बन्जर
विकल त्यागी
हुन त रत्नध्वज र रमिलाको विवाह धुमधामसित भएको थियो । तर विवाहजस्तो रमाइलो युगल जिन्दगी भएन उनीहरूको ।
एउटै गाउँ, एउटै ठाउँ, एउटै बाटो, एउटै माटो, एउटै पाखा एउटै हावा, एउटै आकाश एउटै पाताल, एउटै वन एउटै मन, एउटै रंग एउटै ढंग, एउटै रोगन एउटै जोवन र उही अँधेरी उही उजेली । रत्नध्वज र रमिलाबिच कुनै चिज नयाँ नौलो र अनौठो थिएन । गाउँको हकमा उनीहरूको दुवै परिवार खान्दानी र जमिनदार थिए । त्यसैकारण उनीहरूको पारिवारिक अभिभावकीय सम्बन्ध अत्यन्त समधुर थियो । त्यही भएर नै उनीहरूको विवाह भव्य रुपमा सम्पन्न भएको थियो । अन्यथा उनीहरूबिचको मन परापरले मात्रै निर्णायक भूमिका खेल्न सक्दैन थियो ।
आफ्नी एक मात्र छोरी रमिलाको रत्नध्वजसित हित्तचित्त मिल्दै गएको देख्दा फुलमती मनमनै गुन्थी–ठिकै छ, सन्तानको नाममा एक मात्र छोरो भएको परिवारभित्र मेरी छोरीको बुहारीको रुपमा प्रवेश भएछ भने पनि तिनले मेरी छेरीलाई बुहारी नभै छोरी सम्झेर स्नेही व्यवहार गर्लान् । सन्तानको नाममा छोरी नभएको घरमा नवदुलही टुप्लुक्क घुस्नु भनेको सुनको सन्दुकभित्र लक्ष्मीले तिलस्मी तवरमा सुटुक्क बास गर्नुजस्तै हो रे ।
बुहारीको हातले पकाएको चिया बिहान सबेरै पिउन पाएर फुलमान र फुलमती मनमनै खुशीले रमरम भए । त्यसैगरी तिनको हातले पकाएको खाजा र खाना दिउँसो र बेलुकी खान पाएर उनीहरूको आत्माले भित्रभित्रै सुखानुभूति महसुस गर्दै गए । फुलमती मझेरीको झिनाझपटीदेखि दूर हुन पाएकोमा गमक्क पर्दै गइन् । सुख र खुशीको नुतन मण्डपमा विराजमान हुन पाएर मख्ख परेकी फुलमतीले एकदिन फुलमानलाई भनिन् –बुढो, हामीले छोरी नपाएर के भो ? छोरी सरहकी उज्याली बत्ती जस्ती बुहारी पायौं । रमिलाले हाम्रो घरमा छोरीको अभाव पूरै मेटाइदिएकी छिन् । तिनले हामीलाई जन्म दिने मुहानलाई झैं आमा, बाबा भनेर सम्बोधन त गरिरहेकी छिन् नै सँगसँगै हाम्रो हेरविचार पनि उत्तिकै मात्रामा गरिरहेकी छिन् । सायद हामीले छोरी जन्माएका थियौं भने पनि तिनले हाम्रो यतिविधि सेवा सुश्रृषा गर्दैन थिइन् कि ...! बुहारी हुनु त हाम्री जस्ती हुनु पो ...! जवाफमा फुलमानले मुन्टो हल्लाएर स्वीकारोक्ति जनाए ।
रत्नध्वजलाई रमिलाजस्ती सुवासिली जीवन संगिनी पाएर सफलताको एक खुड्किलो चढेको अनुभूति भइरहेको थियो । उसलाई हरदम लागिरहन्थ्यो कि –जीवन सन्तुष्टिको एउटा सम्वल पृष्ठभूमि जीवन संगिनी हुन् भने यसमा म शतप्रतिशत सफल भएँ । तर यो गोल भूगोलमा सबैको जीवन समीकरण बदलिदै जँदोरहेछ । कसैका निम्ति एउटै समय सर्वकालीन नहुँदोरहेछ ।
एक वर्षसम्म पनि रमिलाको शारीरिक क्रियाकलापमा विशेष परिवर्तन नआएपछि रत्नध्वजको मनभित्र नमिठो चिसोको सिरेटो चल्यो । उसले एकसाँझ रमिला उपर सवाल सोझ्याए –भन त प्यारी, तिम्रो मासिक धर्ममा किन अवरोध आउन सकेन ? त्यस्तो सिलसिलाको श्रृङ्खला अवरुद्ध भएर अद्यानुतन विजाङ्करण हुनेपर्ने हैन तिम्रो विजनब्याडबाट ?
