कथा
प्रत्येकदिन एउटी युवती त्यही बाटो भएर हिँड्थी
। ऊ को थिई, ऊ अनविज्ञ थियो ।
उसले सधैँ साँझ–बिहान साथी–भाइ भेटने,
गफ
गर्ने र चिया–चुरोट पिउने पसलको सार्वजनिक बाटो भएर हिँड्थी ऊ । त्यो बाटोमा सयौँ
मान्छे हिँड्छन् दिनदिनै । अफिस जाने,
बजार
जाने साँझ–बिहान दाल, चामल, तरकारी किन्न जाने कयौँ मान्छे
ओहोरदोहोर गर्छन् । के गन्ती गरेर साध्य हुन्छ र ? तर प्रत्येक दिन एउटै समय आउने–जाने गर्थी त्यो युवती ।
प्रमोदको मनमा त्यस उपर खुल्दुली थियो ।
चियापसलमा गफिइरहेको समयमा त्यो युवतीको बारेमा
अनेक खाले नराम्रो शब्दले गाली गलौंज गर्ने साथीहरू । बाटोमा हिँडेको देख्दा
जिस्काउँथे । अनावश्यक मुख छाड्थे,
छाडा
बोल्थे । कमरेड नि... त्यो त... छि... यस्तै यस्तै ।
“कमरेड लालसलाम” एकदिन केटाहरूले उसको हुर्मत
लिने तरिकाले जिस्कदै गललल... हाँसे ।
ऊ मुख बिगार्दै पसलको छेउमा आएर उभिई । उसले
केही बोलिन । ठिङ्ग उभिइहरेकको अनुहार नियाली । दिउँसै चिया –चुरोट र गाँजाले
झ्याप भएका केटाहरू सांँझ परेपछि दारूको चार्जमा झुलिरहेका थिए । उसले मनमनै सोची
“गाँजा र दारूले सुकेका ट्यापेहरू,
खाइलाग्दा
कोही छैनन्, टाटपल्टेका टुरिष्ट
ग्याँङहरू । पसलमा बस्यो केटी जिस्कायो काम पाउँदैनन् ! ऊ त्यहाँ बसेका केटाहरू कसैसँग बोलिन । सरासर हिँडी । ऊ
गएपछि केटाहरू गललल....हाँसेको आवाज गुन्जियो । सायद केटाहरूले उसका बारेमा केही
नेगेटिभ कमेन्ट गरे ।
एक साँझ प्रमोद चिया पसलमा बसिरहेको थियो । आज
केटाहरू कोही छैनन् । हुन त उही दाउ पार्टी हुँदा सबै खानकै लागि जम्मा हुने मात्र
हुन् । आज त्यो अपरिचित युवती सरासर पसलमा आई । पसल्नीसँग उसको चिनजान थियो । खाली
कुर्सीमा थ्याच्च बसी र क्रान्तिकारी राजनीतिका कुरा गर्न थाली । साहुनी पनि उसको
कुरामा सही थपिदिन्थी । ऊ झन् सुरिएर भाषण छाँटन थाली । उसका सबै कुरा प्रमोदले
सुनिरहेको थियो । ऊ बोलिरहदा प्रमोद मौन थियो । त्यहाँको वातावरण पनि लगभग सुनसान
थियो । बाटोमा गुडेका सवारी साधनको आवाज साधरण थियो । सायद पसलमा आज उसले सधँै
देखिरहने उत्ताउला केटाहरू भन्दा फरक र नयाँ मान्छेलाई देखिकी थिई ।
“उहाँ चाँहि ? पहिला त देखिनुभएको थिएन” –युवतीले परिचयात्मक पारामा सोधी ।
साहुनीले भनी –“उहाँ हाम्रो प्रमोद सर । बाहिर
बस्नु हुन्छ । हिजो मात्र आइपुग्नु भएको काठमाडौँबाट ।”
“बाहिर कुन देश ?” –युवतीले सोधी, केही
आशातित भएर ।
