भेटवार्ता - रमेश शुभेच्छु
कवि एवम् समालोचक डा. रमेश शुभेच्छुको जन्म वि. सं. २०३६ सालमा सुभाङ–९, पाँचथरमा पिता सूर्यनाथ लुइटेल र माता पुण्यमाता लुइटेलको कोखबाट भएको हो । नेपाली साहित्यमा परिचित बरिष्ठ साहित्यकार डा. रमेश शुभेच्छु युवा पुस्ताका लेखक, समीक्षक एवम् सामाजिक अभियन्ता हुन् । नेपाली भाषा साहित्यकै प्राध्यापन पेसामा संलग्न शुभेच्छुले नेपाली र अङ्ग्रेजी विषयमा उच्च शिक्षा प्राप्त गरेका छन् । उनका सिर्जना र समीक्षाका तीन दर्जन अधिक कृति प्रकाशित छन् । उनका सम्पादनमा दर्जनौँ ग्रन्थहरू प्रकाशित भएका छन् भने उनका सम्पादनमा निस्किएका पत्रपत्रिकाको संख्या पनि उल्लेख्य रहेको छ । समकालीन साहित्य क्षेत्रमा सक्रिय शुभेच्छु नेपाली साहित्यमा परिचित छन् । भाषा, साहित्यको क्षेत्रमा अनवरत रुपमा लागिरहेका साहित्यिक व्यक्तित्व रमेश शुभेच्छुसँग होमशंकर बास्तोलाले गर्नुभएको छोटो कुराकानी ।
यहाँले साहित्यक
क्षेत्रमा लाग्ने प्रेरणा कसरी प्राप्त गर्नुभयो <
– मेरो साहित्यिक यात्रा कक्षा तीनमा पढ्दैदेखि भएको
हो । त्यसका पृष्ठभूमिमा मेरा आमा, हजुरआमा र कुप्रीआमाका लोकगीत गाउने दिनचर्या र
मेरा बडीआमा, काकीआमा र फुपूदिदीहरू मेलापात जाँदा सहिलीहरूसँग गाउने लोकगीत पनि हुन् ।
ती रचना सुनेपछि मलाई पनि तिनका अगाडि पछाडि तुक्का मिलाउन मन लाग्थ्यो । घरमा
मेरा पिताजी र पितामहले भाका हालेर गाउने रामायण, महाभारत, कृष्णचरित्र, गीता आदि धार्मिक ग्रन्थको लयले पनि मलाई बाल्यवयमै
अभिप्रेरित गरेको थियो । त्यस्ता पङ्क्तिमा तुक्का मिलाउने प्रयास पनि मबाट भएको
थियो ।
यहाँको साहित्यिक
यात्रा बारेमा केही जानकारी पाउन सकिएला कि <
– २०५७ सालभन्दा पहिलाको मेरो साहित्यिक यात्रा
गुमनामजस्तै रह्यो । त्यसबेला मलाई मेरा आफ्ना रचना प्रकाशनका लागि कुनै पहुँच
थिएन । परिवारका सदस्यहरू शिक्षित थिएनन् । अलि परका आफन्तले पढे लेखेका भए पनि
उत्ति महत्व दिँदैन थिए । म केवल लेखेर राख्थेँ । २०५७ सालमा स्नातक तह पढ्दै
गर्दा मैले आफ्नै कमाइले पहिलो कृति प्रकाशन गरेपछि म निरन्तर सार्वजनिक रुपमा
लेखिरहेको, प्रकाशन गरिरहेको छु । यस दृष्टिले हेर्दा मेरो सिर्जनायात्रा
नेपथ्ययात्रा (२०५७ पूर्व) र सार्वजनिक यात्रा २०५७ पछि हुन सक्छ ।
सार्वजनिक सिर्जनयात्रालाई सरसरती हे¥यो भने मेरा कविता वा
साहित्य यात्रालाई मोटामोटी तीन चरणमा हेर्न सकिन्छ । बालसाहित्य र साहित्यका सबै
विधालाई एकै डालामा राख्दा समीक्षा यात्रा फरक होला, सिर्जनात्मक यात्रा फरक होला । लेख्न चाहिँ
म बाल्यकालदेखि आजसम्म निरन्तर लेखिरहेको छु । दर्जनौँ कतिहरू प्रकाशन गरिसकेको छु
।
यहाँले समालोचनालगायत
साहित्यका विभिन्न विधामा कलम चलाइरहनु भएको छ । नेपाली समालोचना क्षेत्र कस्तो
