कृतिसमीक्षा
डा. साहको सचेतनामूलक कृति M गर्भको गर्व
सिर्जनात्मक गैर आख्यान
(creative non fiction) वास्तविक घटना अनुभव, इतिहास आत्मकथा, डायरी, संस्मरण, यात्रावृतान्त
आदि विषयलाई साहित्यिक शैली र सिर्जनात्मक ढङ्गले प्रस्तुत गरिने विधा हो । यो विधामा भाषाशैली र अभिव्यक्तिकला साहित्यिक सौन्दर्यले भरिएको तर कथ्य भने अकाल्पनिक
बरु तथ्यात्मक हुने गर्दछ । प्रस्तुतिमा सिर्जनात्मकता र लेखनमा कलात्मकता हुने योप्रकृतिको
साहित्यलेखन जीवन, घटना वा अनुभवमा
आधारित हुन्छ । डा. बालकृष्ण साहद्वारा लिखित
गर्भको गर्व त्यही शैली र प्रकृतिको कृति हो, जसको दोस्रो संस्करण
हालसालै बजारमा आएको छ ।
साहित्यपोष्ट प्रकाशक
रहेको गर्भको गर्व कृतिमा कुल नौ वटा घटनाप्रधान प्रकृतिका संस्मरणात्मक शैलीका कथा
तथा लेखकका चिकित्सकीय अनुभव मिश्रित कथात्मक रचनाहरू छन् । यी सिर्जनाहरूले पाठकहरूलाई पढ्दा आनन्द मात्र दिदैनन्
त्योभन्दा बढी प्रजनन् स्वास्थ्य र मातृत्वबारे
ज्ञान र चेतना दिन्छन् । सबैलाई यसका सन्दर्भमा जिम्मेवार हुनका निम्ति सन्देश दिन्छन्
। कृतिका फरक फरक समस्यामा केन्द्रित यी कथाहरूले पाठकलाई भावुक पनि बनाउँछन्, संवेदित पनि
बनाउँछन् र सामजिक रुढता, बाध्यता र नारी समस्या र चुनौतीहरूलाई दुरुस्त
पेस गर्छन् ।
विधागत रूपमा यसलाई
सिर्जनात्मक गैर आख्यान भनिएको छ । यसबारे बोल्नुपर्दा आख्यान
कल्पनाशीलताले भरिएर लेखिएको साहित्य हो भने सिर्जनात्मक गैर आख्यान सत्यमा
आधारित तर साहित्यिक शैलीमा लेखिएको साहित्य हो । गर्भका गर्व कृतिका सतप्रतिशत विषयवस्तुहरू
सत्यमा आधारित रहेको अड्कल गर्न सकिन्छ । लेखकको लेखनमा कलात्मक र चित्ताकर्षक शैलीको
प्रयोगको राम्रै छनक देखिनुले विधागत कित्ता स्पष्ट देखिन्छ ।
कृतिको भूमिका खण्डमा
मेडिकल लिटरेचरको पनि प्रसङ्ग छ । अहिले सायद मेडिकल लिटरेचर नै मेडलिटका नामले परिचित
छ । मेडलिट अथवा चिकित्सासाहित्य आजको आवश्यकता
पनि हो । यो नेपाली साहित्यमा पनि भित्रिइसकेको छ अनि एउटा सुन्दर र सशक्त साहित्यिक
क्षेत्र बन्ने क्रममा छ । यसले चिकित्सा, स्वास्थ्य रोग, उपचार विरामीको अनुभव, चिकित्सकको अनुभव
अनुभूति र समाजबिचको सम्बन्धजस्ता विषयको उठान गर्छ र यस्तो विशिष्ट विधागत विषयले
साहित्यमा प्रवेश पाउँछ । विश्वमा मेडलिटका क्षेत्रमा निकै काम भएको छ । मेडलिटको कुरा
गर्ने हो भने paul Kalanithi को when breath becomes air, henrietta को the immortal life लगायत थुप्रै पुस्तकहरू प्रकाशित देखिन्छन् । नेपालमा पनि रुद्र
