बाँस्कोटा धनञ्जय
जीवनका अकल्पनीय आयामहरूः जीवनलाई देख्नु भाे ?
गरुङ्गो समय
जब मैले कवि विवश पोखरेलको पछिल्लो कविता कृति जीवनलाई देख्नु भो ? (२०७९) उनकै हातबाट प्राप्त गरेँ, मैले एउटा भारी उठाउनुपर्ने भयो । त्यो भारी निकै गरुङ्गो थियो । त्यसले निकै थिच्नेवाला थियो । यो समयको यो कालखण्डमा यो सभ्यताले बोकाएको भारी थियो त्यो ।
समय पनि कति गरुङ्गो ?
सभ्यता पनि कति गरुङ्गो ?
विवश पोखरेलले उठाउन खोजेको त्यो भारी मैले खेप लगाउनुपर्दा कस्तो
भयो होला ?
त्यो भारी भनेको कविताको कुरा गर्नुपर्ने थियो । उनका कविताका आयामहरू नाप्ने धृष्टता गर्नु थियो । उनका कविताहरूलाई कविताका मानकहरूमा हालेर हेर्नु थियोे । त्यो सँगै जीवनको कुरा गर्नु पर्ने थियो ।
आज हामी जुन समयमा बाँचिरहेका छौं, त्यो समय क्लिष्ट छ । अधेद्य छ । प्रपञ्चपूर्ण छ । त्यो समयसँग राप त छ, ताप पनि छ तर प्रकाश छैन । बत्ती छन्, उज्यालो छैनन् । रङ्गहरू छन्, रङ्गीन छैनन् । खोला छन्, पानी छैनन् । खेत र बारी छन्, अन्न छैनन् । हिमालहरू छन्, उचाइ छैनन् । ताल र तलैया छन्, तिनको गहिराइ छैनन् ।
राजनीति छ, संस्कार छैन । मान्छे छन्, मान्छे हुनुको झण्डा छैनन् ।
यही समयलाई पक्रिएर कविता लेखिरहेछन् विवश पोखरेल । भएर पनि नभएका कथा लेखिरहेछन् । देखेर पनि नदेखेका गाथा लेखिरहेछन् । सुनेर पनि नसुनेका बृतान्त लेखिरहेछन् ।
कति अकल्पनीय छ यो लेखनको समय ! कति चुनौतीपूर्ण छ ! कति कुरूप छ ! कति भँुमरी उठेर हल्लिरहेको छ ! ढलपलिएको छ । लड्न खोजिरहेको छ । त्यसलाई लगाउने टेका खोजिरहेछन् कवि । तोक्मा ताछिरहेछन् कवि ।
उनी यो समयलाई थाँक्रो लगाएर अड्याउन चाहन्छन् । प्रकाश दिन चाहन्छन् यो अभेद्य समयको जलपमा ! अनि यस्तो समयलाई जीवनका हरपल सुम्सुम्याएर बसेका कवि पोखरेल यो कविता सङ्ग्रह लिएर आइपुगेका छन् ।
यस्तो उच्छट समयको रेखामा उभिएर विवश पोखरेल चाहिंँ जीवन खोजिरहेछन् । अनि सोधिरहेछन्, ‘जीवनलाई देख्नु भो ?’
मानकीय निपूर्णता
यो कवितासङ्ग्रह कविताका मानकका दृष्टिले होस् वा कवितालाई मूल्याङ्कन गर्ने आधारले होस्, कविताहरू यो समयका प्रतिनिधि आवाज बनेर उभिएका छन् । कविताको पहिलो मानक भनेको लयमाधुर्य हो । कवितालाई मिठास भरेर जीवन्त पार्न मुक्तलय, लोकलय तथा शास्त्रीय लयको प्रयोग गरिन्छ । पोखरेलका कविताहरू मूलतः मुक्तलयमा छन् । अनि ती लयहरूले कविताको प्राण भरेका छन् । आत्मा उजागर गरेका छन् । उनका सबै कविताहरू यसरी मुक्तलयमा जीवन्त छन् । डढेलो शीर्षकको कविताको यो अंश हेरौंः
कसले रोप्यो,
वसन्तको राजधानीमा
शिशिरको बीज ?
कसले को¥यो,
सामूहिक आकाशमा
विभाजनको रेखा ?