पाउनुभएको छ <
– नेपाली समालोचना एउटा कोणबाट हेर्दा विकासित तहमा छ
र अर्को कोणबाट हेर्दा निकै कमजोर बनिरहेको छ । आज विश्वविद्यालयका गुरु
समालोचकहरू बढुवाका लागि केही लेखिरहनुभएको छ । यता कलम चलाउन जान्ने जति सबै
साथीभाइका किताबमाथि केही लेखिरहनुभएको छ । पहुँच र सरसम्पर्कको सहजताले केही
इतिहासहरू लेखिइरहेका छन्, केही परिचय र प्रशस्तीहरू लेखिइरहेका छन्
तर कृतिको वस्तुगत अध्ययन, प्रवृत्तिगत अध्ययन र समग्र व्यक्तित्वका योगदानपरक
अध्ययन ज्यादै कम भइरहेका छन् । शोध बुझेका विद्यावारिधि वा एम. फिल विद्वानहरू
बढी प्राविधिक बनिरहनुभएको छ र आयातीत सिद्धान्तहरूमा रमाइरहनुभएको छ । त्यसो
गर्दा एकातिर सैद्धान्तिक विमर्श गर्न विमर्शक पनि कमजोर छन् र अर्कातिर ती आयातीत
सिद्धान्तअनुसार हाम्रा मौलिक रचना मेल खाइरहेका छैनन् । सचेत पाठकले
गम्भीरतापूर्वक कृति पढेर बल्ल कुन कुन सिद्धान्तबाट व्याख्या विश्लेषण गर्न
सकिन्छ भन्न सके समालोचनाको विकास अपेक्षित रुपमा हुने थियो । हिजो
कृष्णचन्द्रसिंह प्रधान, तरानाथ शर्मा, वासुदेव त्रिपाठी, राजेन्द्र सुवेदी हुँदै कृष्ण गौतमसम्मले कृतिको बहुकोणीय समीक्षण गरेर
जुन निष्कर्ष र मूल्य निर्णय प्रस्तुत गर्ने सामथ्र्य राख्नुभयो त्यसको उत्तरोत्तर
विकास हुन सकिरहेको छैन ।
यहाँ बालसाहित्य र
पौढ साहित्यमा समेत लेखिरहनुभएको छ । बालसाहित्य र प्रौढ साहित्य लेखनमा के कस्तो
फरक देख्नुभएको छ <
– बालसाहित्यमा बालबोध्य भाषा र बालमनोविज्ञानको
ख्याल गरिन्छ । सकेसम्म कम पद रहेका वाक्य गठन, उही विषयलाई सकेसम्म सारमा र प्रभावकारी ढङ्गले
प्रस्तुत गर्ने प्रयत्न बालसाहित्यमा हुन्छ । अन्य साहित्यमा जटिल लेखन पनि
स्वीकार्य छ तर बालसाहित्यको मूल सर्त नै सरल भाषाशैली र बिम्ब विधान नै हो ।
बालपात्रको नायकत्व, बालपरिवेश, बालभाषा र बालपहुँचको विषयवस्तु बालसाहित्यका अपेक्षामा पर्दछन् ।
यहाँका कविता, गीतका साथै
गजलसङ्ग्रह पनि प्रकाशित छन् । गजल के हो <
– गजल नेपाली साहित्यमा माध्यमिककालीन स्रष्टाका
प्रयास स्वरुप अरबी स्रोतबाट आएको आयातीत विधा हो । यस विधाले क्रमशः नेपाली
भाषाको अभ्यास र समर्थनका क्रममा मौलिक स्वरुप ग्रहण गरिसकेको छ । यो नेपाली
कविताका गीत, मुक्तक र अन्य विधाजस्तै कवितात्मक उपविधाकै रुपमा आफ्नो स्थान बनाइसकेको छ
। यस विधाले शास्त्रीय रुपमा निश्चित तुकवन्दीका ढाँचाको रक्षा गर्दै आफ्नो विकास
गरिरहेको छ । गजलमा प्रबन्ध रचनाहरू पनि सार्वजनिक हुँदैछन् । यसले बढी शास्त्रीय
र लोकलयलाई प्रिय मानेको देखिन्छ ।
वर्तमान नेपाली गजल
कस्तो छ भन्ने लाग्छ यहाँलाईं <
– वर्तमान नेपाली सिर्जन परम्परामा गजल लेखिएकै छन् ।
केही सिद्धहस्त स्रष्टाहरू पनि लेखिरहनुभएकै छ । यसमा हुने गेय र तुकबन्दी सिर्जन
