अकालमा मरेको बेरोजगारको सम्झना
राममणि सिटौला
हिजो मात्रै गयो ऊ
चुलामा आगो दन्किएझैँ
दिन प्रतिदिन मनमस्तिष्कमा
दन्किरहेको भयानक मुक युद्धदेखि
आजित भएर
वर्तमान समयको कुरूप चित्र
डायरीमा कोरेर
मलाई यसमा अफसोस छैन
ऊ गयो
एकदिन सबैले जानु थियो
मृत्यु शाश्वत थियो
ऊ गयो –
धेरै थोक थाँती राखेर
धेरै थोक अधुरो छाडेर
बाँकी नै थिए
वर्षाँैदेखि हेर्दै आएका
कलाविहीन नाटकका
पर्दा उठाउन,
बाँकी नै थिए
बन्दीगृहका
तालाहरू फोर्न
ऊ गयो
धेरै थोक अधुरो छाडेर
अधुरै रहे
नयाँ आवरणका यातनागृहको
चिहान खन्न
अधुरै रहे
डिग्रीलाई कागजका टुक्रा बनाएर
देशलाई बेरोजगारको कारखाना बनाएर
महलको अट्टालिकामा बसेर
बाँसुरी फुकिरहेको निरोको
पुत्ला दहन गर्न
शिशिरको कठ्याङ्ग्रिँदो बिहानमा
खोज्दै थियो आगो
बाँकी नै थियो
वसन्त हेर्न
ऊ त्यसरी गयो
जसरी एक इमान्दार मानिस
आतुर छ
ईश्वरका कारखानामा
अतिरिक्त समय ड्युटी गर्न
ऊ त्यसरी गयो
जसरी जान्छ
चक घुमाइरहेको कुम्हार
आफ्ना कलाकृति
अधुरो छाडेर ।
– चुहानडाँडा, नुवाकोट
हालः साङ्ला–१, तारकेश्वर