जीवनी
सहिद रामनाथ दाहाल र
उनको एउटा कविता
झापा विद्रोहलाई नेपालको राजनीतिमा पञ्चायतलाई हल्लाउने आन्दोलनको रूपमा पनि लिइन्छ । सुखानीमा रामनाथ दाहाल, नेत्र घिमिरे, बिरेनसिंह राजवंशी, कृष्ण कुँइकेल र नारायण श्रेष्ठले सहादत प्राप्त गरेका थिए । शक्तिशाली विचार भएर पनि कहिलेकाहीँ आन्दोलन र राजनीतिक यात्रा पूरा नहुन सक्छ । राजनीति निरन्तरतामा मूल्याङ्कन हुने विषय हो । त्यही सन्दर्भमा सुखानीका सहिदहरूको बलिदानको मूल्यलाई हेर्नु पर्ने हुन्छ । २०४६ सालको परिवर्तन र २०५२ फागुन १ देखि सुरु भएको जनयुद्धको जगमा ०६२÷०६३ सालमा प्राप्त परिवर्तनलाई स्मरण गर्दा सुखानी काण्ड चर्चित बलिदानको गाथा बोकेको घटनाक्रम हो । यही पृष्ठभूमिमा यस लेखमा सुखानीमा सहादत प्राप्त गर्ने एक मात्र स्रष्टा सहिद रामनाथ दाहालको कविता ‘भतुवा कुकुर र बहुला कुकुरहरू’ शीर्षकको कवितामाथि छोटो चर्चा गरिएको छ । सहिद रामनाथ दाहाल (जीवनकाल वि. सं. १९९५–२०२९) नेपाली राजनीति क्षेत्रमा एउटा बौद्धिक र सृजनशील नाम हो । सुखानीका सहिदहरूको प्रसङ्गमा रामनाथ दाहालको नाम पटक–पटक उच्चारण गरिन्छ ।
पल्याकपुलुक लुरुलुरु
बिचबिचमा रोकिँदै
बाटाको यादगारमा साँध राख्तै राख्तै
हाम्रा नानीहरूलाई राखेको दुधको ढुङ्ग्रो र
कुखुराको हड्डीहरू चुस्न मन ठानेर
डुलिरहेका छन् गाउँभरि गल्लीगल्ली
भतुवा कुकुरहरू !
लहै लहै मालिक कुकुरहरू
भुकभुक गर्दै घेरिरहेका छन्
ती विदेशी कुकुरहरूलाई
ङिच्च दाँत देखाएर टाङमुनि
पुच्छरको घुम्टो ओढेर
उईउई गर्दै माग्छौ माफी भागेर
वर्ग समन्वयको घोडी दिन्छन् आडमा
हाम्रो गाउँमा नआऊ है भन्ने सम्झौता कसेर
मानहानिको घेराभित्र
उकुस मुकुस हुँदै बौलाइसकेका छन्
यी पेटभित्र बच्चा बोकेर
यी हाम्रो कुकुरहरूलाई बौलाहा पनि भनेर
अब त टोकिसकेका छौ
धेरै धेरै हाम्रा कुकुरहरू
अब त चालपाइसकेका छन्
ती मानिस जस्तै मानिसहरूले
अब त बसिसकेका छन् ती सजग प्रहरीहरू
प्रगतिशीलताको राँको लिएर
भाला र बर्छा हातमा बोकेर
यी कुकुरहरूको तलैदेखि अपसताली पार्न भनेर
यहाँ बजिरहेको छ बिगुल
सङ्घर्षको मान्छे मान्छेमा ।
सहिद कवि रामनाथ दाहालको ‘भतुवा कुकुर र बहुला कुकुर’ २०२५ साल फागुन १९ गते लेखिएको
कविता हो । यो गद्य कविताले नेपालको तत्कालीन
आन्तरिक र बाह्य परिवेशलाई
निर्मम ढङ्गले चित्रण गरेको देखिन्छ । जम्मा २९ पङ्क्तिमा संरचित यस कवितमा निम्नानुसार
