२०६५ सालको कुरा हो । पहिलो संविधान सभाको निर्वाचन पश्चात माओवादी सत्तामा पुग्यो
। पुष्पकमल दहाल प्रधानमन्त्री भए । रुक्माङ्गत कटुवाल प्रकरणमा उनले राजिनामा दिए
। माओवादीबाट राष्ट्रपतिमा धोका पाएका काङ्ग्रेस सभापति गिरजाप्रसाद कोइराला यसै रुष्ट
थिए । उनले दुई ठाउँबाट निर्वाचन हारेका माधवकुमार नेपाललाई २०६६ जेठमा प्रधानमन्त्री
बनाउन सहयोग गरे । यो एक प्रकारले हेर्दा, रुपमा नेकपा एमालेको सरकारजस्तो देखिन्थ्यो सारमा भने नेपाली काङ्ग्रेस हुँदै भारतीय
इच्छा साधनको सरकार थियो । यही बेलामा राष्ट्रिय बाणिज्य बैकको आन्तरिक लेखा परीक्षण
कार्य सम्पन्न गर्न, शाखा कार्यालय धनगढी, डोटी, दिपायल र महेन्द्रनगरको जिम्मेवारी
लिएर हामी उड्यौ । साथी थिए दिनेश नेउपाने । दिनेश नेउपाने २०६२ सालका सहायक प्रबन्धकको
रुपमा बैंकमा प्रवेश गरेका एक उत्साहित युवक थिए । हामीले धनगढीको काम सकेर डोटी तर्फ
गुड्यौं । दुई दुईचोटिडडेल्धुरासम्म हिँडेकै बाटो भएकोले मेरा लागि नौलो केही थिएन
। दिनेशजीलाई बेलाबेला म बाटोका स्थानहरूबारे जानकारी गराउँथेँ । उनी चाखपूर्वक सुनेर
टाउको हल्लाउँदै बाहिरतिर नजर डुलाउँथे ।
हामी गोदावारी, भासुभिर, खानडाँडा, सहजपुरा, बुडर र गैह्रा हुँदै स्याउले पुग्यांै । स्याउलेबाट डोटी जाने र डडेल्धुरा जाने
बाटो छुटिन्छ । डडेल्धुराको दुरी स्याउलेबाट तीन किलो मिटर मात्र छ भने डोटी करिब ८२
किलो मिटर टाढा छ । स्याउलेबाट डोटी जाने मार्ग बन्द भएको रहेछ । के लफडा हो कुन्नी
! आजकल ‘के निहुँ पाउँ कनिका बुकाउँ’छ देशको अवस्था । सानो विषय पायो कि बन्द हडताल, निषेध आदि । विकासका निमित्त कार्य प्रयत्न र जागरुकता जरुरत हुन्छ हामी बाटो छेकेर
२१ औं शताब्दीलाई उपयोग गरिरहेका छौ ।
दिनेशजी अघिदेखि एकजना केटीसित बोल्न चाहिरहेका थिए । मेसो मिलेको थिएन । स्याउलेमा
बस रोकिनाले मेसो मिलाउँदै दिनेशजीले सोधे, “बहिनी यो बाटो कतिखेर खुल्छ होला ? “ती केटीले दिनेशजीको सोधनीको जवाफ फर्काइन् ‘खोई दाइ तपाईं हामीसँगै आइरहेका छौ । अरु यहीँका स्थानीयलाई सोध्नु न !’ ती बहिनीको जवाफले दिनेशजी नतमस्तकझैँ भए । मानिस विपरीत लिङ्गीप्रति आकर्षित हुनु
अन्यथा होइन । तर एउटा पक्षको विकर्षणले अर्काे पक्षका चहानाहरूमा बिराम लगाइ दिन्छ
। दिनेशजी त्यसरी नै बिराम लाग्न पुगे ।
करिब एक घण्टा जतिमा बाटो खुल्यो । पहाडका भित्ताहरूमा घुम्ती र कुइनेटा छिचल्दै
कहिले सेती नदीको किनारकासम्म तटमा गुड्दै हामी साँझमा दिपायल पुग्यौ । दिपायल त्यसताका
सुदूर पश्चिमाञ्चल क्षेत्रको क्षेत्रीय सदरमुकाम थियो । हामीले पहिले डोटी सिलगडीको
लेखापरीक्षण गर्ने रुट बनाएको हुनाले हामी आछाम साँफेबगर जाने जिपमा चढ्यांै । त्यो
जिप दिउँसै साँफेबगर जानुपर्ने बिग्रिएर समय पर्खेको रहेछ । धन्न हामीले मौका पायांै, नत्र ता दिपायलमै रात गुजार्नुको विकल्प हुने थिएन । जिपसित हामी डोटी सिलगडीका
उकाला कान्ला र पाखाका घुमाउरो बाटोमा घुम्दै र गाडी गतिसित झुम्दै (करिब १२ किलो मिटर)
आठ बजे बेलुका बैङ्कको शाखा कार्यालय दिपालय सिलगडी पुग्यौं । भोकले आतेस बनाएको थियो
। शाखा कार्यालयका प्रबन्धक कर्णदेव जोशी रहेछन् । पहिले नचिनेका मानिस तर चिनेपछि
थाहा भयो उनी राजनैतिक सचेत व्यक्ति थिए । हामीले दिनभरि काम गरेर साँझमा राजनैतिक
माहौल बनाउँथ्यौ आपसमा । कैलालीमा सुकुम्बासीलाई उरालेर माओवादीले माधवकुमार नेपाल
नेतृत्वको सरकार विस्थापन गराउने प्रयत्न गरिरहेको थियो । कर्णजी पहिले मशाल हुँदै
अहिले माओवादीलाई समर्थन गर्थे । राजनैतिक संस्कार र मूल्य नबुझ्ने एकै राजनैतिक सोच
दृष्ट्रिकोण भएका पक्षका बिचमा अनुत्पादक छलफल वा विमर्श गर्नुभन्दा भिन्न बिचारको
बुझेको मानिससित बहस गर्नु आनन्ददायक हुन्छ । जोशीजीसितका करिब हाम्रा छ दिन आनन्दित
बने सहायक प्रबन्धक तेजबहादुर श्रेष्ठ स्थानीय मानिस रहेछन् । व्यवसायिकभन्दा व्यक्तिवादी
चरित्रका, आफू मुनिका स्टाफलाई हेप्ने, थिच्ने कहिले कही त कुट्ने, पिट्ने पनि गर्दा रहेछन् । हामीले सबै स्टाफको सामुन्नेमा मिटिङ राखेर विषय उठान
गरेपछि कायल भएर माफी मागे । अब आइन्दा त्यसो गरेको भेटिए कारवाही हुने कुरामा शिर
निहुराएर स्वीकार गरे । मानिस थरीथरीका, कामकुरो एकातिर लौरो बोकी ठिमीतिर भनेझैँका थिए यी सहायक प्रबन्धक । अझ यसो भनौं
स्थानीयताको नाममा यिनले पाएको यो अवसर र जिम्मेवारी बैंक शाखको निमित्त नाकाम तथा
भद्दा देखिन्थ्यो ।
डोटीमा काम गर्दा एउटा ज्ञानको पुनरावृति भयो । एकजना बैतडी घर भएका शेरसिंह धामी
थरका वाहक (पियन) थिए । तीनले बेलुकाको खाना दाल, तरकारी, अचार र सुख्खा गहुँका रोटी निकै
राम्ररी खुवाएका थिए हामी बसिन्जेल । कुरैकुरामा उनले भने “मैले धाने, सामाजिक, मर्मत र घर कर्जा लिएर छुटीभिन्न बसेका सौतिने भाइहरूको विवाहमा खर्च गरेको हुँ
