आफू नै बन्छ ईश्वर
हरिभक्त सिग्देल “महेश”
चलाएर छलाएर आहा आनन्द क्या मजा
आजको सुख आनन्द भोलि पर्सि तकै सजा ।
शिरदेखि पाउसम्मै शरीर रक्त दौडने
एक ह्वैन दुवै हेर स्वर्गीय दह पौडने ।।
मिठा वात दुवै हात चार चार भएपछि
हराई शुद्धि नै जम्मै स्वर्गमाथि पुगेपछि ।
चाहिन्नन् अन्यमा धेरै स्वर्ग सुख र खाद्य नै
दङ्ग ती देव छन् सारा खोज्दैनन् दीप अघ्र्य नै ।।
मन कर्म उता लक्ष्य वचन सत्य देवको
पाउँछु गर्छु म सेवा त्यही नै सत्य एकको ।
एकमै छ सबै सृष्टि साराको दृष्टिमा त्यही
सबै बुद्धि पसी खेल्ने क्षेत्र हो सत्यमा त्यही ।।
उर्जा मिल्छ बनी स्थायी मन चञ्चल हुन्न है
खान पान सबै निद्रा नियमभित्र चल्छ नै ।
यता उता कतै मित्र शत्रु ध्यान कतै पनि
एकत्रित छ यो हुन्छ लक्ष्य मात्र छ जीवनी ।।
उकाली साथ ओराली अगाडि र पछाडिको
ध्यान ज्ञान भई हेर आनन्द मिल्छ सत्यको ।
पाउनु बाँकी क्यै हुन्न पाइन्छ सब चीज नै
आफैँ नै बन्छ ईश्वर मिली दुवै अनन्त मै ।।