दुई गीत
१.
चढ्दै आयो पूर्व दिशा हल्का लालिमा
चिर्बिराउन थाले पन्छी फूलको डालीमा
उठौँ सधैँ सुन्चरीको चिर्विर स्वरसँगै
घरको काम धान्न सधैँ रातको भोरसँगै
दाउरा÷घाँस टन्न राख्न गोठको पालीमा
चिर्बिराउन थाले पन्छी फूलको डालीमा
हरेक टाँगो बढ्दै जाने घामको न्यानो झुल्का
झुल्कासँगै चुम्न सकुँ श्रमको फेदी÷थुम्का
विना श्रम कहाँ जुट्छ भाग्य थालीमा ?
चिर्बिराउन थाले पन्छी फूलको डालीमा ।
२.
जिन्दगीको दुईटा पाटो जीवन आगो–पानी
किन भन्यौ अभागी छु– को छ भाग्यमानी ?
भाग्य लेख्ने भावी हैन आफ्नै हात–पाउ
आफ्नै हातले ठेल्नुपर्छ जिन्दगीको नाउ
त्यै‘ नाउको साहाराले चल्छ जिन्दगानी
किन भन्यौ अभागी छु– को छ भाग्यमानी ?
दह हैन जमी राख्ने जीवन छहरा हो
अघि बढ्नु माथि चढ्नु फुल्दो लहरा हो
कमजोरी हो निरास हुनु हरेस खानु पनि
किन भन्यौ अभागी छु– को छ भाग्यमानी ?