुपर्छ ।
मानिसको हैसियत उसको जातले होइन, उसको
मानवीयता, कर्म
र योगदानले निर्धारण गर्नुपर्छ ।
८.
सामन्ती मानसिकताको छाया
नेपालका कतिपय ठाउँमा आज पनि मुखियाको
इसारामा समाज चल्ने मानसिकता पूर्ण रूपमा समाप्त भएको छैन। कानुनलाई पन्छाएर
आफूलाई नै कानुन ठान्ने चरित्रले कमजोर र उत्पीडित वर्गलाई निरन्तर दबाइरहेको छ।
आर्थिक रूपमा कमजोर, सामाजिक
रूपमा पछाडि परेका र जातीय रूपमा हेपिएका मानिसमाथि सीमित व्यक्तिहरूले आफ्नो
शक्ति र हैसियतको द’रुपयोग गर्न‘ गम्भीर सामाजिक अपराध हो।
अल्पसङ्ख्यक
शक्ति र पहुँच भएका मानिसले बहुसङ्ख्यक श्रमिक र कमजोर वर्गलाई पीडित बनाइरहनु
विडम्बनापूर्ण यथार्थ हो। स्वतन्त्रताको नाममा स्वेच्छाचारिता, विकासको
नाममा शोषण र संस्कृतिको नाममा विभेदलाई संरक्षण गर्ने प्रवृत्ति समाजका लागि घातक
छ। पुस्तौँसम्म ऋणको बोझ बोकाएर मानिसलाई दाससरह बनाउने मानसिकता सभ्य समाजको
परिचय हुन सक्दैन ।
कथामा पुर्खौँदेखि एउटै समुदायलाई सेवा र
श्रममा बाँधेर राख्ने परम्पराप्रति पनि तीव्र असहमति व्यक्त गरिएको छ। मानिसलाई
उसको जन्मकै आधारमा कुनै कामको कैदी बनाउनु मानवताको अपमान हो। मानिस जन्मँदा
स्वतन्त्र हुन्छ; समाजले
उसलाई विभेदको साङ्लोमा बाँध्नु हुँदैन ।
९.
दबाइएका आवाज र न्यायको आवश्यकता
समाजमा आवाज उठाउन नसक्ने मानिसहरूको
पीडा अझ गहिरो हुन्छ । डर,
धम्की, सामाजिक
दबाब र आर्थिक कमजोरीका कारण कतिपय पीडित आफ्नो पीडा भन्नसमेत सक्दैनन्। विशेष गरी
कमजोर वर्ग र महिलामाथि हुने अन्यायलाई कथाले गम्भीर मानवीय प्रश्नका रूपमा उठाएको
छ ।
कुनै पनि व्यक्तिमाथि हिंसा, अपमान
वा जबर्जस्ती गर्न‘ केवल एउटा व्यक्तिविरुद्धको अपराध होइन; त्यो
सम्पूर्ण समाजको नैतिकतामाथिको आक्रमण हो। पीडितलाई न्याय, संरक्षण
र सम्मान दिलाउनु राज्यको दायित्व हो भने अपराधीलाई कानुनी दायरामा ल्याउनु सभ्य
समाजको कर्तव्य हो। चेतना र शिक्षाको अभावमा दबिएका आवाजलाई अझ दबाउने होइन, उनीहरूलाई
बोल्न सक्ने वातावरण सिर्जना गर्नुपर्छ ।
१०.
कथासङ्ग्रहको शक्ति र सीमा
‘रगतको मूल्य’ कथासङ्ग्रहका
अधिकांश कथाहरू सामाजिक यथार्थसँग गहिरो रूपमा जोडिएका छन्। विज्ञान र प्रविधिले
संसारलाई धेरै अगाडि पु¥याइसकेको
युगमा पनि कथाका कतिपय पात्रहरू चेतनाको दृष्टिले पुरानै सोच र अन्धविश्वासमा
बाँधिएका देखिन्छन्। गाउँले परिवेश, सामाजिक संरचना र जीवनका
कठोर यथार्थ कथाको प्रमुख आधार बनेका छन् ।
कथाका विषयवस्तुले पाठकलाई उकालो–ओरालो, देउराली–भञ्ज्याङ
र गाउँघरका चौतारीसँगै जीवनको यात्रामा हिँडाउँछन्। गरिबी, अभाव, अशिक्षा, पीडा, अज्ञानता, अन्धविश्वास
र विभेदजस्ता विषयलाई उपयुक्त पात्रमार्फत अभिव्यक्त गर्न सक्नु कथाकारको सबल पक्ष
हो। पात्रहरू बनावटी लाग्दैनन्; उनीहरू हाम्रै समाजका
वरिपरि बाँचिरहेका मानिसजस्ता प्रतीत हुन्छन्।
कतिपय कथाहरू पुरानो समयको परिवेशमा
लेखिएकाले बदलिँदो समयलाई पूर्ण रूपमा समेट्न नसकेजस्तो अनुभूति हुन सक्छ । केही
ठाउँमा भाषिक अभिव्यक्ति र पात्रको संवादलाई अझ स्वाभाविक तथा सशक्त बनाउन सकिने
सम्भावना पनि देखिन्छ। तर यस्ता सीमाहरूका बाबजुद कथासङ्ग्रहको मूल शक्ति यसको
मानवीय संवेदना र सामाजिक चेतना हो ।
११.
