बाँस्कोटा धनञ्जय
कृष्ण बजगाईं हाल बेलायतमा बसेर नेपाली साहित्यमा निरन्तर लागिरहेका
छन् । नेपाली साहित्यलाई विशेषत नियात्राद्वारा नयाँ उचाइतर्पm लैजाने नाम हो कृष्ण बजगाईं । डायस्पोरिक लेखनले
नेपाली साहित्यलाई अर्को भूगोलमा छर्ने र अर्को भूगोललाई नेपाली माटोमा छर्ने नाम हो
कृष्ण बजगाईं । नेपाली पाठकहरूलाई विदेशी भूमिको कला, संस्कृति, इतिहास, जीवन शैली र विकासलाई नेपाली पाठकहरूमाझ ल्याउने
नाम हो कृष्ण बजगाईं ।
साहित्यका सबै विधामा कलम चलाउने बजगाईं मूलतः नियात्रा लेखनमा आफ्नो उपस्थिति बलियो बनाएर अक्षरमा बगिरहन्छन् । १८ वटा पुस्तक प्रकाशन गरिसकेका बजगाईंका नियात्रा, लघुकथा र बालकथाहरू विद्यालय र विश्व विद्यालयस्तरमा पढाइसमेत हुन्छन् । बजगाईंको पछिल्लो नियात्रासङग्रह युङफ्राउ (२०८०) जुन उनको पाँचौं नियात्रासङ्ग्रह हो र नियात्रा लेखनको यो पछिल्लो आयाम पनि हो ।
नियात्रा शताब्दीयौंदेखि मानवीय कथा वाचनको अभिन्न अंग बन्दै आएको छ । अन्वेषकहरू, तीर्थयात्रीहरू, घुमन्तेहरूका अनुभूति नै आजका नियात्राका आधार हुन् । नियात्राले विभिन्न संस्कृति, भूगोल, जीनशैली र व्यवहारको अनुभव पाठकहरूलाई बाँड्छ । अनि पाठकहरू घरैमा बसेर कहिले आइफेल टावरमा चढिरहेका हुन्छन्, कहिले बेबिलोनको बगैंचामा घुमिरहेका हुन्छन् । कहिले अमेजनको जंगल घुमिरहेका हुन्छन् पाठकहरू । कहिले युरोपका चिसा मैदानहरूमा कुदिरहेका हुन्छन् पाठकहरू । कहिले अफ्रिकाका मरुभूमि र बञ्जर भूमिमा रफर गरिरहेका हुन्छन् पाठकहरू । कहिले अष्ट्रेलियाका जंगलमा कंगारुसँग खेलिरहेका हुन्छन् पाठकहरू । कहिले हिरोसिमाका अवशेषहरूको दृष्टिगोचर गरिरहेका हुन्छन् पाठकहरू । कहिले अफ्रिकाका आदिबासीहरूको सांस्कृतिक नाच हेरिरहेका हुन्छन् पाठकहरू ।
आज हामी संसारलाई अक्षरमा पढ्न सक्छौं । संसारका अनेक रंग र आयामहरूलाई अक्षरमा पिउन सक्छौं । यो सबै नियात्रा साहित्यको योगदान हो । ग्रिसेली इतिहासकार हेरोडोट्सबाट सुरु भएको यात्रा साहित्य मध्ययुगमा आएर मार्कोपोलोहरूले त्यसलाई निरन्तरता दिए । जोफ्रे चौसरको लोकप्रिय काव्य ‘क्यान्टरबरी टेल्स’ (क्यान्टरबरीका कथाहरू) पनि तीर्थयात्रीहरूले भनेका कथा हुन् । यसरी यात्राका आयामहरू थपिंदै गए । बेलायती लेखक जोनाथन स्वीफ्टले गुलिभरको यात्रा (गुलिभरर्स ट्रभल्स) लेखे जुन यात्रा साहित्यको अजीव प्रयोग थियो । गुलिभर मात्र ६ इन्च अग्ला लिलिपुटनहरूको संसारमा पुग्छन् । यात्रा लेखन निरन्तर अघि बढिरह्यो र यो सर्वाधिक रुचाइको विधा पनि भयो । रविन्सन क्रुशो नपढ्ने बिरलै होलान आज । कोलम्बस, मार्कोपोलो नपढ्ने कमै होलान आज । अनि इ.एम. फोस्टर, सल्मान रुश्दी नपढ्ने बिरलै होलान् आज । त्यसैले त आज अनेकौं आयाममा नियात्रा लेख्ने र पढ्नेहरूको घुइँचो नै छ संसारभर ।