अधिकारी, भगवान् कोइरालालगायत धेरै लेखकहरूले यो विधामा कलम
चलाएका छन् । आज यो विषयक्षेत्रको फाँटमा गर्भको गर्व बोकेर पेस भएका छन् डा. बालकृष्ण
साह पनि । भगवान् कोइरालाका सेल्फलेस सर्भिस-हृदयमा भगवान्जस्ता
कृतिहरू जो लोकप्रिय छन् त्यस्तै लोकप्रिय
बन्ने चर्चा चुम्ने बाटोमा लागेकोजस्तो लाग्छ गर्भको गर्व कृति पनि । छोटो समयमा नै
यसको दोस्रो संस्करण प्रकाशित भइसक्नु यो संकेत हो ।
गर्भको गर्वले एकातिर
सर्जकलाई पेशागत अनुभव र योगदानको दस्तावेजीकरण गर्न सहयोग गरेको छ भने सर्वसाधारणहरूका
लागि जनसचेतना दिने वा अभिमुखीकरण गर्ने काम पनि यसले गरेको छ । कथा भनेको अतीतसँग
जेडिने विधा हो, जसमा घटना
हुन्छ, घटनाको परिवेश हुन्छ र त्यो परिवेशमा पात्रहरू हुन्छन्
। तिनै पात्रहरूद्वारा घटना घटित हुन्छ । कथामा
कथानकीय शैली हुन्छ कथावस्तु हुन्छ । कथामा
आरम्भ हुन्छ, मध्य हुन्छ, उत्कर्स हुन्छ । कथामा
चित्ताकर्षक शैली हुन्छ । कथा एकै बसाइमा पढ्न सकिने हुन्छ । यीमध्येका धेरै गुणहरू
यहाँ छन् र कतिपय दुरुस्त कथा छन् कतिपय कथाहरू भने आलेख वा संस्मरणत्मक निबन्ध निकटकाजस्ता
पनि लाग्छन् । मतलव कतिपय शीर्षकहरू अभिव्यक्तिमा संस्मरणजस्ता बन्न पुगेका छन् । प्रत्येकजसो
विषयबस्तुमा लेखक स्वयम् छन् । प्रायः लेखक एउटा पात्रकै रूपमा पनि रहेका छन् । पात्रहरू काल्पनिकभन्दा पनि दुरुस्त लाग्छन् । अर्को
महत्वपूर्ण कुरा प्रत्येक कहानीका साथमा (अन्त्यमा) मेडिकल नोट छ । जुन यो कृतिमा लेखकको नयाँ प्रयोग पनि हो ।
गर्भको गर्व लेखक
डाक्टर बालकृष्ण शाहको सचेतनामूलक कथा कृति
हो भन्न सकिन्छ । यसा एकातिर यौन, प्रजनन् र लैङ्गिकताप्रति
समाजले राखेको हालसम्मको दृष्टिकोण आएको छ भने अर्कातिर यौन, प्रजनन् र
मातृत्व सचेतना र शिक्षा छ । यसमा रहेको छोरी
किन भएँछु भन्ने कथाले महिनावारी जो प्रत्येक वयस्क नारी हुनुको संकेत हो, प्राकृतिक
कुरा हो तर पनि समाजमा यसलाई कसरी हेरिन्छ र यसका कारणले छोरीहरूको खुशीमा कसरी कालो
बादल मडारिन्छ भन्ने कुरा छ । चेलीको पीडा
कथामा मध्यम र सामान्य परिवारका चेलीहरूले
अज्ञानता अभाव र विवशताका कारण भोग्नुपरेको
यौनिक कहानी छ । प्रीतिको जित गर्भको जुम्ल्याहामध्ये एक बच्चामा सिस्टिक ह्याग्रोमा
देखिए पनि एउटा बच्चा ठुलो दुःख र समर्पणले जन्माउन सकिएको सन्तोषप्रदायक सुखान्तक
कथा छ । स्वय् चिकित्सक साहको सफलताको बिम्व छ । रगतको जात कथामा अण्डासय फुटेर ज्यान