निष्कर्ष
समग्रमा ‘रगतको मूल्य’ कथासङ्ग्रह
समाजको सतहमुनि लुकेका पीडा, विभेद र असमानताका घाउहरू
देखाउने महत्त्वपूर्ण कृति हो। यसमा गरिबी छ, अभाव छ, अशिक्षा
छ, अन्धविश्वास
छ, शोषण
छ; तर
ती सबैभन्दा माथि एउटा बलियो प्रश्न छ—मानिस कहिले साँच्चै मानिसका रूपमा स्वीकार
हुनेछ ?
कथाकारले कुनै उपदेशको भारी बोकाएर
पाठकलाई थकाएका छैनन्। बरु जीवनका घटनालाई यसरी प्रस्तुत गरेका छन् कि पाठक स्वयं
प्रश्न गर्न बाध्य हुन्छ । यही साहित्यको शक्ति हो। साहित्यले जब मानिसलाई आफ्नै
व्यवहारमाथि सोच्न बाध्य बनाउँछ, तब मात्र त्यसले आफ्नो
सामाजिक दायित्व प”रा गरेको मान्न सकिन्छ ।
‘रगतको
मूल्य’ले हामीलाई सम्झाउँछ—जात फरक हुन सक्छ, भाषा फरक हुन सक्छ, रहनसहन
फरक हुन सक्छ; तर
पीडाको भाषा एउटै हुन्छ र जीवनको मूल्य सबैको समान हुन्छ । मानिसको शरीरमा बग्ने
रगतले जात सोध्दैन, त्यसैले
समाजले पनि मानिसको मानवता नाप्नुअघि उसको जात सोध्न छोड्नुपर्छ ।
अन्ततः रगतको वास्तविक मूल्य बजारले
होइन, मानवताले
निर्धारण गर्छ । जब समाजले यो सत्यलाई हृदयदेखि स्वीकार गर्नेछ, तब
मात्र विभेदका पर्खालहरू भत्कनेछन् र मानिसले मानिसलाई साँच्चै मानिसकै रूपमा
देख्न सिक्नेछ ।
समीक्षा
११. ‘रगतको मूल्य’ कथासङ्ग्रह स् सामाजिक यथार्थको जीवन्त अभिलेख
गीता गौतम (राेजु)
नेपाली कथासाहित्यमा सामाजिक यथार्थलाई आफ्नो सिर्जनाको मूल आधार बनाउँदै आएका कथाकार होमशंकर बास्तोलाको पछिल्लो कथासङ्ग्रह ‘रगतको मूल्य’ २०८२ सालमा प्रकाशित भएको कृति हो। साझा प्रकाशनबाट प्रकाशित यस सङ्ग्रहमा १९ वटा लघु तथा मध्यम आयामका कथा समेटिएका छन्। १४४ पृष्ठमा संरचित यस कृतिले नेपाली समाजका विविध पक्ष, मानवीय संवेदना, सामाजिक विसङ्गति, अभाव, पीडा र परिवर्तनको चाहनालाई कथात्मक रूपमा प्रस्तुत गरेको देखिन्छ।
कृतिको विषयवस्तु
‘रगतको मूल्य’ शीर्षक आफैँमा अर्थगर्भित छ। रगतले जीवन, त्याग, पीडा, संघर्ष र बलिदानलाई संकेत गर्छ। यही व्यापक अर्थको परिवेशमा कथासङ्ग्रहले मानिसको जीवनसँग जोडिएका विविध यथार्थलाई प्रस्तुत गर्ने प्रयास गरेको छ। कथाहरूको विषयभूमि कुनै काल्पनिक र असम्भव संसारभन्दा पनि हाम्रै वरिपरिको सामाजिक जीवनसँग जोडिएको देखिन्छ। लोकार्पणका क्रममा समीक्षक आर।एम। डङ्गोलले पनि यस कृतिका अधिकांश कथाको बुनोट यही समाजका विषयवस्तु र स्थानविशेषका पात्रमा आधारित रहेको उल्लेख गरेका थिए।
बास्तोलाका कथामा समाजमा विद्यमान असमानता, अभाव, शोषण, विकृति र विसङ्गतिप्रति लेखकको संवेदनशील दृष्टि देखिन्छ। सामान्य मानिसका दुःख, पीडा, संघर्ष र आशालाई कथाको केन्द्रमा राख्नु उनको लेखकीय विशेषता बनेको छ। त्यसैले ‘रगतको मूल्य’ केवल घटना र पात्रको वर्णनमा सीमित नभई समाजलाई नियाल्ने एउटा साहित्यिक दृष्टिकोणका रूपमा पनि पढ्न सकिन्छ।