यसमा कति मिठो लय छ ! कति गहिरो भाव छ ! अनि कति मिठो अलङ्कार छ देश विभाजन गर्नेहरूलाई कोर्रा हान्ने !
कविताको दोस्रो मानक भनेको शब्दमाधुर्य अर्थात् शब्दसौन्दर्य हो । यसमा कविताको भाषा र शैलीलाई हेरिन्छ । कवि पोखरेलका कविताहरू आशय निर्माण गर्न अब्बल देखिएका छन् । उनका हर कविता लयदार, ओजश्वी, बिम्बात्मक, प्रतीकात्मक, अलङ्कारिक र तेजश्वी छन् । उनका बिम्बहरू रिंगटा छुटाउन थाल्छन् । जस्तैः
विश्वास आशाको डोरीमा
पासो लागेर झुण्डिएपछि
अचेल समय बहुलाएको छ (बहुला समय) ।
अनुभूतिको मूर्तिकरण गर्न कविले अनेकौँ प्रतीकहरूको प्रयोग गरेका छन् । जस्तै उनको अभियुक्त छाया कविताको यो अंश हेरौँ ः
विविध अवतारमा हुरी भएर
असंख्य छायाहरू आउँछन्
र तछारेर जान्छन् समयलाई ।
जड बस्तुलाई मानवीयकरण गरेर अर्थमा शक्ति दिन कविले अनेकौं अलङ्कारहरूको प्रयोग गरेका छन् । उनको विविध परिभाषामा मान्छे शीर्षकको कविताको यो अंश हेरौं ः
मान्छेलाई
दुध ख्वाएर नपाल
सर्प हुनसक्छ
ठुङ्न सक्छ ।
कविले अनेकौं कल्पना, रूढ र परम्परालाई संदर्भ बनाएर मिथक मार्पmत भावहरू शसक्त बनाएका छन् । उनको प्रश्नहरूका कठघरामा शीर्षकको कविताको अंश हेरौंः
अन्तर्घात गरेर माटोमाथि
षडयन्त्रको पासा हान्दै
शकुनिहरू कहाँ जान्छन् ?
छलकपटका दृष्य परिदृष्यसँगै
दुर्योधनहरू कहाँ जान्छन् ?
कवि विवश पोखरेलको यस सङ्ग्रहमा शैलीगत विशिष्टता छ । यसले उनका सबै कविताहरूलाई शसक्त, रसमय र प्रभावकारी बनाउन अनेकौं उपकरणहरूको छनोट, संयोजन र प्रयोग गरेका छन् । बस्तुका मानवीकरण गर्नेदेखि अतिशयीकरण, व्यञ्जना पस्किनेदेखि वक्रोक्तिको प्रयोग हुँदै काल्पनिकीसम्मको शैलीगत असंख्य यात्राहरू छन् । सममयको शिविरबाट एउटा व्यञ्जना हेरौंः
सम्झनुस् हामी माहुरी रानुसँगै
आफ्नै घरमा छौं
प्रकोपका चिल र बाजसँग
जोगाउँदै जिन्दगीका चल्ला
यतिबेला हामी
एउटा भयभीत संसारमा छौं ।
विवश पोखरेलको यस सङ्ग्रहका सबै कविताहरू भाव, विचार, रस र अन्तर्बस्तुले अनेकौं गम्भीर अर्थसौन्दर्यहरू बोकेर आएका छन् । यो कविनिबद्ध अभिव्यञ्जना हो, जुन शिल्पसाधनाले नित्य नवीनताको अनुभूति गराइरहेका छन् ।
एउटा पाठकले भन्न सक्छ, कवि पोखरेलका अधिकांश कविताहरू समयबोध लिएर त आएका छन्, तर तिनमा प्रकाश छैन । कतै आशा छैन । कतै उज्यालो छैन । व्याप्त निराशा छ अथवा माक्र्सवादीय सोन्दर्यशास्त्र छ, आदि ।
तर समय एउटै हुन्न । हरेक साँझ एउटै होइनन् । समान पनि होइनन् । हरेक बिहान एउटै होइनन् र समान पनि होइनन् । कविले अण्डाबाट चल्ला कोरल्न अण्डालाई आगोमा सेक्दैनन् । न त चश्मालाई घुँडामा लगाउँछन् । त्यो भनेको शिल्पता हो । कला हो, जसले यथार्थलाई समातेर भावकलाई बोध गराउँछ ।
