कविता
सरलताको स्वर
एवाइ प्रभात
ऐनाको झल्कोमा हेरेँ
एउटा अनुहार –
शान्त छ
तर धेरै बोलेको छ जिन्दगीसँग
चस्माका आँखा बोलाउँछन् –
सपनाहरूको जंगलमा
जहाँ हरेक थोपामा पसिनाको
गन्ध मिसिएको छ मेहनत
यो अनुहार न त धेरै चम्किन्छ
न त बगरझैँ सुख्खा देखिन्छ
तर
यसमा कथा छन् –
जीवनका मोडहरू
सहनशीलता अध्यायहरू
यो गुलाबी पर्खालभित्र
कता कता सुनिन्छ मनको आवाज –
म अझै पनि अडिएको छु
बाँसझैँ लचिलो
अग्लो आत्मामा
म, हो –
न सामान्य, न असाधारण
म त
जीवनको रंगहरू भर्ने
एउटा आफ्नै ढंगको चित्रकार ।
– धनकुटा