संस्मरण
मेरा गजलका आदर्श : मनु ब्राजाकी
‘नमस्ते त गरेथ्यौ हाँसो हेर्न भ्याइनँ ।
दिन भनी कोसेली केही पनि ल्याइनँ ।
बजारमा डुलेर थाकी सकेँ साह्रै नै,
आफूभन्दा सस्तो केही कतै पनि पाइनँ ।
एकोहोरो शङ्खझैँ एक्लै बसी गाएथेँ,
कसैसँग पनि मैले दोहोरी त गाइनँ ।
उधारो नै भए पनि रक्सी नै त खाएँथेँ,
जीवन मैले कसैको चोरेर त खाइनँ ।
बिग्रिएँ, भत्किएँ मद्दत केही
गरिद्यौ,
भनेर ‘मनु’ कहाँ कहिले पनि धाइनँ ।’
नेपाली साहित्यका
बहुमुखी प्रतिभा मनु ब्राजाकी (१९९९–२०७४) मेरो गजल यात्राका आदर्श स्रष्टा हुन् ।
वस्तुतः म नेपाली गजलको रङ्गमञ्चमा एक जना स्रष्टा पात्र भएर उपस्थित हुन सक्नुमा
मनु ब्राजाकीका रचनाको प्रमुख भूमिका छ । यसर्थ मनु दाइ मेरो गजल सिर्जनकलाका परोक्षतः
प्रेरक व्यक्तित्व पनि हुन् । सायद नकुल सिलवालद्वारा सम्पादित बगर पत्रिका वर्ष ५, पूर्णाङ्क १० मा प्रकाशित मनु दाइको उपर्युल्लिखित गजल पढ्ने अवसर नपाएको
भए म आजजस्तो गजलकार भएर चिनिने थिइनँ । त्यसैले त म मनु दाइलाई मेरो गजलका आदर्श
मान्छु, मेरो गजल यात्राका प्रेरक ठान्छु ।
ममा गजल लेख्ने
सामान्य रुचि २०४० सालतिरदेखि नै जागेको थियो र प्रयास गरिरहेको पनि थिएँ, तर सफलता हातमा नपरेको अवस्था थियो । मनमा तीव्र रहर थियो, काफिया रदिफबारे खास ज्ञान थिएन । अझ भनूँ, गजल सिद्धान्तको कुनै
जानकारी नै थिएन । गजल उर्दूको एउटा काव्यिक विधा हो, यसलाई किन महत्व दिनु भन्ने मनोगत कमजोरी पनि थियो ममा । तर, मनु दाइको उक्त गजलले खै कसरी हो कुन्नि,
मेरो
मनमा एकप्रकारको तरङ्ग ल्यायो । यही तरङ्गको दबावमा मैले तुरुन्तै एउटा गजल लेखेँ, उनकै गजलका केही काफिया सापटी लिएर जुन यसप्रकार छ –
जिन्दगी त जिएकै छु हाँस्न कहिल्यै पाइनँ
त्यसैले त प्रीति गाँस्न कसैसँग रुचाइनँ
नहाँस ए मान्छेहरू ! बिजोक मेरो देखेर,
मान्छेसँग कुनै पनि साइनो मैले लाइनँ
चाकरी र चाप्लुसीले ठुलै बन्न सकिन्छ रे !
तर मैले कसै कहाँ कहिल्यै पनि धाइनँ
अस्मिता नै बेच्यो भने पेट पाल्न पाइन्छ रे !
