हाम्रो बाटोभित्र नियाल्दा
अरुणबहादुर खत्री नदी
लघुकथाकार म्यामराज राईको हाम्रो बाटो नामक लघुकथासङ््ग्रह २०७९ सालमा पहिलो कृतिको रुपमा प्रकाशित भएको छ । यस कृतिभित्र उनले लेखेका आशीर्वाद, धोका, म्यानेजर, चलाख सिँगारे, आदत, पीडा, अभावको दसैँ लगायत विभिन्न शीर्षकका ६१ वटा लघुकथाहरू राखिएका छन् । यसमा सङ्गृहीत ६१ वटै लघुकथा पाठकलाई प्रभावकारी रुपमा आकर्षित गर्न सक्षम रहेका छन्् । यस सङ्ग्रहभित्रको आशीर्वाद शीर्षकको पहिलो लघुकथामा लघुकथाको पात्र पवित्रा निकै धार्मिक र निस्वार्थी थिइन् । उनको घर मूलबाटाकै छेउमै थियो । धोका शीर्षकको लघुकथामा समाजको गलत बिचार र व्यवस्थाको चपेटामा परेको त्यस बस्तीले धेरै आशा र खुशीका कुराहरू पाए । गर्वले छाती चौडा पार्दै सबै स्थानीयहरूले निर्वाचनमा भाग लिए भनिएको छ ।सङ्ग्रहभित्रका सबै लघुकथाहरू सवाल्टर्निक छैनन् । विषय र विचारगत विविधता राईका कथाहरूको विशेषता हो । म्यानेजर शीर्षकको लघुकथामा काठमाडौँमा अण्डरग्राउण्डका साथै तीन तलासम्मको आकाशे पुलमा रेड गुड्न थालिसकेको छ भनिएको छ । राईका प्रायः लघुकथाले गह्रुङ्गो औपन्यासिक खुराक बन्न सक्ने विषयवस्तुलाई लघुकथाभित्र अटाएका छन् । सूक्ष्मता, तीव्रता, घनत्व, व्यङ्ग्य, सन्देश, पात्रको सन्तुलन र विपरीत मार्गबाट जीवनबोध गराउनु लघुकथाको आधारभूत तत्वहरू हुन् । म्यामराजको लघुकथाको भाषा सरल, सहज र सुबोध्य छन् । यिनको लघुकथामध्ये म्यानेजर, बिर्खे र इन्टरनेट सपिङमा परिवेश र विषयवस्तु अनुसार जापानी भाषाका शब्द आएका छन् भने कतिपय लघुकथाहरूमा अङ्ग्रेजी भाषाका शब्द प्रयोग भएका छन् । म्यामराजको लघुकथाको भाषा सरल, सहज र सुबोध्य छन् । यिनको लघुकथामध्ये म्यानेजर, बिर्खे र इन्टरनेट सपिङमा परिवेश र विषयवस्तु अनुसार जापानी भाषाका शब्द आएका छन् भने कतिपय लघुकथाहरूमा अङ्ग्रेजी भाषाका शब्द प्रयोग भएका छन् ।
लघुकथा भन्ने शब्दले छोटो कथा भन्ने अर्थ दिन्छ तर अङ्ग्रेजी साहित्यमा भने जति लामो कथालाई पनि सर्ट स्टोरी भन्ने चलन छ । लघुकथाका सम्बन्धमा विविध परिभाषा, बिचार र दृष्टिकोणहरू छन् । जे भए पनि नेपाली साहित्यमा लघुकथाले आफ्नो अलग स्वरुप र विधा ग्रहण गरिसकेको छ । यसै सन्दर्भमा नेपाली समाजको यथार्थ भोगाइहरू यसभित्र लेखिएका लघुकथामा खारिएका, माझिएका र टलक्क टल्किएका छन् । थोरै लेखेर पनि गुणस्तरमा ध्यान दिन सके कृतिको महत्व बढ्नेछ । यस तथ्यलाई लघुकथाकार राईले मनन गरेका छन् । विषयवस्तुका हिसाबले