संस्मरण
झिल्टुङ्मा महाकविलाई भेट्दा
झिल्टुङ !
झट्ट सुन्दा यो
नाम अनौठो लाग्छ । मान्छेको नाम हो कि भूगोलको । यो त्यतिविधि प्रख्यात नाम पनि
होइन । काठमाडौँदेखि खासै टाढा नरहे पनि यो विकटताको बादलले घप्लक्क छोपेको गाउँ
हो भन्ने यहाँ आइपुगेपछि थाहा हुन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मामा
ससुरालीका रुपमा चिनिएको यो गाउँ महाकविको कुञ्जिनी खण्डकाव्य र पहाडी जीवन निबन्ध
प्रकाशन भएपछि अलि चर्चित हुन पुगेको हो ।
युवास्रष्टा
एवम् सम्पादक प्रतीक घिमिरेको झिल्टुङ जाने प्रस्तावमा यात्राको तारतम्य मिल्न
पुग्यो । एउटा माइक्रोबस लिएर यस क्षेत्रको यात्रा गर्ने सल्लाह अनुसार २०८२ सालको
पुस १९ गतेको मिति तय भयो ।
यात्रा भनेपछि
मेरो मन त्यसै त्यसै फुर्फुरिन्छ । बिहान सबेरै आँखा खुले पनि शरीर भने ओछ्यानमै
लडिरहेको थियो । पुसको उपद्याहा जाडो कसैगरी पनि शरीरबाट ओढ्ने हटाउन दिँदैन ।
जाडोसँग जोर जवर्जस्ती गर्दै दिनभरको लागि न्यानो ओढ्नेसँग अनायास सम्बन्धविच्छेद
गरेर ओछ्यानबाट बाहिरिन्छु ।
मेरो नित्यकर्म केहीबेरमै पूरा हुन्छ ।
लमकलमक लम्किन्छु चक्रपथ सडकमा । ललितपुरको महालक्ष्मीस्थानबाट स्वयम्भु पुग्न
खासै धेरै समय नलागेको कारण केहीबेर स्वयम्भुनाथको वरिपरि टहलिँदै मज्जाले पुसे
ठण्डीको स्वाद लिन पाउँछु ।
उताबाट राजन पुडासैनीको फोन आउँछ । मेरो
कानमा उनको स्वर गुञ्जिनथाल्छ, “लीला
सर, हामी माछा पोखरीबाट हिँड्यौं है ! रातो
माइक्रो रन्किएर आउँदैछ ।”
नेपाल राष्ट्र
बैंकका कर्मचारी रहेका यी मनुवा सज्जन छन् । साहित्य भनेपछि मरिहत्ते गर्छन् ।
साथी भनेपछि मरिहत्ते गर्छन् । यात्रा भनेपछि मरिहत्ते गर्छन् । पद र दौलतको अहमता
अलिकता पनि छैन यिनको अनुहारमा । त्यसैले यी राजन मलाई पनि अच्छा मान्छे लाग्छन् ।
स्वयम्भु चौकमा
उभिएर आउने गाडीहरूलाई नियाल्छु । अब त आउने गाडी सबै रातै राता पो देखिन थाले ।
सात बजेर चौंतिस मिनेट गएको छ । घामको किरणले उज्यालो देखिएको छ स्वयम्भु वरिपरिको
परिवेश । घामको किरणमा बढ्दै गएको न्यानोपनले गर्दा पुच्छर लुकाएर ङिच्च गर्दै
भाग्न खोज्दैछ जाडो । अन्त छोपिएकोले घरिघरि मेरो गालामै चुम्न खोज्छ यो असत्ती
पुसे ठण्डी ।
केही समयमा आइपुग्यो रातो माइक्रोबस । चढ्न
बाँकी म मात्रै छु । ढोकाबाट भित्र पस्दा देख्छु – हरेकका अनुहार उत्साहित छन् ।
खाली सिट अन्तिममै भेटिन्छ । बस्छु म पनि । गाडीमा आसनका आधारमा हाम्रो नामावली