अब
प्रमोदले बोल्नै पर्ने भयो,
“विदेश होइन, कामको
सिलसिलामा काठमाडाँै बाहिर” – उसले भन्यो ।
प्रमोद एउटा एन.जि.ओ.मा काम गर्छ । अफिसको
कार्यक्षेत्र हाल पर्साको सिमारामा छ । अहिले यु एस. ए. आई.डि. को एच. आई. भि. तथा
लागु औषध परामर्श कार्यक्रमको संचालन भइरहेको छ । हिजो सरकारी विदा थियो । आज शनिवारको
विदा छ । भोलि आफैंले अफिसबाट विदा मिलाएकोले तिन दिन लगातार विदा भयो । पर्सि
सोमवार फेरि सरकारी विदा परेकाले चार दिने लामो विदामा ऊ काठमाडौँ आएको थियो ।
“के जागिर गर्नुहुन्छ ?” संकटकालको बेला शाहीसेनाले बटुवालाई
केरकार गरेझँै उसले प्रश्न गरी । हुन त छापामार हुँदा युवतीले पनि उसको एरियामा
प्रवेश गरेका नवअगन्तुकलाई यसरी नै कति केरकार गरी होला । सायद उसको स्मृतिमा ताजै छ ।
“जा–गिर गर्छु, अँ यौटा एन. जि.ओ.मा पैसाको लागि गएर जिन्दगी गिराउँदै छु ।” –
प्रमोदले जगिरसँग सन्तुष्ट नभएको प्रतिक्रिया दियो ।
ए “एन.जि.ओ. साम्राज्यवादी विदेशी दलालहरूको
संस्था !” – उसले विद्रोही शब्दको झटारो हानी ।
प्रमोदलाई कमरेड युवतीसंँग उसका बारे केही कुरा
खोतल्न मन लाग्यो । तर उसको मोवाइलमा फोन आइसकेको थियो । प्रमोदले घडी हे¥यो,
साँझको
सात बजिसकेको थियो । घरबाट फोन आएको थियो । खाना तयार भैसकेको थियो
होला । उसले कल व्याक
ग¥यो र घर आउन ढिला हुने जानकारी दियो ।
युवती त्यो चिया पसलबाट केही टाढा बस्थी । उसको
खास पेसा केही
थिएन । ऊ बेरोजगार
थिई । एकछिनको बसाइँमा उसले भनी “म एउटा सरकारी क्याम्पसमा पढ्छु । त्यही
क्याम्पसमा क्रान्तिकारीधारबाट राजनिति गर्छु ।” अखिल नेपाल क्रान्तिकारीबाट राजनीति गर्ने भएकाले उसलाई
सबैले कमरेड भन्दा रहेछन ।
ऊ अखिल क्रान्तिकारीकी सक्रिय कार्यकर्ता थिई ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पशुपति बहुमुखी क्याम्पसबाट निर्वाचित
सदस्य पनि रहिछ ।
“कति वर्ष भो राजनीतिमा लागेको ?” प्रमोदले प्रश्न गन्यो । उसको प्रश्नमा
युवतीले आफ्नो ऐतिहासिक विवरण पेस गर्ने आशय व्यक्त गरी ।
उसले प्रमोदलाई सबै कुरा बताउन थाली । ‘म स्कुल
पढ्दा–पढ्दै युद्धमा हिँडेकी हुँ । स्कुलको पढाइ छोडेर बन्दुक बोक्न हिँडियो ।
त्यतिबेला कलमभन्दा बन्दुक ठुलो भन्ने बुझाइ थियो । हाम्रो कलिलो दिमागमा पढनु
भनेको शाही शासनको चाकार गर्नु हो,
युद्ध
गर्नु मुक्तिको बाटो हो भनी इस्कुलिङ गरिएको थियो । छापामार युद्ध लड्नु आजको
