समालाेचना
पदोन्नति प्रस्ताव कथामा यथार्थ अङ्कन
प्रारम्भ
‘पदोन्नतिको
प्रस्ताव’ लघुकथामा घनश्याम ढकाल (जीवनकाल वि. सं. २०१० – २०६८) ले लेखेका हुन् ।
नेपालको वामपन्थी आन्दोलनलाई नजिकबाट बुझेका प्रगतिवादी साहित्यकारको रूपमा उनको
परिचय स्थापित छ । नेपाली समाज विचारबाट टाढा रहन सक्दैन । त्यही विचार
राजनीतिमार्फत् अगाडि बढ्दा राज्य सञ्चालनको मार्गनिर्देशन गर्ने सूत्र बन्दछ ।
विचार निर्माण, सङ्गठन निर्माण हुँदै
राज्य निर्माणको यात्रामा पुग्ने राजनीतिक पार्टीहरूको आन्तरिक प्रजातन्त्र भने
निकै कमजोर रहेको विषयमा ढकालले आफ्नो अभिमत सिर्जनामार्फत् राखेका छन् । २०६० को
दशकमा लेखिएको यस कथाले नेपालको राजनीति यात्रामा २०६२/६३ पछि देखा परेको पार्टीभित्रका
गुटबन्दी र गुट फेरुवा शैलीलाई निकै यथार्थको नजिक रहेर प्रस्तुत गरिएको छ ।
विषयवस्तु
‘पदोन्नतिको
प्रस्ताव’ लघुकथामा नेपालको पार्टीहरूमध्ये माक्र्सवादी पृष्ठभूमि रहेको पार्टीमा
शीर्ष तहका नेतृत्वले जन्माएको गुट र त्यसको मलजलका निम्ति गरिएको प्रयासलाई
प्रस्तुत गरिएको छ । अवसरवादी कार्यकर्ता केही पाउनका लागि गुट निर्माण गर्ने
नेताको पछि लाग्ने र पुनः धम्क्याउन वा अर्को अवसर छोप्नका लागि गुट परिवर्तन
गर्ने रोगले ग्रस्त हुँदा पार्टीहरू धेरै पटक टुटफुटमा पुगेको यथार्थलाई कथाले
विषयवस्तुका रूपमा लिएको देखिन्छ । क्रान्तिवीर र अन्य सदस्यहरूको सक्रियता र
प्रवृत्तिलाई कथाले निकै महत्वका साथ उठाएको छ । जनसङ्गठनहरू जनवादी केन्द्रीयताका
आधारमा चल्न नसक्दा यहाँ प्रचलनमा रहेको लेनिनवादी सङ्गठन पद्धति हाँसोको विषय
बनेको र कुरै नबुझी ख्रुश्चेव वा संशोधनवादी आरोप लगाउने कुराले महत्व पाएको छ ।
कथामा एकातिर पदोन्नतिको आशा राख्ने तर कार्यसम्पादन भने नगर्ने नेता–कार्यकर्ताका
कारण पार्टी जनतासम्म नपुगेको कुरा निकै सशक्त ढङ्गले प्रस्तुत गरिएको छ ।
पात्र र चरित्र
‘पदोन्नतिको
प्रस्ताव’ कथामा कथाकारले दुई खालका पात्रको सिर्जना गरेका छन् । कथामा प्रयुक्त
पात्र यथार्थ छन् । यस कथाका पात्रहरू एकै प्रकारका छन् । यहाँ क्रान्तिवीर र अन्य
फरक–फरक हुन् कि भन्ने भ्रम पनि पर्न सक्छ । यसभित्र रहेका शक्तिसङ्घर्षको झिनो
स्वाभिमानी पात्रको स्वर कथामा बाहिरै आउँदैन । कहिले आफ्नो विरोधी देख्ने
कार्यकर्ता, कहिले निकै महत्वको
बन्दछ । मूलतः क्रान्तिवीरको चरित्र ‘ताक परे तिवारी नत्र गोतामे’ भन्ने उखानसँग
मिल्दछ । नेपालमा ठुला मानिएका कम्युनिष्ट पार्टीहरू र काङ्ग्रेस पार्टीको पार्टी
चलाउने शैली एकदमै दयालाग्दो छ । यस सन्दर्भमा पार्टीको कार्यकर्तालाई अनावश्यक
प्रलोभनमा पारेर आफ्नो पल्ला भारी गर्ने र स्वार्थसिद्धि भएपछि भने निचोरेको कागती
जस्तो गरी फालिदिने प्रवृत्तिप्रति तीब्र व्यङ्ग्य गरिएको छ । मूलतः पार्टीमा लामो
समयदेखि जोडिएका कार्यकर्तालाई पदोन्नति गर्ने तरिका कत्ति पनि मिलेको छैन ।
बुर्जुवाहरूले निर्वाचन प्रणालीमार्फत् सो प्रक्रिया अगाडि बढाउने गरिए पनि पैसाको