। “हामी अचम्वित भयौं । बैङ्कले कर्मचारीलाई
विभिन्न शीर्षकमा ऋण सापटी दिने गर्छ र मासिक रुपमा असुली गर्छ । यो जागिरे जीवनको
अधिकांश समय अन्तरालमा बैङ्कले असुल उपर गर्छ । यो निजी ऋण हुन्छ सामूहिक हुँदैन ।
यसर्थ दिनेशजीले सोधे “यो कर्जाको दायित्व कसको हुन्छ थाहा होला नि शेरसिंहजी“उनले जवाफ दिए “मेरो आफ्नो हुन्छ नि सर अरुको कसको होला र !”“अनि आफ्नो थाप्लामा ऋृण लिएर छुट्टीभिन्न भएर बसेका परिवारका सदस्यको हितमा खर्च
गर्दा त तपाईं फस्नु होला नि ! धामीजी” मेरो यस सोधाइलाई उनले जवाफ दिएका
थिए “सर मेरो ज्यान बचाएको थियो पहिले
। त्यो गुण बिर्सन कहाँ मिल्छ र म छ महिनाको थिएँ, मेरी आमा बस्तुलाई डालेघाँस झार्न रुख चढ्नुहुँदा लडेर बित्नुभयो । बुबा त्यतिखेर
पिथौरागढमा चौकिदारको जागिर खानुहुन्थ्यो । बुबाले जागिर छोडेर मलाई बचाउनुभयो । हेरचाह
गर्नुभयो । जेसुकै होस भनेर जागिर खाइरहेको भए म सायद बाँच्ने थिइन । मैले यस लोकको
भोग गर्न पाउने थिइन । अब अहिले भिन्नै परिवार भए पनि त्यो दायित्व बुबाको बुढो भएको
काँधमा चढ्ने हो । बुबाको काँधले थाम्ला नथाम्ला यसर्थ मैले काँध थामिदिएको हुँ ।”
कति राम्रो कुरा धामीजीको । मैले सम्झिएँ, हो यस्तै कुरा मैले पनि विगतमा पारिवारिक काँध थापेको थिएँ । आज पुनरावृत भएको
बोध गरेँ मैले । आजको युगमा बाबुआमाको काँधमा चढेर थईथई गरेर खेलेको सन्तान अलिकति
पढेर कमाउने भयो, अझ पढेलेखेकी जोडी पायो भने बाबुआमाको
मानमर्दन गर्छ । दाजुभाइको त योगदान क्षणभरमै भुस बनाउँछ । सम्पति केही देख्यो पितृसित
भने जनैको साँचो र थैली खोज्छ, खोतल्छ, फकाउँछ, एकोहार्याउँछ, भविश्यको आशा देखाउँछ । सम्पत्ति
हात पारेपछि जोइकोसाथ लागेर आमाबुबालाई दुत्कार्छ । घरबाट हटाउँछ, अनि बृद्धा आश्रम पु¥याउँछ । आजका यस्ता दूषित सन्तानका
बिचमा यो खासै पढालेखा नभएको मानिस जिम्मेवारी र दायित्वको यत्रो ठुलो भारी बोकेर बसेको
थियो । निकै ओजपूर्ण लाग्ने उसको व्यक्तित्व लोभलाग्दो थियो । फेरि एक दिन उनले भने
“सर मेरी छोरी अत्तरियामा बितिन् । अस्पताल लगेकी थिइन् श्रीमतीले । मलाई यहाँको
पहिलेको प्रबन्धकले छोरीको उपचार गर्न जान बिदा दिनुभएन । एक्ली आइमाईले के गर्न सक्थिन्
र ! पछि उपचार नपाएर छोरी बितिन् । यो भन्दा ठुलो चोट एउटा बाबुलाई के हुन सक्छ र ? सर मेरो सरुवा मिलाई दिनु अत्तरिया शाखामा, म सरको गुण बिर्सने छैन ।”
त्यसो भन्दा धामीका ओठ थरथराएका थिए । आँखा रसाएका थिए । उनको विनित भावले आशा
बोकेको थियो । मैले बचन दिएँ, ठिक छ धामीजी यो गुण कसैलाई तिर्ने कुरा होइन । यो मेरो कर्तव्यको कुरा पनि हो
। तपाईं निश्चिन्त रहनुहोस् अब तपार्इंको सरुवा शाखा कार्यालय अत्तरियामा भयो भन्ने
ठान्नुस् । त्यस क्षण उनको अनुहारमा छाएको खुशी र चमक आज पनि मलाई स्पर्श गरेर जान्छ
। पछि काठमाडौँ आएर उनको सरुवा अत्तरिया गरिदिन बैङ्कसित मैले अनुरोध गरेँ । भिन्न
बिचारको मानिसको सरुवा गर्न महेश खरेललाई किन यस्तो जरुरी परेछ भनेर केही सीमित सोचका
मानिसहरूले भन्न भ्याए । मैले ट्रेड युनियनमा बसेर सामूहिक सौद्धाबाजीको पहल र प्राप्ति
लिँदा÷गर्दा बिचार गौण विषय थियो । आन्दोलन गर्दा बिचार प्रमुख विषय थियो । भिन्न बिचारका
भए पनि दबिएका, हेपिएका र थिचिएका सबै कर्मचारी
मेरै थिए । थामीको सरुवा १५ दिनमा भएको थियो । त्यतिखेर मानव संसाधन विभागको विभागीय
प्रमुख गोपालचन्द्र शर्मा थिए । उनले मेरो लाज जोगाइ थिए । मैले २०४८/०४९ मा कर्मचारी विनियमावली मस्यौदा गर्दा शैक्षिक योग्यता पुगेको सहयोगी कर्मचारीलाई
सीमित खुल्ला प्रतिस्पर्धाबाट मूल कार्य गर्ने कर्मचारीको रुपमा नियुक्त दिने प्रावधान
विनियमावलीमा स्वीकार गराएको थिएँ । त्यही माध्यमबाट एस. एल. सी. पास गरेका शेरसिंह
धामीले सहायक चौथोमा नियुक्ति लिए पछि । चौरजहारीको खजाञ्जी भए । पछि चौमालाबाट निवृत
भए । एउटा सानो अवसरले मानिसलाई निकैमाथि चढ्ने सिंडीको काम गर्दाेरहेछ ।
मङ्सिर पुसको महिना । जाडो निकै हुने भए पनि डोटी सिलगडीमा बिहानदेखि बेलुकासम्म
घाम लाग्ने । हामी आवश्यक कागजात बरण्डामा मगाएर सुन्तला जुनार खाँदै घाममा बसेर काम
गथ्र्यौ । कामकै दौरान हामीले परियोजन र धितो परीक्षण गर्न जाँदा शैलेश्वरी मन्दिर
हे¥यांै । दिनेशजीले खाली पाउ मन्दिरभित्र पसेर के के वरदान
मागे हुन् कुन्नी ? मन्दिरबाट बाहिर निस्कँदा उनी
निकै प्रफुल्ल देखिन्थे । कर्णदेव जोशी र मेरो मठमन्दिर र त्यहाँ स्थापित मूर्तिहरूबारे
एउटै धारणा बन्न गयो । हामी बाहिरी परिसरको अवलोकनमा रम्न पुग्यांै । यो क्षेत्रमा
शैलेश्वरीलाई निकै ठुलो शक्तिपिठ मानिदो रहेछ । हुन त यही जिल्लाका विभिन्न ठाउँमा
मष्टा, दिल्पेश्वर र मालिका मन्दिरको स्थान आ–आफ्ना ठाउँमा राम्रै मानिन्छ रे । डोटी पहिले राणाकालमा राणाहरूकाबिच हुने बिबादलाई
