समालोचना
रगतको मूल्य” कथासङ्ग्रहको छोटो विवेचना
१. परिचय
‘रगतको मूल्य’
कथासङ्ग्रहका कथाकार हुन् होमशंकर बास्तोला । चिसङ्खुगढी– ५, ओखलढुङ्गामा जन्मेका
बास्तोलाका माताको नाम वेदमाया बास्तोला र पिताको नाम हो नारायणप्रसाद बास्तोला हो
। दुवेकोल–७, खोटाङ स्थायी ठेगाना भई हाल उनको बसोबास बुढानीलकण्ठ नगरपालिका काठमाडौँमा रहेको
छ ।
२. प्रकाशित कृतिहरू
हालसम्म होमशंकर
बास्तोलाका प्रकाशित कृतिहरू यसप्रकार छन् –
– आँसुका झरनाहरू
(कथासङ्ग्रह, २०५८)
– घाम हराएको
दिन (गजलसङ्ग्रह, २०६१)
– बन्दुकको
छाया (कथासङ्ग्रह, २०६७)
– हिमाल पहाडका
कथा (सङ्कलित कथासङ्ग्रह,
२०७१)
– भोका सपनाहरू
(कवितासङ्ग्रह, २०७८)
– रगतको मूल्य
(कथासङ्ग्रह, २०८२)
३. पुरस्कार एवम् सम्मान
जनआन्दोलन घाइते
सम्मान (नेपाल सरकार, २०६३)
भानुभक्त काव्य
पुरस्कार (२०७१)
यज्ञराज घले
संस्था पुरस्कार (२०७४)
प्रेस काउन्सिल
साहित्यिक पत्रकारिता पुरस्कार (२०७६)
४. सम्पादन
– अन्तर्बाेध
(साहित्यिक पत्रिका )
कृतिभित्र प्रवेश
गर्दा – साझा प्रकाशनले प्रकाशित गरेको यस कथासङ्ग्रहमा उन्नाइसवटा कथाहरू समावेश गरिएका
छन् । कथाकारले भनेका छन् कि–‘यी कथाहरू यस अवधिमा लेखिएका समकालीन घटनाहरूका दस्तावेज
हुन् ।’ अध्यन गर्दा कथाकारको धारणालाई कथाहरूले पुष्टि गरेका छन् । कथाहरू विविधताले
सजिएका छन् । ग्रामीण र सहरी परिवेशमा लेखिएका यी कथाहरू निकै रोचक, यथार्थ समाजिक घटना, सामाजका विकृति विसङ्गति, गरिबी, जातीय विभेद, पीडा, द्वन्द्व आदिमा कथाकारको
मनन् चिन्तन् गहिरो देखिन्छ ।
म तिम्री आमा
हुँ – पहिलो कथाले, आमाको महानता, विदेशिएका सन्तानको विदेशप्रति मोह, देश, आमाबाबुप्रतिको गर्नुपर्ने दायित्वमा ह्रास, घर चलाउन विदेश जानपर्ने
बाध्यता, यौनभोक मेटाउन परपुरुषसँग सम्बन्ध, गर्भ धारण, बच्चालाई नदीकिनारमा छाड्न बाध्यता, कसैले लगेको देख्नु र
पछि म तिम्री आमा हुँ भन्ने आवाज अनायास नै निस्कनुजस्ता मार्मिक घटनाहरू कथाले समेटेका
छन् ।
जाहेरी – दोस्रो
कथाले आजको जल्दोबल्दो चेलीेवेटी बेचबिखनको समस्यालाई उठाएको छ । गरिबीको कारणले अध्ययन
गर्न चाहने युवतीलाई जागिर गरेर पढ्न सकिने बाहानामा बम्बैको वेश्यालयमा लगेर बेचिन्छ
। एकजना मुस्लिम युवक ग्राहकको रूपमा गएर युवतीबाट प्रभावित भएर भगाएर विवाह गर्छ ।
ऊ पनि पानी जहाज डुब्दा डुबेर मर्छ । कस्तो दर्दनाक अवस्था, हिन्दु बुहारी र मुस्लिम
सासूबिचको धार्मिक द्वन्द्व, असह्य अवस्था, नेपाल फर्केर आउनु । यहाँ पनि ग्राहकलाई सन्तुष्ट दिलाउने
क्रममा सज्जन वकिलले चेलीबेटी बेचबिखनकर्तालाई कानुनी कार्वाहीको लागि जाहेरी लेखेको
धारणा आएको छ कथामा । कथाले समसामयिकतालाई समाएको छ । गरिबीको कारण नारकीय जीवन भोगाइको
पीडालाई दर्शाएको छ ।
फैसला – यस
कथाले समाजका ती घटनालाई समाएको छ, जसमा विवाहपछि लोग्ने कार्यालयका काममा जाँदा बाहिर
प्रेमीले विवाह गरेको हुँदैन र कसैको रूप र यौवनतालाई देखेर प्रेममा फसेर न्यायमुर्तिले
