कविता
मित्रलाल पंज्ञानी
धर्तीमा यी गरा पाटा खारेका कसले थिए ?
नदीमा पहिलो डुङ्गा तारेका कसले थिए ?
बस्तीमा वनमा बाटा जोडेका कसले थिए ?
मोडमा युगको यात्रा मोडेका कसले थिए ?
फल जो नचिनेको हुन् खानु ती खतरा थिए
विषका फल खाँदामा कतिका ज्यान सिद्धिए
फल यी पहिलोपालि चाखेका कसले थिए ?
के खाने र नखाने के ? फैसला कसले दिए ?
कटेरो रचना गर्न थाले हुन् कसले कहाँ ?
बासमा पहिलो छानो हाले हुन् कसले कहाँ ?
घरमै जङ्गली जन्तु पालेका पहिले कहाँ ?
सँभाली पहिलो आगो बालेका कहिले कहाँ ?
पुर्खाको दुःखको यात्रा बिर्संदै बिर्संदै गयो
सुविस्ता भोगले मान्छे असाध्यै बैगुनी भयो
मान्छे मार्न बनेका छन् हतियार अहर्निश
कहाँबाट कहाँ आयो ? कहाँ जाँदै छ मानिस ?
– हाल, बु. न. पा. १२, काठमाडौँ