आवश्यकता हो र यो बुर्जुवा शिक्षाको केही महत्व छैन भनिन्थ्यो ।’
एकदिनको कुरा हो, हाम्रो स्कुलमा पढाइ भहरहेको थियो । त्यही बिचमा केही नयाँ
मान्छेहरू सरासर हाम्रो कक्षा कोठाभित्र छिरे । हामीलाई पढाइरहनुभएका शिक्षकलाई
पनि नपढाउन आदेश दिए । उनीहरूको आदेशपछि शिक्षकले पनि डराएको अनुभव गर्नुभयो ।
उहाँ केही बोल्नु भएन । कक्षा कोठा बाहिर चौरमा चार जना बन्दुक बोकेका अन्य
अपरिचित मान्छे थिए । हामी सबै शिक्षक– विद्यार्थीलाई उनीहरूसँग जानुपर्ने भन्न
थाले । त्यहाँ कसैले पनि नाइ– नास्ती गर्ने,
हुन्न
भन्ने आँटै थिएन । कसैले प्रतिवाद गर्न मिल्दैन थियो । त्यहाँ कसैले केही प्रतिवाद
गरेमा जे पनि हुन सक्थ्यो । हाम्रो कक्षा
शिक्षक केही नबोली हिँड्नुभयो । शिक्षकको अगाडि दुई जना बन्दुक बोकेका मान्छे
हिँडे । शिक्षकको पछाडि लाइनमा हामी कक्षाका साथीहरू हिँड्याँै ।
हामी दुई–तीन घण्टासम्म हिँड्दा त चिनेकै
गाँउको बाटो हिँड्याँै । साँझ पर्न थाल्यो,
त्यसपछि
ठाँउ र बाटो चिन्न सकिएन । जंगलको बाटो थियो । भिर–पाखा अफ्ठेरो बाटो थियो ।
तिनीहरूले हामीलाई राति दस बजेसम्म हिँडाए । सबै विद्यार्थीहरू भोकले लखतरान भई
सकेका थियाँै । कोही खुट्टा दुख्यो भन्दै थिए । कोही जिउ दुख्यो भन्दै थिए ।
उनीहरूले हामी साथीहरू कसैलाई पनि एक अर्कासँग बोलचाल गर्न दिएका थिएनन् । तिनीहरूले राति जंगलको बिचमा पु¥याए । त्यहाँ स्याउला र भाँटाबाट बनेका
अस्थायी छाप्राहरू थिए । केही मान्छेहरू
रहेछन् । हामीलाई लाइन मिलाएर राखियो । त्यहीँ दाल, भात, तरकारी, केही टुक्रा मासु र झोल पेटभरि खान दिए
। खाना खाएको थाल आफैंले पखाल्नुपर्ने रहेछ । हामी घरमा भएको भए दुई निन्द्रा
सुतिसकिन्थ्थो । धेरै हिँडेका हामी थाकेका थियाँै । राति ढिला भएकोले धेरै भोक
लागेको थियो । तात्तातो दाल भात खाएपछि म त निदाएछु । बिहान अन्त बिउँझदा कसले हो
छाप्रोमा लगेर सुताएछ । छाप्रो वरिपरि बाँसको चित्राले बेरिएको थियो । भुइँमा
स्याउला र त्यसमाथि चित्राकै बिछ्याउना थियो ।
म त मस्त निदाइरहेको थिएँ । बिहान पाँच बजे नै
उठाए । सबैले हतार हतार हातमुख धोएर लाइनमा बस्न भने । विद्यालयमा प्राथना लाईन
बसे जस्तै हामी सबै जना लाइनमा बस्यौ । हिजो स्कुलबाट हामीलाई लिएर आउने मान्छेहरू
कोही पनि थिएनन । सबै जना नयाँ अनुहार मात्र थिए । बन्दुक बोकेका मान्छेहरू