सामथ्र्य केही गजलकारमा असाध्यै राम्रो बनिरहेको पाउँछु । केही काफिया र रदिफको
पुनरावृत्ति र पुनर्लेखनमा हराइरहेको विडम्बना पनि छ । गजलको गायन र सिर्जन पछाडि
परिरहेको चाहिँ छैन । अवस्था सन्तोषजनक नै छ । अहिले यस विधाले प्रेम प्रणयको घेरो
नाघेर विभिन्न विषयवस्तु आत्मसात गरिरहेको छ ।
यहाँले प्रतिष्ठित
व्यक्तित्वहरूको समृतिग्रन्थहरू एवम् पुस्तकहरूको सम्पादन गर्नुभएको देखिन्छ ।
स्मृतिग्रन्थ कस्तो ग्रन्थ हो <
– एक वाक्यमा भन्दा स्मृतिग्रन्थ कीर्तिशेष
व्यक्तित्वका नाममा आफन्त र उनका कार्यक्षेत्रका व्यक्तिहरूले लेखेका सामग्रीहरू
संकलन गरी बनाइएको बौद्धिक ग्रन्थ हो । आफन्तका नाममा वरपिपल रोप्ने, चौतारा, धारा, हिटी, पाटी, पौवा, फलैँचा आदि बनाउने
परम्परा धेरै पुरानो हो । समाजमा शिक्षा चेतना बढेसँगै स्मृतिग्रन्थहरू प्रकाशन
हुन थालेका हुन् । २०४६ सालको परिवर्तनअगाडिसम्म स्मृतिग्रन्थको प्रचलन
राजपरिवारमा र केही उच्च घरानामा मात्र सीमित थियो । २०४६ को परिवर्तन र अझ २०६३
को परिवर्तनपछि धेरै नेता, साहित्यकार, कलाकार, सहिद, सामाजसेवी आदिका नाममा स्मृतिग्रन्थहरू निस्कन थाले । एउटा स्मृतिग्रन्थले
विभिन्न विषयलाई समेटेको हुन्छ । व्यक्तिको जीवनी, व्यक्तित्व र कृतित्वका साथै उसका सफलता
असफलताका सूत्रहरू पनि हुन्छन् । उसको परिवार समाज पनि त्यस ग्रन्थमै अभिलेखन
हुन्छ । त्यसैले हरेक व्यक्तिका नाममा सर्वसाधारणका जीवनमा पनि यसको महत्व छ ।
मैले कम प्रतिष्ठित, बढी प्रतिष्ठित दुवै किसिमका मानिसका स्मृतिग्रन्थ सम्पादन गरेको छु ।
अभिनन्दन ग्रन्थ र
स्मृतिग्रन्थमा के फरक छ <
– अभिनन्दन ग्रन्थ जीवनकालमा निकालिन्छ । व्यक्तिलाई
हौसला,
प्रोत्साहनका साथै
उसका कर्मको सम्मानका लागि अभिनन्दन ग्रन्थ बनाइन्छ र व्यक्तिलाई नै समर्पण गरिन्छ
। स्मृतिग्रन्थ भने व्यक्ति कीर्तिशेष भएपछि उसका कृतिकर्मको वर्णन र विश्लेष्ण
गरेर प्रस्तुत गरिन्छ ।
यहाँले धेरै
स्मृतिग्रन्थ र अभिनन्दन ग्रन्थहरू सम्पादन गरिसक्नुभएको छ यस्तो काम गर्न निकै
कठिन छैन <
– गाह्रो छ नि छन ता । तर अब यो कर्तव्य पनि, जिम्मेवारी पनि
बनिरहेको छ । प्रायः सामाजिक क्षेत्रमा लागि पर्ने व्यक्तिहरूका नाममा
स्मृतिग्रन्थ वा अभिनन्दन ग्रन्थ निस्किने हुँदा र म पनि सामाजिक मानिस भएकाले
गरिरहन्छु । प्रायः समाजिक योगदान रहेका व्यक्तिहरू बाहिर ल्याउन सकेकामा उनका
स्मृतिमा कलम चलाएकामा र उनका स्मृति सामग्रीको सम्पादन गरेकामा मलाई कति पनि
पछुतो छैन ।
वर्तमान नेपाली
साहित्य कस्तो छ भन्ने लाग्छ यहाँलाई <
– वर्तमान नेपाली साहित्य विश्वसाहित्यका अनेक
पक्षबाट सङ्क्रमित छ । चलचित्र र अनेक पक्षबाट सङ्क्रमित छ । वास्तविक साहित्य
आफ्नै हावापानी, माटो र संस्कृतिको लेखनविना लेखिन र उठ्न सक्तैन । हाम्रो साहित्यले हिमाल लेख्न बाँकी छ ।
