विचार
सम्झनाभित्र महाकवि देवकोटा
महाकवि देवकोटा
धेरै तहमा पढियो । धेरै ठाउँमा पढियो । धेरैपटक
पढियो । तथापि पढ्ने क्रम पूरा भएको छैन । समय मिलाएर अझै पढिरहेको छु । पढ्ने तिर्खा मेटिएको छैन । जति पढ्दै गयो तिर्खाको मात्रा त्यति बढ्दै जान्छ । मेट्न खोज्यो मेटिँदैन । भेट्न खोज्यो भेटिँदैन । नमेटिने र नभेटिने यात्रामा म हिँडिरहेको छु । समय मिलाएर अझै पनि पढिरहेको छु । के पढिरहेको छु भन्न सक्दिनँ तर पढिरहेको छु यो चाहिँ यथार्थ हो । उहाँलाई जति पढ्यो उति पढौँ पढौँ लाग्छ । एउटै पुस्तकले पनि समय अनुसारको स्वाद दिन्छ र सुस्वादु बन्छ । त्यसैले हुनुपर्छ मेरो पढ्ने तिर्खा नमेटिएको पनि । उहाँको कलम नेपाली साहित्यका थुप्रै विधामा समानस्तरमा चलेको छ । त्यसो त उहाँका रचना अन्य भाषामा पनि प्रकाशित भएका छन् । सबै विधा उत्तकै रसिला र स्वादिला छन् । उहाँका रचनामा जीवन छन् । जीवनका विम्ब प्रतिविम्ब छन् । माटो र पसिनाका स्वाद छन् । आस्था र विश्वासका भञ्ज्याङ् छन् नेपाली भाव छन् । विचारका श्रृङ्खला छन् । यही कारण उहाँका रचना साँच्चै सुस्वादु बनेका हुन् । उहाँ जीवनप्रति अत्यन्तै सचेत, सजग र संवेदनशील हुनुहुन्थ्यो । सधैँ म बादको विरुद्ध कलम चलाउनुभयो । जीवनको खोजी गर्नुभयो । आउनेहरूले जानै पर्छ तसर्थ बाँचुञ्जेल केही न केही गरिरहनुपर्छ भन्ने सन्देश दिइरहनुभयो । देवकोटामा विलक्षण प्रतिभा थियो भन्नेकुरा तल उदधृत गरिएको पहिलो कविताले पुष्टि गर्छ ः
घनघोर दुःख सागर जान भाइ
नगरे घमण्ड कहिले मर्नु छ हामीलाई
(महाकवि देवकोटाको पहिलो कविता)
साढे तीन दशक लामो शैक्षणिक जीवनमा प्राथमिक तहदेखि स्नातक तहसम्मका कक्षाहरूमा कयौँपटक देवकोटा पढाइयो । विभिन्न तहका कक्षा कोठाहरूमा कहिले फुटकर कविता, कहिले खण्डकाव्य, कहिले काव्य, कहिले महाकाव्य, कहिले निबन्ध, कहिले प्रबन्ध त कहिले कथाका प्रसङ्ग चले । यसैगरी कहिले नाटक, कहिले उपन्यास कहिले गीतका चर्चा पनि चले । साहित्यका जुनुसुकै विधामा पनि उहाँको उपस्थिति सशक्त पाइन्छ । उहाँमा विशिष्ट खुबी थियो । त्यही खुबीका कारण सबै क्षेत्रमा अब्बल देखिनुभयो । यद्यपि उहाँको प्रतिभा देशले उपयोग गर्न नसकेको धेरैको बुझाइ छ । आजको अवस्था त यति छरपष्ट छ भने हिजोको कस्तो थियो होला ? अनुमान गर्न सकिन्छ । देवकोटालाई बुझिएन । देवकोटालाई जानिएन, देवकोटाको प्रतिभा खुट्याउने क्षमता हामीमा भएन । यसैले कहिले राँची पु¥यायौँ त छँदाखाँदाको जागिरबाट