अकल्पनीय जीवनहरू
यी मानकलाई हेर्दा कवि विवश पोखरेलको कविता कृति जीवनलाई देख्नु भो ? का ५० वटै कविताहरू यो समकालीन समयको शसक्त आवाजहरू हुन् । उद्बोधनहरू हुन् । तिसको दशकदेखि आजसम्म कवि पोखरेल निरन्तर लेखनमा छन् । निरन्तर साधनामा छन् । त्यसैको उपज हो जीवनलाई देख्नु भो ? उनको नवौं कृतिको रूपमा जन्मिएको छ । यस अघिका उनका अनिदो रात र बत्तीका पुतलीहरू (कवितासङ्ग्रह, २०५१), समयबिम्ब (कथासङ्ग्रह, २०५९), स्नेहअस्त्र (कथासङ्ग्रह २०६१), साँढेको दाईं (व्यङ्ग्यनिबन्धसङ्ग्रह, २०६२), निषिद्ध बस्तीमा (कवितासङ्ग्रह, २०६७), कर्कलाको छाता (कवितासङ्ग्रह, २०६३), फुच्चे भाइको घोडा (बालकवितासङ्ग्रह, २०६६), पग्लिएको इन्द्रेणी (मुक्तकसङ्ग्रह, २०६७) प्रकाशित छन् र नवौं कृतिको रूपमा जीवनलाई देख्नु भो ? (कवितासङ्ग्रह, २०७९) आएको छ ।
जीवनलाई देख्नु भो ? कवितासङ्ग्रह साँच्चै नै जीवनका अनेक आयामहरू उद्घाट्न गर्दै आएको छ । जीवनको विविधता त छ नै यो क्लिष्ट समयमा, त्यसमा पनि कयौं आयामहरू छन् जीवनका, जुन निकै अकल्पनीय छन् । यहाँ हामी तिनै अकल्पनीय र प्रपञ्चयुक्त जीवनका रङ्गहरू देख्न पाउँछौं । ती जीवन यो समयको हावाहुण्डरीले बटारेर ल्याएका जीवन हुन । मानवीय संवेदनाका मलामीहरूले ल्याएका जीवन हुन् । नारी जागरणले ल्याएका जीवन हुन् । वाल्यकालको मिठो संझनासँग मिठो वर्तमान खोज्न भौंतारिएका किंकर्तव्यभिमुढ भिडहरूले ल्याएका जीवन हुन् । भुइँमान्छेहरूको पीडाले ल्याएका जीवन हुन् । सामाजिक र राजनीतिक अराजकताले उत्सर्जन गरेर ल्याएका जीवन हुन् । देश देश भन्दै मातृभूमिलाई पिठ्युँमा बोकेर एैं एैं गर्दै हिँडिरहेका देशप्रेमीहरूको रापिलो भुतभुतेले जागृत गराएर ब्युँझाएका जीवन हुन् । अनि आँखै अगाडि लुटिएका मान्छेहरूको आवाजले जुरूक्क उठाएर ल्याएका जीवन हुुन् । हरेक बिहान एउटा परेवा उडाएर आउनुपर्ने, बिहान एउटा परेवाको हत्या गरेर आएको देख्ने साक्षीहरूको जुलुसले बनाएका जीवन हुन् । हरेक बिहान उज्यालो लिएर आउनुपर्नेमा अँध्यारै लिएर आउँदा पनि निसङ्कोच, निस्फिक्री बगिरहने नदीजस्तै बाँच्न सिकेका मान्छेहरूको आशा र भरोसाको त्यान्द्रो समातेर भए पनि यहाँसम्म आइपुगेकाहरूको जीवन हुन् । उज्यालो आकाश हेर्न निस्किएर पनि जताततै ग्रहण र बादलको चक्रव्युह भोग्न बाध्य समयको रेखामा उभिएर आएकाहरूको जीवन हुन् ।