खासगरी नियात्रामा व्यक्तिगत अवलोकन र अनुभवलाई रंगाएर पस्किइन्छ । यसो गर्दा अनेक बिम्बहरू प्रयोगमा आउँछन् । त्यहाँको जीवन, समाज र संस्कृति चित्रिन्छन् । यसको लागि ‘न्यारेटिभ’ संरचनाको भाषशैलीको प्रयोग गरिन्छ । यात्राको क्रमागत विवरण, घटनाको विकास र परिवर्तन, तिनको क्रमागत प्रस्तुतिमा नियात्रा जग्मगाउने गर्छ । नियात्राले खासगरीः
– अरूसँगको जम्काभेट गराउँछ
– पहिचानको निर्माण गराउँछ
– विगत, वर्तमान र आगतको सशक्त सम्झना गराउँछ
– कथावाचनको कलाले ठाउँ विशेषको
जीवन्तता पस्किएको हुन्छ
– तथ्यगत र सिर्जनात्मक शैलीको
प्रयोग हुन्छ ।
आज नियात्रा लेखनका बारेमा दुईवटा धार पाइएको छ । एउटा धारले भन्छ — नियात्रा भनेको यात्रामा देखिएका, भोगिएका, अनुभूत गरिएका, प्रभावित भइएका, मन छुने घटना र प्रवृत्तिहरू पाइएका कुराहरूको इतिबृत्ति हो । ठ्याक्क त्यहाँ पुग्दा जे देखियो र भोगियो, त्यो लेख्ने हो । सकेसम्म बढी सूचना र विवरण पाठकलाई पस्कनु हो । अर्को धारले भन्छ — आपूmले देखेको र भोगेका कुरालाई निरपेक्ष राखेर हुँदैन । त्यसलाई आफ्नो परिवेशसंग दाँजेर पनि हेर्नुपर्छ । त्यसले पाठकलाई तुलनात्मक अनुभूति दिन्छ र के ‘ल्याकिङ्ग’ (अपुग) छ त्यसको अनुभूत पाठकलाई गराउँछ । त्यहाँको विवरण दिनु जरुरी छैन, किनभने ती कुरा इन्टरनेटमा छँदैछन् । खालि त्यहाँको परिवेशमा लेखकको माथिङ्गल अन्तरघुलित हुनुपर्छ । ठाउँको विवरण पोख्ने होइन, लेखक पोखिनुपर्छ । लेखक घोप्टिनुपर्छ । चेप्टिनुपर्छ । नेप्टिनुपर्छ । अनि लेखकीय फरकपन र फरक विशेषताले पाठकहरुलाई हुक लगाएर राख्न सफल हुन्छ अद्योपान्त नसकिउञ्जेल ।
यी दुई धारले जे जे भने पनि नियात्रामा यी दुवै विचारको संस्लेषण, समिश्रण र अन्तरघुलन हुन्छ । कृष्ण बजगाईंका नियात्राहरूमा यी दुवै विचारहरूको मिश्रण छ । २७ वटा शीर्षकमा समेटिएको यो नियात्रासङ्ग्रहयुङफ्राउ (२०८०) मा युरोपका, खासगरी ग्रिस, पोर्चुगल, बेलायत र स्वीट्जरल्यान्डका भूगोल, इतिहास, संस्कृति, जीवनशैली, प्रकृति, कला, भौतिक विकास र लेखकको अनुभूतिको अन्तरघुलन भएको छ ।
एक्रोपोलिस डाँडाबाट सुरु भएको छ लेखकको यात्रा (एक्रोपोलिसमा एक बिहान) मा एथेना देवीको मिथक ग्रिसेलीहरूको भावनाको डोरी कसरी बन्यो भन्ने उल्लेख छ । त्यसपछि उनी ग्रिसेली नाटकको धरोहर ‘थिएटर अभ डायोनाइसस’को आवेगात्मकता पस्कन्छन् । त्यसपछि उनी पुरातात्विक ओलम्पियामा भगवान् जिउसको महिमा र महानतालाई ग्रिसेलीहरूले कसरी अंगालेका छन् भन्ने दर्शाउँछन् । त्यसपछि उनी महान् दार्शनिक सोक्रेटिजलाई हेमलक विष खुवाइ मृत्युदन्ड दिनु अघि थुनेको जेलको अवलोकन गर्न पुग्छन् । अनि उनी महान् ज्ञानी, शिक्षाको ज्योति सुरु गर्ने एरिस्टोटलको उपदेशस्थल ‘आर्कोलोजिकल साइट अभ द लाइसियम अभ एरिस्टोटल’मा पुग्छन् । अनि ती महान् व्यक्तिहरूको जीवन र संघर्ष सम्झेर भावुक हुन्छन् ।