अझ भनु सि क्लासका राणाहरूको समस्या समाधान गर्न शक्तिमा हारेकाहरूलाई थन्क्याउने सुदूर
पश्चिम क्षेत्रको नाम चलेको स्थान हो । पूर्वमा धनकुटा, पश्चिममा पाल्पामा यसरी नै काठमाडौँ केन्द्रबाट राणाहरू पजनी हुने गर्थे भनिन्छ
।
हामी काम सिध्याएर दिपायल झ¥यौं । सेती नदीको तीरमा रहेको दिपायल बजार पाछ (तुँवालो) लागेर यहीँको त्यहीँ केही
देखिदैनथ्यो । नदी किनाराका खोँचहरूमा सबैतिर यस्तो पाछ (तुँवालो) लाग्ने गर्छ हिउँद
महिनामा । दिपायल सुदूर पश्चिमाञ्चलको सदरमुकाम घोषणा भएपछि र सैनिक पृतनापतिको कार्यालय
यहाँ रहेकाले पनि होला सिलगडीमा भएका कतिपय सरकारी कार्यालय दिपायलमा स्थानान्तरण भैरहेका
थिए । दिपायलले रंग फेर्दै थियो । व्यापार व्यवसाय बिस्तारित हुँदै थियो । डोटी सिलगढी
हारेको सिपाहीजस्तो हुँदै थियो । दिपायलमा हाम्रो बैङ्क शाखाका प्रबन्धक थिए रामचरण
बिसी । बिसी सुर्खेत निवासी हाल नेपालगंजमा बसोबास थियो उनको । उनी मेरा पुराना परिचित
हुन् । राष्ट्रिय बाणिज्य बैक कर्मचारी संघमा सँगै काम गरेका थिए उनले पनि । बढो हँसमुख
मानिस हुन् बिसीजी । सहायक प्रबन्धक थिए शिवराज कठायत । यिनी स्थानीय लगनशील र इमान्दार
कर्मचारी थिए । हामीले कामको विवरण तयार गर्याै । स्टाफहरूलाई फाईल र कागजात तयार गर्न
लगाएर हामी दिउँसो अलि उघ्रिएको बेलामा बाहिर बजार हेर्न निस्क्यौं । सेती नदी सुसाउँदै
आफ्नै रफ्तारमा बगिरहेकी थिइन । हामी दिपायल हवाई मैदान हेर्न गयौं । करिब २४ वर्ष
पहिले यही ल्याएर रोकेको थियो जहाज । त्यसताका कच्ची मैदान थियो दिपायलमा । आज पक्की
मैदान बने पनि सडक बिस्तार र विकासले यातायात सहज बनेको कारण हवाई सेवा कम प्रयोग हुनथालेको
कुरा बताए प्रबन्धक रामचरण बिसीले । सेती नदीपारि उतामाथि डाँडो उपत्यका नै भनुजस्तो, त्यहाँ सैनिक पृतनापतिको कार्यालय रहेको देखाए बिसीजीले । हामीले इसराबाटै बुझ्ने
काम गर्याै ।
बैंङ्क शाखा कार्यालयको काम सकिन लागेको थियो । सैनिक तालिमको पास आउट कार्यक्रम
रहेछ पृतनापतिमा । बुधबारको दिन, शाखा प्रबन्धक लगायतलाई निम्ता गर्न कर्णेल बिजयध्वज कार्की आएका थिए । उनी दिव्यध्वज
कार्कीका भाइ रहेछन् । दिव्यध्वज कार्की र हामी एउटै बैंकका कर्मचारी, एउटै उद्देश्यका सहयात्री । हामीलाई पनि बोलाए कर्नेल बिजयध्वज कार्कीले । हामीले
सैनिक तालिम समापन (पास आउट) कार्यक्रम हेर्न पायौं
। कस्तो राम्रो आयोजना आयोजकहरूको । कस्तो आनन्द लाग्दो अनुशासन । त्यसताका माओवादीसित
१२ बुँदे सम्झौताका माध्यमबाट मओवादी लडाकुलाई पनि नेपाली सेनामा समायोजन गर्ने कार्यक्रम
थियो रे । अनमिनले सिफारिस गरेका संख्यालाई सेनामा समायोजन गर्दा तिनीहरू पनि यिनीहरू
झै नै राष्ट्रका अनुशासित पहरेदार हुनेछन् भनेर मेरो मनले कल्पियो ।
तालिम समापन कार्यक्रममा देखाइएको परेड निकै लोभलाग्दो थियो । परेड सकिएपछि भोज
सुरु भयो । यस्तो भोजको अनुभव कहिल्यै नगरेको मैले । विभिन्न जंगली जनावरको परिकारयुक्त
सितनसित दिउँसै सेन्त्यैरम (कडा पेयपदार्थ) सेवनको अनुभव पनि गरियो । लहर मिलाएर एक
पटकमा एउटा जनावरको एक पिस मासुका दरले हामीले धेरैपटक धेरै प्रकारका लेकाली औषधीजन्य
जरिबुटी खाएका जंगली जनावरको स्वादलिने मौका पायांै । त्यो सैनिक तालिम समापन कार्यक्रममा
हामी सरकारी बैङ्कका कर्मचारी भनेर निकै ठुलो खातिरदारी गरे जर्नेल लगायत सबै सैनिक
उच्च अधिकृतहरूले । भोज सकेर हामी बैङ्क फर्कियांै । भोलिपल्ट रहलपहल काम र आन्तरिक
अन्तरक्रिया सक्यौं हामीले । चिसो निकै थियो खोँचमा । त्यही दिन हामी डडेल्धुरा फर्कने
र बस्ने अनि भोलिपल्ट महेन्द्रनगर जाने निधो कसेर बेलुका करिब चारबजे जसो हामी डडेल्धुरातर्फ
हानियौं । बिसीजी लगायत साथीहरूले हात हल्लाएर बिदा गरे हामीलाई । हामी डडेल्धुरा पुग्दा
सात बजिसकेको थियो । हिउँदको महिना रात परेर अँध्यारो छाएको बेला थियो त्यो । उत्तर
हिमालबाट चिसो सिरोटोले आङ छेड्लाझँै हावा चलेको थियो डडेल्धुरा बजारमा । बैङ्क स्टाफ
मनोज पाठक हामीलाई कुरेर बैङ्कमै बसेका रहेछन् । हामीले खानाखायौं र बैङ्ककै गेष्टहाउसमा
रात बितायांै । हिमाली चिसोको अनुभव त्यसदिन निकै खेप्यो शरीरले ।
त्यसैदिन धनगढीमा बन्दुक पड्कियो । कर्फ्यु लाग्यो । धनगढीको जंगल क्षेत्रमा सुकुम्बासी
उचालेर माओवादीले माधवकुमार नेपाल नेतृत्वको सरकार गिराउने कोसिस रहेछ । गृहमन्त्री
भीमबहादुर रावल थिए । पड्काए बन्दुक र आछामे छोराको परिचय बोले रावलले । कर्फ्यु लाग्यो
कैलालीमा । हाम्रो यात्रा रोकिने भयो । हामीले बैतडी, झुलाघाट, पिथौरागढ, बनबासा हुँदै महेन्द्रनगर जाने निर्णय लियौं । त्यसताका कविराज अधिकारी विभागीय
प्रमुख थिए आन्तरिक लेखा परीक्षण विभागमा । उनलाई अवस्था जानकारी गराएर स्वीकृति पाएपछि
हामी बाटो लाग्यौं ।