चारैतिर सेन्ट्री बसे । अरु अरु वरिपरि थिए । एक जना मान्छे हाम्रो अगाडि देखा
पर्याे । ऊ केही मोटो थियो । उसले आर्मीको जस्तै ड्रेस लगाएको थियो । जुत्ता
लगाएको थियो । क्याप पनि लगाएको थियो । उसले हामीलाई सर्तक, गोडाफार, हात तलमाथि, सिधा, दायाँ, बायाँ गरायो । खुट्टा एक–दुई, एक–दुई गर्दै तीन पटक चौर वरिपरि घुमायो । आर्मीले खेल्ने परेड
जस्तो परेड खेलाए । त्यही दिन दिउँसो फेरि त्यहाँबाट हिँडाए । केही साथीहरू रुन
थाले । घर फर्कने भन्न थाले । खुट्टा दुखेको,
हिँड्न
नसक्ने आदि– इत्यादि भन्न थाले । हाम्रो सरलाई उनीहरूले छोडेनन् ।
उनीहरूसँगै जान पर्ने भन्न थाले । सर केही बोल्नुभएन । सायद उहाँले मौन समर्थन जनाउनुभयो
। सरले अस्वीकार गर्न सक्नुभएको थिएन ।
त्यहाँका मान्छेहरूले राति सरसँग धेरै कुरा गरेका थिए । बिहान पनि कसैले नसुन्ने
गरी कुरा गरेका थिए । दिउँसो हिँडेपछि हिजोको जस्तै जंगल, भिर र पाखाको बाटो हिँडाए । राति फेरि
हिजो रातीको जस्तै ठाँउमा लगे । त्यहाँ पनि केही फरक चाल चलन थिएन । झन् कडा
शासनझैँ लाग्दथ्थो ।
हामीलाई भोलिपल्ट फेरि त्यहाँबाट हिँडाए । मेरा
सबै साथीहरू बाटोमा हिँड्न नसकेर छुट्टी सकेका थिए । अनिता र म थियौं । हाम्रो
सरलाई अरु नै मान्छेले अन्तै लिएर गए । नयाँ ठाउँमा पुगेपछि अनिता अरुसँग र म
अन्यत्र छुट्टा छुट्टै प¥यौ ।
म र
अनिता जानी नजानी लडाइमा सामेल भयौं । जनयुद्धमा लागियो ।’’ त्यसपछि सुरु भयो
चुनौतीका दिनहरू । बन्दुक काँधमा बोकेर भूमिगत हिँडियो । जीवनको उद्देश्य नै मर्ने
र मार्ने थियो । युद्धको बेला मरेदेखि देशको लागि अमर सहिदको वलिदानी दिइयो ।
बाँचे सकुशल मुक्तिको लडाई लडियो भन्ने गरिन्थ्यो । थुप्रै चुनौतीको सामना गर्दै
छापामार भइयो । कतिखेर आर्मी–पुलिसको पञ्जामा पर्ने हो भन्ने ठेगान थिएन । ज्यान
धरापमा राखेर लुकी लुकी, भागी–भागी
हिँड्नुपर्ने हुन्थ्यो ।
ऊ बोल्दा बोल्दै रोकिई । केही भावुक र निराश भई
। अब बोल्न पनि अनिइच्छुक देखिई । यसो घडी हेरी र हतार भए जस्तो गरेर भनी– ‘आठ
बजिसकेछ ।’
अबेर भयो ! धेरै बेर बसियो । प्रमोदले भन्यो ।
अँ..अँ.., पर पुग्नुपर्छ । हिँडेर जाने हो ।
कामाडौँमा प्रायः गाडी चढ्ने चलन छैन – उसले भनी ।
कमरेड युवतीसँग प्रमोद जिज्ञासु थियो । त्यसैले
उसले भन्यो । “तपाईंको जीवनको कथा रोचक रहेछ । मलाई आज प्रत्यक्ष छापामार लडाकु
भेटेको अनुभव भइरहेको छ । त्यसपछि अहिलेसम्मको कथा पनि सुनाउनु न ?”