अन्याय गर्छ र बद्नाम हुन्छ । त्यस्ता महिलाले धोका खान्छन् भन्ने सन्देश दिएको छ कथाले
।
नछुइने बैँस
– यस कथामा जातीय विभेद, यसबाट माथिल्लो जात भन्नेहरूले तल्लो जातमाथि गरिने थिचोमिचो, तल्लो जातसँग यौन सम्पर्क, गर्भ
रहेपछि बच्चा जन्मनु, आमालाई मारेर बरको रुखमा झुण्डिएर
मरेको बनाउनु, पुलिस ल्याएर प्रकृया मिलाएर सद्गत् गर्न लगाउनु, विरोधका आवाज निस्कनु
तर शक्तिवालाको अघि बिरोध गर्नेवालाको केही नलाग्नु । पछि बच्चालाई झाडीमा फाल्न भन्नु, नफाले नाती हजुरबा दुवैलाई
मारिदिने धम्की दिनु, हजुरबा नाती बोकेर गाउँ छाडेर हिँड्नु । कथाले दलका नेताहरूको अहंतालाई पनि समेटेको
छ । समाजमा दलितको मलामी जान हुने र नहुने दुई मत देखिनु र एक दुई जना मलामी जानु ।
समाजमा दलितलाई माया गर्ने,
न्याय दिलाउने मानिस पनि हुन्छन् भन्ने धारणा पनि कथाले समेटेको छ ।
रगतको मूल्य – यो कथा नछुइने बैँसकै निरन्तरता हो । मैले पात्रहरूको नाम उल्लेख नगरी कथासार लेखे पनि हजुरबा (बुधे दमै)लाई तेरी छोरी मैले मारेको हो हाकाहाकी छविलालले भनेपछि बुधे दमाई नाति र आपूm बाँच्न तराई झर्छ । दत्तुप्रसादकोमा पुग्छ । नातीलाई पढाउँछ । नातीले एसएलसीमा जिल्ला टप्छ र राजु (दत्तुको छोरा) ले टिउसन पढाएर पनि पढ्न सकिने मार्गदर्शन दिन्छ र काठमाडौँ लिएर जान्छ र कलेज टप गरेपछि छात्रवृत्तिको कोटामा वेलायत जान्छ र मुटुरोग विशेषज्ञ डाक्टर बनेर आउँछ । बुधेले आमालाई मार्ने र गाउँ छाड्न बाध्यपार्ने छविलाल र चक्रे हुन् र यिनलाई पश्चताप हुने गरी बदला लिनुपर्छ भन्ने कुरा नातीलाई भनिसकेको हुन्छ । डाक्टर (लोके) भएकै अस्पतालमा चक्रेको हृदयघातको अप्रेशन लोकेले नै गर्नुपर्ने हुन्छ । ओपोजेटिभ रगतको आवश्यकताको व्यवस्था पनि साथी उमेश विश्वकर्माबाट लिएर गर्छ । चक्रेको अपरेशन सफल भएपछि चक्रेले मलाई बचाउनु भयो धेरै धेरै धन्यवाद भन्दा लोकेले ‘‘दलितको पानी नचल्ने तर दमाई, कामीको सेवा बैँस र रगत चल्ने रहेछ हैन बुबा ?’’ भन्नु, रगतको मूल्य कति हुँदोरहेछ, आमा मारिएको, हजुरबा गाउँबाट लखेटिएको, आपूm बुधेको नाति भएको जानकारी गराउँदा चक्रेले आपूm मार्नेमा सम्लग्न नरहेको यी काम बाबुले गरेको भन्दै पश्चतापको साथमा माफी मागेका धारणा कथामा आएको छ ।
राप – यस कथाले खास गरेर दुईओटा महत्वपूर्ण कुरा उठाएको छ । एउटा धनी केटी र गरिब केटाबिचको प्रेम विवाहको पारिवारिक असहजता र अर्को विदेशी रोजगारबाट सिर्जना हुने पारिवारिक विछोडको घटना । अजय पढाइमा अब्बल तर घरको गरिब छ । रजिना पढाइमा कमजोड तर पारिवारिक अवस्थामा सम्पन्न । दुवैमा प्रेम हुन्छ र रजिनाका परिवारले दुईको विवाह नस्वीकार्ने कुरा अजयले रजिनालाई भन्दा भागेर विवाह गर्ने प्रस्ताव रजिनाले राख्नु र भागेर विवाह गर्नु । अजय विदेश जाने सल्लाह बमोजिम विदेश जानु र पैसा घरमा पठाउनु रजिनाले जग्गा घरको व्यवस्थाको सट्टा एउटा ड्राइभरसँग अजयले कमाएको पैसासमेत लिएर भाग्नु । अजय फर्केर आउँदा, श्रीमती भागेको जानकारी पाउँदा अजयले पस्केका, ‘‘कतारको मरुभूमिमा तातो घामको राप काट्नुभन्दा यो जीवनको मरुभूमिमा पीडाको राप काट्न गाह्रो रहेछ ।’’