तर मैले आत्मा बेच्ने गीत कहिल्यै गाइनँ
भोकभोकै हिँड्दा एउटा दानी आई जुठो दिए,
ला खा ‘घनश्याम’ भनी तर मैले खाइनँ
-रचना मिति २०४४÷१०÷१८)
यही गजल प्रकाशनार्थ
मैले मधुपर्कमा प्रेषित गरेँ । नभन्दै, २०४५ सालको मधुपर्कमा
छापियो मेरो यो विपठनको प्रभावमा लेखिएको पहिलो गजल । म निकै पुलकित भएँ । किनभने
मैले बुझेर, जानेर लेखेको गजल थिएन यो । त्यसपछि २०४६ सालको
मधुपर्क वर्ष २२, अङ्क ९ मा मनु ब्राजाकीको ‘गजल एक चर्चा’
शीर्षकमा समालोचनात्मक आलेख छापियो । त्यसमा गजलको सिद्धान्तका केही महत्वपूर्ण
पक्षहरूसहित नेपाली गजलको चर्चा परिचर्चा पनि गरिएको थियो । जीवनमा एउटा मात्र गजल
छापिएको म बबुराको उक्त गजलका केही शेर उदाहरण दिएर मनु दाइले मलाई राम्रो
सम्भावना भएका गजलकार भन्दै प्रशंसा गरेको पाउँदा म हर्षविभोर भएको थिएँ । जसको
गजलबाट प्रभावित भएर मैले गजल लेखेँ उसैले मेरो गजल लेखनको तारिफ गरेको पाउँदा कति
प्रफुल्लित भएको थियो होला मेरो मन त्यतिखेर ! वास्तवमा मनु दाइ र मेराबिच न
प्रत्यक्ष, न त परोक्ष नै परिचय भएको थियो । म उनलाई हृदयबाट
नै आदर्श मान्दै थिएँ, तर सम्पर्क सूत्र थिएन । मनु दाइकै रचनाबाट
प्रभावित भएर गजल लेख्न थालेको मलाई उनकै प्रशंसाले यस विषयमा अध्ययन गर्ने उत्साह
र जिम्मेवारी पनि थपियो । फलतः मैले हिन्दी र उर्दूका गजल र गजल सिद्धान्तका
पुस्तकहरू खोजेर पढ्न थालेँ अनि गजल सिर्जना र समालोचनामा कलम चलाउने जाँगर मभित्र
उत्प्रेरित हुन थाल्यो । यसै क्रममा मैले झन्डै सयवटा जति फुटकर गजल लेखिसकेको
रहेछु । ती गजलमध्ये केही छनोट गरेर सङ्ग्रह निकाल्ने रहर जाग्यो र ‘यो मौसम’ नामक
सङ्ग्रह प्रकाशित गर्ने तयारी भयो । यसमा विशेष भूमिका रहेको छ, मित्र ललिजन रावलको । जसबाट म प्रभावित भएर गजलको जमिनमा प्रवेश गरेँ, उसको पनि केही न केही धारणा नराखी सङ्ग्रह प्रकाशित गर्न मेरो मनले मानेन
। बडो प्रयासले मनु दाइको औरहीको ठेगाना पत्ता लगाएँ र सो कृतिबारे केही लेखिदिन
पाण्डुलिपिसहित चिठी हुलाकबाट लेखेर पठाएँ । त्यो बेला आजजस्तो मोबाइल, इन्टरनेट आदिको त के, ल्यान्डलाइन टेलिफोनको पनि सर्वसाधारणमा
पहुँच थिएन । पत्राचार नै सबैभन्दा विश्वासिलो सम्पर्कको माध्यम थियो । तापनि
सुनसरीको चिठी सुर्खेत र सुर्खेतको चिठी सुनसरी पुग्ने समस्या थियो । कतै मेरो
पाण्डुलिपि पनि त्यसरी नै गन्तव्यमा नपुग्ने हो कि भन्ने मनमा अनेक थरी आशङ्का