मैले त दुईपटक हिँडिसकेको यो बाटो छाम्नु छिचोल्नु केही थिएन । डडेल्धुराबाट हामी
खोड्पे, पत्यौरा, नोट्ने मन्दिर, बेरौती, छिचोल्दै फुर्नयागाड खोला त¥यौ र पाटनको सम्म समतल भागमा नजर डुलायौं । मैले दिनेशजीलाई बताउँदै गएँ, उनी सुन्दै टाउको हल्लाउँदै गए । हामी सुसया, भिटा नेपाल विद्युत प्राधिकरणको पावर हाउस हुँदै बस्तीमा उक्लियौं । सल्लाका ठुलाठुला
रूखहरू भएको ठाउँ अलि दम्स्याइलो फराकिलो बाटो हुँदै हामी कुरकुइया लोकेन्द्रबहादुर
चन्दको गाउँ जाने स्थानमा पुग्यौं । त्यसपछि चौराहामा गाडी रोकियो झर्ने मानिसहरू झरे
। यहीँबाट बैतडी बजार र दार्चुला जाने बाटो छुट्टिने कुरा मैले दिनेशजीलाई बताएँ ।
उनले यताउती पल्याक पुलुक्क हेरेर नेपाल भूभागबाट दार्चला जाने बाटो निकैबेर नियाली
रहे । गाडीले निषाचौर, पुलिस चौकी, कृषि फारम, गुरु खोला छिचल्दै स्कुल हुँदै
देहिमाण्डु र कतपते नाघ्दै, दुरसंचार टावरपछि थोरै ओरालोमा वीरेन्द्र उच्च मा. वि. नाघ्यो । गोठाला पानी हुँदै
टुँडिखेल, ब्यारेक, दशरथ चन्दको सालिक हेर्दै हामी बैतडी बजार खलङ्गा पुग्यौ । यस जिपको गन्तव्य यहीसम्म
थियो । भोक लागेर आयो । मैले दिनेशजीलाई भने “दिनेशजी भोक लाग्यो खाना खाऔ अब अनि अर्काे गाडीमा चढेर झुलाघाट जाऔला” दिनेशजीले नाई भन्ने कुरा थिएन । उनी पनि भोकाएकै थिए सायद । हामीले खाना खायौ
। झुलाघाट जाने जिपमा चढ्यौं । योे बिस किलोमिटरको यात्रा दुई घण्टा पूरै लाग्यो ।
पहाडका चट्टानयुक्त भित्ता कोतरेर घायल बनाएर बाटोको रुप दिएको बाटोमा थोत्रा जिप गुड्न
सक्ने कुरै भएन । घुई किरो घस्रिएझैँको यात्रा बाटोको अवस्था अनुसार ओल्टो कोल्टो पर्दै
र पार्दै जिपले झुलाघाट पु¥यायो । मैले सम्झिएँ, पहिलेको कुरा यो भन्दा सहज त बरु
पैदल नै हिँडेको भए छिटो पुगिने रहेछ ।
हामी झुलाघाट पुल तरेर पारि भारतको पिथौरागढ जाने गाडीको लाममा पुग्यांै । अगि
बैतडीमा “नाथे झुलाघाटसम्मको जिपको भाडा धेरै भयो” भनेर पैदल हिँडेका दुई युवा जिपमा बसिरहेका रहेछन् । हामीलाई देखेर हाँस्दै एउटाले
भन्यो “देख्नुभयो सर ! गाडीभन्दा पैदल
छिटो भयो कि भएन ? हामी आइपुगेको पन्ध्र मिनेट भैसक्यो
। पैसा पनि बच्यो ।” ती भाइको कुरा नाजायज थिएन । मानिसको आफ्नो शारीरिक सामथ्र्य रहुन्जेल परनिर्भरताले
अलमल्याउने मात्र गर्छ । यस्ता अप्ठ्यारा बाटाहरूमा । सहज र राम्रा बाटाको र राम्रा
यातायात साधनको छुट्टै कुरा । हामी गफगर्दै जिपमा बसेर जिल्ला पिथौरागढका भित्तहरूमा
घुम्दै हल्लिदै खाँदिंदै उकालो यात्रामा थियौं । आजको हाम्रो गन्तव्य पिथौरागढ बजार
थियो ।
पिथौरागढ जिल्ला सदरमुकाम निकै ठुलो बजार छ । भूवनावट उपत्यका प्रकृतिले सुन्दर
र राम्रो छ । हाम्रो काठमाडाँै जत्रो अलि थिएन सायद । हामीले होटलमा कोठा लियांै ।
बजार घुम्न निस्कियौं । हाम्रै वर्णका उस्तै लाग्ने, भाषा मात्र फरक बोल्ने मानिसहरूका पसलमा हामी केही सामान चिनो हुन्छ । पिथौरागढको
भनेर पस्यांै । कुमाउनी भाषा रे उनीहरूले बोलेको । कोहीकोही चै हिन्दी भाषा पनि बोल्ने
गर्थे । नेपाली पैसाको व्यवहारिक अवमूल्यन गरेको थाहा पाइयो त्यहाँ । बैङ्क सटही भा.
रु. १ को ने रु. १.६० थियो । यहाँ १.६५ काट्यो । मान्दै मानेन । हामी बैङ्कका स्टाफभन्दा
पनि मानेन । नेपाली मानिस मात्र होइन, भारतमा नेपाली रुपयाँ पनि ठगिने गर्दाे रहेछ । एउटा ज्ञान थपियो । बाटामा नवयौवना
तरुनीहरू घाँगर चोलीमा मस्त जिउ मर्काएर हिँडिरहेका थिए । कम्ता आकर्षण थिएन तिनको
हँसाइले निकालेको खिलखिलावट आवाज । दिनेशजी निकै लोभिएका थिए । हेरिरहन्थे बेलाबेला
। मैले पनि चोरीछिपी हेर्न भ्याएको थिएँ । विपरीत लिङ्गीयप्रति पुरुषको आकर्षण भएन, हिँड्दा हिँड्दै भिन्न लिङ्गीय भेट्दा नजर उठेन भने त्यो पुरुषप्रति शङ्का गर्नुपर्छ
भनेर लोकगायक कुमार बस्नेतले बारबार भनेको सुनेको थिएँ । हो पनि भिन्न लिङ्गीयप्रति
सबैको आकर्षण उस्तै हुन्छ । भिन्नता यति हो कसैले देखाउँछन् कसैले लुकाउँछन् । युवक
मात्र होइन चोरीछिपी युवतीले पनि हेर्ने र लोभिने गर्छन् । ती युवतीहरू मच्किँदै उकालो
तर्फ लागे । उनीहरूको हिँडाइको आकर्षणले दिल नै चिमोट्थ्यो । निकै लोभलाग्दो थियो ।हामी
फर्किएर बसपार्क गयौं । भोलिपल्ट अलमोडा हुँदै नैनीताल जाने योजना बन्यो हाम्रो । म
नैनीताल पुगेको भए पनि अल्मोडा पुगेको थिइन । दिनेशजी पहिलो यात्रा गरिरहेका थिए ।
भोलिपल्ट शनिबार परेकोले आइतबार त हामी समयमै महेन्द्रनगर पुग्ने लक्षसाथ हाम्रो गन्तव्य
नैनीताल बन्यो । इतिहासमा नेपालीले बहादुरी गरेको कारण यी सबै भूभाग बृहत नेपालका थिए
र त आज पनि मलाई आफ्नैझैँ लाग्छन् । सुगौली सन्धिको उचित व्यवस्थापन गर्न नसकेको कारण
हाम्रो भूभाग र हाम्रा मानिसहरू अरुका हुन पुगेका थिए ।
दिनेशजीले सोधे, “सर बसमा जाने कि जिपमा ?”