प्रमोदको जिज्ञासुपनले ऊ झन् केही उतेजित भई । कुराकानीको सिलसिला भोलिलाई
थाती राख्ने मनसाय व्यक्त गरी । तर,
प्रमोदले
हुन्न तपाईंको चाखलाग्दो कथा आजै भनिसकेर मात्रै जानुस् भन्यो । उसका बाँकी कथा
सुन्न र समय कटाउन उसले साहुनीलाई चिया अर्डर ग¥यो । अब कमरेड युवती फुत्कन पाइन ।
चियाको चुस्कीसंँग कमरेड युवती कथामा बग्न थाली
। उसले भनी “विभिन्न आरोह–अवरोह, क्षति–
विजय सामना गर्दै पार्टी शान्तिवार्तासम्म आइपुग्यो । मनमा एकखाले उत्साह थियो ।
अब शान्तिसँग बाँच्न पाइन्छ । हाम्रो सबै जिम्मेवारी पार्टीले लिन्छ । अन्याय
गर्ने शासक हार खाए । हामीले सोचेका थियौं,
अब
स्वतन्त्रताको स्वास फेर्दै जनताको शासन सुरु हुने छ ।
२०६२/ ६३ पछि युद्ध समाप्त भएको घोषण ग¥यो पार्टीले । हामी लडाकुहरू
क्यान्टोनमेन्टमा बस्नुपर्ने भयो । बसियो पनि । स्कुलबाटै युद्धमा हिँडेको हो, त्यसैले पढाइ ब्रेकअप भएको थियो ।
क्यान्टोनमेन्टमा बस्दा एस.एल. सि. दिएँ । म पास पनि भएँ । सरकार र माओवादीबिच
नेपाली सेना र जनमुक्ति सेना समायोजनको विषयमा विवाद थियो । सेना समायोजन ज्यादै
जटिल परिदृष्य बन्यो । नेपाली सेना टसमस नगर्ने, माओवादी नेपाली सेनाको समान हैसियत र दर्जाको माग गर्ने ।
एकाएक सरकार र पार्टीको विचमा के सहमति भयो थाहा छैन । हामी क्यान्टोनमेन्टमा
थुनिएका सामान्य दर्जाका लडाकुले केन्द्रको निर्णय बारेमा थाहा पाउँदैन थियौं ।
लगत्तै सरकारले स्वच्छिक अवकासको प्याकेज
सार्वजनिक गरेको थियो । मैले स्वच्छिक अवकास नै उचित ठानेँ । मलाई
क्यान्टोनमेन्टबाट बाहिरिन राम्रो लाग्यो । उसले पुनः खिस्स हाँस्दै भनी “खासमा
स्वच्छिक अवकासपछि सकियो लडाकुको जिन्दगी । छापामार शब्दको अर्थ क्यान्टोनमेन्टबाट
विदाई लिएपछि सकियो । अहिले त सामान्य कार्यकर्ता मात्रै हो । अहिले सम्झदा अतीत
नै लाग्छन् ती दिनहरू ।
“किन स्वच्छिक अवकास रोज्नुभयो त ?” प्रमोदले प्रश्न गन्यो ।
खासमा मलाई क्यान्टोनमेन्टभित्रको विकृतिले
वितृष्णा जागेको थियो । के कुरा गर्नु र ?