गुमाउन लागेकी सावित्री मगर दम्पत्तिको दर्दनाक कहानी, एउटा मनकारी
चिकित्सक र स्वास्थ्यकर्मीको सद्भाव र सावित्रीले पाएको पुनर्जीवनको सुखानुभूति छ ।
यस्तै छोरीको माइती बाध्यता, केरोनाको फरक कथा हो । त्यो लडाइँजस्ता कथाहरूमा
छोरोको निम्ति एउटी नारीले ज्यान जेखिममा राखेर गर्भवती हुनुपर्ने बाध्यता, गर्भ नारीको
गर्वको विषय, कोरोनाको कालमा फुत्त रोगको उपचारको सट्टा कोरोना
चेक गर्दागर्दै कोरोना नेगेटिभ विरामीले कसरी ज्यान गुमाए भन्नेजस्ता कहानीहरू समेटिएका
छन् । युद्व जितेको रात कथामा दुर्गमका दुःखी महिलाहरूले भोग्नुपरेको आङ खस्ने समस्या, त्यसको सामाजिक
पीडा उपचार र शिविरमा चिकित्सकहरूले सामना गर्नुपर्ने चुनौतीको चित्र
छ । कृतिमा
छोरो जन्माउन प्राणको बाजी थाप्नुपर्ने नारीहरूका साथै समाजिक संकोचका कारण रोग लुकाइरहेका र स्वास्थ्य
उपचारका अभावमा रोग पालेर बस्नु परेका आमाहरू पनि छन् । कथाहरू पीडा र मर्मले भरिएका
छन् । परम्पराका रुपमा समाजमा रहेको पुत्र मोह, छोराछोरी नजन्मदा
सौता स्वीकार्नुपर्ने प्रचलनको बिम्ब पनि कृतिमा छ । कथाका पात्र र परिवेशको उल्लेखले
कृति सत्य घटनामा आधारित प्रकृतिका कथाहरूको कृति बनेको देखिन्छ । केही कथाहरू पात्र
परिवेश र कथनकका दृष्टिले राम्रा कथा लाग्छन्; जसमा कलाका लागि यथार्थमा
अलि अलि कल्पना पनि घोलिएको देखिन्छ । कतिपय त संस्मरणात्मक निबन्धको बाटोतिर पनि तन्किन
खोजेजस्ता लाग्छन् । पाठकहरूले कृतिमा डा. बालकृष्णलाई लेखक वा साहित्यकार व्यक्तित्वबाट
पढ्दा अझै साधना र सिर्जनामा परिस्कारको आवाश्यकता महसुस पनि गछर्न् तर एउटा डाक्टरको
रूपमा हेर्दा भने सबै कथाहरूमा अत्यन्त सफल र सबल विज्ञ चिकित्सकको रूपमा पढ्छन् । कतिपय कथाहरू केस स्टडीजस्ता भएर आएका छन् ।
कृतिमा लेखकको जीवन
संघर्षको केही बिम्ब पनि छ । डा. हुनुको नाताले लेखकको चिकित्सकीय सेवा र अनुभवलाई
यी कथाका माध्यमबाट पोखिएको छ । विरामीको पीडा, रोग र समस्यासँगको
सङ्घर्ष, उपचार प्रक्रिया, सामाजिक दृष्टिकोण
पनि साहित्यिक किसिमले प्रस्तुत भएका छन् । मेडिकल लिटरेचरले विज्ञान मात्र होइन यसले
त मानवीयता र संवेदना पनि साथै साहित्यमा लिएर आउँछ भन्ने कुरा देखाएको छ । विशेष गरी
महिला स्वास्थ्य र संवेदनशीलतामा आधारित पुस्तक हो गर्भको गर्व । यो मूलतः प्रजनन्
स्वास्थ्य आधिकार र चुनौतीसँग सम्बन्धित कृति
हो भनेर सजिलै भन्न सकिन्छ । व्यवहारिक जानकारी र सरल भाषाशैली यसको सबल पक्ष हो ।
यसमा लेखकले पेशागत अध्ययन र अनुभवलाई कथात्मक र संस्मरणात्मक शैलीमा प्रस्तुत गरेका