थियो । धन्न ! मैले पठाएको पाण्डुलिपिसहितको पत्र सकुशल पुगेछ, मनु दाइको हातमा । उनले डेढ पृष्ठको शुभकामनासहित लेखेर पठाएको पत्र
ठ्याक्कै एक महिनापछि मेरो हातमा प¥यो । म असीमित खुसी
भएँ । यो २०५० सालको कुरा हो । मनु दाइको यही
शुभकामनाले ‘यो मौसम’ले सार्थकता पाएको मैले अनुभूति गरेँ त्यतिखेर । वास्तवमा
थोरै शब्दमा मेरो गजलकारिताबारे धेरै कुरा भनेका छन् मनु दाइले यस शुभकामनामा ।
यसपछि भने मनु दाइ र मेराबिच पत्राचारका माध्यमबाट सम्पर्क सघन हुन थाल्यो । उनका
सुन्दर, साना, पूरा डिक नतानेका तर
स्पष्ट अक्षरमा लेखिएका केही चिठी–पत्रहरू अहिले पनि मेरो पुरानो बाकसमा सुरक्षित छन्
। केही चाहिँ किराले काटिसके ।
मान्छे राम्रा, बोली–वचन राम्रो, स्वभावले पनि राम्रा, लेखनले पनि अब्बल मनु दाइलाई म हृदयमा सजाइरहेको हुन्थेँ । उनलाई भेट्ने
तीव्र आकाङ्क्षा हुन्थ्यो तरसम्भावना क्षीण ! योजना बनाएर उनलाई भेट्न जान सकेको
पनि थिइनँ । जहाँ इच्छा, त्यहाँ उपाय भनेको साँच्चिकै रहेछ ।
त्यतिखेर केही नवोदित युवाहरू पनि गजल सिर्जनामा रमाइरहेका थिए । यस्ता धेरै गजल स्रष्टाहरूसँग पनि मेरो नैकट्य थियो । तीमध्येका एकजना सुनसरीका सक्रिय
गजलकार थिए, सुविद गुरागार्इं । समय र साल हेक्का छैन ।
तिथिमिति बिर्सने बानी छ मेरो । २०५३ सालतिर म जागिरको सिलसिलामा वीरगन्जमा थिएँ ।
एकदिन काठमाडौँ गएका बेला मैले सुविद भाइलाई भनेँ–
‘मनु दाइलाई भेट्ने
रहर छ, कसरी भेट्न सकिएला र <’
‘ए, ए, मिलाउँछु चाँजोपाँजो । अहिले मनु दाइ यहीं ललितपुर
भैंसेपाटीमा हुनुहुन्छ,’ सुविदले भने ।
म साँच्चिकै खुसी भएँ
। मनु दाइलाई भेट्न पाउने अव्यक्त खुसीले मलाई तरङ्गित गरिहाल्यो तत्कालै ।
सुविदलाई यो काम छिटो गर्न आग्रह गरेँ । उनले मनु दाइसँग समय लिएपछि मलाई जानकारी
गराए । एक रात मनु दाइको डेरामा बस्ने गरी हामी दुवै जना गयौँ, उनको बासस्थानमा । साँझ पर्ने–पर्ने बेलामा । मैले सुनेको थिएँ, मनु दाइले मज्जाले पिउँछन् भन्ने । त्यसका लागि हामीले नै लगानी
गर्नुपर्ने कुरा सुविदले मलाई भनिसकेका थिए । त्यो साँझ नै मनु दाइसँगको मेरो
बहुप्रतीक्षित पहिलो साक्षात्कारको सुअवसर थियो । जिमिदारका छोरा मनु दाइ
साँच्चिकै फक्कर, हरफनमौला जस्तै लागे मलाई, त्यो पहिलो भेटमा । छोराको कमाइमा भैंसेपाटी सुरु हुने ठाउँ नख्खुमा बसेका
रहेछन् उनी, भाउजू ज्ञानुलाई पनि साथैमा राखेर ।
झिमिक्क साँझ परेपछि
उनले हामीलाई नजिकैको एउटा भट्टीमा लगे । त्यहाँ लोकल सुरा मागे र
