यसपालिकाे भेटवार्ता -
गोरखापत्र
दैनिकको तह १० को कार्यकारी सम्पादकको रुपमा कार्यरत रहँदै साहित्यिक मासिक
पत्रिका ‘मधुपर्क’को सम्पादकको रुपमा कार्य गरिरहनुभएका बरिष्ठ साहित्यकार
तुलसीहरि कोइरालाको जन्म वि.सं. २०२५ साउन १ गते चिसङ्खुगढी–४, ओखलढुङ्गा
(साविकको रातमाटे–१, ओखलढुङ्गा) मा पिता गोकर्णराज
कोइराला र माता पूर्णकुमारी कोइरालाबाट भएको हो । साहित्यिक कृतिको सम्पादक, स्तम्भकार, विभिन्न
पत्रपत्रिकामा विविध विषयमा लेखरचनाहरू प्रकाशित गर्नुभएका कोइरालाका भ्यागुताको
धार्नी (बालकथासङ्ग्रह–२०६६, साझा प्रकाशन), लाक्पाको
बेलुन (बालकथासङ्ग्रह –२०६७), खुत्रुके
(बालकथासङ्ग्रह –२०७२), टौवामा कौवा
(बालकथासङ्ग्रह, २०७४), आजका
लघुकथा (संयुक्त लघुकथासङ्ग्रह –२०७४), न्युरोडका झाँकी
(कथासङ्ग्रह–२०७७) कृति प्रकाशित हुनका साथै उहाँका कथा, कविता, निबन्ध, बालनाटक
जस्ता सिर्जनाहरू विभिन्न पाठ्य–पुस्तकहरूमा समाविष्ट छन् । उहाँले भाषा, साहित्यको
योगदान गरेवापत उत्कृष्ट पुरस्कार, (राजा वीरेन्द्रको
५६ औँ शुभजन्मोत्सवमा आयोजित कविता प्रतियोगिता) २०५७, भानुमोती
पुरस्कार–२०५९, प्रथम, चौथो
राष्ट्रव्यापी लघुकथा प्रतियोगिता (आयोजक द रेयुकाई नेपाल, पाटन
शाखा) २०६१, प्रथम, कविता
प्रतियोगिता, गोरखापत्र संस्थान –२०६२, सम्मान, सनातन
धर्म सेवा समिति –२०६३, उत्कृष्ट सिर्जना
पुरस्कार, प्रहरी मासिक –२०६४, उत्कृष्ट
लघुकथा पुरस्कार, नई प्रकाशन –२०६५,. सम्मान, कोइराला
सेवा समाज, नेपाल –२०६५, सम्मान, नेपाली
साहित्य विश्व संसद, अमेरिका –२०७३, सम्मान, रुम टु
रिड –२०७३, नोबेल साकोस पद्म–दीपा साहित्य
सम्मान, नोबेल साकोस साहित्य प्रतिष्ठान –२०७५, ‘शेरबहादुर–कान्छी
उप्रेती स्मृति पत्रकारिता पुरस्कार–२०७७, सम्मान, अन्तर्राष्ट्रिय
नेपाली साहित्य समाज, कोरिया च्याप्टर
–२०२२, सम्मान, प्याब्सन
विराटनगर मोरङ –२०७९, मोहनलता विशिष्ट
स्रष्टा सम्मान, विराटनगर –२०७९, जयपृथ्वीबहादुर
सिंह उत्कृष्ट सेवा पुरस्कार, गोरखापत्र
संस्थान –२०८०, सम्मान, आनन्द
आश्रम ज्ञान केन्द्र, स्याङ्जा –२०८१, सम्मान, सनातन
पितृमुक्ति समाज, भक्तपुर –२०८२ जस्ता दर्जनौ
पुरस्कार, सम्मान प्राप्त गरिसक्नुभएको छ ।
हाल लघुकथा समाजको अध्यक्ष रहनुभएका पत्रकार, साहित्यिक
व्यक्तित्व तुलसीहरि कोइरालासँग होमशंकर बास्तोलाला गर्नुभएको छोटो कुराकानी ।
यहाँले
साहित्यिक क्षेत्रमा लाग्ने प्रेरणा कसरी प्राप्त गर्नुभयो ?
–
युवा वयको एक समय अधिकांश व्यक्ति कोर्सभन्दा बाहिरका पुस्तक, पत्रपत्रिका
पढ्न लालायित हुन्छन् । पढेर आनन्द लिने धेरै र म पनि यस्तै लेख्न सक्छु कि भनेर
कलम चलाउन उत्प्रेरित हुने पनि हुन्छन् । म पनि यसरी उत्प्रेरित हुनेमा परेको थिएँ
। यो उत्प्रेरणाले सामान्य रुपमा काम गरिरहेको थियो । कलेज पढ्न आइसकेपछि पनि
लेखनले डायरीमै भए पनि निरन्तरता पाइरहेकै थियो । खासगरी, वि. सं.
