जुत्ता मज्दुर र म
मिथिलेश आदित्य
मसँग जुन बेला
थिएन जुत्ता चप्पल
त्यस बेला जुत्ता मजदुरहरू
मेरो खुट्टामात्र होइन
अनुहार पनि हेर्न चाहँदैन थिए
यो बेग्लै कुरा हो
म त्यति बेला नाङ्गैं खुट्टा
यो धर्तीमा घुमेँ
प्रकृतिसँग नजिकिएँ
जसले मेरो दृष्टिशक्ति
अझ बढ्यो–
र म यो संसारमा
हिँड्न योग्य भएँ
र पढ्न थालेँ
जीवनको शब्दकोश
नाता–सम्बन्धको अप्ठ्यारो व्याकरण
जाने संसारका यावत कुराहरू
तर आज जुत्ता मजदुरहरू
औधी खुसी छन्
मेरो जुत्ता चप्पल देखेर
सायद सोच्लान्
जुत्ता चप्पलको काम लिएर
आउँछु म उनीहरू नजिक
र बढाउँछु
उनीहरूको रोजीरोटीको ब्यापार
त्यसैले हिजो अपरिचित म
आज परिचित छु
उनीहरूसँग
उनीहरू मलाई
चिन्द छन्
बुझ्द छन्
म उनीहरूलाई चिन्दछु
तर म उनीहरूप्रति अपेक्षित परिवर्तित छु
म अब –
आफ्नो जुत्ता–चप्पल आफैँ मर्मत गर्छु
शिल्प र कलाले चम्काउँछु टिलिक्क
बितेका दिनहरूले मलाई
एउटा शिक्षा दिएको छ
काम मान्छेभन्दा ठुलो हो
कामभन्दा ठुलो मान्छे हुन सक्दैन
जात विभाजन
मान्छेको कामले होइन
उसको व्यवहारले गर्छ
सङ्गकीर्ण सोँचले गर्छ
म त्यो भ्रम भत्काउन चाहन्छु
म विभाजित मान्छे होइन
समग्र एउटा मान्छे हुन चाहन्छु
र जित्न चाहन्छु
समानताको युद्घ ।
– अररिया, बिहार