एकताले बनेको नमुना बस्ती कुप्शिपाखा
प्रतीक्षा रिजाल
गोरखा जिल्ला गण्डकी प्रदेशमा रहेको पर्यटकीय भूमि हो । वि. सं. २०७२ सालको महाभूकम्पको केन्द्रविन्दु रहेको यहाँका विभिन्न स्थानहरूले आफ्नो उज्यालो रुप बनाएर आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटकहरूलाई स्वागत गरिरहेका छन् ।
काठमाडौँबाट जाँदा गोरखा बजार, बारपाक र लाप्राक जाने बाटो बाह्र किलोबाट छुट्टिन्छ । अजिरकोट गाउँपालिका, सुलिकोट गाउँपालिका पार गरेपछि धार्चे गाउँपालिका पुगिन्छ । त्यहीँ धार्चे गाउँपालिकामा सौन्दर्यता झल्काइरहेको लाप्राकको नमुना बस्ती अवस्थित छ । बारपाकसम्म गाडीको यात्रा तय गरेपछि हिँडेर करिब साढे २ देखि ३ घण्टामा नमुना बस्ती पुग्न सकिन्छ । त्यहाँ जान जिप पनि यात्रुहरू कुरेर बसिरहेका भेटिन्छन् ।
लाप्राकको पुरानो बस्तीलाई नेपाल सरकारले वि. सं. २०५८ सालमा रेड जोन घोषणा गर्दै तत्काल बस्ती सार्नुपर्ने योजना बनाएको थियो । तत्काल त्यो बस्ती सार्न सम्भव भएन वा सार्न खोजिएन, बस्ती सरेन र वि. स. २०७२ सालको भूकम्पले बस्ती ध्वस्त बनायो । अहिलेको नमुना बस्तीभन्दा तल रहेको लाप्राकको पुरानो बस्ती ध्वस्त भएपछि त्यसै ठाउँका युवाहरूको पहलमा गैरआवासीय नेपाली सङ्घका शेस घले, राष्ट्रिय योजना आयोगका सदस्य डा. गणेश गुरुङ, धार्चे गाउँपालिकाका निवर्तमान अध्यक्ष सन्तोष गुरुङ र अन्य व्यक्ति मिलेर बस्ती सार्ने योजना सहितको प्रतिवेदन बनाएर पेश ग¥यो । छरिएर बस्न नरुचाउने गुरुङ जातिका व्यक्तिहरू बस्नको लागि उपयुक्त ठाउँ खोजी गरियो । गैरआवासीय नेपाली सङ्घसँग विभिन्न चरणमा छलफल गर्दै बस्ती बसाउनको लागि बनाइएको योजना पारित भयो । लाप्राकमा कुप्शिपाखा नामक अग्लो ठाउँमा बस्ती बसाल्न उचित हुने विभिन्न अध्ययन भए पश्चात् नेपाल सरकारको १८ हेक्टर जमिनमा बस्ती निर्माण गर्ने निर्णय भयो ।
लाम्पाला भन्ने गुरुङ भाषा शब्दको अर्थबिच बाटो भन्ने बुझिन्छ । पहिले पहिले सामान किनबेच गर्न आउनेजाने क्रममा पुर्खाहरू आएर बस्ने बिच बाटोलाई लाम्पाला भनिने र पछि त्यसलाई लाप्राक भन्न थालिएको रहेछ । त्यस्तै कुप्शिपाखा भनेको गुरुङ भाषामा खुल्ला चौर भन्ने रहेछ । त्यही कुप्शिपाखालाई नै अहिले नमुना बस्ती, नयाँ बस्ती भनिन्छ । समुद्री सतहबाट २७०० मिटर माथिको उचाइमा रहेको यस ठाउँमा लाप्राकको पुरानो बस्तीलाई सारेर नयाँ बस्ती बसाइयो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, शहरी विकास मन्त्रालय र गैरआवासीय नेपाली संघबिच वि.सं. २०७३ वैशाख १२ मा त्रिपक्षीय सम्झौता अनुसार धार्चे गाउँपालिका वडा नं. ४ मा लाप्राक नमुना बस्ती निर्माण गरी वि. सं. २०७८ वैशाख ९ गते हस्तान्तरण भयो । विभिन्न संघसंस्था, दाताहरू र स्थानीयहरूको सहयोगले त्यस बस्ती बन्न सफल भयो ।
पहिला ५७३ घर बनाएर तयार भएपछि पुरानो बस्तीका व्यक्तिहरूको गुनासो सुनुवाइ पश्चात २९ घर थप गरेर जम्मा ६०२ बन्यो । सामुदायिक होमस्टेको रुपमा विकास गर्न एक घर एक पाहुना राख्ने हिसाबले बनाइएको बस्तीका कयौँ घर खाली नै भेटिन्छन् । खेती गर्ने जग्गा पुरानो बस्तीमा नै भएकाले पनि उहाँहरू प्रायः त्यहाँभन्दा पनि पुरानै ठाउँमा बस्ने गर्नुभएको पाइयो । ३ आना १ पैसा जग्गामा बनेको घरको लालपुर्जा सबैको हातमा परिसकेको भए पनि खासै आम्दानीको स्रोत नभएको कारण पनि बस्तीमा मानव चहलपहल निकै कम देखिन्छ । बत्ती, पानी, नेट, सञ्चार, स्वास्थ्य र शिक्षाको सुविधा भए तापनि आयआर्जनको लागि उहाँहरूले पर्यटक नै कुर्नुपर्ने हुन्छ । मङ्सिर र पुस महिनामा हिउँ खेल्न आउने र चैत्र वैशाखमा गुराँस हेर्न आउनेको सङ्ख्या प्रशस्तै हुन्छ । नजिकै रहेको बौद्ध हिमालले पर्यटकलाई डाकिरहेको मनोरम दृश्य हेर्न सकिन्छ ।
होमस्टे मात्र नभई होटलको पनि सुविधा भएको यस ठाउँका मानिसहरू अत्यन्तै मिलनसार र सहयोगी छन् । पाहुनाहरूको स्वागतको लागि उनीहरू सदैव तत्पर देखिन्छन् । स्थानीय खानाखानेको स्वाद लिँदै नाचगानको रमाइलो लिनको लागि भने त्यहीँ नै पुग्नुपर्छ । उनीहरूको बोली घुम्न आउने सिजनमा होटल प्रायः बाह्य पर्यटकहरूले नै भरिएको हुन्छ । भविष्यमा इमान पार्क, च्यअप अष्mिदष्लन, ८०० मिटर लामो जिपलाइन इत्यादि जस्ता पर्यटकीय योजना पूरा गर्नका लागि काँधमा काँध मिलाएर उनीहरू लागिरहेका छन् । सामुदायिक होमस्टेलाई व्यवस्थापन गर्न नमुना बस्तीमा आउने पर्यटकहरूको दर्ताको लागि सामुदायिक होमस्टे समितिको निर्माण हुँदै छ । प्राकृतिक सौन्र्दयता, सांस्कृतिक एकताले पर्यटकीय आवतजावतलाई बढाएको छ । स्वदेशको पहिचान गर्न हामी नै अघि बढ्नुपर्छ । आज हामीले आफ्नो ठाउँ चिने मात्र भोलि अरुलाई चिनाउनसकिन्छ ।
– स्वभिमान बस्ती, बारा, ९८४१६३५६६०