बन्छ ।
दुर्गाभवानी भट्ट, एञ्जल निलु, डिल्लीराज अर्याल, राजन पुडासैनी, दीपक लोहनी, शुकदेव उपाध्याय, विष्णुप्रसाद शर्मा पराजुली, गङ्गाप्रसाद भेटुवाल, चिरञ्जीवी नेपाल, प्रतीक घिमिरे, लीलाराज दाहाल, प्रमोद गिरी र कात्यायन छौं आजका सहयात्री
।
गाडीका चालक
श्रीकृष्ण महर्जन माइक्रोबसलाई स्वयम्भुबाट सीतापाइला – धार्के सडकमा निकाल्ने
ध्याउन्नमा भित्री बाटो समात्छन् ।
हामी गफको तालमा
छौँ । गाडी आफ्नै तालमा गुड्दै छ । काठमाडौँको पश्चिमी चुचुरोमा पुगीवरि गाडी
उतापट्टिको ओरालो झर्ने क्रममा छ । भञ्ज्याङ आउँछ, जान्छ । काठमाडौँ धादिङ सिमाना आउँछ, जान्छ । आरु खोला आउँछ, जान्छ । रुप्से खोला आउँछ, जान्छ । गाडीको सिसाबाट बाहिर पनि
नियाल्दैछु । बिहानी घामको किरणमा धुनिबेसीका खेत, फाँट चम्केका छन् । बालीनाली र वन बुट्यानको हरियालीले शृङ्गार
गरिदिएको छ पूरै फाँटलाई ।
साथीहरूलाई
चियाको तलतलले सताएको रहेछ । कसैलाई लघुशङ्काले पनि दुःख दिइरहेको थियोे होला ।
कुरा बुझेछन् गुरुजीले । अनि त धुनिबेसी– ५,
अर्जेलटारमा
रहेको चिया पसलमा अडियो गाडी । होटलका कामदार नउठ्दै हामी चिया पिउन तम्सिएका
रहेछौं । एक घण्टा हुन लागिसक्यो – चिया आउँदैन ! पछि थाहा पाइयो, हामीलाई चिया ख्वाउन दुध नभएकोले थानकोट
पुगेर दुध लिएर आउँदा पो बिलम्ब भएको रहेछ ।
त्यहाँबाट
अगाडि बढ्यौं । गाडीमा यात्रारत रहँदा हाम्रो यात्राको आयव्ययको अभिलेख राख्ने
प्रतीकले भन्नुभयो, “चिया
होटलको आँगन र बरण्डा फराकिलो भए पनि साहुको मन भने निकै साँघुरो रहेछ ।”
हामीले बुझ्यौं
– होटलका साहुले हिसाबकिताबमा अलिकति गोलमाल गर्न खोजेछन् ।
केहीबेरमा धार्के
पुग्यौं । मूलबाटो पृथ्वी राजमार्ग समातेर हाम्रो सवारी पूर्ण यौवनको धावकझैँ
दौडिरहेको छ सडकमा । गल्छी पुगेर त्रिशूली जाने सडकतर्फ मौडियौं । अलिमाथि
कोल्पुखोला पुल पनि काटियो । त्यही ठाउँनिर कोल्पुखोलाले गहिरो त्रिशूलीमा हेलिएर
आफ्नो जीवन समाप्त पार्दो रहेछ । अझै अगाडि बढेपछि कोल्पुटार आयो । त्यही
कोल्पुटारबाट दाहिने मोडिएर उकालो लाग्नुपर्ने रहेछ झिल्टुङ जान । हामी पहिलोपटक
आउनेलाई के थाहा ! हामी त नुवाकोटकै दुर्गाभवानीको भर परेका छौं । गुरुजीको भर
परेका छौं । गाडी पूर्ण रफ्तारमा कुदेको छ । तारुकाघाट कटिसक्यो । रातमाटे
कटिसक्यो । एउटा सानोसानो बजार पनि कटिसक्यो । काँसीटार आइपुगेपछि दुर्गाभवानीले
भन्नुभयो, “यता त होइन कि क्या हो !”