निकालेर बेरोजगार बनायौँ । देवकोटाका विषयमा रहेका विभिन्न बुझाइमा मेरो पनि विमती छैन । साँच्चै देवकोटाको क्षमता नेपालले उपभोग गर्न नसकेकै हो । हामीले ठम्याउन नसकेकै कारण बहुप्रतिभाशाली देवकोटाले पचास वर्षकै उमेरमा यस संसारबाट विदा हुनुप¥यो । उहाँ छोटो अवधि मात्र बाँच्नुभयो तथापि नेपाली भाषा साहित्यका लागि अमूल्य योगदान दिएर जानुभयो । त्रिभुवन विश्वविद्यालय स्थापनादेखि नेपाल प्रज्ञाप्रतिष्ठान स्थापना गर्नसम्म उहाँको विशेष योगदान थियो । केही समय प्रतिपक्षी दलका नेता र डा. के आई सिहको मन्त्रीमण्डलमा शिक्षा मन्त्रीसम्म बन्नु भएका देवकोटाको नेपाली भाषा साहित्यको विकासमा विशिष्ट योगदान छ । मानिसको विचार उच्च हुनुपर्छ, पसिनाको महत्व बुझ्नुपर्छ भनिरहने देवकोटाको तलका कविताले उहाँ कस्तो विचारको हुनुहुन्थ्यो भन्ने कुरा पुष्टि गर्छ ः
‘के हो ठुलो जगतमा ?’ ‘पसिना विवेक’
‘उद्देश्य के
लिनु ?’ ‘उडी छुनु चन्द्र एक ।
निर्धक्क भएर
भन्न सक्छु महाकवि देवकोटाको मैले पढेको पहिलो पुस्तक मुनामदन थियो । मेरो स्मृतिमा
रहेसम्म विगतमा गाउँबस्तीहरूमा मुनामदन छ्याप्छ्याप्ती बोलिन्थे, बोलाइन्थे, पढिन्थे, पढाइन्थे, सुनिन्थे र सुनाइन्थे
। ओ हो ! त्यति बेला त सुनाउनेहरूको सान अर्कै हुन्थ्यो । मुनामदन साथमा भएकाहरू त
आफूलाई सुपरियर नै सम्झन्थे । ‘थाहा छ तँलाई त्योसँग मुनामदन पुस्तक छ रे, बुझेको छस् नि, एकपटक जसरी पनि पढ्नुपर्छ’
मानिसहरूका बिच कुराकानी चल्थ्यो । मुनामदनमा रहेको प्रेमकथाका विषयमा गोठाला, खेताला, युवायुवती र वयस्क उमेरका
मानिसबिच चर्चा–परिचर्चा चल्थ्यो । मलाई जानकारी भएअनुसार गाउँबस्तीमा मुनामदन एउटाले
पढ्ने र धेरैले सुन्नेसम्म गरिन्थ्यो । मुनामदन सुन्नकै लागि खेतालो, गोठालोसमेत जाने गरिन्थ्यो
। ‘बाबु तिमीलाई पढ्न आउँछ,
मैले मुनामदन मागेर ल्याएको छु पढेर सुनाउन ल’ यसो भन्ने कतिपय अग्रजहरूलाई मैले
नै सम्पूर्ण मुनामदन सुनाएको छु । त्यसो त मैले पहिलो गोठालो जाँदा पहिलो पटक मुनामदन
सुनेको हुँ । मुनामदनका केही हरफले मलाई यति प्रभाव पारेको थिए कि ती हरफ सिसाले कापीमा
सारेर कयौँ दिनसम्म गोजीमा राखेको थिएँ । मेरो मन छोएका मुनामदनका ती हरफ यस्ता थिए
ः
हातको मैला
सुनको थैला के गर्नु धनले ।
साग र सिस्नु
खाएको वेश आनन्दी मनले ।।
