साहित्यिक समाचार
आफू विरुद्ध आफैं अभियानको चौंथो शृृङ्खला सम्पन्न
“आफू विरुद्ध आफैं” अभियानको चौथो श्रृङ्खला सुनकोशी वाङ्मय प्रतिष्ठान र “आफू विरुद्ध आफैं” अभियानको संयुक्त आयोजनामा बौद्ध स्थित उत्पला क्याफेमा कवि छविरमण सिलवालको ‘डोरम्याट’माथि परिचर्चा गर्दै मिति २०८१ चैत्र १६ गते शनिवार सम्पन्न भएको छ । कृतिमाथि वरिष्ठ कवि कृष्ण बाउसेले कृतिमा सुन्दर पर्याकविताहरू रहनुका साथै पर्यावरणीय दृष्टिचेतका कविता हुनु राम्रो रहेको बताउनुभयो ।
कवि
एवम् सम्पादक विमल भौकाजीले डोरम्याट आयातीत शब्द भएको बताउँदै यसलाई नेपाली
बोलीचाली र भाषा साहित्यले ग्रहण गरिसकेको र डोरम्याटका कविताहरू सरल बिम्बहरू
प्रयोग गरिएको बताउनुभयो ।
कवि
आर. एम. डंगोलले कृतिमाथि चर्चा गर्दै सामान्यतया कथ्य एउटै भए पनि त्यसलाई कसरी
प्रयोग गर्ने भन्ने कविको आफ्नै शैली हुने
र समकालीन नेपाली कविताको प्रचलित शैलीमै लेखिएको बताउनुभयो । कवि तथा
साहित्यकार नवराज रिजालले कवितामा गलत क्रियाकलापका व्यङ्गका साथै हरेक कविता
जीवनसँग जोडिएको बताउनुभयो भने कवि बोधराज पौडेलले कविताहरू सरल र सुन्दर हुनुका
साथै सामाजिक जीवनका पाटाहरूलाई शूक्ष्म रुपमा उतारेको बताउनुभयो । कृतिकार एवम्
सभाध्यक्ष छविरमण सिलवालले समाजका अवयवहरूले कविता कोर्न आफूलाई प्रेरित गरेको
बताउनुभयो । यसअघि कवि विष्णु थापा, विश्व सिग्देल र पूर्णबहादुर श्रेष्ठले कवि
सिलवालका कविता कृति डोरम्याटका कविताहरू वाचन गर्नुभएको थियो । कार्यक्रममा
होमशंकर बास्तोलाले स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै डोरम्याटका कविता सामाजिक
चेतलाई उजागर गर्ने खालका रहेको बताउनुभयो भने केशव पराजुली, वेदराज
पौडेल लगायतले आफ्ना धारणा राख्नुभएको थियो । ‘आफू विरुद्धको आफैं’सँगको सहकार्यमा
भएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव साहित्यकार प्रदीप सापकोटाले
गर्नुभएको थियो ।