बहुमुखी छन् । विसङ्गति, सामाजिक बिडम्बना, आर्थिक विपन्नता, बौद्धिक दयनीयता, सांस्कृतिक विचलनजस्ता कुराहरूमा राईका लघुकथाहरूले व्यङ्ग्य गरिएका छन् । भाषा सरल छ । कसिएको छ । प्रस्तुति मिठो छ । सुरम्य छ । लघुत्व छ । सङ्क्षिप्तता छ । पढ्दा निकै आनन्द आउँछ । म्यामराजका लघुकथा उनले देखेको व्यक्ति, समाज र राष्ट्रका साथै सुनेका घटनामा पनि आधारितछन् । यिनका कतिपय लघुकथा समय र स्थान सीमाका रुपमा पनि आएका छन् । यस सङ्ग्रहका लघुकथाहरूमध्ये म्यानेजर, नुनको सोझो, मूल्याङ्कन, न्याय, बिचौलिया, पार्टी, पञ्चै बाजा, जिम्मेवारी, गाली, हाम्रो बाटो, घरबेटी शीर्षकका लघुकथाहरू स्तरीय र राम्रा छन् ।पीडा शीर्षकको लघुकथामा छोराको कुरा सुन्दै गर्दा कोरोनाले दिएको अभाव घुर्मिलालले सम्झेको छ । अभावको दसैँ शीर्षकको लघुकथामा लकडाउन सुरु भए यता तल्लो टोलवासीहरूले कुटेको गिटी बिकेको छैन । गिटी नबिकेर पहाड बनिसकेकोे छ भनेर लघुकथाकार म्यामराजले लेखेका छन् । डोरो शीर्षकको लघुुकथामा छोराले तत्काल नपाएपछि बाबाको मास्क खोसेर आफ्नो मुखमा लगायो भनिएको छ । लघुकथा लेखन गर्नु भनेको अँध्यारो ठाउँमा टुकी बत्तीको उज्यालो दिनु हो । यसले समाजको सूक्ष्म घटनामा ध्यान केन्द्रित गर्न लगाइ त्यसलाई प्रकाशित गर्ने काम गर्छ । उनले मुहारपुस्तिकामा प्रेषित लघुकथाहरूलाई एकीकृत गरी यो सङ्ग्रह तयार पारेका हुन् । देशका हिसाबले नेपाल र जापान यस सङ्ग्रहका लघुकथामा आएका छन् । उनका लघुकथाहरू चोटिला छन् । राजनीति, परिवार, सिकाइ र मनोविज्ञान, सामाजिक विकृति मानिसको व्यक्तिगत प्रवृत्ति र व्यवहार, गरिबीको पीडा, देशप्रेमका साथै व्यवहारिक ज्ञान दिने अभिप्रायका लघुकथा यस सङ्ग्रहभित्र रहेका छन् ।नेपाली साहित्यमा लघुकथाको आफ्नै विशिष्ट स्थान छ । आजको समयले लघुकथालाई झन् लोकप्रिय बनाएको छ । कथा आफैमा पूर्ण भएजस्तै लघुकथा पनि स्वयम्मा पूर्ण हुन्छ । अर्थात् लघुकथा कथाको सङ्क्षेपीकरण होइन । लघुकथा आख्यानको लघुतम वा सूक्ष्मतम विधा हो । लघुकथा छोटो हुन्छ तर पूर्ण हुन्छ । छोटो आयाममा जीवन र जगत्लाई समेट्नु लघुकथाको विशेषता हो । लघुकथा लोकप्रिय भएकै कारण यसप्रति लेखनको आकर्षण बढ्दै गइरहेको छ । अन्त्यमा लघुकथाकार म्यामराज राईको अन्य कृतिहरू पनि प्रकाशित भएर हामीले पढ््न पाउँ भन्ने आशा राख्दछु ।कृतिकारः म्यामराज राईप्रकाशकः अक्षरधाम प्रकाशन प्रा. लि., नागार्जुन ४, काठमाडौँसंस्करणः प्रथम, वि.सं. २०७९मूल्यः रु. २६५÷–पृष्ठः ११८