समीक्षा
कवि एवम् पत्रकार श्रीराम राई खोटाङे श्रष्टा हुन् । खोटाङको दिक्तेल
रूपाकोट मजुवागढी–७ मा जन्मिएर भाषा, साहित्य र पत्रकारितामा रमाउँदै बाल साहित्यको सिर्जनाकर्ममा
लागेका सुपरिचित लेखक हुन् । नेपाली भाषा मात्र
नभएरआफ्नै मातृभाषाको उन्नयनमा दत्तचित्त भएर लागिपरेका युवा श्रष्टा राई बालकथा, कविता, लघुकथा, गजल लगायतका साहित्यिक विधाको लेखनमा क्रियाशील
छन् । त्यसो त बालबालिकाहरूलाई साहित्यको माध्यमद्वारा उत्प्रेरित गर्न बाल साहित्यको
लेखनमा लागिरहेका छन् । टोली नेता बालकथासङ्ग्रह २०७४, आजका लघुकथा संयुक्त लघुकथासङ्ग्रह
२०७८, पोलेको मकै बालकथासङ्ग्रह २०७८
लागायतका पुस्तकाकार कृति प्रकाशित भइसकेका छन् ।
पोलेको मकै बालकथासङ्ग्रह २०७८
सालमा बुक हिमालयद्वारा प्रकाशित कृति हो । यस कृतिमा मुनाको अभियान, बलजितको जुक्ति, सुम्निमाको भ्रमण, पोलेको मकै, फूल फुलुन्
चरी उडुन्, पारूको पढाइ र बुबाको एसएमएस
गरी सात ओटा बालकथाहरू सङ्गृहीत छन् । बाल मनाविज्ञानलाई प्रभावित पार्दै रमाइलो र
शिक्षाप्रद किसिमले उनिएका कथाहरू सामाजिक जीवनमा बालबालिकाहरूलाई रोचक झैँ लाग्दछन्
।
पहिलो कथा मुनाको अभियान अन्तर्गत भूकम्पले जमिन हल्लिएर पालमा बस्ताको पीडा समेटिएको छ । २०७२ साल बैशाख १२ गते आएको ७.८ रेक्टरको भूकम्पले घरहरू भत्किएर मुनाको परिवार पालमा बस्नु परेको र भूकम्प प्रतिरोधी घर बनाएर भविश्यमा आउने भूकम्पबाट बच्ने योजना मुनाले सुनाएको र सो योजनामा अरुले पनि सहमति जनाएको देखिन्छ । अर्को कथा बलजितको जुक्तिले सटर भाडा लिएर सडट चले पनि समयमै भाडा नतिर्ने सटर भाडावाललाई भाडा तिर्न बलजितले चालेको जुक्ति हो । सानै उमेर भए पनि जुक्ति निकालेर काम पट्याउनुपर्छ भन्ने वोध यस कथामा अभिव्यक्त भएको देखिन्छ । बच्चाहरूलाई पढाइमा मात्र व्यस्त राखेर हुँदैन । उनीहरूको चहाना पनि पूरा गरिदिनुपर्दछ । सुम्निमाको घुम्ने रहर पूरा हुँदा खसी व्यक्त भएको कथा हो सुम्निमाको भ्रमण । त्यसैगरी पोलेको मकै बाल कथासङ्ग्रहको शीर्षक कथा हो । आजका बालबालिकाहरू घरायसी खानाभन्दा आयातित खानामा लोभिएका हुन्छन् । चिजबल, चाउचाउ, कुरकुरे, पानीपुरी, चकलेटजस्ता खानेकुरा मन पराउने तर पोलेको मकै, तरुल, मकैभटमास या कन्दमुल दियो भने खान मान्दैनन् । प्रज्ञाले पोलेको मकै साथी चाँदनीलाई दिदा जंगफुटको र आफ्नो आर्थिक हैसियतको पुर्ति लगाएर पोलेको मकैको अपमान गरिएको बाल मनोविज्ञानपूर्ण कथा हो । जंगपुटको असरले चाँदनीलाई जन्डिस भएको र निको भए पश्चात प्रज्ञाको कुरा मानेर चाँदनीसमेत जंगफुट हैन अर्गानिक पोलेको मकै खान लाग्नु बाल चेतनाको परिवर्तित अवस्था हो । यी कथाहरूमा समाजमा बाल जीवनमा देखिएका भावनाहरूलाई नै प्रतिबिम्बित गरेर बालकथाकार श्रीराम राईले पोलेको कमैमा प्रस्फुटित गरेका छन् । यस सङ्ग्रहभित्रका कथाहरू सरल र सहस भाषाशैलीको प्रयोगबाट वोधगम्य र सन्देशमूलकका साथै रोचक छन् । पात्रहरू परिवर्तनकामी, सकारात्मक र उत्साहीरहेको देखिन्छ । हरेक कथाहरू रोचक र पठनीय छन् । यी कथाहरू विद्यालय तहका बालबालिकाहरूका लागि उपयोगी र शिक्षामूलक हुने देखिन्छ ।