बालकविता
भलादमी भोला
म झोला हुँ
काँधमा चढ्न सक्छु
पिठ्युँमा बोकिन सक्छु
तिमीले फ्यात्त फ्याल्दा
म रोइदिन्छु
तिमीले जतन गर्दा
म हाँसिदिन्छु
माया गर्नेले
मलाई अँगालो हाल्छन्
काखी च्याप्छन्
म किताब, कापीले भरिन्छु
पेन्सिल, इरेजरले उचालिन्छु
म ज्ञानको भोको छु
तिमीजस्तै र त
तिमीसँग कक्षामा हुन्छु
मलाई तिम्रा कलिला हातले
काउकुती लाग्छ
तिमीले नछोए
लुकेर हराउँ झैँ लाग्छ
तिमीले गृहकार्य गर्दा
म खुसी हुन्छु
मलाई सफा गरेनौं भने
धुरुधुरु रुन्छु
मेरो जतन नगरे
तिम्रो किताब, कापी नासिन्छ
मेरो अपमान गरे
म सधैँ रिसाउँछु
बिग्रिदिन्छु
च्यातिदिन्छु, बोल्दिन
परपर भाग्छु
कहिले हिँड्दा हिँड्दै चेन खोलेर
किताब पोखिदिन्छु अनि
खुचिङ्ग गरेर हाँसिरहन्छु
किनकि म झोला हुँ
अँध्यारो बढारेर
उज्यालो पर्दा खोल्छु
राम्रो पढ्नलाई
मेरो जतन गर
म तिम्रो इज्जत गर्नेछु
किनकि
म झोला हुँ ।
– ९८४३०५४१६१