रमिलाले भावुक मुद्रामा जवाफ दिइन्–खैर, यस वियषमा म कसोरी
जान्नु ? जस्तो तपाईं उस्तै म । मलाई पनि काखभरी युगल सृजनाका सुन्दरसन्तानहरू खेलाउने रहर नभएको कहाँ हो र ? यदि त्यस्तो मायावी एवम् धर्मात्मी चाह नहुँदो हो त म तपाईसित यस्तो जिन्दगीको समथर साइनो गाँस्ने नै थिइनँ । म पनि जतिसक्दो त्यही हतारोमा छु, जो हाम्रो भविष्य खातिर धुरीखाँबो सरहका भरोसा भएर जन्मिन्छन् । पुस्तान्तरणका कुरा त स्वाभाविक रुपमा स्वतः भई नै हाल्यो ।
पारि पाखाको चरनमा गोरु चराएर आएपछि आँगनी डिलमा बसेर एकखिली शिखर चुरोट सल्काउँदै फुलमानले फुलमतीसित सिकायत गरे– हेर बुढी हामी साँच्चिकै बुढाबुढी भइसक्यौं । तीन विसा हिउँद काट्नु भनेको चान्चुने कुरा होइन । हुन त, अगाडि भागका एउटा दुईटा दाँत झरे पनि र गालाको पाटोमा छालाहरू केही मुझा परे पनि आजसम्म हामीलाई कालले दयामाया गरिराखेकै छ । तथापि भवितव्यको भविष्यवाणी कसैले गर्न सक्दैन । मलाई आफ्नै भोगचलनमाथि ठोकुवा गर्न नसक्ने ज्योतिषीले कोरेको जन्मकुण्डलीमाथि पनि एकरत्ति विश्वास लाग्दैन । सामान्यताः समयानुसार अब हामी कति पो बाँचौला र ...! यो ब्रम्हाण्डको हावापानीमा विष मिसिएर खप्नुखानु छैन । विषादी नमिसिएको थाली र आली छैन । त्यही भएर यो सन्त्रस्त जिन्दगीको यी चाउरी परेका औंलाहरूले मर्नुभन्दा अगाडि नै दुई दिन भए पनि काखभरि नातिनातिनी राखेर तिनका गाला मुसार्दै म्वाइ खान पाए हुन्थ्यो । तर हामी अभागीहरूलाई त्यस्तो सुसंयोग नजुर्लाजस्तो छ ।
अँ, लामो समयदेखि मेरो मनभित्र गुजिल्टो परिहेको पिरको गाँठो फुकाउनु भो तपाईंले फुलमान । यसको चुरो कारण केही त अवश्य होला । लाग्छ, छोरो या बुहारीमध्ये एकजनामा शारीरिक समस्या होला, मलाई दैवी या पितृ अनुकम्पाको नापतौलबारे उतिसारो ख्याल राख्न मन लाग्दैन । यसबारे सोच्न त छोरा बुहारीले केही सोचिरहेकै होलान् । हुनसक्छ, हामीलाई भन्दा बढी पिर तिनलाई होला । फेरि सन्तान पैदा भएन भने छुच्चाको धन लुच्चाले खान्छ” भन्ने कहावत चरितार्थ हुन के बेर । यस्ता घटनाहरू दुनियाँमा कैयन छन् । मलाई त मनभित्रभित्रै डर लागिरहेको छ । जनविनाको धन मात्रैको पनि के मूल्य हुँदोरहेछ र... ! फुलमतीले यस्तै विलौना
गरिन् । हुन त रत्नध्वको जन्मकुण्डली जन्माउने ज्योतिषीले उसको दुई घरबार हुने कुरा फलाकेका थिए । तर रत्नध्वजलाई ज्योतिषीको यस तर्कमा पटक्कै विश्वास लागेको थिएन । ऊ मनमनै गम्थे –ज्योतिषहरू जायजेथा देखेर पनि यस्ता मनगढन्ते विचार पोख्छन् । यो कुरा “जता बल्खु उतै ढल्कु” भन्ने भनाइजस्तै हो । म आफू एउटै घरबारमा रमाउने विचारमा प्रतिवद्ध छु ।
मानिसको जीवनमा अनेकौं घुम्ती र मोडहरू आउँदारहेछन् । कहिले उक्लन्छु भनेको ठाउँमा ओर्लनु पर्दोरहेछ । कहिले लगालग दौडन्छु भनेको ठाउँमा अचानक चिप्लिएर लडन पुगिँदोरहेछ र कहिले हाँसोको गुलजार समय बिताउँछु भनेको अवस्थामा आँसुको भुमरीभित्र सुकेको पतिङ्गर बनेर फन्फनी घुम्न पर्दोरहेछ । आखिर मानिस भन्नु रहरको धावक नभएर परिस्थितिको दास रहेछ ।