प्रमोद
जि, ती दिनहरू सम्झदा दिक्क लाग्छ ।
पार्टीले पनि अलि बढी नै अन्याय ग¥यो
। अन्यायको विरुद्धमा लडेर आएको पार्टीले नै आफ्ना कार्यकर्तालाई न्याय गर्न सकेन
। त्यहाँभित्र चरम भ्रष्टाचार थियो ।
क्यान्टोनमेन्टमा रहेका लडाकाहरूका निम्ति विभिन्न शीर्षकमा रकम छुट्याइएको समाचार
सुनिन्थ्यो । सरकारबाट करोडांै रुपैया हाम्रा नाममा निकासा पनि हुन्थ्यो तर, त्यो रकम हाम्रो हातमा आइपुग्दैन थियो ।
सीमित रकम हाम्रा हातमा पर्दथ्यो । विविध वाहानामा त्यो पनि सिनियर नेताहरूले
लुट्थे । स्वच्छिक अवकास लिएका लडाकुको ५ लाख रुपैया त धम्काएर हाम्रो साथबाट लुटे
। त्यो सबै लुट्न पल्केका सिनियर कमाण्डरहरूको काम थियो । यसरी ठगिएका, लुटिएका घटनाहरू व्यक्ति विशेष नामै
किटान गरी पत्रपत्रिकामा सार्वजनिक भएका थिए । तर, तिनीहरूलाई अहिलेसम्म पनि कसैले कार्वाही गर्न सकेका छैनन् ।
सायद तपाईंले पत्रपत्रिकामा पढ्नुभयो होला ।
शोषक,
सामन्त, अत्याचारी र दमनकारीको चर्को विरोध
गर्ने सर्वहाराको पार्टीले मूल नारा बिर्सियो । त्यो त वास्तवमा चरम दमन र शोषणको
कठघरा थियो । त्यहाँका अधिकांश गतिविधिहरू संचारमाध्यमले समाचार बनाइरहेका थिए ।
स्वस्थ्य पिउने पानी र स्तरीय खानाको अभाव थियो
। आवासको निम्ति टिनका टहरा बनाइएको थियो । जाडोमा चिसो र गर्मीमा पानीले सुत्न
नसकिने । वर्षाको बेला ओछ्यान भिजेको हुन्थ्यो । विरामी पर्दा सिटामोल पाइँदैन
थियो । झाडापखालाको महामारी फैलदा जीवनजल पर्याप्त थिएन । कति साथीहरू सिकिस्त
विरामी हुँदा पनि उपचार पाएनन् । ज्वरो रूधाखोकीको भाइरल इन्फेक्सन फैलिएको थियो ।
औषधोपचारको लागि कतैबाट पहल भएन । मेनेन्जाइटिस र इन्सप्लाइटिसले ग्रसित हुँदा पनि
सरकारी तवरबाट चासो देखाइएन । लामखुट्टेबाट बच्न एउटा झुलको व्यवस्थासम्म थिएन ।
त्यस्तो जंगलको बिचमा भेडा, बाख्रा
थुनेझैँ वर्षौ थुनेर राखियो । लडाकुले भोग्नु परेका समस्या बेला–बेला समाचारमा
आएकै हुन् नि !
अतीतदेखि पश्चाताप भएर ऊ भावुक बन्छे । ऊ
बोल्दा बोल्दै रोकिन्छे । फेरि केही सम्झिएझँै गरी बोल्न थाल्छे ।
कति लडाकुहरूले त उचित समयमा उपचार नपाएर ज्यान
गुमाउनुप¥यो । सिनियर कमाण्डरहरूबाट जुनियर
लडाकुहरू साह्रै पीडित थिए । एकले अर्काको चियो–चर्चा गर्ने, कुरा लगाउने, मन नपरेकालाई हेप्ने, पेल्ने, धेरै समय काममा लगाउने प्रवृत्ति हाबी थियो । चाप्लुसी गर्ने, रिस–डाहा गर्ने, खुरापातीहरूको बाहुल्यता थियो । तल्लो
दर्जाका लडाकुहरूलाई अनुशासनमा कडाइ थियो