मैले जवाफ दिएँ, “बसमा जाने । भारतका सरकारी बसको भरोसा निकै उच्च छ ।” दिनेशले नैनीतालको बिहान साढे सात बजेको टिकट किने । खर्चबर्च व्यवस्थापनको जिम्मेवारी
उनैले पाएका थिए ।
हामी होटल फर्कियौ, बेलुकाको खाना रोटी तरकारी दाल र सलाद खायौं । बिहान छिट्टै उठ्नुपर्छ भनेर बिस्तारामा पल्टियौं । कोठाको झ्यालबाट परपर निकै परसम्मको बिजुली बत्तीको झिलिमिली आँखा अगाडि नाचिरह्यो । लोडसेडिङ्ग हुँदो रहेन छ यता त । हाम्रो देशमा यो समयमा दिनमा १२ देखि १४ घण्टा लोडसेडिङ्ग चलिरहेको थियो । ब्राजिलपछि जलसम्पदामा धनी भनेर चिनिएको मेरो देश एक्काइसौं शताब्दीमा १४ घण्टा लोडसेडिङ्ग धानेर रमाउनुपरेको छ । आँखा रसाउँछन् सम्झँदा पनि । आफ्नो योग्यता हारेर पछुवा भएका मानिस हामी भन्ने लाग्यो मलाई र लाजले आँखा चिम्लिएँ मैले ।
गाडीको पँ... .पँ र पुँ ...पुँ ... आवाजले निन्द्रा खुल्यो । बिहानको पांैने छ
भएछ । मैले दिनेशजीलाई उठाएर वाथरुम पसेँ । हामी तयार भएर बसपार्क पुग्दा गाडी स्टार्ट
भइसकेको थियो । सबै यात्रुहरू आ–आफ्नो सिटमा बस्दै थिए । हामी पनि आफ्नो सिटमा बस्यौं
। पाछ लागेर घुर्मैलो बनेको थियो परिवेश । पुसको महिना भएकोले चिसो तिखो थियो । कहिले
घाम झुल्केलाको प्रतीक्षामा समय बितिरहेको थियो सबै यात्रुहरूको ।
साढे सात बजे नै बस गुड्यो । कस्तो राम्रो समय पालना । भारतका सरकारी बसहरूको गति, छुट्ने ठाउँको समय पुग्ने स्थानको समय सबै नियमित हुँदो रहेछ । बिचबिचमा सरकारी
निकायले निरीक्षण परीक्षण गर्दा रहेछन् । काबु बाहिरको परिस्थितिबाहेक कुनै मोलाहिजा
हुने रहेनछ । स्टाफको जागिरे क्यारियरमै प्रश्न उठ्ने रहेछ तोकिएको सिमा र समय उलङ्घन
भएमा । अनुगमन प्रणालीले निर्धारित गरिएका काम कारवाहीलाई व्यवस्थित गर्न ठुलो मद्दत
पु¥याउँछ । हाम्रो देशमा सामान्यतया अनुगमन हुने नगरेको, भै हाले पनि झारा टराइ हुनाले र बेथितिमा सबैको हिस्सेदारी हुनाले नीति नियम हारेर
पछारिएको अवस्था विद्यमान छ । हामीले यसलाई सुधार गर्नैपर्छ । म यस्तै सोच्दै थिएँ, उपत्यका नाघेर ओरालो गुड्यो बस । लोहाघाटको वारि पाखामा सूर्यका किरणहरू धरतीलाई
चुम्बन गरिरहेका थिए । रातभरको चिसोले आँशु बनेर खसेका शीतका थोपाहरू सूर्यका किरणको
स्पर्शले मोतीझैँ टल्किरहेका थिए । बसभित्र बेलाबेला सूर्यका किरण छिर्नाले आनन्द अनुभूति
भैरहेको थियो ।
हामी लोहाघाट पुग्यौं । लोहाघाटबाट देब्रे बाटो जाँदा चम्पावत हुँदै टनकपुर वनबासा
पुगिने रहेछ । हामी दायाँ बाटो उकालो घुम्ती छिचल्दै अल्मोडा तर्फ गुड्यौं । माथि नागी
मैदान, पाटन जे भने पनि हुने, नाके डाँडाजस्तो केही फाँटिलो फराकिलो लेकको बाटो बडा आनन्दको एउटै गतिमा हाम्रो
यात्रा चलिरहेको थियो । पाछ हटेर पूरै धरती सफा बनेको देखिन्थ्यो । आकाश निलो निलिमा
बोकेर स्थिरझँै लाग्थ्यो । बाटा छेउका ससाना पोथ्राहरूमा चराहरूको चिरबिर चिरबिर आवाजले
मिठो सङ्गीत भरेको भान हुन्थ्यो । ठाउँठाउँका घुम्तीहरू, घुम्तीपछिका बस्तीहरू कतिपय बस्तीहरूमा चिया खाजा, किराना समाग्री र फलफूलहरू बेच्नलाई राखेका भेटिन्थे । हामी पनि चिया पिउँदै खाजा
खाँदै गइरहेका थियौं । सुन्तला देख्ने बितिक्कै म दिनेशजीलाई भनिहाल्थेँ, “लु लु दिनेशजी ती सुन्तला राम्रा होलान् एक दुई किलो किनी हाल्नुस् ।” दिनेशजी आज्ञा पालकझैँ बसको ढोकाबाट बाहिरिन्थे । सुन्तला बोकेर भित्रिन्थे । हामीले
सुन्तलाका बोक्रा छोडाउँदै, खाँदै यात्रा बढाइरहेका थियौं ।
म विशेषतः सुन्तलाको फेदमा जन्मिएको मानिस रे । अझ मेरो साथी सुन्तलाका हाँगाको
चेपमा ढुँग्रामा हालेर राखिएको कुरा सम्झाउनुहुन्थ्यो हजुरआमा । सुन्तला औधि मनपर्ने
मलाई । सबैलाई मनपर्दाे हो सुन्तला सायद ।
हामी अल्मोडा पुग्यौं । अल्मोरा भन्दारहेछन् यतातिर । अल्मोराबाट पश्चिम उत्तरतिर
रानीखेत पर्छ रे । “निकै सुन्दर ठाउँ हो रानीखेत” एकजना यात्रुले सुनाए । हामीले
सुन्यौं, महसुस गर्याैं । अलमोडामा हामीले खाना खायौं । बजारको
देब्रे पाखो भएर तल झर्नुपर्ने रहेछ नैनीताल जाने मार्ग । त्यही देब्रे पाटोको एउटा
होटल छेउमा बस रोकिएको थियो । हामीले जति नै घाँटी तन्काए पनि अलमोडाको माथिल्लो भाग, उत्तापट्टिको बजार देख्न सक्ने कुरा थिएन । एउटा पाखोको अवलोकनमा चित्त बुझाउनुपर्याे
। हाम्रो चासोलाई ध्यान दिइरहेकी रहिछन् एकजना युवतीले । उनी नेपाली भाषा बोल्न र बुझ्न
सक्ने स्तरकी रहिछन् । उनले भनिन्, “यताको पाटो त अलि खोँचको भयो, माथि फाँटिलो जमिन छ । फाँटिलोमा ठुलो शहर छ, त्यहाँबाट हेर्दा रमाइलो देखिन्छ अलमोरा । उतापट्टिको भाग पनि यो भन्दा फाँटिलो
छ । सबै सरकारी कार्यालयहरू, गैरसरकारी कार्यालयहरू र अन्य कम्पनीहरू माथि डाँडामा अनि उतापट्टि छन् । अलमोराको