बिस्तारै–बिस्तारै गफिँदै पिउन थाले । उनी सुराको मजा लिँदै थिए, हामी दुई उनका कुराको मजा लिँदै थियौँ । साँझले रातको रूप धारण गरिसकेपछि
भट्टीबाट हामी निस्कियौँ । फर्किने बेलामा भरेलाई भन्दै मनु दाइले एक बोतल साथै
लिएर जाने कुरा गरे । त्योसहितको बिल एक सय पचास जति भएको रहेछ । उनले तिर्न
खोजेझैँ गरे, मैले मानिनँ । सम्भवतः उनीसँग त्यो तिर्न चाहिने
रकम थिएन । त्यो रकम तिर्दा मलाई प्रसन्नता बोध भयो । मनु दाइले चाहिँ त्यो रकम
पछि मलाई फिर्ता गर्छु भन्दै थिए । तर, पछि त्यो रकम मैले
माग्नै कुरै थिएन । उता डेरामा ज्ञानु भाउजू भोजनका लागि हामीलाई कुरिरहनुभएको
रहेछ । खाना खाने तयारीमा हामी बस्यौँ । मनु दाइले हामीलाई खान आग्रह गर्दै आफूले
नखाने कुरा गरे । त्यही बेला भाउजूले भन्नुभयो – ‘हेर्नुस् न बाबु ! उहाँको बानी
नै यस्तै हो । पिएपछि खाँदै नखाने । अब दुई–तीन दिन यत्तिकै हो ।’
‘दाइ ! तपाईंले नखाने
भए हामी पनि खाँदैनौँ,’ मैले मनु दाइलाई भनेँ । सुविदले चाहिँ गाँस मुखमा हालिसकेका थिए । मेरो
धेरै जिद्दीपछि मनु दाइले पनि खाने भए, तर खाए थोरै मात्र ।
त्यो रात निकै रमाइलोसँग बित्यो, गफैगफमा, कुरैकुरामा । मनु दाइ
मज्जाले पिउँदै गफिँदै, हामी पनि रमाउँदै–सुन्दै । उही कुरालाई मैले
मेरो गजलको एउटा शेरमा सुटुक्क हालेको छु –
‘अब मानवतावादी मनु
कुन कुनामा होला <,
खोज्दा भेटेँ
भट्टीभित्र मजाले पिउँदै रहेछ ।’
भोलिपल्ट बिहानै मनु
दाइ सुरामा नै थिए । मैले भाउजूलाई सोधेँ –
‘के दाइको यस्तै हो
हाल भाउजू <’
‘यस्तै हो बाबु !
तपाईंका दाइले मलाई बिहे गरेर ल्याएपछि आजसम्म एक रुपियाँ पनि दिनुभएको छैन ।’
भाउजूको यस भनाइले
मलाई भित्रभित्र खुब दुख्यो । एउटा जिमिदारको जेठो छोरा चेतमानसिंह भण्डारी नेपाली
साहित्यमा मनु ब्राजाकीका रूपमा स्थापित गराउन भाउजू ज्ञानुको भूमिका कम छैन भन्ने
मैले बुझेको छु । भाउजूका कुराले मेरा आँखा रसाए । उहाँको नम्रता र आतिथ्यबाट म
निकै प्रभावित भएँ । भोलिपल्ट बिहानको भोजन पनि त्यहीँ गरेर हामी फर्केको जस्तो
लाग्छ मलाई ।
यो पहिलो भेट, जीवनमा नै आफ्नो आदर्श स्रष्टासँगको पहिलो साक्षात्कार थियो मेरो । मनु
दाइका गजलका शेरहरूमा जसरी सुरा, भट्टी र भट्टीवाल्नीका कुराहरू आउँछन्, त्यसको प्रत्यक्ष अवलोकन र अनुभव गर्न पाएको अवसर मेरो अन्तरमा अहिले पनि
सुरक्षित छ । जतिसुकै पियक्कड भए पनि उनको पिउनुको अर्थ अर्कै थियो । लेख्नकै लागि