विषयवस्तुको प्रस्तुति र अभिलक्षण प्राप्त गर्न सकिन्छ ।
(क) शासकप्रति
तीब्र आलोचना
‘भतुवा कुकुर र बहुला कुकुरहरू’ कविताले नेपालका तत्कालीन शासकलाई भतुवा कुकुरको संज्ञा
दिएका छन् । कवि अर्काको आडमा बाँच्दै दमन र शोषणको चक्र चलाउनेहरूले जनतालाई दिनप्रति
दिन दुःख दिएको सन्दर्भ उल्लेख गरेका छन् । कवितामा नेपाली जनताको रोग, भोक र शोकको अन्त्य गर्न चालेका हरेक पहलमा अवरोध सृजना गर्ने शासकहरू ‘भतुवामात्र नभएर आफँै बहुला’ बनिसकेको सन्दर्भ उल्लेख भएको छ । देशको शासन व्यवस्थाप्रति
जनताको असन्तुष्टि चुलिएको बेला बस्तीमा दमनको चक्रचलाएर कस्तो शासन लाद्न खोजेको हो
भन्ने प्रश्न यस कविताले उठान गरेको छ । जनता जागिसकेको परिप्रेक्ष्यमा पनि जनतालाई
दमन गर्न सकिन्छ भन्ने भ्रम पालेर अगाडि बढ्न खोज्नु शासकहरूको अन्त्यको लक्षण हो भन्ने
विचार कवितामा शक्तिशाली बनेर आएको छ । जनताको गाँस खोस्ने, बास भत्काउने अनि जनताको सेवक हुँ भन्ने उद्घोष गर्नेहरूको दिन छोटिएको प्रसङ्ग
कवितामा प्रकट भएको छ । विदेशीहरूको सामु प्रत्येक मुद्दामा भुक्ने र आफूलाई जनताको
प्रतिनिधि हुँ भन्न लाज नमान्नेहरूले अरुलाई बहुला देख्दछन् ।
ङिच्च दाँत देखाएर टाङमुनि
पुच्छरको घुम्टो ओढेर
उईउई गर्दै माग्छौ माफी भागेर
प्रत्येक जटिल विषयमा विदेशीको आड लिने र जनताको सही प्रश्नको उत्तर दिन नसक्नेहरू
केवल परिचालित दलालहरू हुन् । आजको दलाल पुँजीवादको सपाट विषय पनि यस कविताभित्र प्रस्तुत
भएको छ । स्वाभिमानी नागरिक बन्न नदिने मात्र होइन पराधीन बन्नै पर्ने बाध्यता नस्वीकारे
अस्तित्व समाप्त गरिदिने धम्कीको सामना गर्नुपर्ने आजको वस्तु यथार्थ कवितामा प्रस्तुत
छ । जसरी विश्वको कुनै पनि कुनामा रहेका श्रमिकको पीडा उस्तै र सङ्घर्षको स्वरूप र
विधि उस्तै उस्तै हुन्छ त्यसैगरी क्रूर शासकहरूको सञ्जाल पनि सङ्गठित हुने विषय कविताले
उठान गरेको छ ।
(ख) वर्गसङ्घर्षको आवश्यकताप्रति जोड
समाज वर्गमा विभक्त छ । राज्यको साधन र स्रोतमा हैकम जमाएर बसेकाहरूले श्रम गर्नेहरूप्रति
कहिल्यै न्याय गरेनन् । न्याय र समानताका निम्ति न्यायपूर्ण लडाई लड्नुपर्छ । वर्ग
समन्वयले वर्गीय आन्दोलनलाई कमजोर बनाउँछ । सम्झौतामा होइन सङ्घर्षद्वारा प्राप्त उपलब्धिले
मात्र राज्यभित्र रहेका शोषित, पीडितलाई न्यायदिन सक्दछ । वर्गसङ्घर्ष
कसैले रोकेर रोकिने विषय होइन, दबाउन खोजेर पनि न्यायपूर्ण आवाज