बारा जिल्लाको सदरमुकाम कलैयामा २०४८ सालमा स्थापित महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक २०६३÷०६४ को आन्दोलनमा तोडफोडमा प¥यो । अप्रत्यासित रुपमा गरिएको तोडफोड कार्यले अधिकांश मानिसको मन कुँढ्यायो र चित्त दुखायो । धेरै सर्वसाधारण जनताले नमज्जा माने । यो त गर्न हुँदैनहुने काम गरिएको हो, धेरैको तर्क थियो । केही समयपछि त्यस स्थानमा उपस्थित भएका कलैयाका अधिकांश व्यक्तिहरूले यस्तो कार्यप्रति आफ्नो पूर्णविमति रहेको भनाइ सार्वजनिकीकरण गरे । कतिपय सहानुभूति र सद्भाव देखाउनेहरूले त्यो सालिक पुनः बनाउनुपर्छ र त्यस कार्यका लागि आफूहरूको सक्दो सहयोग हुने प्रतिबद्धता जनाए । बारा जिल्लाकै पुरानो शैक्षिक संस्था त्रिचन्द्र माध्यमिक विद्यालय अगाडि राखिएको सो सालिक तोडफोड गर्नेहरूसँग कुनै पनि प्रतिकार गरेन । सालिकले हथांैडा हातमा लिएर आएकाहरूको अनुहार एकटकले हे¥यो । न ऐया न त आत्था नै भन्यो । सह्यो, सह्यो र सहिरह्यो । सालिक क्षणभरमा विलीन भयो । यो सालिक न सरकारले बनाएको थियो न त सरकारी रकम नै यसका लागि प्रयोग भएको थियो । सालिक निर्माणका निम्ति सर्वसाधारण जनताबाट रुपियाँ रुपियाँको चन्दा सङ्कलन गरिएको थियो । त्यही सङ्कलित रकमबाट सालिकको पैसा तिरिएको थियो । पहँच भएका वा सक्नेहरूबाट खासै रकम प्राप्त हुन सकेको थिएन । यद्यपि नसक्नेहरूले हात फुकाएका थिए, मन खोलेका थिए, विचार सम्प्रेषण गरेका थिए । अनि बनेको थियो कलैयामा महाकवि देवकोटाको सालिक । यतिबेला मेरो नजरको वरिपरि महकवि देवकोटाको झल्झलाउँदो तस्बीर नाचिरहेको छ । अनि म उहाँको यो कविताले आफूभित्र प्रवेश गराइरहेको छ ः
फर्क फर्क हे
जाउ समाउ
मानिसहरूको
पाउ !
मलम लगाऊ आर्तहरूको
चहराइरहेको
घाउ ।
मेरो मनमा देवकोटा हुनुहुन्छ । मुटुमा राखेर सोचिरहेको छु । वर्षौंवर्ष लगाएर हामीसँग भएको आत्मविश्वासको दाहसंस्कार गरिएको छ । खै के स्वार्थले हो त्यो त थाहा छैन तर विचारमा भाँजो हालिएको छ । चिन्तनलाई विश्वासघातको पहिरोले पुर्न अनेकौं प्रयत्न गरिँदै छ । वर्तमान कल्पनामा आगो लगाएर तापिरहेको छ । घरमा आगो झोसेर न्यानोको अनुभूति संगाल्नेहरूसँग कुनै पनि अपेक्षा गर्न सकिँदैन, यद्यपि यसको कुनै पनि विकल्प छैन । देखादेखि विवशतालाई काखी च्याप्नु परिरहेको छ । केवल अर्काको सुन्ने संस्कृतिको बोलवाला छ । खोज्ने, अनुसन्धान गर्ने, हो होइन छुट्याउने संस्कृतिलाई हामी तिरस्कार गरिरहेका छौँ । हामीलाई हाम्रो गन्हाउँछ । यसर्थ अर्काको सुन्छौँ र सुनेकै भरमा विचार बनाएर बनाउँछौँ । के, किन र कसरी ? खुट्याउने क्षमता हामीसँग छैन । जानेको त