समय” कवितासङ्ग्रह र उमाकान्त पोखरेल
भवानीप्रसाद पाेखरेल
भद्रपुर नगरपालिका वडा नं. १० झापा जिल्ला, चन्द्रगढीलाई कर्मथलो बनाउँदै वकिल पेसामा रही साहित्यमा रमाउने स्रष्टा अधिवक्ता उमाकान्त पोखरेलको पहिलो कृति ‘समय’ कवितासङ्ग्रह एकवर्ष अघि अर्थात् २०७९ जेठ महिनामा साहित्यको चौतारीमा देखा परेको छ । म आज यसै कवितासङ्ग्रहको छोटो समीक्षा पस्कन गइरहेको छु ।
प्रकाशक शब्दार्थ प्रकाशन चाबेल, काठमाडौँ, मूल्य रु. ३५० रहेको छ । केही शब्द शुभकामना भनी प्रा. डा. गङ्गाप्रसाद अधिकारी, भद्रपुर–८, झापा, शुभकामना भनी प्रा. चुडामणि वशिष्ठ, भद्रपुर–८, सुकृति नगर, ‘समय’भित्रका चेतनामूलक कविता भनी ठाकुर शर्मा भण्डारी, काठमाडौँसमेतले तेह्र पेज लेख्दै समीक्षात्मक ढङ्गले मूल्याङ्कन गर्नुभएको छ । लेखकीय भनी स्वयम् कविले अढाइ पेज लेख्दै पाठकहरूलाई धन्यवाद दिइएको छ ।
यो ‘समय’ कवितासङ्ग्रहभित्र ‘भर्पाई’ शीर्षकको कविता अगाडि राख्दै त्यसबाहेक पचास थान कविताले टम्म भरिएका छन् । पहिलो कविता ‘मन’ रहेको छ । अन्तिमको ‘कोरोना’ छ । यो सङ्ग्रहको भाग्यमानी कविता पेज ४५ को ‘समय’ रहेको छ । यसैको नामबाट ‘समय’ कवितासङ्ग्रहको न्वारन गरिएको छ । भाषा सरल छ, दार्शनिक र तार्किक तरङ्ग छ, पढ्दा आनन्द लाग्छ, पाठकका लागि बेग्लै स्वाद छ, यस्तै मेरो ठम्याइ रहेको छ ।
कविता अन्तर्हृदयबाट प्रस्फुटित हुने सुत्रात्मक अभिव्यक्ति हो, कवि उमाकान्तजीले आफूले देखेका, भोगेका, सुनेका समाजका विकृति, विसङ्गतिलाई केलाउँदै कवितामय बनाएर समाजलाई सुधार्नका लागि चेतनामूलक कृतिको रूपमा हामीले यो कृति पाएका छौ भन्नुमा अतियुक्ति नहोला । व्यञ्जना वृत्तिमा भावहरूलाई बौद्धिक ढङ्गले खेलाइएको छ । अनेक बिम्बहरू प्रतीकहरू, पौराणिक–ऐतिहासिक मिथकहरूको बग्रेल्ती उपस्थितिले यस पुस्तकको ओज झनै बढेको मैले पाएको छु । उनको पहिलो कृति भए पनि माथिल्लो तहका कवि हुन् भन्ने मलाई अनुभूति भएको छ । यो सङ्ग्रह पढेपछि नै यसभित्रको चुरो र कुरोको रसास्वादन गर्न पाइन्छ ।
समाजका मान्छेका अस्तव्यस्तता, विसङ्गति, सामाजिक विकृति, अन्यायका कुरा यसभित्र समेटिएका छन् । छिमेकीको अतिव्रmमणका कुरा, राष्ट्रियताको लडाइँ लड्नुपर्ने सन्देश पनि छ । कोरोनाको कहर, होमक्वारेन्टाइनका पीडा, समयको पीडा, त्रासपूर्ण अवस्था, प्रकृति नरहे जीवन रहँदैन जस्ता सन्देश बोकेको छ । कविता लेखन सरल छैन, कविताले जीवनरूपी मार्गहरू पहिल्याइ दिन्छ । उनका कविता लामा साढे तीन पेजसम्मका र छोटा पनि छन् । उनका कविताहरू शैलीगत दृष्टिमा अत्यन्त प्रभावशाली रहेको पाइन्छ । कविको समय प्रभावशाली रहेको छ । देशप्रतिको माया, समाजप्रतिको उत्तरदायित्वले गर्दा समग्रमा ‘समय’भित्रका कविताहरू सकारात्मक छन् । जीवनका विविध पाटाहरूलाई समेट्न सफल भएको प्रतीत हुन्छ ।