हिमालका दुःख लेख्न बाँकी छ । तराई लेख्न बाँकी छ । तराईका दुःख लेख्न बाँकी छ ।
नेपाली हुनुको गौरव लेख्न बाँकी छ । हाम्रा जनजीवनका विन्दु विन्दु लेख्न बाँकी छ
। यहाँका विभेदका चिरा चिरा लेख्न र तिनलाई मिलाउन बाँकी छ । गरिबी, अशिक्षा र
लोकशिक्षाका विविध पक्ष लेख्न बाँकी छ । हाम्रा परम्परित शिल्प प्रविधि, ज्ञान, विज्ञान, मूर्त र अमूर्त
संस्कृति लेख्न बाँकी छ । हाम्रामा हिमाल लेखिए पनि परबाट देखिने सेतो चाँदी मात्र
लेखिएको छ । पहाड लेखिए पनि स्याउ सुन्तला र थुम्का थुम्की मात्र लेखिएको छ । तराई
लेखिए पनि पाकेको धान र सम्म बाटो मात्र लेखिएको
छ । यहाँको वन सम्पदा, जल संपदा, खनिज सम्पदा, जरीबुटी सबै लेख्न बाँकी छ । त्यहाँका समाज र संस्कृति साहित्यका
माध्यमबाट जीवन्त बन्न सकेका छैनन् । हाम्रा परम्पराबाट विकास भएका सिप, कला, संस्कृतिका ज्ञानहरू
साहित्य बनेर आउन सकेका छैनन् । यस्ता विषयहरू साहित्य नबनेपछि समाजशास्त्र र
संस्कृति कमजोर हुन्छ । त्यससँगै चलचित्र, सङ्गीत, कला र सामाजिक व्यवस्था पनि आयातीत र कमजोर बन्छ ।
सुधार गर्नुपर्ने र अवलम्बन गरिरहनुपर्ने परम्परा र संस्कृति पनि कमजोर बन्छन्
।
भनेपछि साहित्य
समाजका अनेक पक्षसँग सम्बन्धित छ <
– हो नि । भावी पुस्ताले थाहा पाउने मूल स्रोत के त ? भानुभक्तीय रामायण
नलेखिएको भए हामीले रामायण थाहा पाउँथ्यौँ ? नेपालीमा महाभारत र तिनका अंशहरू नलेखिएका भए
महाभारत थाहा पाउँथ्यौँ । लोककथा, लोकनाटक, लोकगीत नभए कुनै ठाउँका बारे, नदीका बारे, तालका बारे, चाडपर्वका बारे थाहा
पाउँथ्यौँ ? अवश्य पनि थाहा पाउने थिएनौँ । उखान टुक्काहरू नबनेका भए हाम्रा
लोकदर्शनहरू त्यसै मरेर जाने थिए । आज नीति, रीति, कानुन, धर्म, संस्कृति जे भन्छौँ त्यसलाई बचाउने लोकसाहित्य होइन
। आजको युग लेखियो भने पो भोलिको पुस्ताले केही पाउँछ । आखिर वेद पनि तत्कालीन लोक
सामग्रीको सङ्कलन नै होइन ? ऋग्वेदले अग्निको महत्व न बोल्छ । त्यसबेला पश्चिममाहरू अग्नि
सर्वसाधारणलाई दिने प्रमिथसहरू दण्डित भएको कथा पढिरहेका थिए । हाम्रा पुर्खा
अग्नि उत्पादन र यज्ञका माध्यमबाट आफ्ना कामनाहरू बोलिरहेका थिए ।
भानुभक्तले लोकको गरुँ हित् भनी भनिरहेका थिए । उनी
फुटकर रचनामा भोलि भोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली भनेर समाजलाई सचेत
गराइरहेका थिए ।
मोतीराम भट्टहरू अचल् झन्डा फर्कोस् फर फर गरी
कान्तिपुरीमा भनिरहेका थिए । धरणीधर कोइरालाहरू जाग जाग अब जाग न जाग भनेर
जागरणका गीत गाइरहेका थिए । धर्मराज थापा, केवलपुरे किसान, युद्धप्रसाद मिश्र आदि यस समाजका समस्या गीत कविता
बनाएर गाइरहेका थिए ।
देवकोटाहरू समाजसचेत आवाज यही समाजका समस्यामा