डढाउन, कराउन, गाली गर्न, उफ्रन, कुद्न, कुदाउन, रिसाउन र नाङ्गिन मात्र हो । जान्नुपर्ने त छानबिन, गोडमेल, रेखदेख र हेरविचार गर्न गराउन हो तर दुर्भाग्य त्यसो हुन सकिरहेको छैन । सोचले फेल खाइरहेको छ । फर्कला कि नफर्कला भन्न सकिँदैन । वर्तमान आधार मान्दा कहिल्यै आउँदैन भन्न सकिने आधार बनिरहेको छ । अगाडिको बाटो नरोके आशाको दियोमा तेल थप्दै भविष्य सम्झेर हिँड्नु सकारात्मक सोचका अनुयायीहरूको कर्तव्य हुन जान्छ । अँध्यारो पछिको उज्यालोले बाटो र विश्वास दुवै चिनाउँछ । कर्तव्य पथमा हिँडाउँछ र विश्वासको दियो बालेर अन्धकार चिर्न सघाउँछ । कुवा भएर जम्न दिंदैन यसको साटो खोलो बनाएर हिँडाउँछ । विश्वासको धरातलमा विचारको बिस्कुन लगाउन लाउँछ । बाटामा आएका बाधा व्यवधान पन्छाएर हिँड्नु एकमात्र विकल्प सम्झन्छ । महाकवि देवकोटा तलको कवितांशमा संसारको विश्लेषण यसरी गर्नुहुन्छ ः
‘संसाररूपि सुख स्वर्गभित्र
रमेँ रमाएँ लिइ
भित्र चित्र
सारा भयो त्यो
मरूभूमितुल्य
रातै परेझैँ अब बुझ्छु बल्ल ।
म सोचमग्न छु
। मन दोधारमा छ । भनौँ कि नभनौँ । गरौँ कि नगरौँ । भाष्य तयार बनाइएको ः हामी केही
गर्न सक्दैनौं । जानेका छैनौं । सुनेका छैनौं । बुझेका छैनौं । भोगेका छैनौं । देखेका छैनौं । हिँडेका छैनौं । हेरेका छैनौं । अरुले गरिदिनुपर्छ । जोश, जाँगर, उमङ्ग, उत्साह र अठोट अलिकति छैन, यस्तै भनिदैछ । बुझेर भनौँ वा नबुझेर हामी
मुस्कुराहटका साथ ताली बजाइरहेछौं । विश्वास जलाई रहेछौ । चिन्तन उडाइरहेछौं । उत्साहमा आगो सल्काएर
खरानी तुल्याइ रहेछौं । निधारमा खरानी घसेर कर्तव्य अधिकारको कुरा गरिरहेछौं । शान्ति मानव अधिकारको
बाजा बजाइरहेछौं । कहिलेकहीँ त लाग्छ भिखमङ्गा हौं । केही नभएका हरिकंगाल हौं । श्रममा कहिल्यै विश्वास
गदैनौँ यसर्थ श्रमहीन हौं । सिपहीन हौं । हामी केही गर्न कुनै पनि हालतमा
सक्दैनौँ । जवर्जस्ती बनाउन खोजिएको छ, पुर्खाहरू वीर नभएर कायर थिए । सन्ततिका भविष्य हेरेका
थिएनन् । न देशको माटो सोचेका थिए, न त देशबासीको हितमै काम गरिएको थियो । संसारभर वीरहरूको
जन्मभूमिको नामले परिचित नेपाल कतै नभएको र नेपालीहरूले त्यस्ता काम नगरेको भ्रम सिर्जना
गराउन खोजिएको छ । जताततै यस्तै सिकाइएको छ । बुझाइएको छ । पुर्खाका कामकुरा
बेठिक थिए तर वर्तमानका सबै कुरा ठिक छन् भनाउन खोजिएको छ । भनिँदै छ अरुहरूले अगाडि बढ्ने बाटो चिनाउनुपर्छ । विचार देखाउनुपर्छ