बाटोमा भेटिएका बटुवालाई सोधेपछि थाहा भयो –
हामी त झिल्टुङ छुट्टिने ठाउँ छोडेर निकैमाथि पो आइपुगेछौं !
त्रिशूली
नदी किनारका रमणीय हरियाली र उर्वर खेतबारी नियाल्न पाउँदा रमाइरहेको थिएँ । अचानक
फर्कनुपर्दा मेरा आँखाहरूको चित्त बुझाउन मलाई हम्मेहम्मे परेको थियोे । फर्केर
आयौं र कोल्पुटारबाट उकालो लाग्यौं । उवडखावड धुले बाटोमा हाम्रो माइक्रोबस अल्छी
गर्दै गुड्न थाल्यो । मैले मनमनै सोचें – सबै ठाउँमा गल्छी – त्रिशूलीजस्तै चिल्लो
कालोपत्रे बाटो त कहाँ भेटिन्छ र ! हाम्रो जिन्दगी जस्तै त हो नि यात्रा पनि !
जङ्गलको बिचको
बाटोमा उकालो उकालो, अलिअलि
घुम्ती, तेर्सोतेर्सो गुडेर गाडी अगाडि बढिरहेको
छ । धुलोमाटोको खार नाकभित्र भित्र पुग्दै छ । झण्डै आधा घण्टाभन्दा बढी गुडेपछि
हामी पुग्छौं माझगाउँ । यहाँ केही झुरुप्प बस्ती रहेछ । यो ठाउँ नुवाकोट जिल्लाको
बेलकोटगढी नगरपालिकाको ५ नम्बर वार्डमा पर्दो रहेछ । एकदुई होटल, केही किराना पसल, उखु पेल्ने कोल र कुटानपिसानको मिल
रहेको यस ठाउँ विकासको तीब्र प्रतीक्षामा रहेछ ।
हामी आउँदै छौँ
भनेर केही स्थानीय बुढापाका, सङ्घ
संस्थाका प्रतिनिधि र वडा सदस्य जम्मा हुनुभएको रहेछ ।
होटलमा खानेकुराको लागि आग्रह गरेपछि होटलले
खानेकुराको चाँजोपाँजो मिलाउञ्जेल हामी स्थानीय रहनसहन, कलासंस्कृति, पाटीपौवा नियाल्ने बिचार गरेर वडा सदस्य
गोकर्ण नेपालको पछि लाग्यौं । बाटो वरिपरि,
तलमाथि
मिलेर बसेको नेवार बस्ती, केही
पक्का केही कच्चा घरहरू लाइन लागेर उभिएका छन् । नेवार समुदाय बढी जस्तो व्यापारमा, बाहुन क्षेत्री समाज सेवा, खेती किसानी र राजनीतिमा, अन्य जातिहरू आ–आफ्नै पुख्र्यौली पेशामा
रहेको अवस्था रहेछ यहाँको । बाटोमा जाँदाजाँदै गोकर्णजीले हामीलाई यहाँको नेवारी
समुदायमा रहेको अर्वासिनी प्रथाको बारेमा केही कुरा बताउनुभयो । कुनै जात्रामा, खेतीको काममा र स्थानीय झैझगडाको लागि
बस्ने पञ्च कचहरीमा जम्मा भेला हुन जारी हुने सूचना पु¥याउने कार्य नै अर्वासिनी प्रथा रहेछ ।
हामी अगाडि बढ्दै गयौं र पुग्यौं झिल्टुङ डबलीमा
। पहिले पहिले मुद्दा मामिलाको सुनुवाइ हुने र न्याय निसाफ गरिने ठाउँ रहेछ यो
डबली । यसको अस्तित्व पचास एकाउन्न सालसम्म थियो भन्नुहुन्छ वडा सदस्य गोकर्ण जी ।
स्थानीयहरूको भनाइ अनुसार यस क्षेत्रका खास
सांस्कृतिक जात्रामा हिले जात्रा र झिल्टुङ लाखे जात्रा रहेछ । नाग पञ्चमीदेखि
श्रीकृष्ण जन्माष्टमीसम्म चल्ने रहेछ यो लाखे जात्रा । घर घरबाट लाखे निकालेर यस