टावरबाट हेर्दा रानीखेत, पिथौरागढ लगायतका अन्य रमाइला
स्थानहरू देखिन्छन् । पर्यटकहरूले दुर्विनबाट यसको मज्जा लिन्छन् ।“ ती युवतीले पुरानो चिनजानझैँ गरेर नेपाली भाषामा सुनाइन् । हामीले सुन्यौं । गाडी
चल्यो, अल्मोडामा निकै मानिस ओर्लिएछन् । अरु केही चडे । ती
युवती पनि चडिन् । हाम्रो दायाँपट्टिको ड्राइभर पछाडिको सिटमा तिनी बसिन् । केटीसित
गफ गर्न नपाएर दिनेशजी रुखिएका थिए बाटाभरि । उनको छेउमा बसे । ती युवतीले नाई नास्ती
गरिनन् । दिनेशजी र ती युवतीको गफ जम्यो । आरधना रहेछ उनको नाम । पहिले उनका बुबा देहेरादुनमा
जागिरे हुँदा लामो समय त्यहाँ बिताएकी, पढेकी रहिछन् उनले त्यहाँ । त्यहीँ नेपाली भाषा सिकेकी रे उनले । मसुरीतिर प्रायः
नेपाली बोल्ने मानिसहरू प्रयाप्त हुन्छन् ।
गाडी करिम करिम ओरालो जाँदै थियो । कहीं घुम्ती र कुइनेटा छिचल्दै थियो । मलाई प्यास लाग्यो । मैले सुन्तला निकालेर दिनेशजी र आरधनालाई दिएँ । पहिले त आरधनाले सुन्तला लिन मानिनन् कर गरेपछि लिइन् । हामी सुन्तला खान थाल्यौं । केहीबेरपछि एउटा खोलो आयो त्यो खोलो कटेपछि एउटा कोलोनी आयो । त्यो कोलोनीमा बस रोकियो ।
आरधना उठिन र बसबाट ओर्लिन । दिनेशजीको धीत मरेको थिएन सायद । उनी एक तमासले हेरिरहेका
थिए । आरधनाले मलाई नमस्कार गरेर बसबाट झरिन्, दिनेशजीलाई हात हल्लाएर ओझेल परिन् । बस कोलेनीको घुम्ती छिचलेर उतापट्टिको मोडमा
पुग्यो । आरधनाको करिब १ घण्टाको दिनेशजीसितको सहयात्रा टुङ्गियो । सम्झना बनेर मनमा
त्यो रहिरह्यो ।
दिनेशजी लोते लोते ढंगले मेरै छेउमा आएर बसे । अर्काे सुन्तला झिकेर खान थाले ।
उनको मनोदशा बुझेर पनि मैले केही भनिन । भन्नु पो के थियो र ! मानव मनका तरङ्गहरू तरङ्गित
हुने गर्छन् यौवनको उछाल आएका बेला । यो उछाल नियन्त्रण गरेन भने समस्या उत्पन्न गर्छ
। आजको समाज द्वापर युगजस्तो सहज छैन । द्वापर युगमा पुरुष स्वतन्त्र छ, अज्ञात बासका समयमा पाण्डवहरू जहाँ पुग्छन् त्यहाँ सहबास हुन्छ । सन्तान जन्मिन्छन्
। ती नै सन्तान कुरुक्षेत्रको युद्धमा सहयोगी बन्छन् । हुन त नारी पात्र द्रौपतीका
पाँच पति भए । कुन्तीले अविवाहित अवस्थामा सूर्यसितको संसर्गले कर्णलाई जन्म दिइन्
। पाण्डुको असक्तताको कारण कुन्तीका तपले जन्मिएका हुन् सबै पाण्डु पुत्रहरू । आज समय
जटिल छ, जिम्मेवारी माग गर्छ परिस्थितिले । यही परिस्थिति नमिल्दा
नारी पुरुषबिचका कयौँ भेद बाहिरिन्छन्, छोडपत्रमा मात्र होइन जीवन लीला नै समाप्त हुने गरेका घटना कयौं छन् । मनको रमाइलो
सबैलाई प्यारो हुन्छ तनको रमाइलो नियन्त्रित हुन जरुरत छ ।
दिनेशजी संयमित भैसकेका थिए, तैपनि राग पोखे, “एक घण्टा जति तरमाइलै बित्यो सर” मैले मुस्काएर उनलाई समर्थन जनाएँ । हाम्रो गाडी निकै माथि पहाडको भित्तामा गुडिरहेको थियो । कलेक्टर छनछनछन पारेर रेज्की पैसा बजाइ रहेका थिए । हामी करिब तीन बजे नैनीताल पुग्यौं ।
नैनीताल स्वर्गको सुखानुभूति दिने स्थान । सन् १८१६ सम्म नेपालको भूभाग । सुँगौली
सन्धिपछि यो अंग्रेजको अधीनमा गयो । गर्मी मौसममा पूर्वको दार्जेलिङ, पश्चिमको अल्मोडा, जस्तै ग्रीष्मकालीन समयमा आनन्दानुभूति
दिन सक्ने नैनीतालमा सतीदेवीको देब्रे आँखो पतन भएको पौराणिक कथन छ । अर्काे कुरा पनि
भनिन्छ नैनीतालको सृजना त्रय ऋषि महर्षिहरू अत्री, पुलस्त्य र पुलह ऋषिहरूको ताल मानिन्छ । प्यासले व्याकुल बनेका बेला पानीको अभावमा
ऋषिहरूको तप र सिद्धिद्वारा मानसरोवरको पानी ल्याएर ताल बनाएको भन्ने स्कन्द पुराणमा
वर्णन गरिएको छ । १९३८ मिटरको उचाइमा रहेको यो ताल गीष्मकालमा भ्रमण गर्न बडी रुचाइने
गर्छ । नैनीताल मिठो पानीको स्रोत हो । यो ताल अर्धचन्द्राकार वा भनुँ मृगौला आकारको
सुन्दर देखिन्छ ।
नैनीताल नजिकै अवस्थित नैनादेवी मन्दिर हिन्दु धर्मावालम्वीहरूलाई आस्था बिसाउन
जहिल्यै प्रतीक्षारत भएको भेटिन्छ । नैनीताल शिक्षाको क्षेत्रमा पनि चर्चित छ । सेन्ट
जोसेफ कलेजलगायतका शिक्षालय यहाँ छन् । नैनीतालमा अरु मुख्य हेर्ने पर्गेल्ने स्थानहरूमा
माल रोड, जहाँबाट नैनीतालको सुन्दर दृष्य नजरले कैद गर्न सकिन्छ
। केही सामान खरिद गर्न बजार क्षेत्र यही नै छ । बस्न र स्वादिष्ट खानाका होटलहरू पाइन्छन्
यहाँ । हामी नैनीतालको पूर्व मूल सडकको होटलमा बस्यौं । नैनीतालको अर्काे आकर्षक हेर्न
लायक स्थान भनेको “स्नो भ्यु पोइन्ट” हो । २२७० मिटर उचाइमा रहेको जहाँ
हिउँले ढाकिएका हिमश्रृङ्खलाहरू पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छन् । यहाँबाट टाढाटाढाका
स्थानहरू हेर्न पाइन्छ । दुर्बिनबाट चीनको तिब्बत पनि देख्न सकिन्छ ।
अंग्रेजहरूको शैली र सोखका आधारमा निर्मित नैनीताल क्षेत्रका भित्ता पाखाका ठुला
घर तथा भवनहरू बाक्ला ठुला रूखहरूका बिचबिचमा हुनाले निकै पुरानो संरचना बोध हुन्छ