कोरोना – यस कथामा एउटा सम्पन्न परिवारका छोरो बुहारी अमेरिका जान ललायित हुन्छन् । बाबु सरकारी कार्यालयमा सुब्बा, छोरा सेक्सन अफिसर भावी सचिव बन्ने लायक, बुहारी कलेजमा पढाउने, नातिनी हजुर आमासँग रमाएकी यी सबै हुँदा हुँदै डिभी पर्छ । माइती÷ससुराली र घरबाट यहीं सम्पन्नता छ अमेरिका किन जान प¥यो भन्दा नमानेर अमेरिका उड्छन् । बाबु बिमारी भएर बोलाउँदा पनि छोरा आउँदैन । बाबु मरेको दसौं दिनमा आएर र काजक्रिया गर्नु र अमेरिका फर्कनु आमालाई समेत अमरिका जान भन्छन् । कोरोना महामारी विश्वव्यापी छायो तीनै जनालाई कोरोनाले समायो । बाबुछोरी दुवै जना मरेको जानकारी अन्तिमाले थाहा पाउँछिन् । त्यस समयमा देशको, आफन्त, सासू, ससुरा, आमाले विदेश नजाऊ भनेको याद आउँछ । उनले पनि श्रीमान् र छोरीको बाटो समाउँछिन् । स्थानीय टेलिभिजनबाट कोरोनाका कारण परिबारै खतम भएको समाचार प्रसारण हुन्छ । आज देशमा हरेक घर घरबाट चाहे सम्पन्न होस् या विपन्न होस् विदेश पलायन भएकै छन् र बृद्धबृद्धा मर्दा लास बोक्ने मानिसको अभाव खड्किदो छ ।
एक थुँगो फूल – कालले बालक, युवा, बृद्ध केही भन्दैन ।
मिति पुगेपछि लान्छ । यहाँ बाबाआमा जीवित छँदै छोराको मृत्यु हुन्छ । बाबाआमा, श्रीमती सबै रोइरहेका
हुन्छन् । एक अवोध बालिका सबैसँग रुनु, उसलाई सातो जाने डरले घरभित्र थुन्नु । उसले झ्यालबाट
हेर्नु, बाबालाई बाँसमा बाँधेर घाटतिर लान लागेपछि निकै प्रयासले आग्लो खोलेर घाटतिर लाग्नु, चिता बनाएर आगो लगाउनु
। अबोध बालिकाको उद्देश्य बाबालाई बचाउनको लागि जलाउने व्यक्तिलाई ढुङ्गा प्रहार गर्नु, बालिकालाई समातेर घरलिएर
जानु । २० वर्षपछि हरिबोधनी एकादशीका दिन पूmल तार्न जाँदा सानो अवस्थामा बाबालाई जलाएको स्थानलाई
हेर्नु र पूmल तारिसकेपछि आमालाई बाबालाई जलाएको ठाउँ लगेर आमा छोरी भएर एकथुँगो फूल बाबालाई जलाएको चितामुनिको
बालुवामा रोपेर घामतिर फर्केर जुम्लाहात गरेको धारणा आएको छ कथामा । कथा अति कारुणिक
छ ।
अवसान – यस कथाले चार सन्देश बोकेको छ । एक कसैको भोको पेट भरिदिँदा त्यसको फल आखिरमा प्राप्त हुन्छ । दोस्रो उपकार गर्छुभन्दा पनि दण्डित भइने, तेस्रो टुहुराका दिन आउँछन् भन्ने उखान चरितार्थ भएको र चौथो बृद्ध गलित र काम गर्न नसके मन्दिरले पनि आश्रय दिंदैन भन्ने कुरा दर्शाएको छ ।
एउटा इमानदार टुहुराले काम गरेर खानुपर्छ भने धारणा राखेर बस चढ्ने र ओर्लने ठाउँमा खाने कुराका सामान बेच्थ्यो तर यो काम सफल भएन र अर्कोकाम खोज्दा भोकबाट गलित भएको अवस्थामा एउटा झुप्रोमा एक महिलासँग पानी माग्छ । महिलाको छोरा विजुलीमा काम गर्दा करेन्ट लागेर मरेको जस्तो लागेर पानी, खाना खुवाउने र रात पर्न आँटेकोले बास बस्न दिनु र राती गाउँमा चोरी भएकोले भोलिपल्ट बाटोमा जाँदै गर्दा चोर भनेर पुलिसले समाउनु र महिलाले मेरो घरमा बसेको हो र चोर हैन भनेर पुलिसबाट छुटाइ दिनु । तिनै महिलाले बन्दुक पड्केको आवाज सुनेर हेर्दा कसैले मानिसलाई बन्दुक हानेर बन्दुक त्यही छाडेर हिँडेको देखेर घाइतेलाई उपचार गर्न बाटोमा निकाल्दा मृत्यु हुनु र ५ वर्ष जेलजानु । जेलबाट छुटेर घर आउँदा घरजग्गा साहुले हड्पनु । मन्दिरमा शरण लिएर बसी काम गर्न नसक्दा र बिरामी पर्दा महन्तले निकाली