सामाजिक यथार्थको प्रस्तुति
यस सङ्ग्रहको प्रमुख शक्ति सामाजिक यथार्थवाद हो। कथाकारले समाजलाई आदर्शीकृत गरेर प्रस्तुत गर्नुभन्दा त्यसका उज्याला र अँध्यारा दुवै पक्षलाई नजिकबाट हेर्ने प्रयास गरेका छन्। कथामा आउने पात्रहरू असाधारण नायकभन्दा पनि सामान्य सामाजिक परिवेशमा बाँचेका मानिसजस्ता लाग्छन्। उनीहरूका दुःख, चाहना, बाध्यता र संघर्ष पाठकका आफ्नै अनुभवसँग जोडिन पुग्छन्।
कथाकारको दृष्टिमा समाजमा देखिने समस्या व्यक्तिको मात्र समस्या होइनस त्यसको पछाडि सामाजिक संरचना, आर्थिक अवस्था, शक्ति सम्बन्ध र मानवीय व्यवहारसमेत जिम्मेवार हुन्छन्। यही कारणले कथाहरूमा व्यक्तिगत पीडा र सामाजिक समस्याबीचको सम्बन्ध स्थापित भएको पाइन्छ। समीक्षकहरूले पनि कृतिलाई सामाजिक यथार्थपरक कथाहरूको सङ्ग्रहका रूपमा मूल्याङ्कन गरेका छन्।
पात्र र चरित्रचित्रण
‘रगतको मूल्य’का कथामा पात्रहरू कथानकलाई अगाडि बढाउने माध्यम मात्र नभई सामाजिक यथार्थका प्रतिनिधि बनेका छन्। स्थानविशेष र समाजविशेषबाट आएका पात्रहरूको प्रयोगले कथालाई स्वाभाविकता प्रदान गरेको देखिन्छ। पात्रका बोली, व्यवहार, मनोविज्ञान र सामाजिक अवस्थाबीच सामञ्जस्य कायम गर्न खोजिएको छ।
बास्तोलाका पात्रहरू पूर्ण रूपमा असल वा खराबको एकरेखीय विभाजनमा सीमित हुँदैनन्। उनीहरू आफ्नै परिस्थिति, स्वार्थ, विवशता र भावनाबाट निर्देशित हुन्छन्। यसले चरित्रलाई जीवन्त बनाउने काम गरेको छ। पात्रहरूको माध्यमबाट कथाकारले समाजमा रहेको मानवीय कमजोरीसँगै सहानुभूति, करुणा, सहयोग र परिवर्तनको सम्भावनालाई पनि उजागर गरेका छन्।
भाषा र शैली
‘रगतको मूल्य’को अर्को उल्लेखनीय पक्ष यसको सहज र स्वाभाविक भाषाशैली हो। कथाकारले अत्यधिक जटिल र कृत्रिम भाषा प्रयोग गर्नुभन्दा पाठकले सहज रूपमा ग्रहण गर्न सक्ने भाषालाई प्राथमिकता दिएको देखिन्छ। यसले कथाका सामाजिक विषय र पात्रका अनुभूतिलाई पाठकसम्म प्रभावकारी ढङ्गले पुर्याउन सहयोग गरेको छ।
कथाको बुनोटमा कौतूहल सिर्जना गर्ने प्रयास पनि देखिन्छ। प्रकाशकीयमा समेत कथाहरूले पाठकमा ‘अब के हुन्छरु’ भन्ने जिज्ञासा उत्पन्न गराउने र कथा सकिएपछि पनि केही बाँकी रहेजस्तो अनुभूति दिने उद्देश्य रहेको उल्लेख गरिएको छ।
शीर्षकको सार्थकता