खुब पिउने तर पिएको बेला नलेख्ने, पिउन थालेपछि तीन–चार दिन लगातार पिउने र
लेख्न थालेपछि लगातार तीन–चार दिन लेखिरहने स्रष्टा हुन् उनी । त्यसैले मैले उनलाई
कहिल्यै जँड्याहा मानिनँ । आदर–श्रद्धा गर्न मन लागिरह्यो । सायद पिउने बानी
नहुँदो हो त मनु दाइबाट हामीले यति धेरै गजल, कथा, संस्मरण, निबन्ध आदि पाउने थिएनौँ । नेपाली साहित्यको
समृद्धिका लागि उनले पिएरै भए पनि ठुलो योगदान गरेको कुरा बिर्सन मिल्दैन ।
त्यसपछि मनु दाइसँग
मेरो दोस्रो भेट झन्डै १० वर्षपछि भयो । मेरो गजल सौन्दर्य
मीमांसाको प्रथम संस्करणको लोकार्पण २०६४ सालको जेठमा अनाम मण्डलीको आयोजनामा
वाल्मीकि संस्कृत विद्यापीठको एउटा कक्षमा भएको थियो । त्यो अवसरमा मनु दाइलाई
प्रमुख आतिथ्य प्रदान गरेर आमन्त्रण गरिएको थियो । उनी निकै उत्साहित भएर आएका थिए, त्यो समारोहमा । उनका हातबाट मेरो गजलको सैद्धान्तिक ग्रन्थ लोकार्पण
गराउन पाउनु मेरा लागि अहोभाग्य थियो । त्यो मौकामा मनु दाइसँग सँगै बस्ने र
पिलाउने चाहना थियो मेरो । तर, त्यो सार्थक भएन । म हतारमा थिएँ, उनको उपस्थितिप्रति आभारी भएँ र बिदा गरेँ । सायद अनाम मण्डलीका साथीहरूले
नै मनु दाइलाई आउने–जाने व्यवस्था गरेका थिए । मैले मेरो हातबाट उनलाई भाडा पनि
दिन भ्याइनँ, जानिनँ वा सकिनँ । मलाई पछुतो लागिरहेको छ । अनाम
मण्डलीले आयोजना गरेको सोही सालको मोती जयन्तीको कार्यक्रममा पनि मनु दाइलाई
भेट्ने अवसर मिलेको थियो ।
केही वर्षपछि मनु
दाइको अमेरिका प्रस्थानको खबर पाएँ । त्यहाँ रहँदा कहिलेकाहीँ मुहार–पुस्तिकामा
झल्याक–झुलुक भेट हुन्थ्यो उनीसँग । मेरा गजलमा एक–दुई पटक कमेन्ट पनि गरेका छन्
उनले त्यहाँबाट नै । अतुलनीय खुसी लाग्थ्यो यसरी भेट्दा पनि मनु दाइलाई ।
मनु दाइलाई चौथो पटक
मैले नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा गजल विषयक अन्तर्राष्ट्रियस्तरको
कार्यक्रममा भेट्ने अवसर पाएको थिएँ । २०७२ सालको भदौ महिनामा मोती जयन्तीको
सन्दर्भमा नेपाल प्रज्ञा प्रतिष्ठान र अनाम मण्डलीको संयुक्त आयोजनामा भएको दुई
दिने गजल कार्यक्रममा पहिलो दिन गजल वाचनको कार्यक्रम थियो । मनु दाइ त्यहाँ
उपस्थित थिए । उनको सम्मान पनि थियो । यो पटक मनु दाइलाई अत्यन्त कमजोर अवस्थामा
देखेँ मैले । दुब्लो, पातलो नभए पनि शारीरिक अशक्तता अकल्पित
ढङ्गले बढेको रहेछ । लठ्ठी हातमा लिएका र अरूको सहाराले मात्र हिँड्डुल गर्ने
अवस्थामा पुगेका मनु दाइलाई देख्दा मलाई कस्तो–कस्तो नमज्जा लाग्यो । त्यो दिन