अनि प्रेमिल मनहरू खिइँदै गएका भावमा पूरै बामपुड्के भएर उदाइरहँदा पनि मुस्कुराएकाहरूको जीवन हुन् । प्रेम कमजोर भएर उभिँदा पनि त्यसलाई आत्मा दिने सिर्जनशील मनहरूले ओतप्रोत भएकाहरूको जीवन हुन् । बहुलाएको समयमा पनि धैर्य गरेर त्यसलाई ठिङ्गुरोमा हालेर आपैंmलाई सम्हाल्दै सडकमा निस्किएकाहरूको जीवन हुन् । अराजक सहर र बस्तीहरूलाई काँधमा बोक्न बाध्य भएर पनि अनुशासित जीवन जिउनेहरूको जीवन हुन् । प्राकृतिक विपत्तिमा हेलिकप्टर चढेर अन्तिम श्वास फेर्दै गरेका मान्छेहरूको अनुहारमा मुस्कान देख्ने पशुहरूको घुइँचोमा समेत नहराएकाहरूको जीवन हुन् । अनि एउटा नागरिकले देखेका कर्तव्य र जिम्मेवारीको फेहरिस्त बुभ्mनेहरूको जीवन हुन् ।
अथवा सुकिलो आकाशको खोजी गर्न सौम्य र सभ्य विद्रोहमा छन् कवि पोखरेल । अथवा भनौं उदास गीत सुनाउँछ, अनि पराजयमा विजयोत्सव मनाउँछ गाउँको एउटा साँझ । भ्रमको खेती मौलाएको मात्रै छैन, वसन्त पनि भागेको छ अराजक सहरमा । एउटा गरिब परिवारको बच्चा बाढीले बगाउँदा उसकी आमाले व्यक्त गरेको अभिव्ञ्जना अकल्पनीय छ बग्दै बग्दै जाने छोरासँग । कुखुराहरूको विद्रोह कविता पढ्दा बेलायती आख्यानकार जर्न अर्वेलको उपन्यास एनिमल फार्मको याद आयो । यहाँ खुँगीमा झुण्ड्याइएका कुखुरा विद्रोह गरिरहेछन् र भनिरहेछन्, ‘ठ्याक्कै, तिम्रै देशका नागरिकहरूजस्तै निरीह छौं हामी ।’
कवि पोखरेलका कविताहरूमा नोस्टाल्जियाले भरिएको दिङ्ला पनि छ । अहिले गाउँमा केही छैनमा रित्तिएको गाउँ छ । सन्नाटा छ । अनि दुर्गम गाउँ चटक्कै बिर्सिाएर भलाद्मी उभिएको सिंहदरबार छ । अनि थकित सपनाको बगरमा बैदेशिक रोजगारमा जानेहरूको सपना छ । अबोध बालकालिकाहरूका सत्य संसार छन् मन्दिर परिसरमा एउटी फुच्ची शीर्षकमा । बगरमा काँस फल्छ, अनि सपना फल्छ । यिनै फलिरहेछन्
बगर, काँस र पीडामा । अनि सेतो घर बिम्ब बनेर आएको छ सिंहदरवारको जहाँ भुक्ने मान्छेहरू बस्छन् र देशको शान्ति खोस्छन् । अनि डायस्पोराको विरोधाभाष छ परदेशमा कविहरूमा । अनि मान्छेका अनेकौं आयामहरू नापरिहेछ विविध परिभाषामा मान्छे शीर्षकमा । मान्छे सर्प हो । मान्छे आँधी हो । मान्छे आतंक हो । अतृप्त तिर्खामा तिर्खा लागेर पनि दूषित कुवाको पानी कसरी खानु ? भन्छन् कवि । तुलसीको मठजस्तै सर्वप्रिय र निर्विवादित समय खोज्दै छन् कवि तुलसीमठमा । जुवाडेहरूको कुनै जात हुँदैन, कुनै नैतिकता हुँदैन, कुनै देश हुँदैन भन्दै देशको रक्षा होस् भनेर कराउँदैछन् कवि शकुनिको खालमा एउटी द्रौपदी शीर्षकमा । निस्तब्ध किनारामा उभिएर उनी गाउँ हेर्छन्, अनि देख्छन् मात्र कवितामा बाँचिरहेको गाउँ ।
यो समय आतंकले फैलिएकाे छ । यो समय फूलको भाग्य खोसेर आइरहेको छ । यो समय यति कठोर छ कि यो ढुङ्गाजस्तै छ ।