। नैनीतालले यस्तो आकर्षक व्यवस्थापन र पहुँचमा बहुमार्ग पाउँदा नेपालमा अवस्थित राराताल, तिलिजो ताल, से फोक्सुण्डो ताल, गोसाइकुण्ड लगायतका मनोरम ताल तलैयाले भौतिक व्यवस्थापनको अभावमा संसारका पर्यटकहरूबाट
ओझेलमा रहनुपर्ने बाध्यता छ । नैनीताल आफैंमा सुन्दर ताल हो तथापि यसको पूर्वाधार बिकासले
थप सुन्दर बनेको लाग्यो मलाई । नेपालका फेवा ताल, वेगनास ताल अझ सुन्दर र विशाल ताल हुन् । रारा ताल विश्वकै सुन्दर ताल हो । रारा
तालको तुलना अरु कसैसँग हुँदैन । सेफोक्सुण्डो तालको वाई ‘थ’ आकार र रंग परिवर्तनले पर्यटकको हृदय छुन्छ । गोसाइकुण्ड आफैंमा सुन्दर कुण्ड हो
। हामी प्रकृति सम्पदाका धनी कुनै पनि शीर्षक वा नाममा हामी दुई नं. मा छैनौं । एक
नं. मा छांै । विश्वको सर्वाेच्च शिखर सगरमाथा हामीसँगै छ । वीर गोरखालीको नाम हामीले
कमाएका छांै । देशको बहु विविधता, धरतीको, नदी नालाको, ताल तलैयाको, पर्वत हिमश्रुङ्खलाको, बहु कृषि उपजको, बहु पन्छीहरूको जंगली जनवार लगायत
जातजाति भाषासंस्कृतिका एकएक थुँगा फूलले बनेका माला हुन् यी सब पक्ष, क्षेत्र र शीर्षक नेपालका । नेपाल सानो छैन, गरिब छैन भन्ने बोध गर्न मात्र ढिला भएको बोध हुन्छ मलाई ।
“सर कता हराउनुभयो ?” दिनेशजीले खै गरे मलाई । “यतिकै मनभित्र” भन्ने जवाफ दिएर म मुस्कुराएँ । म आफ्नो अन्तर जगत्बाट बाहिर आएँ । मन एकोहोरिएकै
थियो । मैले सम्झेँ, कहिले मेरो देशको काँचुली फेरिएला
। फेरि लोभ गर्याे मनले, १८१६ को सुँगौली सन्धिलाई १९४७
को भारत स्वतन्त्र हुँदाताका नेपाली भूमि दावी गर्न सकेको भए आज म नेपालको नैनीतालमा
हुने थिएँ ।
दिनै पिच्छेको यात्रा । पहाडी बाटो, शरीर गलेर लथ्रक्क परेको । नैनीतालको चिसो मौसम, मैले भनेँ “ए दिनेशजी यसो जिउ तताउनुपर्छ कि ?” दिनेशजीले कुरा बुझे कोठाबाट निस्किए । निकैबेरपछि खित्खिताएर हाँस्दै एउटा हातमा
प्लाष्टिकको झोलामा एक क्वाटर ह्वीस्की लिएर आए । उनको हँसाइ बुझिनसम्नु थियो । उनी
बिस्तारी भन्दै थिए, ‘सराबीका नाम, सराबीका बाबका नाम’ मैले कर गरेपछि कुरा खोले । “नेपालमा जस्तो जहाँतही रक्सी कहाँ पाइने रहेछ र सर ! यहाँ त पचासौं जनाको लाइनमा
बस्नु प¥यो । बल्लबल्ल आफ्नो पालो आएको पसलेले सोध्यो ’सराबीका नाम’ ? म त अलमल परेँ केहीबेर । मेरो पछाडिको मानिसले सिकायो । मैले मेरो र मेरा बुबाको
नाम लेखाएर यति रक्सी लिएर आएको “म छक्क परेँ, नेपालमा कतिपयको भनाइ छ कस्मेटिक
दोकानमा पनि रक्सी पाइन्छ । व्यवसायको यो एउटा तरिका मन प¥यो मलाई । तर रक्सी पिउन बाबुको नाम दर्ज गराउने कुरा राम्रो लागेन । आफ्नो नाम
दर्ज गराए पनि पितृको नाममा रक्सी खानु ठिक होइन पनि आ–आफ्ना तरिका ।
रेस्टुराँको केटाले दुइटा सिसाका ग्लास ल्यइदियो । दिनेशजीले एउटा गिलास फिर्ता
लगेर स्टिलको गिलास झिकाए । उनलाई पारदर्शी गिलनमा पिउन लाज लाग्छ भन्थे। उनले स्टिलको
ग्लासमा एक पेग पिए । मैले सिसाको ग्लासमा उनको डबल पिएँ ।
त्यसपछि हामीले बेलुकाको खाना खायौं र बिस्तरामा लम्पसार प¥यौं । शरीर निरन्तर यात्राले थकित भएको, केही सोमरस पिएको भए पनि निन्द्रा लागेन मलाई । मेरो मन हावामा उडेको वादलझैँ उड्न
थाल्यो । करिब १४ वर्ष पहिले २०५२ सालमा ट्रेडयुनियन विकास र विस्तार गर्ने क्रममा
राष्ट्रिय बाणिज्य बैङ्क कर्मचारी संघको दोस्रो केन्द्रीय परिषद् बैठक हामीले नेपालगंजमा
आयोजना गरिएका थियाेंै । त्यसताका त्यस संघको म महासचिव थिएँ । सल्लाहाकार माधव आचार्य
र म धनगढी महेन्द्रनगरका कतिपय शाखा कार्यलयस्तरमा संगठन विस्तार गर्न गएका थियौं ।
चक्रबहादुर बोहोरा, शंकर बोकटी र टेकबहादुर चन्द त्यसताका
त्यस क्षेत्रका संगठक थिए । उनीहरूको प्रस्तावमा टेकबहादुर चन्दको अगुवाइमा हामी नैनीताल
आएको स्मरण गरेँ मैले । त्यो भदौको महिना
थियो । तराईमा गर्मीले घघौरा उठेर खप्नु थिएन । नैनीतालको शीतल वहावले हामीलाई आनन्दित
बनाएको थियो । यसपटक हाम्रो नैनीतालसितको भेट चिसो महिना पुसमा भयो । मैले सिरक तानेर
टाउको छोपेँ, दिनेशजीले पनि त्यसै गरेँ ।
एकैचोटि कुखुराको भाले कराएको सुनियो । कुखुरी काँ.. कक् ...कक्.. । निन्द्रा खुलेको
कारण घडी हेरेँ मैले । साढे चार बजेछ । अघिदेखि बासिरहेको थियो सायद कुखुराको भाले
। निन्द्राले भुस भइएछ । थाहा पाइएन । गाडीले पनि हर्न लगाउन थालिसके छन् । पँ पँ पुँ
पुँ आवाज आइरहेको थियो । मैले दिनेशजीलाई उठाएँ र नित्य कर्ममा लागेँ । हामीले नैनीतालको
बिहानको चिसोसँगै तातो चिया र नास्ता खायौं । बिहान चार नबज्दै चिया नास्ताका पसलहरू
ग्राहक पर्खिएर बसेका हुँदा रहेछन् । हामीले सरकारी बसमा हल्दानीसम्मको टिकट लिएका
थियौं, त्यतै गुड्यौं ।