लेखकको यात्रा यस नियात्रामा यसरी क्रमिक रुपले अघि बढिरहन्छ । देवी
एथेनाको मन्दिरबाट उनी रोमन र ग्रिक आगोराको अवलोकनमा हुन्छन् । सम्राट हेड्रियनले
स्थापना गरेको ‘हेड्रियन लाइब्रेरी’मा पुगेर नियात्राकार भावुक बन्छन् । सम्राटहरू
पनि पढन्ता ? त्यसपछि उनी सिन्टाग्मा स्क्वायरमा
पुग्छन् जहाँ सैनिकको रमिता मात्र छैन, बिद्रोह
गर्ने चेतना भएका सैनिकको प्रसङ्ग पनि छ । उनी पानाथेनाइक स्टेडियममा पसेर प्रथम ओलम्पिक
खेलको इतिहाससँग जोडिन पुग्छन् नियात्राकार । समुद्रका बिचका तीन वटा टापुहरूको दृष्टिगोचर
गर्न पुग्छन् नियात्राकार ।
ग्रिसको यात्रा सकेर नियात्राकार स्वीटजरल्यान्डको जेनेभामा भाँचिएको कुर्सीको बिम्ब पढ्न पुग्छन् र मन खिन्न पार्छन् । त्यहाँ जलयात्रा गर्छन् । अंगुर टिप्छन् । अनि रुशोसँग साक्षतकार (इतिहाससँग !) गर्न पुग्छन् । महान् शिक्षाविद् र दार्शनिक रुशोको नामसँग जोडिन पाउँदा नियात्राकार खुसी छन् । उनी लिफ्ट चढेर ‘कुमारी हिमाल’ अर्थात् ‘युङफ्राउ’ चढेर जीवनको चरम आनन्दानुभूति गर्छन् । उनी लाउटरब्रनेनमा पानीको धुलो हेर्छन्, खासमा पानीको मसिनो फोहोरा । कति सुन्दर प्रकृति ! परिवारसँग सामान्य वार्ता पनि गर्छन् नियात्राकार । उनी अलवर्ट आइन्सटाइनको इतिहाससँग जोडिन पुग्छन् आइन्सटाइन हाउसमा । उनी जुरिचको प्राकृतिक सुन्दरतामा लीन हुन पुग्छन् ।
स्वीट्जरल्यान्डको यात्रा सकेर उनी पोर्चुगल पुग्छन् । भास्को दा गामाको इतिहाससँग साक्षात्कार गर्छन् । प्राचीन स्मारकहरूको अवलोकन गरेर भावुक हुन्छन् । ती कसरी राज्यका सम्पत्ति भए ? हामीले कसरी त्यस्ता सम्पत्ति भत्काएर महान् बन्यौं ? उनी सिन्ट्राको कला हेर्छन् । अनि पृथ्वीको अन्तिम छेउमा पुग्छन् । अनि फर्केर बेलायत आउँछन् । केही स्थानमा नियात्राकार घुम्छन् । यसरी यात्रा समाप्त हुन्छ नियात्राकारको ।
सरल भाषाशैलीमा लेखिएको यो नियात्रासङग्रह बोधगम्य छ । यो पढिरहँदा
पाठकहरूले यात्रा मात्रै पढ्दैनन्, तिनले
इतिहास पढ्छन् । संस्कृति पढ्छन् । भूगोल पढ्छन् । कला र जीवनशैली पढ्छन् । प्रकति
पढ्छन् । नियात्राकारका भावनाहरू पनि पढ्छन् । विकासका आश्चर्यजनक उपलब्धिहरू पनि पढ्छन्
। अनि मुख्य कुरा, पाठकहरूले युरोपका खजना पढ्छन्, महान् विचारहरू पढ्छन् ।
नियात्रामा प्रयोग भएका स्थान र व्यक्तिहरूका नामहरूले सामान्य पाठकलाई यात्रा वृत्तान्त बुभ्mन अप्ठेरो त पार्छ नै । नियात्राकार बढी पोखिएर त्यहाँका विवरणहरूलाई बाकसभित्र बिर्को लगाएर थुन्न सकेकको भए यो नियात्रासङग्रह अभैm धेरै कलात्मक र लेखकीय हुन्थ्यो भन्ने लाग्छ । तथापि नेपाली पाठकहरूलाई यो एउटा थैलो हो; ज्ञानको, इतिहासको, धर्मक्mो, संस्कृतिको, अनि विकासको ।