यो समय आमाको गीत गाउने पनि समय हो । किनकि आमा सबैथोक हुन् । यो समय भोकको सौन्दर्यशास्त्र रचेर रमाइरहेको छ । सबै सबै गुमाएर गुमेका चिज सबै फर्किउन् भनिरहेछ यो समय । यो समयमा समावेशी गाउँ पनि सपनै भएका छन् । व्युँझनासाथ सबै ठण्डाराम ! अनि अनुत्तरित प्रश्नहरूको सगरमाथा बोकेर बाँचेको छ यो समय । दिल नै नभएका दिलमायाहरू जन्माएर रमेको छ यो समय । हामी यस्तो समयको शिविरमा छौं जहाँ आतंक छ, कोलाहल छ, असुरक्षा छ । हामी घरबाट बाहिर निस्किन सक्दैनौं । थुनिएका छौं । यो समय आशाको केन्द्र काठमाडौंमा देवताहरूको जुलुसले घेरिएको छ । ती न त बोल्छन् केही । ती न त देख्छन् केही । ती न त गर्छन् केही । देशभरिबाट बटुलिएको भेटी सुलुत्त सुलुत्त निल्छन् । ती देवताहरू सिंहदरवारमा छिर्छन्, अनि मूर्ति बन्छन् । देवता बन्छन् । अनि ती भाग्यमानी छन् ।
हामी अहिले ‘मृत समयको मलामी’ गइरहेछौं । मान्छेका आदर्शहरू मरिरहेछन् । मतिभ्रष्ट भइरहेछ । अनि त आफ्नै आँगन पनि बिरानो लागिरहेछ । आफ्नाहरू पनि पराइ लागिरहेछ । अनि आतङ्कित छायाले हरपल पछ्याइरहेछ ।
पोखरेलका कविताहरूमा देशप्रेम छ । जीवनप्रेम र देश मा कवि भन्छन्, ‘देश र जीवनबिच तुलना हुन सक्दैन ।’ जीवन त आपैंmसँग हुँदोरहेछ, तर ‘देश विज्ञापनमा छ’ आज । अनि उनी भन्छन्, ‘मध्यान्हमा बत्ती बाल्छ मेरो देश, साँझ परेपछि बत्ती निभाउँछ मेरो देश ।’ यो हाँस्यव्यङ्ग्यको देश भएको छ । सिउँडी उमार्नै देश भएको
छ । देशले अब सारा बेथितिहरूलाई समूल नष्ट गरेर नवीन युगको थालनी गर्नुपर्छ भन्छन् कवि पोखरेल । उनको आग्रह उन्नत खालको छ । यो कुरूप समयलाई निफन्ने नाङ्लो लिएर आएका छन् कवि फोखरेल यस कृतिमा ।
कवि पोखरेल प्रेम र सम्झनाका आयामबाट पनि जीवनलाई देख्न खोजिरहेछन् । तिमी, ऊसँगको भेटमा, याद, यसपटक यही शुभकामना तिमीलाई, गुलाफ सञ्चै छ ?, तेरो दिल कहाँ छ र दिलमाया ?, सम्बन्ध, चिनो, शालिनी जस्ता कविताहरूले जीवनका प्रेमिल आयामहरू नाप्न खोजिरहेका छन् । ती अनन्त आयाममा छन् । अनन्त उचाइमा छन् । ती जीवनका ढुकढुकी हुन् । स्पन्दन हुन् । जस्तैः
गुलाफजस्तै प्रेम बगरमा होइन
माटो र मनमा फुल्दोरहेछ÷मुटुमा फुल्दोरहेछ
त्याग समर्पण र विश्वासमा फुल्दोरहेछ । (गुलाफ सञ्चै छ ?)
अन्त्यमा इन्द्रमोहन स्मृति गुठी, धनकुटाले प्रकाशनमा ल्याएको पोखरेलको यो कवितासङ्ग्रह यो समकालीन युगको चेत हो, ऐना हो । हाम्रै जीवनको प्रतिछाया हो । इतिहासको एउटा कठिन कालखण्डमा बाँचिरहेका हामीहरूकै जीवन हो यो सङ्ग्रह । अनि त्यही जीवनका कुरूप बिम्बहरू पस्केर कविले तिनलाई उन्मुलन गर्ने आव्हान गरिरहेका छन् । सही जीवन खोज्दै खोज्दै यहाँसम्म आइपुगेका छन् उनी । मलाई लाग्छ, मैले यहाँ साँच्चैको जीवन भेटाएँ । जीवनका अकल्पनीय आयामहरू भेट्टाएँ ।
विवश पोखरेललाई यति सुन्दर र सर्वकालिक अभिव्ञ्जनाले भरिएको कृति यो समयलाई पस्किनुभएकोमा बधाइ पनि छ ।
– दमक, झापा
.jpg)