दिनु । एकछाक खाना पानी खुवाएको टुहुरो धनाढ्य भएकोले
असाहायहरूलाई सहयोग गर्दै अउनु र ती बृद्धालाई देखेपछि ड्राइभरलाई उपचारको लागि हस्पिटल
लान लगाउनु । भोलिपल्ट बिल देखेपछि बिल मिनाह गरेर भेट्न जाँदा उनलाई कुनै उपचार र
सहयोग नचाहिने भैसकेको अवस्थामा पाउनु ।
मुगलान – यस
कथामा गरिबीले पिल्सिएका मानिसहरूलाई न कसैले पैसा सापटी दिन्छ न ऋण नै । उपचारको लागि
पैसा नभएर अकालमा मर्नुपर्छ भन्ने संदेश बोकेको यस कथामा अस्पतालको कर्मचारी कार्यालयमा
जाँदै गर्दा बाटोमा उसलाई डाक्टर सम्झेर रिठ्ठेले आफ्नी पत्नी बाटुलीलाई उपचार गर्न
भनी घरलिएर जान्छ । अस्पतालको कर्मचारीले आपूm डाक्टर नभएको अस्पताल लिएर आएमा उसले सक्दो सहयोग गर्ने
भनेर ठेगाना लेखेर छाड्छ । रिठेले पैसा खोज्दा पाउँदैन श्रीमती मर्छे र ऊ पैसा कमाउन
भनेर मुगलान पस्छ ।
राहत – यस कथाले
एउटी बृद्धा महिला भूकम्पले घर भत्किएको र श्रीमान् भत्किएको घरले किचिएर मरेको, सरकारले राहत वितरण गरेको, त्यसमा राहतमा
मेरो नाम नपरेको भन्दै राहतको आसमा गाविसको सिफारिस सहित सरकारी कार्यालयको ढोका ढक्ढक्याउँदै हिँड्दा हिँड्दै बाटोमा ढलेर मरिन् । भूकम्प पुनर्निर्माणको घर बनाउने राहत पाउनका लागि घरका कुनै सदस्यको नाममा जग्गा हुनपर्ने र कसैको जग्गामा घर बनाएर बसेकाले राहत नपाउने प्रावधान रहेको, सबैलाई राहतले समेट्न नसकेको । बृद्धाको जग्गा बन्दगीमा बेचेर फिर्ता गर्न नसकी साहुले लिए तापनि उनको घर त्यही जग्गामा रहेको । कहाली लाग्दो माओवादी युद्धलाई कथाले समेटेको छ । बृद्धाको छोरालाई पढ्दा पढ्दै माओवादीले अपहरण गरेर लगेको । मरे बाँचेको थाहा नभएको । गरिबीको नमुना नागरिकको साथमा नागरिकताका प्रमाणपत्र बाहेक केही नभएको कुरा कथाले समेटेको छ । कथा अति मार्मिक छ ।
भोक – यस कथामा
मानिसलाई जसरी खानाको लागि भोक लाग्छ
त्यसरी नै यौन भोक पनि लाग्छ । यस्तो भोक श्रीमान् विदेश भएकालाई बढी लाग्ने देखिएको छ । यहाँ एकजना महिला (सारु) ले गोविन्दसँँग एक रात भोक मेटाउन चाहन्छे तर गोविन्दले श्रीमान् अमेरिका छ, पैसाको कमी छैन । किन यस्तो काम गर्ने ? भन्दा सारुले भन्छे–‘ ‘गोविन्द ! पैसाले मलाई लागेको भोक कहिल्यै मेटिएन । तसर्थ पनि आजको एक रात मलाई देऊ ।’’ हुन पनि यौनतृष्णा यति बलियो हुन्छ कि ठुला ठुला ऋषिमुनिहरूको सिद्ध हुन लागेको तपस्या पनि परीहरू आएर भङ्ग गरिदिएका हुन्छन् । घनघोर वर्षामा प्रहरी बिटबाट सारु र गोविन्दबिचको बहस र तानातानको आवाज सुनेर कुनै मानवीय घटना हुनसक्ने आङ्कलन गरेर सिपाही त्यहाँ पुग्नु, सिपाही देखेर गोविन्द, सारुबाट हात छुटाएर भाग्नु सिपाहीले सारुलाई घरजाने आग्रह गर्नु तर सारुले सिपाहीलाई आकर्षित पार्दै प्रहरीबिटमा आएर आफ्नो भोक मेटाउँछे । भोक मेटाउँदाको नतिजा तीनदिनपछि अदालतमा बयान लेख्दै गर्दा गोविन्दले भोक मेटियो होला, लोग्नेको सम्पति र घर पनि सिध्यायौं भन्दै प्रश्न गर्नु । हिजोमात्र तिम्रो श्रीमान् आएर छोडपत्रको फिराद दर्ता गरेको कुरा जानकारी दिनु । युवती सलवारले मुख छोपेर उभिनु र सिपाही पनि मुन्टो निहुराएर चुपचाप उभिइरहनुजस्ता धारणा आएका छन् कथामा ।