। विश्वास बोकाउनुपर्छ । अगुवाहरूले देखाएको बाटो र पढाएको पाठ यस्तै छ । यसरी किन सिकाइदै छ, अनावश्यक पाठ पढाएर किन
गृहकार्य दिइँदै छ । यही हो चिन्तन मनन गर्नुपर्नै कुरा यसर्थ सोच मग्न छु । माथिका
कुरा पढ्दापढ्दै देवकोटाको एउटा कविता याद आउँछ । उहाँ ती कवितामार्फत् भावना यसरी
अभिव्यक्त गर्नुहुन्छ ः
रहेछ संसार
निशा समान
आएन ज्यूँदै
रहँदा नि ज्ञान ।
आखिर श्रीकृष्ण
रहेछ एक,
न भक्ति भो, ज्ञान न भो विवेक ।
हिजोआज इतिहास पढाउन छाडिएको छ । भूगोल पढाउन छाडिएको छ । पुर्खाहरू पढाउन छाडिएको छ । वीरता पढाउन छाडिएको छ । सम्बन्ध पढाउन छाडिएको छ । भाइचारा पढाउन छाडिएको छ । विवेक पढाउन छाडिएको छ । नैतिकता पढाउन छाडिएको छ । ‘हामी केही होइनौँ र कुनै पनि काम गर्न सक्दैनौँ’ सिकाउन खोजिँदै छ । यो खराब सोच वा विचारधारा हो । हामीलाई पङ्गु बनाएर उल्टो हिँडाउने र कतै नपु¥याउने आयातीत सोच हो । यस्ता कुराले हाम्रा साधन, स्रोत, सिप र चिन्तनलाई अगाडि बढ्न सघाउँदैन । निरुत्साहित तुल्याएर प्राकृतिक सम्पदामाथि हात हाल्न र हालीमुहाली गर्न षड्यन्त्र हुन थालेको महसुस धेरैतिरबाट हुन थालेको छ । अगाडि बढ्न अवसर पाए हामी गन्तव्यमा पुगेरै छाड्छांै । यो आँट र साहस हामी पुर्खाहरूबाट ग्रहण गरेका हौँ । नेपाली जाति, नेपाली संस्कृति, नेपाली मूल्य मान्यता, नेपाली जाँगर, नेपाली जोश, नेपाली उत्साह नेपाली अठोटलाई निमिट्यान्न नबनाएसम्म नियत पूरा नहुने हुँदा ती यस्ता काम आरम्भ गर्न कम्मर कसेर लागेको अनुभूति धेरैले गरेका छन् । संसारभर आफ्नो सामथ्र्य पहिचान गराउन सक्षम नेपालीहरूका निम्ति माथिका सन्दर्भ लज्जास्पद विषय हुन् । सिकाउन वा बुझाउन त यस्तो पथ्र्यो हाम्रा काम हामीले नै गर्नुपर्छ । विकासका बाटो आफैँले बनाउनुपर्छ । आफ्ना स्रोत साधन आफैंले उपयोग गर्नुपर्छ । जाँगर, सिप र उद्यमशीलता हाम्रै देशमा गर्नुगराउनु पर्छ । हामीसँग सङ्कलित पुँजी हामीमै परिचालन गरिनुपर्छ । नसके, नभ्याए, नपुगे र मात्र लिनुपर्छ अरुको सर सहयोग । पहिले त आफँैले प्रयत्न गर्नुपर्छ । अगाडिको बाटो तय गर्नुपर्छ । मनमा आँट साहसको जो हो गनुपर्छ । विडम्बना ! परिस्थिति अर्कै मोडबाट हिँड्न तयार बनिरहेको तथा नेपाली मानसिकता हाहा–हुहु मा रमेर गन्तव्यको बाटो बिराउन तयारी गरिरहेछ । महाकवि देवकोटा भन्नुहुन्छ ः
छिः छिः दुरदुर
गरिएको हुँ !
सबले आँखा तरिएको
हुँ !
आदिम मनुको
बदमासीले
तर पृथिवीमा
बरिएको हुँ !
दिव्य शल्यको
दैनिक साधनमा
स्रष्टाले दरिएको
हुँ !
