कविता
छायामा हराएको समर्पण
म एउटा पाखुरी भएको रूखजस्तै उभिएको थिएँ —
आफ्नो हरियाली काटेर उसलाई छाया दिएको
उसले मेरो हाँगा टेकेर आकाश समायो
तर जब आकाशमा चम्कियो
मेरो जरा, मेरो माटो, मेरो
पसिना
सबैलाई उसले ‘अन्धकारको बोझ’ भनी बिर्सियो
सँगै उड्ने सपना देखिएको थियो
तर मैले आफ्ना पखेटा च्यातेँ
उसका पखेटा अड्किन नदिन
उसले आकाशभरि स्वच्छन्द उडोस भनेर
मैले आफ्ना बाटाहरू मोडेँ
उसका बाटाहरू सोझा बन्न
मैले अँध्यारो भोगेँ
उसलाई उज्यालोमा हिँडाउने प्रतिज्ञा पूरा गर्न
म निद्राको पसलमा
आफ्नो निद्रा धरौटी राख्दै
माया र आस्थाका सिक्काले तिर्छु भनी विश्वास दिलाएँ
तर अन्ततः मेरो आत्मा
उसको सफलताका भित्तामा मात्र
छाया भएर टाँसियो
जब ऊ शिखर चढी —
ऊ मेरो नाम स्मृतिको कागजबाट मेटेर
नयाँ डायरी खोल्छे
मेरा त्याग, मेरा श्रम, मेरा
आँसु
उसको दृष्टिमा केवल हावाको धुलो भए
उसले भन्यो —
“म आफ्नै संघर्षले यहाँसम्म आएकी हुँ”
मेरा बलिदानका रेखाहरू
अब उसका चित्रपटमा अदृश्य क्यानभास बने
आज ऊ नयाँ आकाश खोज्दैछे
जहाँ मेरो छाया नपरोस् भन्ने चाहनाले
म उसको विगतको कितावमा
पुरानो, धुलो चढेको पृष्ठ मात्र छु
र प्रश्नहरू अब समाजको गल्लीमा टाँसिएका छन्
के यही हो त्यो शिक्षा
जो सुगन्ध बन्नुपर्ने हो, तर बारुद बनेर
नाताको पुल जलाइदिन्छ
के यही हो त्यो सफलता
जो फूल बन्नुपर्ने हो, तर ज्योति बनेर
विगतका रंगहरू खरानीमा बदलिदिन्छ
पिताहरूको आँखामा प्रश्नहरू छन्
जसले छोरीलाई आफ्नै पसिना बेचेर
ज्ञानको दीपकसँगै पठाए
श्रीमान्हरूको निःशब्दता चिच्याइरहेछ
जसले आफ्ना चाहनाहरूलाई नदीको किनारमा
बलिदानको दीप बनाएर बगाइदिए
समाज आज प्रश्नवाचक बनेको छ
के समर्पणको अन्त्य यही हो ?
जसले पंख फुकाइ उड्न सिकायो
उहीलाई नभेटिने आकाशमा हराउने
के यही हो उज्यालोको अन्तिम व्याख्या
जहाँ छायाले आफ्नो अस्तित्व पनि गुमाउँछ ।
– रानीगञ्ज, जिल्ला, अररिया, बिहार
हालः विराटनगर, नेपाल
मोः +९७७ ९८००९
१५४१३