हिउँको ओछ्यान – यस कथामा हिउँ पर्ने ठाउँमा यात्रा गर्दा भोग्न परेको कष्टदायी अवस्थाको वर्णन गरिएको छ । यात्रा धुन्चेबाट सुरु हुन्छ । स्याप्रुबेंसीबाट घोडातबेलामा बास बस्नु र बिहान लाङटाङ पुग्नु र लाङटाङबाट केन्जिनतिर अघि बढ्दा ६.७ रेक्टरको भूकम्पले हल्लाउनु । लिरुङ हिमाल र लाङटाङबाट हिउँका लप्काहरू झर्नु, निकै आत्तिनु, चिप्लेटी ढुङ्गाको तल ४÷५ जना अट्ने ओडार भेट्नु त्यही बस्नु, ढुङ्गालाई हिउँले ढाक्नु बाँच्ने आशा मर्नु, लौरोले हिउँलाई छेडेर बाहिर निस्कनु र हतार हतार केन्जिङ पुग्नु । त्यहाँका घर भत्किएका, मानिसहरू कोही मरेका, कोही रोइरहेका, कसैले सहयोग मागेका यस्तो अवस्था देखेर लाङटाङलाई सुरक्षित ठानेर फर्कने निधो गरेर बल्लबल्ल लाङटाङ नजिकको स्वास्थ चौकीको ग्रउण्डमा पुग्नु । धेरै मानिस मरेको पाउनु, स्वास्थ चौकीको गाह्रोमा टाँसिएर रात काट्नु । भोलिपल्ट उद्धारको लागि हेलिकप्टर आउनु र घाइतेहरूलाई हेलिकप्टरमा चढाउन, सहयोग गर्नु र पर्सिपल्ट हेलिकप्टर चढेर धुन्चे पुग्नु । यहाँ ९० सालको भूइँचालोको धनजनलाई पनि स्मरण गरिए छ ।
जिलो – यस कथामा
एउटा टुहुरो पानी बेच्ने केटाको पीडादायी घटनालाई समेटेको छ । समाजमा थरीथरीका मानिस
हुन्छन् र तिनले जीवन धान्नको लागि केही न केही गर्नुपर्छ । तब पनि बाल हृदय बाबुआमाको
माया खोज्छ । बाबु एक्सिडेन्टमा मर्छ र आमाले अर्को श्रीमान् खोजेर हिँड्छे । रोगी
हजुरआमाले केही गर्न नसक्ने अवस्थामा हुन्छिन् । गाउँमा गोठालो बस्छ । पेटभरि खान पाउँदैन
र भागेर काठमाडाँै पुग्छ र गाडीमा पानी बेच्न थाल्छ । हजुरआमा नाति हराएको पिरमा बौलाएर
माग्दै हिँड्दै गर्दा सहरमा पुग्नु र चीरनिद्रामा निदाउनु । नाति पानी बेच्दै मानिसको
भिड भएको ठाउँमा पुग्दा आफ्नै हजुरआमा भेट्नु, रुँदै बेहोस हुनु, बिउँझदा अस्पतालको बेडमा पाउनु
। कथा निकै कारुणिक छ ।
नागिना – यस
कथाले भारतबाट आउनेले नेपालमा जे काम गरे पनि पैसा कमाउन सकिने धारणा । भारतको विहारमा
नागिना पात्रको बाबुलाई डाकाले
मारिदिनु । चन्दर भन्ने तरकारी व्यपारीको साथ लागेर काठमाडौँ आएको र नागिनाले गाउँ गाउँबाट कवाडीका सामान उठाउने काम गथ्र्यो । दीक्षा सानी बालिकालाई आमाले चकचक गरे कवाडलाई दिने र उसले लगेर पकाएर खान्छ भनेर डराउन दिनु । दीक्षा निकै डराउनु । दीक्षाका बाबुले यस डरबाट मुक्त गराउन खोज्नु । आफ्ना पढेका अखबार नागिनालाई बिक्री गंर्दा ऊ घरभित्रै जानु र छोरीलाई चकलेट ल्याइदिने बाचा गर्नु । चकलेट ल्याइदिने गर्दा आमाले फ्याकी दिनु । उसले आफ्नी छोरीजस्तै लागेर माया गरेको धारणा राख्नु । यस कथाले दाइजो प्रथालाई पनि समेटेको छ । नागिनाको साथीे जोगिन्द्र मार्फत दाइजो नदिएको भनेर पति र सासूले तातो पानी खनाएर उसकी छोरीलाई मारेको जानकारी हुन्छ । राजनीति संरक्षणप्राप्त अपराधीलाई सजाय खोई भन्ने प्रश्न उठाइएको छ । यस कथाले मायाको कुनै सीमा नहुने धारणा यसरी राखेको छ– ‘‘माया भन्ने कुरा गरिब होस् वा धनी, माग्ने होस् या दिने सबैको एउटै हुँदो रहेछ ।’’