उनका कवितामा बौद्धिकताको रमरम स्वाद र अध्यात्मिक स्वाद पनि कवितामा अटेको छ । भावनाको प्रवलताले कविताहरू बयली खेल्दै सुन्दर बनेका छन् । ‘मन’ कविताले बुद्धत्वको अपेक्षा गरेको छ भने दोस्रो ‘विदाइ’ कविताले बाँच्ने कलाको सार्थकतालाई पहिल्याउन खोजेको छ । दश नम्बरको ‘लकडाउन’ कवितामा विवश जिन्दगीको यथार्थलाई देखाइएको छ । ‘समय’ कविता प्रेमिल भावको आएको छ, समयले जीवनका हर पक्षका कवितालाई समेटेको छ ।
‘रहर’ कवितामा समयको रहरमा शान्तिको खोजी गरिएको छ । ‘महायुद्ध’ कवितामा कल्पना गरिएको छ ।
बिस नम्बरको ‘माइली’ कविता एक नारीवादी कविता हो । ‘देवता’ शीर्षकको कवितामा ढुङ्गालाई देवताको रूप प्रदान गरेर मन्दिरमा सजाइएको सन्दर्भ छ । एकतिस नम्बरको कविता ‘ईश्वरको गुनासो’ कवितामा विकारयुक्त जीवन बाँच्न बाध्य भएको अवस्थालाई उजागर गरिएको छ । पेज ९१ ‘राजनीति’ कविताले वर्तमान समयको अवस्था र आफ्नो संस्कार त्यागेको नेताको चरित्रलाई औलाइएको छ । पहिलो पङ्क्तिको केही लाइन पढौँ त –
पूर्वबाट सुरु भएको
स्वर्णिम प्रभाले
सुदूर पश्चिमको कालिमामा रङ फेर्दासम्म
कति आयामहरू विस्मृत हुन्छन्
कतिको तेरिज बिग्रन्छ
एक चौथाई निद्रा झस्कन्छन् ।
... ... ...
कतिपय कवितामा समयको सन्दर्भ आएको छ, सबै समय अनुरूप कामहरू हुने गर्छन्, मानिसहरू समयका अगाडि निरीहजस्तो बन्दछन् । समय चिन्न सके जीवन धन्य हुन्छ किनकि समय बलवान् हो, ईश्वर हो । समय गति हो, जे गर्छ समयले गर्छ भन्ने धारणा कविको रहेको छ । कालको गति कसैले बुझ्न नसक्ने धारणा पनि कवितामा आएको छ । उनका कवितामा बौद्धिकताले पूर्णता पाएको छ र कविताहरू सुवोध्य छन्, अविधा लक्षणा र व्यञ्जना शक्तिको प्रयोग र बिम्ब, प्रतीकको प्रयोग प्रशस्त मात्रामा यत्रतत्र देख्न पाइन्छ ।
जे भए पनि यस पुस्तकका कविताहरूले आजका मान्छेको मानसिक, सामाजिक, राजनैतिक, आर्थिक, धार्मिक जटिलता, नयाँ पुराना सोच विचारको द्वन्द्व, सर्वसाधारणको जीवन कष्टकर बन्दै गएको अवस्था, आर्थिक मात्र होइन बौद्धिकताको समेत टाँट पल्टदै गएको परिस्थितिले परिवर्तनको निम्ति एउटा ठुलै आँधीको प्रतीक्षा गरिरहेको यस सङ्ग्रहले सङ्केत गरेको छ । यो सङ्ग्रह पठनीय छ । भाषा सरल
छ । पढ्दा आनन्द लाग्दछ, साहित्य समाजकै लागि हो, हाम्रै लागि आएको छ । यस्ता कविलाई धन्यवाद दिँदै आजको यो समीक्षा कार्यबाट विश्राम लिन्छु । जय साहित्य ।