छन् । कृति चिकित्सा विज्ञान र आख्यानात्मक नेपाली कथा साहित्यलाई फ्युजन गराउँदै पाठकसामु
प्रस्तुत छ ।
यस कृतिमा चिकित्सकहरूको
पेशागत निष्ठा र समर्पणको कुरा छ । यो कृतिले चिकित्साजस्तो प्रविधिक पेशालाई अपनाएर
पनि साहित्यलेखनमा आफूलाई समर्पित गर्न रुचाउने डा. बालकृष्ण साह एउटा साहित्यिक चेतना
भएको चिकित्सक हुन् भन्ने देखाएको छ । उनी साहित्यिक साधक देखिएका छन् । साहित्य र
स्वास्थ्यको सङ्गम गराउनका निम्ति उनले गरेको यो कर्म प्रशंसनीय छ । यो कृति सीमान्तकृत
समाजसम्म पनि पुग्न सके यसले धेरैलाई प्रजनन् र यौन जोखिमबाट बचाउन भूमिका खेल्न सक्छ
। यस कृतिका कथाहरूले माध्यमबाट आम समुदायको
प्रजनन् तथा मातृ स्वास्थ्यचेतनामा पक्कै पनि अभिवृद्घि गर्नेछन् भनेर आशा गर्न सकिन्छ ।
कृतिले भ्रुणावस्थादेखि
गर्भावस्था र शिशुअवस्थामा पनि ध्यान दिनुपर्ने कुराहरू के के हुन भन्ने कुराहरू प्रस्तुत
गरेको छ । यो नारी–पुरुष, युवा–युवती सबैका लागि उपयोगी छ । विवाहपूर्वका
किशोर किशोरीहरू, विवाहित जोडीहरू, वाध्यतामा
वा खुशीमा विवाहेत्तर सम्बन्ध राख्नेहरू सबैका लागि पठनीय छ । यसले हाम्रो समाज, सामाजिक परम्परा
चिन्तन र सांस्कृतिक पक्षलाई पनि छोएको छ । नारी पुरुषहरूको सामाजिक तथा
यौनिक मनोविज्ञानको चित्र पनि कृतिमा छ । कार्यरत चिकित्सकहरू, चिकित्साशास्त्र
अध्ययन गर्दै गरेकाहरू एवम् मातृ तथा प्रजनन् स्वास्थ्यसम्बन्धी अध्ययन विश्लेषण गर्ने
व्यक्ति, संस्थाका लागि यो कृति स्रोतसामग्री बनेको छ, बन्न सक्छ
।
यो एउटा स्वास्थ्यकर्मीको पेशागत आत्मकथाको कृति पनि
हो । यहाँ उसको संस्मरण छ, जुन यथार्थ छ । यसमा चिकित्सकको सामाजिक
भूमिका पनि लेखाङ्कित छ । कृतिमा त्यो सँगसँगै उसले गरेको निदान र उपचारको रणनीति पनि
छ । सम्बन्धित रोगको बारे जानकारी छ त्यसको प्रिक्युसन र निरोधको विधि पनि छ । कृति
पढ्दा पाठकले गर्भधारण के हो ? यो कस्तो अवस्था हो ? नारी विशेषका
निम्ति प्राप्त यो वरदान कति चुनौतीपूर्ण हुन्छ ः यसका निम्ति परिपक्वताका संकेत र लक्षणहहरू के कस्ता हुन्छन् ? भन्नेजस्ता
कुराहरूको व्यवहारिक ज्ञान प्राप्त गर्न सक्छन् । कृतिका कतिपय कथाभित्रका विषयबस्तुहरूले
गर्भाधान एउटा पाटो रहेको र अर्को महत्वपूर्ण
पाटो गर्भको सुरक्षा र प्रसुती रहेको दर्साएका छन् । भलै यसका कथाहरू एउटा विधा क्षेत्रका
विषयबस्तुहरू हुन, यो कृति सरोकारवालाहरूका लागि क्याप्सुल
बनेको छ ।
केही अन्य सबल पक्षहरू