। माथिल्लो दर्जाका कमरेडहरूको विशेष निगरानी रहन्थ्यो । कसले के काम गरे ? के कुरा गरे ? कसले के खायो । कति खेर उठ्यो, सुत्यो, हिँड्यो आदि । महिला लडाकुको कथा झन् बढी दर्दनाक थियो । क्यान्टोनमेन्टभित्र विवाहित
जोडी, विवाहित सिंगल र अविवाहित लडाकुहरू थिए
। विवाहित त सुरक्षित थिए । अविवाहित महिला लडाकुहरू असुरक्षित थिए । उनीहरू यौन
हिंसाका पीडित थिए । सार्वजनिक रूममा अश्लील गाली, बेइज्यती सहन बाध्य थिए । मानसिक र शारीरिक रूपमा पीडित र
प्रताडित हुनेहरू धेरै थिए । क्यान्टोनमेन्टभित्र दिनदिनै बलत्कारका घटना सामान्य
जस्तै भएका थिए । अत्यन्त डरलाग्दा यौन दुराचारीको रुपमा लडाकु साथीहरू नै
प्रस्तुत हुन्थे । उनीहरूको नरभक्षी स्वभाव र अमानवीयताले संजाल विस्तार गरिरहेको
थियो । नाजायज यौन सम्बन्धको विकृति फैलिएको थियो ।
प्रमोदजी,
भर्खर
भर्खर गोप्य रूपमा प्रेम गर्नेहरूको जमात ठुलै थियो । एउटा लडाकु केटाको प्रेमिका
अर्को लडाकु केटाले मन पराएको रहेछ । तर त्यही केटीको विवादमा र्दुइबिच कुरा
नमिल्दा दोस्रो लडाकु केटाले त्यो अवोध लडाकु केटीलाई निर्मम तरिकाले
क्यान्टोनमेन्टको जंगलमा हत्या गरेको थियो । त्यो घटनाले चरम रुप लियो । विभिन्न
संचारमाध्यम र सामाजिक संञ्जालमा प्राथमिकताको न्युज बन्यो । देशभरि हल्ली खल्ली
मच्चियो । संचारमाध्यमलाई अन्य क्यान्टोनमेन्टका विकृति, विसङ्गतिको बारेमा अनुसन्धान गर्ने बाटो
खुल्यो । त्यसपछि पत्रकारहरूको कलम र क्यामेरा लडाकु क्यान्टोनमेन्ट वरिपरि घुम्न
थाले । कतिपय पीडा र यौन दुव्र्यवहारको दर्दनाक र अकल्पनीय घटनाहरू बेला बेला
बाहिर आउने गरेका थिए ।
यस्ता विकृति, अन्याय, दमन
सहन नसकी कतिले त आत्माहत्या गरे । धेरैले बाध्य भएर क्यान्टोनमेन्ट छोडे । कोही
विदामा घर गएपछि फर्केर आएनन् । हतियारै लिएर फरार हुनेको संख्या पनि कम थिएन ।
हतियार सहित आपराधिक गतिविधिमा संलग्न हुनेहरू पनि थिए । कति त बाध्य भएर चोर्न, लुटन हिँडे । भविष्यको अनिश्चितताले
डिप्रेसन, फ्रष्टेसन हुनेहरू पनि थिए । कतिले त
पुनः विद्रोह गर्ने घोषण गरी क्यान्टोनमेन्ट छाडे । कति पूर्व लडाकुहरूले
विद्रोहको सुरुवात पनि गरिसकेका
थिए । तपाईंलाई थाहै
छ प्रमोदजी, पार्टीको र सरकारको
खुलेरै विरोध भैरहेको थियो ।
यी त सरसर्ती छापामा, संचारमाध्यममा आएका घटना र तथ्यहरू
मात्र हुन । ठुला, डरलाग्दा
र आपराधिक घटनाहरू बाहिर आउन दिइएन । दिइँदैन थियो । सूचना चुहावट हुने डरले क्यान्टोनमेन्टभित्रै ठुला हत्याकाण्ड
भएका छन् । ती घटना सामान्यझैँ राता–रात
लुकाइन्थे । छुपाइन्थे । भित्र भित्रै दवाइएका यस्ता घटना कति छन कति ?
सायद कुनै लेखकले ती कथा पाए भने दुई चार वटा
उपन्यास लेख्ने छन् ।
– २०६९।१२।१९