चरित्र – यस
कथाले बस यात्रामा बसमा मानिस खचाखच हुनु, यात्रीलाई हतार हुनु, ड्राइभरले अर्को गाडी नआउन्जेल
कुरेर बस्नु, बाटोमा बच्चा छाड्नु,
एउटी महिला र ड्राइभरबिच कुरा हुनु । ड्राइभरकी श्रीमती बच्चा छाडेर गएको कुरा
चल्दा ड्राइभरकी श्रीमती सज्जन जस्तो लागेको । कहीँ ड्राइभर अन्तै केटीसँग लागेर हो
कि महिलाले भनी प्रश्न गर्नु, ड्राइभरले प्रष्ट पार्नु आदि । भाग्यका कुरा, मानिस सबै एकैनासका नहुने
कुरा आदि कुरा हुँदा हुँदै गाडी चल्छ । ड्राइभरसँग कुरा गर्ने महिला (सविना) भोलिपल्ट
तरकारी लिन चोकमा निस्कनु र पत्रिका किनेर पढ्न थाल्दा पत्रिकामा ‘पाँच महिला र पुरुष
होटेलबाट अर्धनग्न पक्राउ ।’ भनी लेखिएको पढ्दा सविनाको मुखबाट ‘थुक्क ! बजियाबजिनीहरू
। चरित्रहीन पात्रहरू’ आदि धारणा कथाले समेटेको छ ।
अठोट – कथाले र्बौद्ध संस्कारलाई समेटेको छ । एउटी महिला मानेको अगाडि हात जोडेर ध्यानमग्न देखिन्छिन् । जसको लोग्नेलाई बदुकधारीले मारेका हुन्छन् । कारण उनी स्वतन्त्रताको लागि मानिसहरूलाई सङ्गठित गर्न राती राती हिँड्दथे । सरकारको बिरोध गरेको आरोपमा मारिए । देशमा स्वतन्त्रता चाहने धेरै मानिसहरूलाई तानाशाहहरूले मारेको घटनालाई कथाले समेटेको छ । गरिबीले सताएको परिवार जसले गिठा, भ्याकुर तथा कन्दमुल खोजेर खाएर । गिटी कुटेर जीवन निर्वाह गर्नेलाई पनि स्वतन्त्रता प्यारो हुन्छ र सहिद बन्न तयार हुन्छन् । परिवार सरणार्थी बन्न पुग्दछन् । यस्ता असाहाय महिलाले पनि जिउने अठोट गर्दछन् भन्दै मार्मिक वेदनालाई कथाले समेटको छ ।
सिउँदो – यस कथाले युवा युवतीबिचको पवित्र प्रेम, प्रेम भए पनि विवाह बन्धनमा बाँँधिन समय लाग्नु, प्रेमी काठमाडौँमा पुलिसमा जागिर खानु । प्रेमिका माओवादीमा लडाकु बन्नु । प्रेमी सरुवा भएर सल्लेरी पुग्नु र ड्युटीमा खटिएको बेला राती नौ बजे फाप्लुबाट राँके जुलुस निक्लनु । तामाखानीतिर पेट्रोम्याक्स बलेको उज्यालोमा बन्दुक पड्केको आवाज आउनु । गाउँमा हल्लाको आवाज आउनु, ‘कथित संसदीय सरकार मुर्दावाद । महान् जनयुद्ध जारी छ ।’ जस्ता नारा लाग्नु, खानेपानी कार्यालयको आँगनमा बम पडकनु । जिल्ला प्रहरी कार्यालयमा बन्दुक पड्केका आवाजहरू आउन थाल्नु । बम हानिनु, सरकारी पक्षकालाई आत्म समर्पण गर भन्ने आवाज आउनु, प्रेमी (नवीन) नजिकैको प्रहरी गोली लागेर ढल्नु, गोली ताकेको लडाकुलाई रोक्नोस् रोक्नोस् आकाश भनेर प्रेमीका (कविता) ले रोक्नु र प्रेमीलाई हात उठाउन भन्नु र आकाशलाई नवीनलाई सकुसल लिएर हिँड्नु होस् र भोलि उहाँलाई मसँग भेटाउनु भन्नु । रातभरि हिँडाएर पञ्चमुनिको जङ्गलमा पु¥याउनु । नवीन बाँच्न पाउनुको कारण आस्था कमरेड (कविता) भएको जानकारी नवीनले पाउनु । आस्था (कविता) ले बोलाउनु र खाना खाएर त्यहाँबाट आजै खोलुखोलाको दोभानको फड्के हुँदै दुधकोसीको पुल तारेर आउनु भनी छापामारलाई आदेश दिनु । नवीन काठमाडाँै सरुवा हुनु, कविता पनि उसको कमाण्डरले कुनै दिन घटना घटाउने जानकारी प्राप्त भएपछि भोलिपल्ट त्यहाँबाट भाग्नु र दिक्तेल प्रहरी कार्यालयमा आत्मा समर्पण गर्नु । पुनः नवीनसँग काठमाडाँैमा भेट भएर आफ्ना वेदना खोल्दै नवीनले देब्रेहातको नाडीमा चक्कुले अलिकति खोपेर बुढीऔंला रगतमा चोपेर कविताको सिउँदोमा दलिदिएर विवाह बन्धनमा बाँधिनु । कथाले सरकारी सेवामा कार्यरत प्रहरीका परिवारलाई छोरालाई जागिरबाट निकाल नत्र मार्दिने धम्की, सरकार पक्ष र माओवादी पक्षमा ठुलो जनधनको क्षति भएको र मानिसहरू त्रसित रहेका घटनाहरू कथाले समेटेको छ ।
आतङ्ककारी – यस कथामा आफ्नो स्वार्थपूर्ति गर्नको लागि दलित, सोझा, गरिब जनताको लागि आतङ्ककारीको बिल्ला भिराएर मारिदो रहेछ र थुनाउने काम हुँदो रहेछ । पानी नचले पनि यौनतृप्ति गर्न प्रायास गरिदो रहेछ भने त्यस्ता व्यक्तिहरूले उच्च अनुसन्धानको आधारमा निर्दोश छुट्ने र दोषीले सजाए पाउने धारणालाई कथाले सामेटेको छ । कथासारमा धनसिङ उदार दिलको मानिस प्रधानपञ्च, पछि बहुदल आाएपछि अध्यक्ष भएर काम गरेको, घरमा जितेको बाबुदेखि उसले हलो जोत्ने र श्रीमतीले भाडा माझ्ने, घाँस दाउरा आदि काम गर्नेलाई धनसिङले छोरा जबरेलाई हाँडीखोलाको दुई हल पाखोबारी जितेलाई पास गरिदिनु भनेर उसको देहान्त हुन्छ । जबरेले जितेकी श्रीमतीप्रति आँखा लगाउँछ र जितेलाई माओवादी आतङ्ककारी भनेर मार्न लगाउँछ । चमेलीमाथि यौनतृप्ति गर्न खोज्छ । चमेलीले आपूm ढुङ्गा प्रहार गरेर भाग्छे । गाउँमा गुहार माग्छे तर गुहार पाउँदिन र तेस्रो दिन पुलिस आएर आतङ्ककारी भनेर पकडेर लान्छ । मरणासन्न अवस्थामा पुग्ने गरी कुटाइ खान्छे । वयानमा सबै घटना प्रस्तुत गर्छे । यसपछि सिडियोले अन्याएमा परेर महिला मारिदै छ भनी जानकारी पाएपछि सिडियोले उसको सबै घटना सुन्छ । उसले डिएसपीलाई गाउँमा बुझ्दा त यिनी निर्दोस लाग्छिन्, डिएस्पीले पनि त्यस्तै लाग्छ भन्नु, सिडियो र चमेलीबिच परिचय हुनु । सबै कुरा सिडियोलाई भनेपछि सिडियोले जवरेलाई जवजस्ती करणी र ज्यानमारा केसमा कारवाही चलाउने र उनलाई छाडी दिने आदेश हुनु आदि घटनालाई समेटेको छ कथाले ।
पात्रहरूको
चयन – सबै कथामा आवश्यकता अनुसार पात्रहरूको चयन भएको छ । सबै पात्रहरू सकृय छन् ।
परिवेश – अधिकांस
कथाहरू ग्रामीण परिवेशमा लेखिए पनि सहरी
परिवेशलाई पनि समेटिएको छ । आर्थिक परिवेशलाई हेर्दा गरिब पात्रहरूको बाहुल्यता देखिन्छ । सामाजिक परिवेशलाई हेर्दा समाज विविधताले भरिएको छ । कथाले समाजका विविध पक्षलाई समाउने प्रयास गरेको पाइन्छ । राजनीतिक परिवेशमा हेर्दा बहुदलीय व्यवस्थामा देखिने प्रतिशोधको साथै माओवादी जनयुद्धसमेतलाई समेटेको छ । समसामयिक परिवेशमा कथाहरू लेखिएका छन् ।
प्रस्तुत शैली – यस कथाको सुन्दर पक्ष भनेको प्रस्तुत शैली हो । कथाकारले कथालाई सरल, रोचक, मिठासपूर्ण रूपमा प्रस्तुत गरेका छन् । कथामा प्राकृतिक सौन्दर्यतालाई समावेश गरिएको छ । ठाउँ ठाउँमा सुहाउँदा उखान टुक्काले