डबलीमा जात्रा देखाइने रहेछ । संस्कृति र परम्परामा पनि धनी लाग्यो झिल्टुङ ।
नेवार, बाहुन र दलितको सहअस्तित्वपूर्ण रहनसहन
यस ठाउँको बिशेषता रहेछ । तल तलको होचो ठाउँमा बस्ती छैन तर यो अग्लो डाँडामा भने
बस्ती छ । अग्लो डाँडामा बस्ती भएकोले पानीको दुःख हुनु स्वभाविक भैहाल्यो ।
धेरै
पहिलेको झिल्टुङ गाउँ पञ्चायतपछि गएर दुई पिपल गाउँ विकास समिति र अहिले बेलकोटगढी
नगरपालिकामा परिवर्तन भएकोछ । यो ठाउँ झिल्टुङ नाउँको अस्तित्व गुमाएर बसे पनि
महाकवि देवकोटाले यस नामलाई अमरत्व दिनु भएको हो । अहिले जग्गाको श्रेस्तामा
मात्रै भए पनि झिल्टुङ नाम अभिलेखित छ ।
गोकर्णजीले
हामीलाई कुमारी माई मन्दिर, बिष्णु
मन्दिर, कोटघर र कोटथोक अवलोकन गराउँदै, तिनको विशेषताहरू वर्णन गर्दै हामीलाई
फर्काएर माझगाउँमै ल्याइपु¥याउनुभयो
। बाटोमा रामचन्द्र बिश्वकर्माको आरनघरमा पसेर दलित जातिको अवस्था, विगत र वर्तमानको बारेमा बुझ्ने प्रयास
गर्यौं ।
शुकदेव नेपाल, डिल्लीराज अर्याल र गङ्गाप्रसाद भेटवालले उनै रामचन्द्रको बारेमा
खोजीनीति गर्दै स्थानीय सरकारबाट केकस्ता सहयोग पाउनुभएको छ, राज्यले के गरिदियोस् जस्तो लाग्छ भनेर
सोध्दा उनले लजाउँदै वडा सरकारले यो आरनमा घेराबेरा गरिदिए हातहतियार हराउने
थिएनन् भनेर माग राखेका थिए र नगरपालिकाले त्यो गरिदिने भन्ने आश्वासन दिँदा उनी
निकै हर्षित देखिए । त्यसो त उनको पुख्र्यौली पेशा जोगाइदिन र गाउँलाई स्थानीय
घरेलु हातहतियारमा आत्मनिर्भर बनाउन वडाले आरनघरको छानो फेरीदिने लगायतका सानातिना
समस्यामा वडाले सहयोग गर्दैआएको रहेछ ।
कुरै कुरामा एक
स्थानीय महानुभावले थप्नुभयो, “रातरातो
रङ्गको झुरुम झुरुम मुमफली बदाम, उखु
र कोदो यहाँका प्रसिद्ध बाली हुन् ।”
होटलको माथिल्लो बरण्डामा हामी यात्रुहरूलाई
स्वागत गर्ने तारतम्य मिलाउनुभएको रहेछ झिल्केश्वर बचत तथा ऋण सहकारीका पदाधिकारी साथीहरूले
। सोही मुताबिकका कार्यक्रम पनि सञ्चालन भए ।
दिउँसोको १ः००
बजिसकेको हुँदा हामी कमजोर कमजोर र भोक भने बलियो बलियो हुँदै गएको अनुभूति हुन
थाल्यो हामीलाई ।
भोजनपछिको हाम्रो बाँकी काम थियोे कुञ्जिनी
पार्क अवलोकन । हामी कत्ति पनि ढिला नगरी अगाडि बढ्यौं । माझगाउँबाट हिँड्नै
लाग्दा साथीहरू कोदोको पिठो बेसाउन थाल्नुभएकोले हाम्रो यात्रा केहीबेर अबरुद्ध
हुनपुग्यो ! उखु पेल्ने कोल बन्द रहेकाले गाउँको शुद्ध सखर लिने साथीहरूको सपना
भने पूरा हुन सकेन यसपटक !