केन्द्रित रहेर कविता, काव्य र महाकाव्य बनाइरहेका थिए । कोही समाज परिवर्तनका पक्षमा थिए । कोही
समाजको अग्रगमनका पक्षमा थिए । कोही समाजका संस्कृतिहरूको यथाअनुकरण र पुनर्निर्माणका क्रममा थिए र पो हामी आज केही
आफ्नाबारे जान्ने हुन पाएका छौँ । आज भन्दा पाँच सय वर्षपछाडि हाम्रा भावी
पुस्ताले यो समाज हेर्ने, पढ्ने पुझ्ने थाहा पाउने, परिवर्तन गर्नुपर्ने पक्ष र हुँदै आएका पक्ष थाहा
पाउने त आजको साहित्य हेरेर हो नि होइन र ? हामीले सकेसम्म आजका यथार्थहरू लेखेर छोडिदिने, आजका चेतनाहरू लेखेर
राखिदिने होइन र <
यहाँ निकै व्यस्त
देखिनुहुन्छ । पछिल्लो समय सर्जकभन्दा बढी समीक्षक र अन्य भूमिकामा देखिनुहुन्छ ।
हाल साहित्यसम्बन्धी के गरिरहनुभएको छ <
– तपाईंले भने जस्तै म सार्वजनिक जीवनमा बढी समीक्षक
भइरहेको छु । हुनुपर्ने म बढी सर्जक हो तर समाजले मलाई सर्जक भन्दा बढी समीक्षकका
रुपमा उभ्याइरहेको छ । यो सामाजिक स्वीकृति ठानेर होला आदरपूर्वक, जिम्मेवारीपूर्वक
रातभरि नसुतेर तयारी गरेर म सार्वजनिक जिम्मेवारीहरू पनि पूरा गरिरहेको छु र आफ्ना
सिर्जनात्मक मूल्यहरू पनि विकास गरिरहेको छु । अब थुप्रै कृतिहरू आउँदैछन् । ती
विद्यावारिधि र अन्य विभिन्न कामले जाम भएर बसेका थिए र छन् । यिनको प्रकाशनपछि
मात्र मेरो साहित्यिक योगदान के भनेर भन्न लायकको हुने छ । म निरन्तर केही न केही
गरिरहेको छु । अहिले दाहाल यज्ञनिधिको स्मृतिग्रन्थको तयारी तीव्र बनिरहेको छ
।
भविष्यमा के कस्तो
लक्ष्य राख्नुभएको छ <
– मेरा केही ठोस काम गर्ने योजनाहरू छँदैछन् । ती
अहिले बताएर हल्ला गरिरहन आवश्यक ठान्दिन । म सिर्जना र समीक्षा दुवै क्षेत्रमा
आफूले सकेको गरिरहने छु । अब मेरा लागि साहित्य भन्दा अर्को साधना र लगानीको
क्षेत्र हुने छैन । म जेर्छु र गर्दा जे गरेँ भने भाषा साहित्यकै क्षेत्रमा गर्छु, गरिन भने पनि
भाषासाहित्यविना बाँच्न सक्तिन केही न केही गरिरहन्छु । यहाँलाई सुनाउन थाल्दा
निकै लामो सूची बन्ने गरी विविध विधाका पाण्डुलिपिहरू तयार छन् ।
जीवनमा साहित्य
क्षेत्रमा लागेर के चाहिँ प्राप्त गरेजस्तो लाग्छ <
तपाईं जस्ता शुभचिन्तकहरू कमाएको छु । जसको विश्वास, सम्मान र आदरले म आज
अन्तर्वार्ता दिने मानिस बनेको छु । मैले कसैलाई परिचय दिँदा चिनिने मानिस
बनिसकेको छु । केही विचारहरू समाजलाई दिन सक्ने ठाउँमा पुगेको छु भन्ने लागेको छ ।
कुनै समय हाम्रो समाज आजभन्दा समुन्नत शिक्षित र सम्पन्न हुने छ । त्यसबेला हाम्रा
सिर्जनाको मूल्य हुने छ । तपाईंले कुनै पत्रिकामा छाप्ता सिर्जनाको मूल्य तिर्न
थाल्नुहुने छ । हरेक अनलाइनलाई छाप्ने कुरा, भिडियो बनाउने कुरा चाहिने छन् । युटुवजस्ता अरु
माध्यमहरू विकास हुने छन् । तिनलाई विचार, सिर्जना, चेतना, इतिहास जे चाहिन्छन् हाम्रा कलमका सामग्रीहरू उपयोग