२०४९ देखि विमर्श पब्लिकेशनसँग आबद्ध भएपछि पत्रकारिता र साहित्य सिर्जनामा रुचि
वृद्धि हुँदै गयो । जब म २०५५ मा गोरखापत्र संस्थानसँग आबद्ध भएँ र पहिलो पोस्टिङ
नै मधुपर्कमा भयो, त्यसपछि त सम्पूर्ण साहित्यजगत् नै
मेरोलागि प्रेरणाको स्रोत बनिदियो ।
यहाँको
हालसम्मको साहित्यिक यात्राका बारेमा केही जान्न सकिएला कि ?
–
यात्राले निरन्तरता पाइरहेकै छ । म हतारो नगर्ने, धेरै लेख्नुपर्छ, रातारात
प्रकाशित गर्नुपर्छ, पुरस्कार र सम्मानका लागि दौडधुप
गर्नुपर्छ भन्ने तर्फ लाग्दिन । लेखिएका थुप्रै सामग्री यत्तिकै रहेका छन् ।
बालसाहित्य, कथा, लघुकथा, नियात्रा, कविता, व्यक्तिवृत्त
लगायतमा कलम चलाउँदै आएको छु ।
यहाँ
बालसाहित्यसम्बन्धी लेखनमा सकृय हुनुहुन्छ । कुन उमेरका बालबालिकाहरूलाई पढाउने र
पढ्ने साहित्यलाई बालसाहित्य भनिन्छ ?
–
मेरा पाँच वटा बालकथा कृति प्रकाशित छन् । यीमध्ये खासगरी छ वर्षमाथिका
बालबालिकालाई केन्द्रित गरेर लेख्ने गरिरहेको छु । बालसाहित्य भनेकै बालबालिकाले
पढेर आनन्द लिनसक्ने, बुझ्न सक्ने, सकारात्मक
ज्ञान लिनसक्ने उमेरका बालबालिकाका लागि हो जस्तो लाग्छ । त्यसभन्दा तलका त
चित्रमा रमाउने सावाँ अक्षरसँग खेल्ने गर्दछन् । यस्ता सामग्री साहित्यमा पर्दैनन्
।
तपाईं
बालसाहित्य र प्रौढ साहित्यमा कलम चलाइरहनुभएको छ । बालसाहित्य र प्रौढ
साहित्यलेखनमा के कस्तो फरक देख्नुभएको छ ?
–
यी दुई सिर्जनामा आकाश र जमिनको जत्तिकै भिन्नता छ । बालसाहित्य सिर्जना गर्दा आफू
स्वयम् बालक बनेर, भाषा, बोली, व्यवहार
समातेर नम्रता पूर्ण भावमा लेख्नुपर्छ । प्रौढ साहित्यको हकमा यस्तो गरिनु आवश्यक
छैन । भाषिक गहनता, लालित्य, पाण्डित्य, बुद्धि
विनोद जति सकिन्छ, प्रयोग गर्न छुट छ ।
यहाँ
लघुकथा समाजको अध्यक्ष हुनुहुन्छ । लघुकथा समाजका बारेमा केही जानकारी पाउन सकिएला
कि ?
–
लघुकथा समाज नेपाल लघुकथा लेखनको उन्नयनमा काम गर्नका लागि वि. सं. २०६५ मा
स्थापित एक मात्र रजिष्टर्ड संस्था हो । लघुकथा समाजले
खासगरी लघुकथा र
कथाका क्षेत्रमा पनि केही काम गरेको छ । समाजले पाँच वटा पुरस्कार तथा सम्मान पनि
स्थापना गरेको छ । वि. सं. २००७ सालमा पहिलो लघुकथासङ्ग्रह ’झिल्का’ प्रकाशित गरेर लघुकथाको कृतिगत जग
बसाउने पूर्णप्रसाद ब्राह्मणको सम्मानमा ’पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान’
स्थापना गरेर लघुकथाकारहरूलाई सम्मान गर्दै आएको छ । यसैगरी, धनमान
लघुकथा पुरस्कार, बाटुली–खिलध्वज लघुकथा सम्मान, साबित्री–केशर
कथा सम्मान र धनमान कथा पुरस्कार पनि समाजले प्रदान गर्दै आएको छ । लघुकथाका
बारेमा सैद्धान्तिक ज्ञान दिने पुस्तकको अभाव खट्किएकोले प्रा.डा. लक्ष्मणप्रसाद
गौतमद्वारा लिखित लघुकथाको रचनाविधान लघुकथा समाजले प्रकाशित गरेको यहाँलाई
विदितै छ । पूर्णप्रसाद ब्राह्मणको ‘झिल्का’को पुनः प्रकाशन पनि भयो । आजका लघुकथा
नामक ‘मुखपत्र’ पनि प्रकाशित गर्दै आएको छ । यसबाहेक लघुकथा मञ्चन, गोष्ठी, सेमिनार, कार्यपत्र, पाण्डुलिपिमाथि
छलफल लगायतका कामसमेत गर्दै आएको छ ।
हाल यहाँ
मधुपर्कको सम्पादक हुनुहुन्छ । मधुपर्कमा रचना प्रकाशनका लागि सकारात्मक दवाब
कत्तिको रहन्छ ?