यतिबेला पक्ष
विपक्षमा खेल भइरहेछन् । खेल्नेहरू खेलिरहेछन् । खेलाउनेहरू खेलाइरहेछन् । कतिलाई खेल्न
पाएपुग्छ । तिनलाई दायाँबायाँ कहीँ कतै हेर्नु छैन । यस्ताहरू अस्ति पनि भएका थिए ।
हिजो पनि थिए । आज पनि छन् । भोलि नहुन् कामना गर्न सकिन्छ । खेलाउनेहरूका खेल एउटा
नभएर थरीथरीका छन् ।
खेलअनुसारका खेलाडी हुनु र खेलाडीअनुसारका खेल हुनु अनौठो कुरा होइन । यस्ता कुरा यथा समयमा भएका छन् । देखेको र भोगेको कुरा हो । रुचिअनुसार, इच्छाअनुसार चाहनाअनुसार, भावनाअनुसार, विचारअनुसार, विश्वासअनुसार तथा दृष्टिकोणअनुसार कहिले के त कहिले के खेल खोलाइरहेछन् । हामी रुचि मानीमानी खेलिरहेछौँ र खेलका दृश्य हेरिरहेछौँ । खुला मैदानमा उभ्याएर ती लेफराइट लेफराइट गराइरहेछन्् । आदेशानुसार दायाँ बायाँ, दायाँ बायाँ, गरिरहेछौँ । ती रोमाञ्चक दृश्य देखेर मस्तिष्क मोहित भएका छन् । मलाई कैले खेलाइरहेको त छैन ? सोच पटक्कै जन्मन सकिरहेका छैनन् । ख्यालख्यालमै रमाइलोसँग दिन बितिरहेको छ । रात आइरहेको छ र गइरहेको छ । रोकिएर बसेको छैन । निरन्तर निरन्तर हिँडिरहेको छ । यसैगरी दिन पनि आइरहेको छ र दिन गइरहेको छ । यो श्रृङ्खला चलिरहेको छ । रोचक मानेर सहभागिता जनाइरहेछौँ । दायाँ बायाँ कहीँ कतैको मतलब छैन । तमासेको भूमिका निर्वाह गरिरहेछौँ । माथिका गतिविधिमा सहभागिता जनाउन हुन्थ्यो कि हुँदैनथ्यो यो गम्भीर प्रश्न हो । तर अझ पनि हामी यस्ता गतिविधिहरूमा भाग लिइरहेछौँ र लिन प्रोत्साहित गरिरहेका छौँ । यसैले महाकवि लक्ष्मीप्रसाद देवकोटा हाम्रा बारेमा यसरी लेख्नुहुन्छ ः
भूमण्डलका गोल–सदनका
अंशियार हुँ, एक थाली
न्यौछावरका
पुजारी हुँ
विश्व–मानव
नयपाली ।
म सोचिरहेछु, कुनै समयमा देवकोटा पढ्दा
र पढाउँदा उहाँका बारेमा
मेरो ज्ञानको दायरा जति फराकिलो थियो अहिले सोचाइ र
बुझाइको दायरा अलि
फराकिलो भएको छ । सिलसिला कम भएको छैन, बरु बिस्तारै बढिरहेको
छ । जीवन सिकाइको एउटा क्रमबद्ध श्रङ्खला रहेछ । म सिक्न खोजिरहेको छु अर्थात्
सिकिरहेछु । सकियो कि भन्यो अझ अगाडि बढ्छ । यद्यपि मैले हार मानेको छैन । त्यही हिँडिरहेको छु । मान्छे पढिरहेको छु । विचार विश्वास बुझिरहेछु । जति बुझे पनि बुझ्ने श्रृङ्खला नटुट्दो रहेछ । अगाडि, अगाडि र अझ अगाडि बढ्दो रहेछ । ज्ञानको सीमा कति हो कति फराकिलो छ । शून्यबाट आरम्भ भएर शून्यमै पुग्ने मानिसले बाँच्ने उपक्रममा धेरै कुरा थाहा पाउनु पर्दोरहेछ । अनेक अप्ठेरा असजिलामा हिँड्नु पर्दोरहेछ । सुनेको थिएँ महाकवि देवकोटा गरिब हुनुहुन्थ्यो । खान लाउन अभाव थियो । यी र यस्ता कुरा गुरुहरूले पढाउनु भएको थियो । अनि बुझाउनु र सिकाउनु भएको थियो । धेरैपछि मात्र थाहा भयो महाकवि देवकोटा गरिब हुनुहुन्थेन । परिवारको आर्थिक अवस्था गए गुज्रेको पनि थिएन । पढाउने, लेखाउने र सिकाउने गुरुले गरिबीकै कारण देवकोटाले दुःख भोग्नु प¥यो भनेपछि विश्वस्त बनेको थिएँ । पछि कुरा बुझाएर विचारको उचाईमा पुग्न सिकाउनुभयो । गुरुका यस्ता कुरा सुन्दा आँखाबाट कैयौँ पटक आँसु बगेका छन् । मन भक्कानिएको छ । विद्यार्थीलाई त्यसैगरी बुझाएको छु । ती संवेदित भएका छन् । पछि पछि अझ धेरै ठाउँमा देवकोटा पढेँ, लेखेँ र बुझेँ । बढी सिकाइ र बुझाइ वरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार नगेन्द्रराज शर्माबाट भयो । थाहा नभएका कुरा जान्न र बुझ्न पाएकामा उहाँप्रति आभारी छु । महाकवि देवकोटाका यी पङ्ति मनमा, विचारमा र विश्वासमा आइरहेको छ ः
म सुतेको मानिस
हुँ,
जीविततातिर
बेहोश !