हुने छन् । जे जति सकेको त्यस्ता सामग्री बनाउने प्रयास गरिरहेको छु । म एक किसिम
सन्तुष्ट छु । मेरा दृष्टिमा हरेक सिर्जना नयाँ आविस्कार हो । म त्यही आविष्कारका
मार्गमा लागिरहेको हुन्छु राति अबेरसम्म बसेर, बिहान सबेरै उठेर, दिउँसो समय उभारेर जहाँसुकै पनि उही काम
गरिरहेको हुन्छु ।
अनि सिर्जना वा
साहित्यमा लागेर के गुमाउनुभयो <
– त्यस्तो के के न गुम्यो जस्तो पनि लाग्दैन । आजको
समाज अलि बढी अर्थमुखी छ । यो समाजले अग्लो घर, चिल्लो गाडी, त्यही किसिमको लवाइखवाइ, डुलघुम र
हाइफाइँसहितको जीवन सफल मान्छ । म त्यस्तो
सम्पत्ति मात्र सम्पति मान्दिन । कहिलेकाहीँ के चाहिँ लाग्छ भने मेरा हरेक
ह्रस्वदीर्घ सम्पादन, हरेक चिन्तनमनन र लेखन, साहित्यलाई दिएको दौडधुप, सङ्गठानिक र सामाजिक
काम, सामाजिक कामको दौडधुप
र समर्पण नितान्त पैसामा परिणत गर्ने गरी व्यापार व्यवसाय गर्थें भने नेपालको मेरा
उमेर समूहका धनाढ्यहरू सबैभन्दा धनी मानिस म नै हुन्थेँ होला जस्तो लाग्छ । म पसल
नै गर्थें भने पनि बिहान चार बजेदेखि बेलुका दश बाह्र बजेसम्म खट्थेँ होला । किसानै
हुन्थेँ भने पनि त्यसै गर्थें होला । जे गरेको भए पनि म सफल नै हुन्थेँ होला ।
मैले रुचि र योग्यता दुवैले प्राध्यापन पेसा र लेखन पढन रोजेँ । अहिले म यी
क्षेत्रबाहेक अरु केही जान्दिनँ । त्यस अर्थमा आर्थिक उन्नति भन्दा बौद्धिक र
सिर्जनात्मक उन्नति अलि ढिला हुँदो रहेछ भन्ने चाहिँ लागेको छ .
लेखक साधकहरूको क्षेत्र रातारात सेलिब्रेटी भएर
चिनिने क्षेत्र हुँदै होइन । यो बौद्धिक र त्यसमा पनि साधनासहितको बौद्धिक कर्म
हुँदा सीमित मानिसका माझ चिनिँदै चिनिँदै फैलने हो । त्यस दृष्टिले हेर्दा म
बजारमा बिकेको लेखक हुँ । म प्रायः कुनै शनिबारकुनै विदाको दिन मञ्च नचढेको, केही न केही
कार्यक्रममा नपुगेको हुँदैन । डेढसय अधिक लेखकका कृतिमा मेरा भूमिकाहरू आइसकेका
छन् । धेरै राष्ट्रिय प्रतियोगितामा निर्णायक भइसकेँ । कपाल नफुल्दै धेरै ठाउँमा
धेरै समकालीन, अग्रज र नवपुस्ताले पनि प्रमुख अतिथिका रुपमा उभ्याउनुभयो । यो मेरो ठुलो
कमाइ हो भन्ने लाग्छ मलाई । मैले यस क्षेत्रमा सेवा वा साधना गरेर गुमाएको भन्दा
कमाएकै छु लाग्छ । म केही पनि नगुमाएको
मान्छे । कुनै पनि गुनासो नभएको मान्छे । आफ्नै पन, पारा र यात्रामा
आफूसँगकै प्रतिस्पर्धामा दौडिइरहेको मान्छे । आज तपाईंलाई भेटेर पनि खुसी भइरहेको
मान्छे ।
नामले पनि साहित्यमा
काम गरिरहेको हुन्छ भनिन्छ । के सिर्जनाभन्दा नाम शक्तिशाली हुन्छ <
– यहाँले भन्न खोजेको बुझिन कि < यहाँले साहित्यमा
लागिरहने भन्दा अन्य क्षेत्रमा स्थापित मानिसको चर्चा छ भन्नुभएको हो कि जस्तो
लाग्यो । त्यसले खास फरक पार्दैन । नेपाली बजार सानो छ । एउटै कृति आउनु मात्र