–
यहाँलाई जानकारी नै छ, हामीकहाँ साहित्यिक पत्रिका ज्यादै न्यून
छन् । गरिमा नियमित छैन, व्यक्तिगत प्रयासमा निस्किरहेका पत्रिकाको
अवस्था जगजाहेर छ । गरिमाले पनि लेखकस्व दिन छोडिसकेको छ । मधुपर्क देशव्यापी
मात्र नभएर विदेशमा पनि जाने पत्रिका हो । अनलाइनमा पनि नियमित छ । लेखकलाई यथोचित
लेखकस्व पनि प्रदान गरिन्छ । सरकारी संस्थानबाट प्रकाशन हुन्छ । २०२५ सालदेखि
नियमित प्रकाशित हुँदै आएको छ । यावत् कारणले गर्दा दबाब हुनु स्वाभाविक हो ।
यहाँसँग
गोरखापत्रसमेतको सम्पादनको अनुभव छ । गोरखापत्र र मधुपर्कको सम्पादन गर्दा केही
फरक हुन्छ वा हुँदैन होला ?
–
गोरखापत्र समाचार केन्द्रित राज्यको मुखपत्र हो । यसमा पनि शनिबार विशेष
परिशिष्टाङ्क प्रकाशन हुँदै आएको छ । मधुपर्क भाषा, साहित्य, कला, संस्कृति
केन्द्रित छ । विगतमा त यसमा पनि सामाजिक चासोका अनेक सामग्री प्रकाशित गर्ने
गरिएको पुराना अङ्कले देखाउँछन् । चालिसको दशकको मध्यपछि त्यस्ता सामग्री राख्न
छोडिएको देखिन्छ । भन्न त सिङ्गो पत्रकारितालाई नै ‘हतारको साहित्य’ भनिन्छ तर
लेखन तथा सम्पादन कार्यमा आ–आफ्नै सीमा छन् ।
वर्तमान
नेपाली साहित्यको आयाम कस्तो छ भन्ने लाग्छ यहाँलाई ?
–
आयामका दृष्टिले नेपाली साहित्य विश्वव्यापी नै भइसकेको छ । नेपाली नपुगेको सायदै
कुनै देश होला । तर नेपाली साहित्य केबल नेपालीभाषीमै सीमित रहेको छ । हामी
विदेशीले लेखेका सामग्री जसरी पढिरहेका छौँ हाम्रो साहित्यलाई त्यसरी नै पढाउन
सकिरहेका छैनौँ । विश्वव्यापी बनाउन विदेशी पाठकलाई पढाउन उनीहरूले बुझ्ने भाषामा
पु¥याउन सक्नुपर्छ ।
वर्तमान
नेपाली साहित्यका बारेमा केही भन्नुहुन्छ कि ?
–
वर्तमान नेपाली साहित्य विज्ञापन केन्द्रितजस्तो देखिएको छ । जसका कारण केही लेखक
रातारात ‘सेलिब्रेटी’ बनिरहेका छन् । सामाजिक सञ्जालले गर्दा उचाल्ने र पछार्ने
प्रवृत्ति देखिएको छ भने गम्भीर लेखनका कृति आउने क्रममा कमी भएको अनुभव हुन्छ ।
हाल यहाँ
के गरिरहनुभएको छ । भाविष्यमा साहित्यसम्बन्धी के कस्तो कार्य गर्ने लक्ष
राख्नुभएको छ ?
– हाल म मधुपर्कको सम्पादनमै छु । आफ्नो लेखन
कार्य पनि सामान्य रुपमा चलिरहेकै छ । लघुकथा समाजको अध्यक्ष भएपछि विधा सम्बद्ध
कार्यक्रम, अन्य साहित्यिक कार्यक्रमहरूमा सहभागिता, भूमिका
लेखिदिने, कार्यक्रम गर्ने, यस्तैमा समय
बितिरहेको छ ।
अन्त्यमा, अन्तर्बोध
मार्फत केही भन्नु छ कि ?
– साहित्यलाई समाजको ऐना भनिन्छ तर समाजको
रुपान्तरण हुने गरी न त साहित्यकारले योगदान दिन सकेका छन्, न त यो
साहित्यकारको यो कृति पढेर मेरो जीवनमा यस किसिमको परिवर्तन आयो भन्ने 'कुनै
‘भुइँमान्छे' फेला परेको छ ! हाम्रो लेखन केवल 'स्वान्तः
सुखाय' जस्तो मात्र भइरहेको छ ।