जोडिएको छ ।
रस – साहित्य
लेखनमा रसको महत्वपूर्ण स्थान हुन्छ । संस्कृतमा भनिएको छ “रसात्मकम् वाक्यम् काव्यम्
अर्थात् रसयुक्त वाक्य नै काव्य हो । रस मुख्यतः ९ छन् जस्तै शृंगार, हास्य, करुण, रौद्र, वीर, भयानक, वीभत्स, अद्भूत र शान्त । यस
कथासङ्ग्रहमा विविध रसहरू प्रयोगमा आएका छन् । यी १९ कथा अध्ययन गर्दा यी सबै रसबाट
आनन्द लिन सकिन्छजस्तो लाग्छ मलाई ।
शीर्षकीकरण
– यस कथासङ्ग्रहमा शीर्षक योग्य कथाहरू अरु भए पनि कथाकारले ‘रगतको मूल्य’ कथालाई शीर्षकको
रूपमा छनौट गरेका छन् । आमा
मारिएकी, बालक अवस्थामा आपूm र हजुरबाउ मार्ने धम्की पाएर गाउँ नै छाडेर हिँड्न परेका यी नाति हजुरबाले छविलाल र चक्रेलाई ठुलो सजाए दिन सक्थे । तर त्यसो नगरेर चक्रेलाई मुटुको अपरेसन गर्न विश्वकर्माको ओ पोजेटिभ रगत खोजेर सफल अपरेसन गरे । छविलालको छोरा चक्रे हुनुहुन्छ भन्दै जानकारी गराउँदै – ‘‘बाहुनको मुटुमा दलितको रगत’’ भन्दै पुनः – ‘‘दलितको पानी नचल्ने तर दमै, कामीको सेवा, बैँस र रगत चल्ने रहेछ हैन बुबा’’ भन्नु । चक्रेले ‘यो रगतको मूल्य म कसरी तिर्न सक्छु ?’ विगतलाई भुलेर माफी माग्छ र डा. ले ‘रगतको मूल्य कति हुने रहेछ बुझ्नुभो नि ? भन्दछ । म बुधेको नाति भन्दै बाबु छोराको परिचय हुन्छ । कथा मार्मिक छ । समसामयिक समाजिक परिवेशलाई समाएकाले शीर्षक ठिक छ भन्न सकिन्छ ।
निष्कर्ष –
विविधताले सजिएका यी कथामा के छ भन्नुभन्दा के छैन भन्न सकिन्छ । कथाले गरिबीलाई समेटेको
छ । चेलीवेटी बेचखिन, वेश्यालयमा भएकालाई पनि सती सावित्री सम्झेर उद्धार गरेर विवाह गर्नु, प्रेममा धोका, दलितको पानी छुइने तर
बैँस भने नछुइने, रगत नछुइने, हत्या हिंसा, जातीय विभेद, प्रेमले उच नीच, धनी गरिब, नछुट्याउने तर परिवारले यस्तो प्रेमलाई नस्वीकार्ने, विदेशी रोजगारले निम्त्याएको
परिवारिक विखण्डन, सम्पन्नतामा पनि अमेरिका जाने र उतै बस्ने रहर, कोरोना महामारीले निम्त्याएको
विश्वव्यापी त्रास, पितृ उद्धारको लागि तोरन तारिने, भोकलाई खाना, उपकार गर्दा पनि परिबन्धमा पर्नु, धनीबाट गरिबमाथि शोषण, गरिबले धनको आभावमा उपचार
गर्न नसकेर गर्नुपर्ने मृत्युवरण, सरकारले जग्गाविहीन भूकम्प पीडितलाई राहतमा समेट्न नसक्नु, बालबालिकालाई त्रास देखाएर
डराउन दिन नहुने, दाइजो प्रथाले निम्त्याएको मृत्युवरण, मायामा कुनै सीमा नहुने, यौन भोक मेटाउनको लागि
जस्तोसुकै कर्म गर्र्नेे,
त्यसको लागि बच्चा छाडेर पनि हिँड्ने, वेश्यावृत्ति, बौद्ध संस्कार, स्वतन्त्रताको लागि सहिद बन्न तयार, माओवादी द्वन्द्वभित्र
पनि विकृति र आफ्नो स्वार्थपूर्ति गर्न नपाएकोमा गरिब असहायको लागि माओवादीको विल्ला
भिराएर यातना दिनेजस्ता विविध घटनालाई कथाले समेटेको
छ । कथाहरू अति मार्मिक छन् । कथाकारको कथा लेखनशैली अनुकरणीय छ । सबै कथा समसामयिक
र पठनीय छन् । यस्ता गहन कथा लेखकको भावी जीवन उज्ज्वलताको कामना सहित बिदा चाहान्छु
।