मुख्य कुरा होइन । एउटा लेखक स्थापित हुन उसले निरन्तर एकपछि अर्को सिर्जनाको
आरोहण गर्नुपर्छ । एउटा उद्योगपति, रिटायर्ड सचिव वा पूर्वमन्त्री वा अन्य कुनै
पदासिनको कृति चर्चित भयो भन्नु भ्रम हो । हाम्रो समाज चेतना र आर्थिक दुवै रुपमा
कमजोर हुँदा सिर्जना वा साधना क्षेत्रमा पनि नाम, पद, पैसा शक्तिले प्रभाव पार्नु स्वाभाविक हो तर
सिर्जना यी चिजले दिँदैनन् । तपाईं लोखिराख्नुहोस् एक दिन खोजेर छाप्ने मानिस
भेटिने छन् । चर्चा पनि हुने नै छ । पुरस्कारहरूले पनि पछ्याउँदै आउने छन् । पैसा
वा रोयल्टी पनि पछ्याउने छ । म त यस्तो आशावादी भएर पो बाँचिरहेको छु त ।
यहाँको साहित्य
सिर्जनाको उद्देश्य के हुने गर्छ <
– प्रायः समाज परिवर्तनलाई म मेरा सिर्जनाको उद्देश्य
बनाइरहेको हुन्छु । म प्रायः आफ्ना सिर्जनामा अन्धविश्वास र अलौकिक सपना भन्दा पनि
लौकिक विषय र उद्देश्य अगाडि सारिरहेको हुन्छु । आजसम्म सरसरती हेर्दा मैले कमजोर
पात्रहरू,
छायाका वा पछाडि
परेका सीमान्तकृत पात्रहरूलाई नायकत्व दिने र उनका समस्याका माध्यमबाट समाजमा कसरी
समानता र स्वतन्त्रता कामय गर्ने ? समाजले मानिरहेका खल पात्र र नायक हौँ भन्नेबिच
कसरी भ्रातृता स्थापना गर्ने ? सबै मानिस कामदार मालिक, हाकिम कारिन्दा, नेता, जनता, नेता कार्यकता सबैमा
मानवीय व्यवहार, मानवीय
आचरण, मानवीय मूल्य स्थापना कसरी होला भन्ने मेरो प्रयत्न हो कि जस्तो लाग्छ ।
मेरो विद्यावारिधिको विषय पनि मानवतावाद हुँदा मात्र त्यसो भएको होइन कि मेरा २०५०÷२०५२ सालमा लेखेका
रचनामा पनि यो पक्ष आफै पढ्दा भेट्टाउँछु ।
वर्तमान लेखक र
पाठकप्रति यहाँको कुनै सुझाव एवम् प्रतिक्रिया छ कि <
– म लेखकहरूलाई नै सुझाव दिन सक्ने हैसियत राख्दिनँ ।
म आफै साधारण र सानो लेखक हुँ । पाठक पनि आफूले पढ्न चाहेको कृति विषय पढ्न
स्वतन्त्र हुनुहुन्छ । उहाँहरूलाई पनि एउटा लेखकले दिएको सुझाव काम नलाग्न सक्छ तर
लेखक भएपछि सामाजिक उत्तरदायित्व, साँस्कृतिक उत्तरदायित्व बिर्सन मिल्दैन । पश्चिमी
चिन्तक एवम् कवि इलियतले हरेक पुस्ताका कविले अघिल्ला पुस्ता दरपुस्ताका कविता
पढेर तिनीहरूमाथि विजयको होड गर्नुपर्छ भनेका छन् । यसको अर्थ युग, परम्परा र प्राप्ति
पनि बुझेर लेखन गर्नु भन्ने हुन सक्छ ।
पाठकले पनि निरन्तर एकपछि अर्को सिर्जनामा लागिरहने
लेखकलाई छुटाएर आज आएर भोलि हराउने लेखकका सामग्री पढ्नुभयो भने ठगिनुहुन्छ भन्नु
सान्दर्भिक होला । पढ्नु भनेको बौद्धिक मासिनले दशकौँ लागेर संकलन गरेको ज्ञान दश
घण्टामा पढ्नु हो । सिर्जनामा वा अन्य लेखनमा पनि सिद्धहस्त कलम भनेको सिद्धहस्त
कलम हो । परिपक्व विचार भनेको परिपक्व विचार हो र परिपक्व लेखन भनेको परिपक्व लेखन