म लुटेको मानिस
हुँ
धनी र वञ्चित, निर्दोष !
हत्याराहरू
भागिरहेछन्
छायाहरूका आड
लिई
म हुँ मानव
सक्तिन बोल्न
बोल्ला नियति
काँढ लिई !
आँखामा मनको चङ्गा उडाइरहेको छु । त्यो बेतोड उडिरहेको छ । अझ माथि माथि गइरहेको छ । लटाइ समाइरहेको छु । कहिलेकाहीँ त मलाई नै उडाउन खोज्छ । तर म दिशातिर हिँड्न खोजिरहेको छैन । उड्न त हिजैदेखि उडिरहेको हो । छाडेको छैन । गन्तव्य ! खोइ कता छ कुन्नि तर फर्किको छैन । उडिरहेको छ, उडिरहेको छ र उडिरहेको छ । म मनको डिलमा उभिएर जीवनका परिधि खोज्ने प्रयास गरिरहेको छु, समर्थ बन्न सकिरहेको छैन । आस्था र विश्वासमा फूल चढाएर कल्पना बनिरहेको छ । म पहिला जन्म्यो कि हामी मनमा प्रश्न छ तर उत्तर भेटिरहेको छैन । हामी क्रमशः विरानो मुलुक खोज्नमा तल्लीन छौं । उफ् म जे सोच्न सकिरहेको छैन आँखा अगाडि त्यही भइरहेको छ । माटोमा उभिनेहरू माटैको विपक्षमा गठजोड गरिरहेका छन् । किन गरिरहेका छन् ठम्याउन सक्ने हैसियत छैन यद्यपि रहेका छन् । टुलुटुलु हेर्नुबाहेक मसँग कुनै अर्को विकल्प छैन । विकल्प नभएपछि हुने यही हो जसलाई निर्वाध रूपमा स्वीकार गरिरहेको छु । देवकोटा जसले कहिल्यै म र मेरो भन्नु भएन । केवल आफू बाँच्ने परिकल्पना मात्र पनि गर्नुभएन । यसैले उहाँले दुःख, कष्ट र अभावमा जीवन बिताउनुप¥यो । तर पनि जीवनबाट कहिल्यै हार खानु भएन । हिँड्नुभयो, हिँड्नुभयो र हिँडिरहनुभयो । नेपाली भाषा साहित्यका महारथीले यसका लागि मनमुुटुले कर्म गरिरहनुभयो । उहाँका कविताका यी पङ्क्ति मेरो मनमा यसरी आइरहन्छ ः
सुन्दरताको
सुन्दरता हो
आफूभन्दा परको
प्यास !
सायद त्यसैले
अपूर्व तिमी छौ !
सुषमा ! मृदुल, उदास !