हामीबिच छोटो मात्र भलाकुसारी भयो । दोस्रो दिन मैले पनि कार्यपत्र प्रस्तुत गर्नुथियो
त्यहाँ । तर, मनु दाइको उपस्थिति थिएन । उनको उपस्थिति नभए पनि
मेरा आदर्श मनुलाई त्यहाँ मैले सम्झिएको थिएँ ।
मनु दाइमा गजल
लेख्नका लागि चाहिने रुक्न÷अर्कानको ज्ञान थियो । बहरबारे उनी अनभिज्ञ
थिएनन् । तर बहरमा गजल कहिल्यै लेखेनन्, लयलाई भने सधैँ
आत्मसात गरिरहे । एकदिन मलाई उनले भनेको सम्झना छ,– घनश्यामजी ? वास्तवमा गजल बहरमा नै लेखिन्छ, लेखिनुपर्छ । मैले
भने बहरमा लेख्न सकिनँ । तपाईंले सक्नुहुन्छ । त्यसैले बहरमा नै लेख्नुस् । हुन
पनि नेपाली गजलको पुनर्जागरणपश्चात् गजलका सन्दर्भमा बहरको कुरा उठाउने काम मबाट
नै भएको थियो र अद्यापि यो अभियान जारी नै छ ।
जीवनमा मनु दाइलाई
विभिन्न सन्दर्भमा चारचोटि प्रत्यक्ष भेट्ने र बोल्ने अवसर पाएको छु मैले । २०७२
साल फागुनमा परिवर्तन साहित्य प्रतिष्ठानले मेरो एकल गजल गायन कार्यक्रम सर्वनाम
थिएटरको हलमा राख्दा मनु दाइलाई प्रमुख अतिथिका रूपमा बोलाउने मेरो चाहना थियो ।
तर, उनको अशक्तताका कारण आयोजक संस्थाले उनलाई ल्याउन
नसकिने बताउँदा मलाई दुःख लागेको थियो । मैले थाहा पाए अनुसार अब मनु दाइले पिउन
छाड्नुभएको छ रे ! लेख्न भने अझै पनि सक्नुहुन्छ सायद । मलाई धेरै–धेरै माया गर्ने
आदरणीय अग्रज स्रष्टा मनु दाइ, मेरा गजलका आदर्श स्रष्टा मनु दाइ, मेरो गजल यात्राका प्रेरणा स्रोत मनु दाइ ! तिमी धेरै–धेरै वर्षसम्म बाँच, शताधिक आयुको लागि शुभकामना ।
यसरी मैले उनको
मृत्यु हुनुपूर्व नै यो आलेख तयार गरेको थिएँ । उनी जीवित छँदै उनको साहित्यिक
योगदानलाई समेटेर एउटा कृति निकाल्ने तयारीमा रहेको जानकारी गराउँदै मसँग लेख
मागेका थिए सुविद गुरागाईंले । तर त्यो कृति छापिनुपूर्व नै मनु दाइले २०७४ सालको
माघ १९ गतेका दिन यस सांसारिक मञ्चबाट सदाका लागि बिदा लिए । अनि छाप्ने भनेको
कृति पनि मुल्तबीमा रह्यो, अर्थात् छापिएन । मैले भाइ सुविदसँग मेरो
लेख मागेँ र केही परिमार्जनसहित अद्यावधिक गरेको छु । मेरो गजल यात्राका प्रेरणा
स्रोत मनु दाइ ! तिमी धेरै–धेरै वर्षसम्म बाँच, शताधिक आयुको लागि
शुभकामना भनेर लेखिएको लेखको परिमार्जनमा अब भने मेरो गजल यात्राका प्रेरणा स्रोत
मनु दाइ ! तिमीप्रति भावपूर्ण श्रद्धाञ्जली भनेर लेख्न विवश हुनुपरेको छ । मनु
दाइले अलि छिटै संसारबाट बिदा लिए, तर कृतिहरूमा उनको
कीर्ति रहिरहनेछ ।