हो । यसो भनेर नयाँलाई हेपे, होच्याएको अर्थ नलागोस् । नयाँले पनि गुरु गम्भीर
अभ्यास गर्न र लेख्न सक्नुहुन्छ । त्यस्तो अवस्थामा नयाँलाई पनि प्रोत्साहन गर्नु
स्थापित लेखक र पाठक दुवैको कर्तव्य हुन आउँछ ।
नेपालमा लेखेर बाँच्न
सकिँदैन भन्छन् । यहाँको दालभात र गाँस, बास कसरी चलिरहेको छ <
– म रुचिले र पेसाले पनि साहित्यमै छु । यहाँले
सोधेको प्रश्नको सोझो जवाफका रुपमा भन्नुपर्दा म प्राध्यापन गर्छु । मलाई सजिलो छ
भाषासाहित्यकै प्राध्यापन, भाषासाहित्यकै लेखन सम्पादन, सङ्गठन आदिले गर्दा म सबै काम समानान्तर रुपमा
रमाएर गरिरहेको हुन्छु । मेरो पेसा मेरो रुचिलाई बाधा गर्ने खालको छैन । पहिला
काठमाडौँका विभिन्न छ वटा कलेजसम्म धाउँथेँ । अहिले केही ठाउँमा पढाउँछु । स्कुलमा
पढाउन जानु स्नातकोत्तर तहको प्रमाणपत्र पाएदेखि नै परेन । केही ठाउँमा अतिथि
प्राध्यापकका रुपमा अनलाइन पढाउँछु । अनलाइनका कारण स्वदेश विदेश जहाँको काम गर्न
पनि सजिलो भएको छ । आज भाषा सम्पादनका क्षेत्रमा पनि प्रशस्त काम र दाम पनि छ । म
मेरो पेसा र रुचि क्षेत्रमा निकै आशावादी छु । लेखेर वा साहित्यमा लागेर गुमाएँ भन्दा
कमाएँ भन्ने नै बढी छ । परिवार, जीवन, घर चलिरहेकै छ । सामाजिक कामहरूमा त तपाईं हामी
सँगसँगै कुदिरहेकै छौँ ।
अन्त्यमा
अन्तर्बोधमार्फत केही भन्नु छ कि <
– अन्तर्बोधलाई धन्यवाद । यो पत्रिका निरन्तर आइरहेको
छ । आज एउटा साहित्यिक पत्रिका छापा माध्यमबाट निरन्तर आइरहनु साहित्य, वाड्मय र समाजको
अग्रगमनका विभिन्न पाटामध्ये एउटा ठुलो पाटो र विषय हो । यस्ता पत्रिकाले धेरै
लेखक जन्माउने र विकास हुने मौका दिएका हुन्छन् । यस अर्थमा यस पत्रिकाको देन
नेपाली साहित्य जगत्मा विशिष्ट छ । मेरा अरु अरु परिचय हुँदा हुँदै मैले पनि
साहित्यिक पत्रकारिताका क्षेत्रमा प्रशस्त पसिना बगाएको छु । यो बौद्धिक कलापूर्ण
परिश्रमलाई समाजले त्यति चिन्न सकेको छैन । त्यसमा पनि आज आएर जर्नलहरूमा मात्र
लामा र अनुसन्धानमूलक लेख छाप्ने नवविद्वान विदुषीहरूको लहर छ । त्यस्ता जर्नल
आयोग खुल्ने खुल्ने बेलामा एक दुई निस्कन्छन् र हराउँछन् । यस्ता पत्रिकाका लेखले
नै विश्वविद्यालयमा ठाउँ पाउने हो भने यिनको गरिमा अझ बढ्ने थियो । सिर्जना
प्रकाशनका लागि त यो सबैभन्दा राम्रो माध्यम भई नै हाल्यो । यो पत्रिकाका लागि
एक्लो होमशंकर बास्तोला खटिरहेको देख्छु । यसलाई सानो सानो टिम बनाएर अलि फराकिलो
पारेर चलाउने र यहाँले नसकेका दिन पनि चल्ने अवस्था बनाउनु होला । परिवारका
जिम्मामा पनि छोड्नु नहुने रहेछ । यस्ता प्रयत्नलाई राष्ट्रिय वा सामाजिक सम्पत्ति
बनाउनुपर्ने रहेछ । यो पत्रिकाको शुभचिन्तकका रुपमा लेखक पाठक र राज्यलाई पनि
साहित्यिक पत्रपत्रिकाको गरिमा बढाउन र संरक्षण गर्न सोच्न ढिला नहोस् भनी अनुरोध
गर्छु ।