अन्धविश्वासको अनकण्टार जंगलभित्र रुमल्लिन एकरति मन थिएन रत्नध्वजलाई । तर उसले गाउँले संस्कारजन्य चालचलनबाट ग्रसित रमिलाको नारी मनोग्रन्थीलाई चिरफार गर्न सकेनन् । त्यही भएर ती दुई पटकपटक देउरालीमा फुलपाती चढाउन पुगे । पटकपटक देवीथानमा घण्टी बजाउन पुगे । पटकपटक मठमन्दिरमा मूर्तिहरू ढोग्न पुगे । र पटकपटक धामीझाँक्री कहाँ भेटी चढाउन पुगे । तर केही सिप चलेन । रमिलाको शिशुघर सदा खाली नै रहिरह्यो ।
साउन महिनाको अँध्यारो रातमाथि आकाशभरि कालो बादलका थुम्काथुम्कीहरू रमाउँदै नाँचिरहेका थिए । तल रत्नध्वजको मनभरि उदासीका सुस्केराहरूले कोलाहल मच्चाइरहेको थियो । आफूभन्दा विपरीत दिशामा कोल्टो परेर ढल्किरहेकी रामप्यारी रमिलालाई उसले सुस्तरी सोधे– अब हामी काठमाडौँको हस्पिटलमा गएर चेक गर्ने हो कि ? त्यसो गर्दा समस्या सुल्झेला कि ? ्
रमिलाले मसिनु स्वरमा भनी –ठिकै छ, अब त्यसै गरौं । भनेजस्तो नहुँदा आफूलाई त नमज्जा लागिरहेकै छ । अझ बढी गाउँलेको निम्ति हाँसोको पात्र भइयो । तिनका मुखमा फलामे बुचो नखाँदी भएको छैन । यसमा बियाँलो मेरै भयो । मैले तपाईंको उपाय सकारेर उहिल्यै यो बाटो हिँड्न राजी हुनुपथ्र्यो । मेरो गलत भुलभुलैयाको अलमलप्रति क्षमा चाहन्छु ।
काठमाडौँ आएर ती दुवैले नेपालकै सबभन्दा प्रसिद्ध हस्पिटलको नामी चिकित्सकसित आवश्यक चेक जाँच गराए । सम्पूर्ण शारीरिक रिपोर्टले रमिलाको अवस्थाप्रति गम्भीर कमजोरी औंल्यायो । यतिसम्म कि उनको शिशुघर पूर्णतया निकम्मा रहेछ । याने कि नितान्त बन्जरपर्ती ।
चिकित्सकको टिप्पणी सुनेर दुवै जना उताल छाँगोबाट खसेझैं भए । अझ बेसी रमिलालाई भाउन्न छुटेर आयो । तिनी केहीछिन चेतनाशून्य भइन् । तीन त्रिलोक चौध भुवन गोलचक्कराइरहेको रत्नध्वजको रसिला नयनभरि रामिलासितको रमणीय प्रेमपल, इन्द्रधनुषमय विवाह, अभुतपूर्व पञ्चामृतमय सुहागरात, रङ्गिन मधुमास क्रमशः पालैपालो बिजुलीको चमकझैं झल्याकझुलुक गर्दै चम्किरह्यो ।
नितान्त निराश भएर काठमाडौँबाट घर फर्केपछि रत्नध्वजको आचरणमा आमूल परिवर्तन आयो । शालिग्रामजस्तो सफा र सुन्दर बानी र व्यहोरा भएको मान्छे कुलतको कुहिरीमण्डलमा रन्थनिन थाल्यो । गाउँमा कसैले सुपारीको सानो टुक्रा चपाउँदा तीन छक्क पर्ने मान्छे आफैं खैनी, चुरोट, जाँड, रक्सीको अम्मली भयो ।
रमिला उसलाई हरपल सम्झाउथिन् तर उसको आदतमा रतिभर बदलाव आउन सकेन ।
असोचनीय दुःखद यथार्थ जानकारी पाएपछि फुलमान र फुलमतीले रत्नध्वजलाई अर्की बुहारी ल्याउन सुझाए । तर उसले आफ्नो जराको भावसारप्रति नजरअन्दाज गर्दैरहे । जराको पेलान अतीव भएपछि एक साँझ लोकल ठर्राले भरिएको बोतल ठाडो घाँटी लगाउँदै उसले भन्यो “एक जिन्दगी एक पिरती” म प्रथम प्रीतिको अनुरागमाथि कदापि विश्वासघात गर्न सक्दिनँ ! आमा बाबा । बरु जस्तोसुकै जोखिम मोल्न परोस् म तयार छु । अर्को कुरा कानुनले बर्जित गरेको काम गर्न मेरो अन्तरात्माले पटक्कै मान्दैन ।