नैनीतालबाट करिम करिम ओरालो केही ठाउँमा मात्र घुमाउरो बाटो थियो । बस आफ्नै रफ्तारमा
गुडिरहेको थियो । हामी आर्या भट्ट रिसर्च सेन्टर, देवीधुरा, जेओलिकोते, रानीबाग काठ गोदाम हुँदै हल्दानी पुग्यौं ।
हल्दानीमा हामीले खाना खायौं । मधेश तराई जे भने पनि चिल्लो र पिरो बहुत हुने भारतीय
खाना । मसलाको डङ्गुर प्रयोगले खानाको वास्तविक स्वाद हराएको तैपनि पेटका जुका मार्नै
प¥यो नत्र खपिसक्नु हुन्न । हामीले वनबासा जाने बसको टिकट लियांै । भारतमा चल्ने
सरकारी बसको लोभलाग्दो पक्षले फेरि मलाई आकर्षित ग¥यो । बसमा लगभग ७० किलो मिटर टाढादेखिका कर्मचारीहरू हातमा टिफिनको बट्टा बोकेर
यात्रा गरिरहेका छन् आफ्नो जागिरे जीवनको । गाडी समयमा पुग्ने र यात्रुलाई समयमै पु¥याउने कार्यले टाडा टाढादेखिका कर्मचारी डेरा नबसेर बिहान अलि छिटो निस्कने बेलुका
अलि ढिलो पुगे पनि नबिग्रिने, आफ्नै घरको खाना, आफ्नै घरको बिस्तरा, आफ्नै परिवारसितको भोगाइ यो निकै आकर्षक थियो मेरा लागि । दिउँसोको खाना पनि श्रीमतीको, आमाको मिठो माया मिसिएको निकै स्वादिष्ट र स्वस्थ्यवर्दक हुन्थ्यो सायद त्यो ।
र त यति टाढादेखि उनीहरू टिफिन (खाजा) बोकेर हिँडेका छन् । नेपालीहरूमा यो पन छैन ।
देखावटी बडी छ । व्यवसायिक संस्कृति विकास गर्न जरुरत छ । आफ्नो भनेको आफ्नै हुन्छ
भनेर सिकाउन बाँकी छ । उसो त भारतका निश्चित वर्गका मानिसलाई रासन कार्डको व्यवस्था
गरिएको छ । रासन कार्ड र झोला बोकेर रासन लिन हिँड्नु भारतीय कर्मचारीलाई लाज लाग्दैन
। हामी कहाँ त्यो व्यवस्था छैन । भएमा पनि सायद लाज लाग्छ । नेपालीलाई रासन कार्डको
सहुलियत सामाग्री किन्न, खान । सार्वजनिक स्कुल पढ्न गरिब
आमाबाबुका छोराछोरी मान्दैनन् । अझ शुल्क मिनाहाको कुरा उठायो भने खपिसक्नु हुँदैन
। तीन छाक खाना खाँदैनन्, घुक्र्याउँछन् । आमाबाबुको आर्जन
क्षमताप्रति आँखा चिम्लन्छन् । हामीले हुर्काइरहेको देखावटी प्रवृत्तिले कुनैदिन हामीलाई
नै खाडलमा झार्नेछ । म यस्तै उस्तै सोच्दै थिएँ, दिनेशजीले भने “हेर्नु त सर यी मानिस कति टाढादेखि जागिर खान बसमा यात्रा गरेका !” मैले जवाफ दिएँ “हो त दिनेशजी म पनि त्यस्तै सोच्दै थिएँ ।“
हामी हल्दानीबाट लालकुआँ, किच्छा, सितारगंज, खटिमा हुँदै वनबासा पुग्यांै । वनबासाबाट रिक्सामा टनकपुर, टनकपुर पुल तरेर हामी महेन्द्रनगर पुग्दा दिनको १२ बजेको थियो । प्रबन्धक जुद्धबहादुर
कार्की र सहायक प्रबन्धक हरिशचन्द्र भट्ट अनि खजाञ्ची धनसिंह केसीले हामीलाई स्वागत
गरेँ ।
प्रबन्धक जुद्धबहादुरले सोधे “सरहरू त डडेल्धुरामा अड्किनु भा’छ रे ! कैलालीमा कर्फ्यु लागेका कारण भनेर भन्थे बिसीजीले
कसरी आउनुभयो यहाँसम्म ?” दिनेशजीले सारा वृतान्त बताए । मैले सोचेँ डडेल्धुरामा बसिएको भए त अझै पनि कर्फ्यु
हट्ने रहेनछ । धन्न हामीले बुद्धि पु¥यायौं । नत्र ता पर्खनुजस्तो गारो के हुन्छ र ! काम बेगर मानिसलाई समय बिताउन कम
सकस पर्दैन नि । धन्न यात्राले हामीलाई कामविहीन बनाएन ।
हामीले कामको विवरण तयार ग¥यौ । कागजात र कारोबार महेन्द्रनगर शाखाको पनि सुव्यवस्थित थिएन । मानिस कामका
निमित्त जिम्मेवारीमा बस्ने कि सानका निमित्त बस्ने यी दुई भिन्न कुरा हुन् । कतिपय
शाखा कार्यालयका फाइल र कागजात हेर्दा लाग्छ, मानिस कामले भन्दा बडी सानले जागिरका पदमा बसेका हुँदा रहेछन् । मेरा कलिक्स जुद्धबहादुर
कार्की, दिनेशजीका कलिक्स हरिशचन्द्र भट्ट । अझ हरिशचन्द्र त
आ.ले.प. विभागमा बसिसकेका व्यक्ति, कागजातको अवस्था निकै कमजोर थियो महेन्द्रनगरमा । हामी महेन्द्रनगर पुगेको भोलिपल्ट
कैलालीको कर्फ्यु हट्यो । सरकारले संरक्षण गरेको वनक्षेत्रमा सुकुम्वासीको नाममा गरिएको
हस्तक्षेप पछि हटेछ । माओवादीको सरकार गिराउने खेल असफल भएछ ।
हामीले धनगढीको समग्र काम बिहान सात बजेदेखि बेलुका छ बजेसम्म निरन्तर गरेर सात
दिनमा सक्यौं । हामीले चारवटा शाखाको काम एक महिनाको समय लिएर आएका थियौं । कर्फ्यु
लागेको कारण यत्रो बाटो घुमेर आउँदा पनि हामीले समय थपेनौं । महेन्द्रनगरबाट धनगढीसम्म
जान एउटा जिपमा जुद्धजीले मिलाई दिए । हामी धनगढीबाट काठमाडाँैका लागि यति एयरलाइन्सको
विमानबाट दिउँसो दुई बजे उड्यौं । विमान करिब १६ हजार फिटको उचाइमा चिलझँै उडिरहेको
थियो । दिनेशजीले भने “सर जागिरे जीवनमा भोलि कहाँकहाँ पुगिएला, के के भइएला त्यो गर्भमै रहेको विषय हो । तर यो हाम्रो आन्तरिक लेखापरीक्षणको यात्रा
चै निकै अविस्मरणीय रह्यो ।” दिनेशजीका कुरालाई साथ दिँदै मैले
थपेको थिएँ “हो नि दिनेशजी, हरेक यात्राहरूले केही न केही
नौलोपन थपेकै हुन्छन् नि” दिनेशजी मुस्कुराए ... जहाज आफ्नै
रफ्तारमा उडिरहेको थियो । कहिले वादलभित्र लुक्दै कहिले बादल बाहिर निस्कँदै, यसो भनौं लुकामरी खेल्दै... खेल्दै...!!!!