कहाँ दब्छ र ! एक्काइसौं शताब्दीमा जन–जनमा चेतना फैलिँदै गएको
र कसैको निषेधलाई सङ्घर्षद्वारा पराजित गर्न अगाडि बढ्नुपर्ने उद्घोष कवितामा भएको
छ ।
प्रगतिशीलताको राँको लिएर
भाला र बर्छा हातमा बोकेर
यहाँ बजिरहेको छ बिगुल
सङ्घर्षको मान्छे मान्छेमा ।
श्रमको इतिहास मर्दैन । श्रमिकलाई दमन गर्नेहरू र श्रमको मूल्य चुक्ता नगर्नेहरू
शोषक हुन् । शोषण र दमनका विरुद्धमा आवाज उठ्न थालेपछि जनसङ्गठन निर्माण हुने र त्यसको
बलमा न्याय र समानताको निम्ति मुक्तिको यात्रा तय हुने दृढोक्ति कवितामा रहेको छ ।
(ग) प्रतीकात्मक
र कलात्मक प्रस्तुति
विचारमा प्रतिबन्ध गर्दै राजनीतिलाई लुटिखाने माध्यम बनाएका तत्कालीन शासकहरूलाई
कविले श्रमविना बाँच्ने स्वअस्तित्व नभएको आफ्नो मस्तिष्कले काम नगर्ने कठोर र आक्रामक
पशुको कोटिमा राखिने विषय चर्चा गरेका छन् । जनता सत्ताको धाकधम्कीमा नबाँच्ने वर्ग
हो । ऊ आफूमात्र होइन सबैलाई जगाइ समाधानार्थ मुक्तिको बाटो तय गर्दछ । सङ्घर्षको क्रममा
आउने बाधा व्यवधानलाई हटाउँदै अगाडि बढ्न चेतनाको झिल्को प्राप्त भइसकेको अवस्थामा
चिन्ता मान्नुहुँदैन । कविले बस्ती–बस्तीमा चेतनाको दियालो
सल्किसकेको सङ्केत गरेका छन् । २०२५ फागुन १९ गते रचना गरिएको ‘भतुवा कुकुर र बहुला कुकुरहरू’ शीर्षकको कविताले प्रतीकात्मक शैली र कलात्मक भाषाको
प्रयोगमा राज्य व्यवस्थाको स्तर र अवस्थालाई दर्शाएको छ ।
निष्कर्ष
कवि रामनाथ दाहाल सुखानीका सहिदहरूमध्ये नेतृत्वदायी साङ्गठनिक भूमिकामा रहेका
व्यक्ति थिए । उनी जातभातको विषयमा स्पष्ट थिए । विभेदरहित समाजको निर्माणमा उनको साहसिक
अगुवाई रह्यो । पूर्वाञ्चलको लोक संस्कृति र मौलिक कलालाई लिखित र मौखिक रूपमा कलात्मक
अभिव्यक्त दिने रामनाथ दाहाल पञ्चायती व्यवस्थाका कट्टर आलोचक र वर्ग सङ्घर्षका अभियन्ता
हुन् । वि.सं. २०२९ सालमा तत्कालीन राज्यसत्ताले धेरै प्रयास गरेर उनलाई पक्राउ गर्न
सफल भयो ।
प्रहरीको घेरामा पनि
उनले मुक्तिको गीत गाइरहे ।
‘बाँचेँ भने यही बाटो फिर्नेनी
मरेँ भने बालुवा सिरानी’
भन्ने गीत गाउँदै उनी हाँसीहाँसी जीवन उत्सर्गको यात्रामा सहभागी भए । दमनकारी
पञ्चायतलाई सिधैँ चुनौती दिने उद्घोष रामनाथ दाहालको हत्या गरे पनि आजसम्म उत्तिकै
ऊर्जा बोकेर जनताको मत र आवाजको दर्ज भई बाँचेको छ ।
(कविता साभार ः सु्खानी स्मारिका २०६८, पृ. १०७)