कृतिसमीक्षा
रगतको मूल्यमा होमशंकर बास्तोलाको कथाकारिता
साहित्यका विभिन्न विधाहरूमध्ये आख्यान लोकप्रिय विधा मानिन्छ । कथामा मानव जीवन र त्यससँग सम्बन्धित घटनाहरूको चित्रण गरिएको हुँदा रोचक हुन्छ । कथाले मानव जीवनको वास्तविकतासँग निकट सम्बन्ध राख्दछ । कथाको प्रारम्भ सृष्टिको प्रारम्भदेखि हुँदै आएको देखिन्छ । नेपाली कथाको इतिहास खोतल्दा आधुनिक कथा लेखनीको प्रारम्भविन्दु वि.सं. १९९१ मा गुरुप्रसाद मैनालीको नासो, विपी कोइरालाको चन्द्रवदन शारदा पत्रिकामा छापिएपछिलाई मान्ने हो त्यसयता नेपाली साहित्यमा धेरै कथाहरू लेखिएका छन् ।
होमशंकर
शशरीर चिनेको धेरै भएको छैन । तर साहित्यमा केही गरौं भन्ने हुटहुटी सधैं बोकेर
हिँड्ने आधा दर्जन कृतिहरू प्रकाशित गरिसकेका साहित्यिक व्यक्तित्वलाई मैले उनका
कृतिहरूमा चिनेको हुँ पहिले । बास्तोला अन्तर्बोध साहित्यिक पत्रिकाको सम्पादक पनि
हुन् । उनका ‘आँसुका झरनाहरू’ कथासङ्ग्रह, ‘घाम हराएको दिन’
गजलसङ्ग्रह, ‘बन्दुकको छाया’ कथासङ्ग्रह, ‘हिमाल पहाडका
कथा’ संकलितकथासङ्ह र ‘भोका सपनाहरू’ कवितासङ्ग्रह प्रकाशित भैसकेका छन् ।
चौथो
कथासङ्ग्रह रगतको मूल्य लिएर कथासंसारमा झुल्किएका छन् बास्तोला । यस
कथासङ्ग्रहभित्र १९ थान विभिन्न शीर्षकृत कथाहरू रहेका छन् । सामाजिक यथार्थवादी, मनोवैज्ञानिक
लाग्छन् कथाहरू । यथार्थभाव जनित लाग्छन् । युगले भोगेको, हाम्रो
जीवनका महत्वपूर्ण अंश कथाले लिएका जस्ता लाग्छन् । जीवनको सत्यबाट विमुख छैनन
कथाहरू । यसमा समावेश अधिकाश आख्यानको कथ्य विशेषतः नेपाली समाज रहेको छ । मानव
सम्बन्धका जटिलतम पक्षहरू कथाहरूले उजागर गरेका छन् । मान्छेको मनमस्तिष्कमा पार्न
सक्ने गहिरो छाप र यथार्थ जनित कथानक बुनिएका कथाहरूले भरिएको छ कृति । देशको
समग्र अवस्था, चालचलनमा आएको ह्रास आदि समयका बिम्बहरू कथाहरूमा उतारिएका
छन ।
पहिलो
कथा छ म तिम्री आमा हुँ सन्तमायाको कथा हो । उनका जीवनका लाउँखाउँ वयका
भोगाइहरूको स्मृति छ यस कथामा । रेष्टुरेन्ट र बारहरूमा काम गर्ने सबै युवती एकै
हुन्नन् । वाध्यता र विवशताले पनि त्यस्तोमा काम गर्न वाध्य हुने पनि हुन्छन् ।
असल चरित्रका पनि हुन्छन । निर्वोध महिलाहरू फसाइएर गलत ठाउँमा बेचिन पनि सक्छन् भन्ने
सन्देशमूलक कथा हो –जाहेरी । फैसला कथामा एउटी महिलाले कसरी
न्यायमूर्तिलाई सहजै आफ्नो वसमा पारेर फैसला आफ्नो पक्षमा पार्नसक्छे भन्ने कुरा
देखाइएको छ ।
नछुइने
बैँस हिजोको समाजमा हामीले सुनेका कथा हो । नजिकबाट तपार्इं हामी सबैले
नियालेको विषयको कथा हो । उपल्ला जात भनाउँदाहरूको दमन, शोषणको
सत्यकथा हो । उपल्ला जात भनाउँदाहरूले कथित दलितका छोरीहरूमाथि गरेका यौन शोषणका
ज्वलन्त उदाहरणीय कथा हो यो । शीर्षक कथा रगतको मूल्यले जातीय खाडलको
विषयवस्तु बोकेको छ । उपल्ला मानिएका जातका दमन, शोषण र विभेदको
कथा । मान्छेको जात मान्छेबाहेक अरु केही छैन भन्ने सन्देश दिएको छ ।
राप
युवायुवतीको असफल प्रेम कथा । कतारमा भेडा चराएर कमाएको पैंसामा यता बसेकी
श्रीमतीले मस्ती गरेको वर्तमान समाजको यथार्थलाई यहाँ उजागर गरिएको छ । कोरोना
अमेरिकी नेपाली जीवनको यथार्थ चित्र हो । जहाँ मानवीय मूल्य र मान्यतामा आएको
क्षयीकरण देखाइएको छ ।
मुगलान
आप्रवासीहरूको पीडा हो । बेकारीको कारण मुगलान भासिन बाध्य भएकाहरूको कथा व्यथा हो
