कविता
भ्रष्टाचारी जति मुलुकका फाल टुक्रा बनाई
आमा रक्षा गर समयमै देशका लोकलाई
तिम्रो माया हिम शिखरझैँ स्वच्छ होस् विश्व माझ
आमा हाम्रो बस ह्दयमा भन्छ सारा समाज ।
आमा हाम्री सुख सयलकी भाग्यकी हौ विधाता
पर्छौ हामी चरणतलमा भक्त हौँ भक्त माता
खाँचो गर्ने सकल जनको भोक हर्ने खटेर
गछ्र्यौ रक्षा असल मनले यै धरामा डटेर ।
नेपालीका घर महलमा बस्न आऊ रमाई
पेशा पाएपछि समयमै हुन्छ राम्रो कमाई
आमा आऊ दुःख सुख बुझी साथ देऊ सदैव
यै धर्तीमा बसन सहसा भव्य शोभा हुँदैछ ।
सेवाग्राहीसँग समयमा साथ देऊ रमाऊ
चासो राख्ने मनुज कति छन् आँत देऊ रमाऊ
सत्ताधारी कपुत जनको झार झाँको झराऊ
राँको फाल्ने गर कलहको चेतनाले सजाऊ ।
हेर्दै बस्ने गर मुलुककै स्वच्छ पाखा पखेरा
सङ्लो पानी टलपल हुने गर्छ सारा पँधेरा
फाली देऊ सकल मनको आज यो अन्धकार
यै माटोमा मलजल गरी देश यो भव्य पार ।
यो धर्तीमा कति कति चरा उड्दछन् बारबार
आफ्नै इच्छा लिइ मनभरी गर्दछन् वारपार
यिन्को आफ्नै तनछ तगडा चङ्ख छन् यै धरामा
आमा हेर्दै गरन अहिले ध्यान देऊ चरामा ।