त्यहाँबाट केही
उकालो उक्लेपछि तेर्सैतर्सो बाटोमा पैदल यात्रामा थियौँ । सल्लाका बोटहरूले
सुन्दरता थपिरहेका थिए बाटैभरि ।
चारैतिरबाट तार जालीले घेरेर कुञ्जिनी पार्क
बनाइएको रहेछ खड्कछापमा । १९९७ सालमा महाकवि देवकोटा बस्नुभएको घरको आडैमा ।
महाकविको सालिक पनि मनमोहक लाग्यो मलाई त । सालिकमा केही लेख्दै गरेकोजस्तो
भूमिकामा महाकवि देवकोटा । महाकविको सालिक छेउमा बसेर हामीले पनि केही अनुभूति
पस्कने काम गरेका थियौं । केदार नेपाल,
अच्युत
नेपाल, नारायण नेपाल, बच्चुराम लामिछानेहरू यस क्षेत्रलाई
साहित्यिक पर्यटनको केन्द्र बनाउन लागिपरेका रहेछन् । स्थानीय नगरपालिका र पर्यटन
मन्त्रालयको आर्थिक सहयोगमा काम हुँदै गरेको रहेछ अहिले पनि ।
यो झिल्टुङ
गाउँ महाकवि पत्नी मनदेवी देवकोटाको मावलीगाउँ रहेको र स्थानीयहरूको भनाइ अनुसार
महाकविलाई उपचारको लागि भारतको राँचीमा लगेर ल्याएपछि पनि ठिक नभएको भन्ने ठानी
झारफुक पद्धतिबाट उपचार गर्न भनी बि.स. १९९७ सालमा यहाँ ल्याइएको रहेछ । महाकवि यस
ठाउँमा एक महिनासम्म रहँदा यहाँको गाउँघर,
डाँडापाखा, खोलानाला सबै चहार्नुभएको र यसै गाउँको
कथालाई टपक्क टिपेर गोरेलाई नायक र कुञ्जिनीलाई नायिकाका रुपमा उभ्याई “कुञ्जिनी”
जस्तो कालजयी खण्डकाव्य र “पहाडी जीवन” जस्तो खँदिलो निबन्ध लेख्नुभएको हो भनेर
भन्ने गरिन्छ ।
नियात्रा
लेखनका शिखर आदरणीय निर्मोही व्यासले २०४३ सालको असार महिनामा यस क्षेत्रको भ्रमण
गर्नुभई महाकविका नातेदारको घरमा महाकवि स्वयम्ले प्रयोग गर्नुभएको पिर्कामा बसी
खाना खाएको र महाकवि सुत्ने गरेको ओछ्यानमा सुतेर महाकविप्रति असीम श्रद्धा प्रकट
गरेको कुरा उहाँको संस्मरणात्मक नियात्रा “झिल्टुङको यात्रा कुञ्जिनीको खोजीमा”
व्यक्त गर्नुभएको छ ।
झिल्टुङले केही समय आफ्नो अस्तित्व गुमाउनु
परे पनि अहिले स्थानीय, प्रदेश
र राष्ट्रियस्तरमा आफ्नो पहिचानको लागि प्रयासरत रहेको छ । महाकवि एक महिनासम्म
बसेको घर भत्केकाले त्यो पवित्र घर हेर्ने हाम्रो चाहना भने पूरा हुन पाएन । घर
हाल भत्किसकेको रहेछ ।
बेलुकाको चार बजेकाले काठमाडौँ फर्कनलाई हामी झर्न थाल्यौं ओरालै ओरालो । यस सुन्दर ठाउँ झिल्टुङलाई छोडेर फर्कनु पर्दा मनमा कस्तो कस्तो नरमाइलो लागिरहेको थियो । बाटोघाटो बन्दै गरेको र देवकोटा पार्कको पनि निर्माण कार्य हुँदै गरेकाले पछि फेरि समय मिलाएर आउने कुरा मनमा खेलाउँदै काठमाडाँै फर्कनलाई हामी माइक्रोबस चढ्यौं ।
– वागमती ११, कर्मैया, सर्लाही