कविता
एउटा कायरपन
मलाई सोधखोज गरेर
हाँसोखुसी
दुःखसुख सोध्ने
तिमी मात्रै थियौँ
सबै मानिस भगवान्
खोज्दै मन्दिर जाँदा
म तिमीलाई
मेरो मनभित्र
खोजेर
मनमै भगवान्
सजाउँथे
दुनियाँ आफ्ना
प्रियजनसँग रमाइरहँदा
म भने एकान्तमा
तिम्रो सम्झनाको उत्सव मनाउँथे
मेरो एउटै मान्छे
तिमी
तिम्रै साथले
जीवन सुन्दर देखेको थिएँ
र बाच्ने प्रण
गरेको थिएँ
मेरो एउटै भगवान्
तिमी
तिम्रो पूजा
गरिरहेँ
र मान्छेमा इमान
छ भन्ने
विश्वास गरिरहँे
तिमी भए म
बाँच्छु
तिमी नरहे म कहाँ
रहन्छु
यस्तो कायर सोचले
भरिएको म
तिमी हराउँदा
मलाई
सम्पर्कविहीन हुन के डर !
हराउन गाह्रो
हुने त
कि आफ्नै
खुट्टाले हिँडेको मान्छेलाई
कि त
धेरै मानिसको हात
समातेर दौडिरहेको मान्छेलाई हो
म त
तिम्रा खुट्टाले
हिँडेको मान्छे
तिम्रा औंला
समातेर उभिएको मान्छे
मबाट तिमी
हराएपछि
मलाई वेपत्ता हुन
कुन सुखले छेक्छ ?
मेरा लागि सुख
भनेकै
तिम्रो अनुहार
थियो !