१ कृतिमा सरल भाषा र प्रवाहमय शैलीको प्रयोग छ । क्लिष्टता, दुरुहता छैन
। केही डाइलेक्ट र केही रेजिस्टर शब्दहरू पनि प्रयुक्त छन् । गर्भको गर्वले सबै पाठकलाई
डाक्टर बनाउने र सचेत गराउने सपना देखेको छ
। कृति संप्रेषणीय बनेको छ ।
२ यसमा प्रजनन् स्वास्थ्यसँगै प्रजनन् अधिकारको कुरा छ यसले
एउटी आमामा प्रवाहित हुने मातृत्व गुण र ममताको साहित्यमार्मत सञ्चार गरेको छ ।
३ हाम्रो परिवेशको मातृ मनोविज्ञान, नारी÷पुरुष मनोविज्ञान, यौनिकता तथा
यौन मनोविश्लेषणका साथै सामाजिक सांस्कृतिक
मनोविज्ञानको चित्र कृतिमा छ ।
४ यसमा हाम्रो आर्थिक सामाजिक अवस्था, चुनौती र विपन्न, अशिक्षित तथा
रुढिवादी समाजको चित्र पनि छ । यसमा अलि अलि परम्परा छ । समग्रमा उज्यालो आशा निरासा
र फेरि धिपधिपे आशाको सञ्चार यसका धेरै कथाहरूले
गरेका छन् । थोरै दुखान्तक र धेरै सुखान्तक कथाहरू हुनुले बढी जीवनवादी सोचको उज्यालो
कृतिले बोकेको छ ।
५ मेडिकल नोट, परामर्श र चिकित्सकीय
दृष्टिकोण हुनु र धेरैजसो विषयवस्तु केस स्टडीको शैलीमा पनि आउनु कथा लेखनमा नयाँपन
हो ।
६. कृति अन्य लेखकजस्तै अन्य चिकित्सकहरूका लागि समेत प्रेरणामूलक
र सन्देशमूलक बनेको छ ।
सुझाव तथा सीमाहरू
१ टङ्कण छपाइ तथा वर्णविन्यास एवम् सानातिना इररहरू कृतिको आगामी
संस्करणमा सुधारका विषय बनेका छन् ।
२. कृतिमा कतिपय चिकित्सकीय रेजिस्टारको प्रयोगमा अर्थ छ कतिपयमा
छैन । सबैको नेपाली अर्थ वा परिभाषा भएमा कृति सबैका लागि थप संप्रेषणीय बन्नेछ ।
३ कृतिका कतिपय कथाका शीर्षकहरू अलि पोटिला देखिदैनन्, कृतिमा लेखकको
उचाइ र विषयको गाम्भीयर्ताभन्दा हल्का र सामान्य देखिन्छन् ।
४. पाठकलाई भाषा र कथा बुनोट अझै परिस्कृत भएको भए हुन्थ्यो
भन्ने लाग्न सक्छ ।
जेसुकै होस् चिकित्साजस्तो
व्यस्त पेशामा रहेर पनि नेपाली भाषा साहित्यलाई
यसरी प्रेम गर्ने र यस्ता सुन्दर र सार्थक कृति लेखेर नेपाली साहित्य र समाजलाई गुन
लगाउने लेखक बालकृष्ण साह बधाईका पात्र छन् । फरक वृतमा उभिएर विशिष्ट कृति दिने उनको प्रयत्नमा निरन्तरता रहिरहोस् । लेखनमा
कुशल देखिएका डा साहभित्र पक्कै पनि यस्ता
अनेकन अनुभव, अनुभूति र कथाहरू छन् । यदाकदा यस कृतिमा देखिएका अभाव र अपूर्णताहरूलाई
दूर गर्दै अन्य अन्य कृतिहरू पनि उनीबाट यसैगरी आइरहुन् । लेखक डा. बालकृष्ण साहलाई
बधाईसहित हार्दिक शुभकामना ।
०००

धन्यवाद । सरले गहन विश्लेषण गर्नु भएकाेमा अभार व्यक्त गर्दछु । सरले सुझाएका पक्षलाई भविष्यमा पक्कै ध्यानमा राख्ने छु ।
ReplyDelete