देवकोटा विचार
हो । देवकोटा दृष्टिकोण हो । देवकोटा चिन्तन हो । देवकोटा सोच हो । देवकोटा आस्था हो
। देवकोटा विश्वास हो । देवकोटा परम्परा हो । देवकोटा प्रवृति हो । देवकोटा संस्कृति
हो । देवकोटा मूल्य हो । देवकोटा मान्यता हो । देवकोटा कर्म हो । देवकोटा कर्तव्य हो
। देवकोटा जाँगर हो । देवकोटा गति हो । देवकोटा मानवता हो । देवकोटा भूत हो । देवकोटा वर्तमान हो । देवकोटा
भविष्य हो । देवकोटा मन हो । देवकोटा मस्तिष्क हो । देवबोटा जोश हो । देवकोटा एक हो
। देवकोटा अनेक हो । सालिक ढालिँदैमा देवकोटा मस्तिष्कबाट टाढा हुँदैनन् । गाढा र अझ
हुन्छन् । देवकोटा नेपालमा मात्र हुनुहुन्न । संसारभर छरिनुभएको छ । तनमनमा पोखिनुभएको
छ । प्रा.डा. गोविन्दराज भट्टराईकाअनुसार बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका
वडा नं १६, महाकवि देवकोटा चोक, स्वाभिमानबस्तीमा अनावरण गरिएको उहाँको २७ औँ सालिक हो । प्रसिद्ध मूर्तिकार रामकृष्ण
भण्डारीद्वारा निर्मित र जितपुरसिमरा उपमहानगरपालिका वडा नं १६ को सहकार्यमा स्थापित
यो सालिक २०८१ को लक्ष्मी जयन्तीका अवसर पारेर अनावरण गरिएको थियो । सम्झनाले मन भरिएको
छ । विचारले अगाडिको बाटो समाएपछि मन हर्षित छ । तन उल्लासित छ । यो अवसरमा यी हरफ
सम्झिरहेको छु ः
मानवजाति !
मानवजातिमा !
हाय नओर्लोस्
! उक्लोस् माथि !
दिनराति हामी
मर्नुछ !
उसको जिउनु
कति जाति !
मनमा सोचिरहेको छु यो सुन्दर धरतीमा म आएँ । तपार्इंहरू आउनुभएको छ । उहाँहरू अलि अघिनै आउनुभएको हो । देखे बुझेको छु । जाने सुनेको छु । आउने जाने परम्परा हिजोआज थालिएको नभएर उहिल्यैदेखि चलिरहेको हो । तिथिमिति भन्न सक्दिनँ । अनुभवको आधारमा योचाहिँ ठोकेर भन्न सक्छु आउनेहरू जान्छन्, अर्थात् सधैँ बस्दैनन् । न आउने टुङ्गो हुन्छ न त जानेनै । हजुर आउनेहरू नभएर केही समयका लागि आएका हुन् र जानेहरूको नियति पनि त्यही हो । मान्छेले छाडेर जानेकुरा कर्म हो । कोही कसैलाई चिनाउने पनि कर्मले नै हो । आजसम्म संसारमा कैयौँ वर्षदेखि जो जो बाँचिरहेका छन्, जसलाई हामीले मजाले चिनिरहेका छौँ ती सबैको जडमा कर्म नै रहेको छ । धन, सम्पत्ति, सुन चाँदी, ऐस आराम, मोजमज्जा र विलासिताले केही पनि चिनिएका छैनन् । चिनिएका छन् भने त्यो कर्मले मात्र हो । कर्म गर्नेहरूलाई कसैले बिर्सन सक्दैन । भूगोल वा जाति र रङ्ग जहाँको भए पनि कर्मले अगाडि बढेकाहरूलाई कसैको परिचय आवश्यक पर्दैन । महाकवि देवकोटा कर्ममा विश्वास गर्नुहुन्छ । उहाँलाई हामीले कर्मवादी व्यक्तित्वका रूपमा चिन्नुपर्छ । कर्म गरेका कारण हामीले उहाँलाई चिनेका हौँ । हाम्रो माझमा नरहनुभएको पनि एउटा अन्तराल बितिसकेको छ । विशेषगरी देवकोटा संसारभर छरिएका नेपालीहरूका मनमा विराजमान हुनुहुन्छ । आफूले धेरै गर्दा गर्दै पनि प्रस्तुत पद्यांश आफूले केही गर्न नसकेको भनेर गुनासो गर्नुभएको छ । यो उहाँको महानता हो । यसले उहाँलाई अझ अग्ल्याएको छ । विचारको पर्खाल चढाएरमाथि पु¥याएको छ । उहाँको महानता बुझ्न प्रस्तुत कविताले अझ सहज बनाउँछ ः
संस्कार आफ्नो
सब नै गुमाएँ
म शून्यमा शून्य
सरी बिलाएँ
जन्मेँ म यो
स्वर्गविषे पलाएँ
आखिर भै खाक
त्यसै बिलाएँ (महाकवि देवकोटाको अन्तिम कविता) ।