रमिलालाई आफ्नो शारीरिक विराम सम्झेर जिन्दगी सारै झुर लाग्यो । हुन त उनले जानाजान गरेको यो अप्रियविराम थिएन । यो त उनमाथि नियतिको खेलबाढ थियो सायद । उनले बिराएकै केही थिएन र माफ माग्नु पर्ने ठाउँ पनि कोहीसित कहीँ थिएन । घरिघरि उनलाई लाग्थ्यो– कि कसैलाई अन्जानमा झुक्याएर फसादमा फसाउनुको सट्टा बरु म उभयलिङ्गी भएर जन्मेकी भए सही हुन्थ्यो । कमसेकम पनि मेरा कुनै परपुरुषसित जिन्दगीभरिलाई साइनो गाँसिने थिएन र मेरो नामले कसैलाई बिझाउने थिएन । मेरो शारीरिक एवम् सांस्कारिक समर्पणले रत्नध्वजलाई दुःख र अशान्तिको भुँमरीभित्र फसाउँदैछ । र ऊ बैरागी भएर बेहाल बन्दैछ । कतै म यातनागृह जस्तै भएँ कि ... ।
आफू बाँझो हुनुको पीडाले रन्थनिएर भौतारिरहेका रत्नध्वजले कतै बाटो बिराइहाल्ला कि भन्ने भय रमिलालाई हरदम भइरहन्थ्यो । उनलाई लागिरहन्थ्यो –कि एउटा बयस्क व्यक्तिको मन र वर्षायामको मौसम एउटै हो । छिनमै घाम गर्मी र छिनमै बादल पानी ! कथंकदाचित उसले बाटो बिराएछ भने मेरो हुन्छ बर्बाद । हुनामी ! म त्यो हदसम्म सदाशयता साँचेर बाँचेकी दयालु नारी हुन सक्दिन । सन्तानको सुख पाउनु त उसको ललाटमा पनि कोरिएको हुनुपर्छ नि ।
साँझपख लयालु होटलमा बसेर मस्त मात लिइरहेका रत्नध्वजलाई गाउँका तीस वसन्त पार गरिसकेकी अविवाहित झुम्केलीले अनेकौं बहानामा जिस्काइरहेकी थिइन् – ह्या ! रत्न दाइ, केलाई चुप्प लागेर बसिराखेको ? जो कोहीको जिन्दगी सिर्फ सिधा सुत्रमा सफर नगरेर नागवेली हुने गर्छ । थपक्क छिटो मन नबटारेर ... । धन हुनेलाई मन बटारेर बाङ्गोटिङ्गो हिँड्दा के फरक पर्छ र भन्या ... ? उन्यूलाई जति नै मलजल गरेर करेसाबारीमा रोपे पनि फुलेर वास्ना छर्दैन क्यारे... ।
नेपथ्यमा रहेर झुम्केलीको कुरा सुनिरहेकी रमिलालाई यो अप्रिय अवस्था एकरत्ति हितकर लागिरहेको थिएन । उनले आँखाको नानी रल्याकरुलुक हल्लाएर छड्के इसारा गर्दै रत्नध्वजलाई घरमा लिएर आइन् र उसलाई सम्झाउन थालिन्– आइन्दा मेरो अनुमतिविना दायाँबायाँ लाग्ने छैन । चाहे प्रात होस् या साँझ, चाहे घाम होस् या रात मैले हिँडाएको बाटोमा मात्रै हिँड्ने । सम्झिनु तपाईंले यो कुरा परिस्थितिको ऐलान हो न कि मेरो पेलान । मेरो ठाउँमा रहनुभएको भए तपाईंले पनि मलाई यही उर्दी जारी गर्नुहुन्थ्यो । तपाईंलाई खानु मन लागेको दोकानबाट जम्मै म किनेर ल्याइदिनेछु । लोकल ठर्रा म घरमै तयार पार्नेछु । तपाईंलाई साह्रै अभाव महसुस हुन्छ भने काठमाडौँको बालआश्रमबाट एउटा बच्चा लिएर आउँ र धर्मपुत्र बनाएर पालौं । त्यसैलाई हुर्काएर, बढाएर र पढाएर परिपक्व बनाऊँ । हामीलाई पनि पुण्य प्राप्त हुनेछ र त्यसले पनि भविष्यमा मानवताको आधारमा हामीलाई आफ्नै आमा बाबा सम्झेर सम्मानित कार्यव्यवहार गर्दैजाला । अरु रहर त पूरा गर्न मैले कुनै कसर बाँकी राखेकी छु जस्तो लाग्दैन । तर तपाईंले अन्य महिलासित मुस्कान साट्न खोजेको म एकपल हेर्न सक्दिन । कतै झुक्किएर खुसी लुटिन्छ कि मेरो मुटुमा ढ्याङ्ग्रो बजिरहन्छ । मेरो ब्रम्हाण्ड खजमजिरहन्छ ।