लघुकथा
विनोद दाहाल “वत्स”
राजाको क्षेत्रीय भ्रमण सुरु
भयो । एक महिनाका लागि पूर्वाञ्चल भ्रमणको कार्यक्रम तय भयो । एउटा स्थानलाई केन्द्र बनाएर उनी क्षेत्रका सबै
जिल्लामा पालैपालो जान्थे र दुईचार घण्टा त्यहाँ बसेर फर्किन्थे ।
गाउँगाउँबाट मानव सागर राजाको दर्शन गर्न ओइरिन्थे । तत्कालीन व्यवस्थाका
भक्त र स्थानीय पदाधिकारीहरू राजाको चाकरीको अवसर पर्खिन्थे । कतिले चाकरीबाटै शुभलाभ
हात पार्थे ।
एकदिन शिविरमा बाहिर कलिलो, न्यानो, पारिलो घाममा चियाको चुस्कीसँगै पत्रिका पढेर राजा
बसिरहेका थिए । परबाट एउटी आइमाई काखीमा एउटा बच्चा च्यापेर राजातिर न्यायको याचना
गर्दै आई र ‘सरकार न्याय पाऊँ’ भनी ।
मैला लुगा लाएकी अस्तव्यस्त फोहोरी देखिने आइमाई, मरन्च्याँसे सिँगाने बच्चा च्यापेकी त्यस आइमाईलाई सुरक्षाकर्मी र राजनेताहरूले परै रोके । राजाले देखेर ‘छोडिदेओ, के भन्न चाहन्छे भनोस्’ भनेपछि त्यो आइमाई राजाका छेउमा आएर रोकिई ।
राजाले ‘के भयो ?’ भनेर सोधे । ‘लोग्नेले
कुटेर घरबाट निकालिदियो । यस्तो बच्चा छ कसरी हुर्काऊँ ? सरकार न्याय पाऊँ’ भनी । राजाले अलिक ठुलो स्वरमा सोधे, ‘कहाँ छ
त तेरो लोग्ने ?’ राजाभन्दा दस मिटर पर उभिएर भारदारी
गफमा मस्त सवारी मन्त्री दौडेर आए र आधा झुकेर जम्ला हात गर्दै, ‘सरकार, म यही
छु’ भनेर जवाफ दिए ।
राजा हाँसे र भारदारहरूको समूह पनि हाँस्यो । मन्त्री भने जिल्ल परे
।
राजाले, ‘तिमी यसको लोग्ने हौ ?’ भनेर सोधे । उनले ‘होइन सरकार’ भनेर जवाफ दिए । राजाले फेरि ‘मैले त यसलाई कहाँ छ तेरो लोग्ने भनेर सोधेको तिमी त म यहीँ छु भन्छौ, के चाला हो तिम्रो यस्तो ?’ सवारी मन्त्रीले क्षमा मागे । चाकरीको मनस्थिति बोकेका उनी चाकरीमा कुनै कमी हुन्छ कि भन्नेमा सचेत थिए । त्यसैले उनले ‘कहाँ छ तेरो लोग्ने ?’ लाई ‘कहाँ छ त्यो लोहनी ?’ सुनेछन् ।
– सिनपा –७, ओखलढुङ्गा, हालः बुनपा
–१२, काठमाडौँ