कविता
जेन्जीको जन्म
गोपालकुमार मैनाली
मेरो रहर–
सामाजिक सञ्जाल चलाएर
जीवन गुजारा गर्ने थियो
इमेल र गुगल चढेर
विश्व रम्ने चाहना थियो
मैले बढी मागेकै थिएन
मेरो सपनाको हत्याले
मलाई जन्म दियो
सुनेको मात्र हो
देशमा भ्रष्टाचार छ
सुशासन एकादेशको कथा छ
दाइ, दिदी विदेशिनुको समाचार
फेसबुकमा पढेको हो
सर्वत्र नारा थियो –
विद्यालय गएकी छोरी
सुरक्षित घर फिरोस्
बच्चा जन्माउन नसकेर
कुनै पनि आमाले मर्नु नपरोस्
विभेदको खाडल गहिरो नबनोस्
अमुक कामना कसैले सुनेन
बाध्य भएर मैले
अरुका पाइतालामा
पाइताला मिसाएको मात्रै हो
मेरो गन्तव्य मोडेर
मलाई जन्म दियौ
मैले तिम्रो कुर्सी ताकेको थिएन
लुकाएको पैसा मागेको पनि होइन
तिम्रा आँगनमा जतिसुकै गाडी उभिउन्
एउटा देउ भनेको थिएन
तिम्रा छोराछोरी
विदेशमा पढुन् वा उतै बसुन्
मेरो कुनै चासो थिएन
गाउँको अस्पतालमा
औषधिको अभाव नहोस् सुने
पढ्ने स्कुलमा
बेलैमा पुस्तक पुग्ने कुराको
चर्चा गरेँ
मेरा पनि घरमा दसैं आओस भन्ने
तिमीले सुनेको नसुनेझैँ ग¥यौ
सारा पीडा निलेर
शान्तिको गीत गाउँदै थिएँ
समय पर्खाइमा थियो
एउटा क्रूर समय
तिमीले मेरा हातमा
बलेको मसाल दियौ
अनि म जेन्जीको
जन्म गरायौं ।
– काठमाडौँ
९८४१२५३३३३