चलखेल हुने कुरा सर्वविदितै छ । केन्द्रीय नीति लाद्ने एउटा खाले प्रवृत्ति र
पैसाको चलखेल हुने परम्पराले असल कार्यकर्ताको निर्माण नहुने र उनीहरूको
क्रयबिक्रय मात्र हुने कुरा यहाँ प्रस्तुत गरिएको छ । आफैँले बनाएको नीतिलाई
उल्टाउने र आफ्नो स्वार्थअनुकूल व्याख्या गर्ने प्रमुख नेतृत्वप्रतिको अन्यको
विरोध केबल विरोधका लागि मात्र हुनु झन् चिन्ताको विषय भएको कुरा सहभागी अन्य
पात्रको भूमिकाबाट स्पष्ट भएको छ । कथामा आएका पात्रहरूले आफ्नो सफा प्रवृत्ति त
देखाएका छन् तर पार्टी निर्माण सही ढङ्गले अगाडि बढ्न नसकेको प्रति कथाकारको
दृष्टि पात्रहरूमार्फत् प्रस्तुत भएको छ ।
परिवेश
‘पदोन्नतिको
प्रस्ताव’ लघुकथाको परिवेश सीमित छैन । यसमा राजनीतिक पार्टीहरूको आम प्रवृत्ति
सार्वकालिक र सार्वभौम जस्तै भएको विषयलाई कलात्मक हिसाबले प्रस्तुत गरिएको छ ।
पार्टीका प्रमुख नेतृत्वको कमजोर स्थितिलाई कथाले व्यङ्ग्य गरेको छ । पछिल्लो समय
राजनीतिमा सिद्धान्त र सङ्गठनका बिचमा तालमेल मात्र होइन जनताको समस्या पहिचान
गर्न सक्ने क्षमता गुमेको कुरालाई कथामा जोड दिइएको छ । सीमित परिवेशका हिसाबले
नेपालका वामपन्थी पार्टी २०६० को दशक र बिग्रँदो राजनीति स्थितिलाई यहाँ समेटिएको
छ । चरित्रहीनहरूलाई असल चरित्र भएका भनेर आफ्नो स्वार्थको साँचोमा ढाल्नेहरूले
जनताको आशा र भरोसालाई कमजोर बनाएको स्थिति कथामा छ ।
भाषाशैली
‘पदोन्नतिको
प्रस्ताव’ लघुकथामा निकै आकर्षक विषय प्रस्तुत गरिएको छ । यहाँ प्रस्तुत भएको
भाषाले नेपालको राजनीतिको न्यूनतम पनि जानकारी राख्नेहरूले थाहा पाएको विषयलाई
पात्रबाहेक जस्ताको तस्तै प्रस्तुत गरिएको छ । भाषा सरल छ । बुझिने खालको छ ।
प्रतीकात्मक शैलीको प्रयोग गरेर अमुक नेताको नाम नलिएरै मार्मिक ढङ्गले प्रस्तुत
गरिएको छ । जनताले बुझ्ने भाषा र जनताले बोध गरेको विषयका बिचमा तालमेल रहेको छ ।
कथाकार राजनीति क्षेत्रमा समेत गहन अध्ययन गरेका प्रतिभा भएका र सङ्गठनमा समेत काम
गरेका कारण पनि उनले निकै रोचक ढङ्गले विषयलाई प्रस्तुत गरेका छन् ।
उद्देश्य
कथाको
उद्देश्य गलत प्रवृत्तिलाई चिरेर नीति र विधिका आधारमा सङ्गठनलाई हिँडाउनुपर्ने
त्यसबाट मात्र जनताको मुद्दा बोक्ने पार्टी निर्माण हुन सक्ने हुन्छ भन्ने स्पष्ट
ढङ्गले कुरा अगाडि सारिएको छ । नेपाली राजनीतिमा देखिएको अवसरवादी प्रवृत्तिलाई
राम्ररी चिनेर दृढताका साथ अगाडि बढ्न कथाले प्रेरित गरेको छ ।
निष्कर्ष
कथा
विचारविना निर्माण हुँदैन । निश्चित विचारका आधारमा निर्माण भएका पार्टीले आफ्नो
नेतृत्व चयनको आधार पनि स्पष्ट र पारदर्शी बनाउनुपर्ने हुन्छ । विचार मिल्नेहरूका
बिचमा पार्टी बन्ने र असल कर्मका आधारमा नेतृत्व विकास हुनुपर्ने कुरामा जोड दिँदै
कार्यकर्ताको मन जितेर पार्टी नेतृत्व तय हुनुपर्ने कुरातर्फ सङ्केत गरेको छ ।
जनतासामु पार्टीका असल प्रतिनिधि उभ्याएर मात्र तिनीहरूले राज्यको जिम्मेवारी सही
ढङ्गले पूरा गर्न सक्ने आशय व्यक्त गरिएको छ । गलतको विरुद्ध लागिरहन कथाको जोड
रहेको छ ।
- tejkamere@gmail.com