। राहत कथा आम नेपाली भुइँमान्छेको नियति । जहाँ नेपालको प्रशासनिक
ढिलासुस्ती र सर्वसाधारणको पहुँच बाहिरको प्रशासनको चित्र प्रस्तुत गरिएको छ । यो
पनि वर्तमान समयको देशको यथार्थजनित कुरा हो ।
भोक
विदेशिएको पुरुषकी श्रीमतीको कामन्धताको कथा लाग्छ । यसमा विखण्डित जीवनको व्यथा अभिव्यक्त
भएको छ । नारीको एक्लोपनाभित्रको नैराश्यता पनि कथाले बोकेको छ । हिउँको ओछ्यान
कथा नियात्राजस्तो लाग्छ ।
शसस्त्र
द्वन्द्वकालीन झल्को दिन्छन् अठोट, सिंउँदो र आतंककारी
कथाहरूले । राज्यपक्षको दमन, त्यसको प्रतिरोध र उतिबेला आम
मान्छेले भोगेका आतंकित दैनिकीहरूको फेहरिस्त लाग्छन यी कथाहरू । सत्यको सन्निकट
उत्तिकै देखिन्छन ।
आयामका
हिसावले लघु र मध्यम आयामका कथाले तान्छन् पाठकलाई । कथानक बुन्ने शैली राम्रा
लाग्छन् । समाजका छिद्रहरूभित्र छिरेर कथावस्तु टिप्न सिपालु देखिएका छन कथाकार
बास्तोला । नेपाली समाजको प्रत्यक्ष भोगाइ र नेपथ्यमा गुम्सिएका विभिन्न पीडाहरूको
मार्मिक दृष्यहरू नै कथाका विषय बनेका छन् । कथाकार आफ्नो अनुभूति र समसमायिक
विषयहरूलाई आख्यानीकरण गर्न सफल देखिएका छन् ।
सीमित
पात्र, छरितो कथ्य, भाषा र सम्बादको
परम्परागत शैली अंगालेका कथाहरूको प्रधानता छ । पात्रहरू यान्त्रिक र शास्त्रीय
आदर्शको भारीले थिचिएका छैनन् । यसैले कुनै पात्र सकारात्मक र कतै पात्र नकारात्मक
रुपमा आएका छन् । कथामा कथानक, उदेश्य र
दृष्टिविन्दुलाई उचित समायोजन गरिएको पाइन्छ । आख्यान क्षेत्र अधिकांश कथाको वुनोट
यही समाज हो । समाजका वेथिति, असमानता, कुण्ठा, बेरोजगारी
र गरिबीले समस्या उत्पन्न गरेका विषयहरूलाई कथाहरूको मूलतत्व बनाइएको छ । कथाहरूको
भूमि नेपालको गाउँ, शहर र प्रवास हो ।
चरित्र
निर्माण : सामाजिक परिवेशबाट निर्मित चरित्रहरू प्रस्तुत गर्ने
बास्तोलाका कथाहरूमा प्रतिनिधिमूलक चरित्र रहेका छन् । प्रथमदृष्टिविन्दु, तृतीय
पुरुष दृष्टिविन्दुमा विभिन्न पात्रहरू रहेका छन् । विपरीत धुर्वी चरित्र
निर्माणमा कथाकार केन्द्रित देखिन्छन् । त्यसैले सकारात्मक र नकारात्मक भाव र
प्रवृत्तिका पात्रहरू पाइन्छन् । कथाका पात्रहरू हाम्रै वरिपरिका, हाम्रै
नाता सम्बन्धका जस्ता लाग्छन् । पात्रहरूलाई जीवन्त वनाउन स्थानीय परिवेश, लवजलाई
ध्यान दिइएको पाइन्छ । प्रायः पात्रका चरित्रहरू सहज र स्वभाविक लाग्छन् ।
परिवेश
निर्माण : आर्थिक अभाव, अशिक्षा, गरिबी, कुसंस्कार, राजनीतिक
शोषणजस्ता परिवेशहरू कथाहरूमा पाइन्छन् । व्यक्तिका मनोदशाहरू पनि परिवेश
निर्माणमा सहयोगी देखिएका छन् ।
भाषाशैली
: स्थानीयले बोल्ने भाषा टपक्कै टिप्ने प्रयास छ । बिम्ब र
प्रतीकहरू पनि यथोचित रुपमा प्रयोग भएका छन् ।
सामाजिक
जीवनको विविधतालाई सफलतापूर्वक चित्रण गरिएको छ । नेपाली समाजमा नैतिक मूल्य र
मान्यताको ह्रासलाई कथाहरूले औल्याएका छन् । यथार्थवादी सरल कथाहरू समाजमुखी र समय
सापेक्ष छन् । पात्रहरूको परिस्थितिगत लाचारी, दयनियता, आर्थिक
अभाव आदिको चित्रण गरेको छ ।
अन्त्यमा, यस्तै
कथाका विषयवस्तु, थिम र पात्रहरूमा अरुले पनि कथा लेखेका
छन् । यहाँ विषयवस्तु नविन लाग्दैन, तर पाठकलाई कथाले
पढ्दै जाँदा तान्दै लाने खुवी राख्छन् । कथाकार होमशंकर बास्तोलालाई नयाँ
कथासङ्ग्रहको लागि हार्दिक बधाई ।