‘रगतको मूल्य’ शीर्षकले सङ्ग्रहका व्यापक मानवीय सरोकारलाई प्रतीकात्मक रूपमा समेटेको अनुभूति हुन्छ। रगत जीवनको प्रतीक हो भने त्यसको मूल्य त्याग, संघर्ष र मानव अस्तित्वको मूल्यसँग जोडिन्छ। मानिसले आफ्नो जीवन, श्रम, सम्बन्ध र भावनाका लागि चुकाउनुपर्ने मूल्यलाई शीर्षकले संकेत गरेको देखिन्छ। त्यसैले ‘रगतको मूल्य’लाई एउटा मात्र घटनासँग सम्बन्धित शीर्षकका रूपमा नभई समग्र सङ्ग्रहको भावभूमि प्रतिनिधित्व गर्ने प्रतीकात्मक शीर्षकका रूपमा लिन सकिन्छ।
कृतिका सबल पक्ष
कृतिको सबैभन्दा ठूलो सबलता यसको समाजसँगको निकटता हो। कथाहरूमा उठाइएका विषय पाठकका लागि अपरिचित वा टाढाका विषय होइनन्। समाजका सामान्य मानिसको जीवन र भोगाइलाई साहित्यिक विषय बनाउनु बास्तोलाको महत्त्वपूर्ण विशेषता हो।
त्यसैगरी लघु तथा मध्यम आयामका १९ कथामार्फत विषयगत विविधता प्रस्तुत गर्नु पनि कृतिको अर्को सकारात्मक पक्ष हो। कथा छोटो वा मध्यम आकारको भए पनि त्यसमा सामाजिक प्रश्न उठाउने र पाठकलाई सोच्न बाध्य बनाउने प्रयत्न गरिएको छ।
केही सीमाहरू
यथार्थवादी लेखनको आफ्नै शक्ति भए पनि कतिपय ठाउँमा सामाजिक सन्देशलाई अझ बढी कलात्मक, प्रतीकात्मक र बहुस्तरीय बनाउन सकिने सम्भावना देखिन्छ। केही कथामा कथाकारको सुधारोन्मुख दृष्टिकोण प्रत्यक्ष रूपमा अगाडि आउँदा कथाको कलात्मक स्वतन्त्रता केही सीमित हुन सक्ने अवस्था रहन्छ। समालोचक आर।एम। डङ्गोलले पनि बास्तोलाका कथामा समाजको यथार्थ चरित्रसँगै सुधारोन्मुख सन्देश पाइने बताएका छन्।
तर यो सीमा लेखकको मूल उद्देश्यसँग पनि जोडिएको छ। समाजका समस्या देखाएर पाठकलाई संवेदनशील र जिम्मेवार बनाउनु उनको लेखकीय आग्रह भएकाले यसलाई कृतिको कमजोरी मात्र नभई यसको वैचारिक विशेषताका रूपमा समेत हेर्न सकिन्छ।
निष्कर्ष
समग्रमा ‘रगतको मूल्य’ नेपाली समाजको यथार्थ, मानवीय संवेदना र सामाजिक परिवर्तनको आकाङ्क्षालाई कथात्मक रूपमा प्रस्तुत गर्ने महत्त्वपूर्ण कथासङ्ग्रह हो। होमशंकर बास्तोलाले सामान्य जीवनका असामान्य पीडा, संघर्ष र अनुभूतिलाई कथाको विषय बनाएर समाजका विभिन्न तहलाई नियाल्ने प्रयास गरेका छन्।
१९ कथाको यस सङ्ग्रहमा कथाकारको सामाजिक चेतना, मानवतावादी दृष्टिकोण र यथार्थप्रतिको प्रतिबद्धता स्पष्ट देखिन्छ। सहज भाषा, स्वाभाविक पात्र, सामाजिक परिवेश र सुधारोन्मुख चेतनाले कृतिलाई पाठकमाझ अर्थपूर्ण बनाएको छ। त्यसैले ‘रगतको मूल्य’लाई केवल कथा पढ्ने पुस्तकका रूपमा नभई समाज र मानिसलाई बुझ्ने एउटा संवेदनशील साहित्यिक दस्तावेजका रूपमा मूल्याङ्कन गर्न सकिन्छ।
बास्तोलाको कथायात्रामा यस कृतिले उनको सामाजिक यथार्थवादी लेखकीय पहिचानलाई अझ स्पष्ट बनाएको देखिन्छ। नेपाली कथासाहित्यमा समसामयिक समाजका सामान्य मानिसको जीवन, पीडा र सङ्घर्षलाई अभिव्यक्ति दिने कृतिका रूपमा ‘रगतको मूल्य’को आफ्नै महत्त्व रहनेछ।